✍️ राजन खत्री

 

जतिसुकै भन्नुछ भन्नुहोस् यो तपाईंकै मन हो । मलाई जसरी माया गर्नुछ गर्नुहोस्, यो मुटु तपाईंहरूकै लागि हो । म तपाईंहरूको भिकारी हुँ दिनुहोस् मलाई दयाका साथ भिख मायाको । जबसम्म यो प्राणको अन्त्य हुँदैन तब सम्म म मागिरहनेछु तपाईंसँग माया ।

हो, म सारै लोभी छु । मलाई लोभ लाग्छ मेरो प्रीय मनहरूको साथमा रहन । जब भोकाउछु सम्झने गर्छु ती दिनहरू, जुन दिन आधा पेट खाएर म स्कुल जान्थेँ ! मैले धेरै मुल्याङ्कन गरे आफैँले भोगेका हर परिवर्तनहरू तर म साथीको लागि कहिले परिवर्तन हुनैछैन, किनकि यदि म आफैँ परिवर्तन भैदिएँ भने मेरो मित्रताको भावना केवल स्वार्थका लागि मात्र हुनेछ ।

मैले अझै धेरै केही गर्नु छ त्यसका लागि तपाईंहरुकै साथ र हातको आवश्यक पर्दछ । म रुञ्चे स्वभावको मान्छे मलाई तपाईंसँगै बसेर खुब रुन मन छ । जति बेला म रुनेछु त्यतिबेला मेरो आँसु पुछ्ने हात तपाईकै हुनेछ ! हो, म आफूले आफैँलाई भन्नु पर्दा भाग्यमानीको एक पात्र हुँ किनकि मलाई तपाईंहरूको साथ छ ।

यसो सोच्छु, एक हिसाबले म अभागी पनि हु । आज तपाईंहरूको माझबाट टाढा छु । परदेशमा छु । टाढा, सात समुन्द्रपारि । तर पनि यो मन भरी त्यहीँ पुरानो याद छ । माया छ । सम्झना छ । मलाई गाली गर्नुहुन्छ ? गर्नुहोस् । मलाई फेरि सुन्नुछ त्यही बोली जुन बोलीमा माया मिसिएको हुन्थ्यो । कति मिठो भाष्कर भाव । मैले बुझे या बुझिन ती शब्दहरू तर आजसम्म आइपुग्दा बुझे त केबल माया । कति अभाव छ त्यो मनलाई त्यो त म भन्न सक्दिनँ ।

बितेको साल

साँच्चै बितेको त्यो साल कति रमाइलो थियो । वसन्तमा नव पालुवाहरू पलाउदै थिए । चारैतिर हरियाली छाइरहेको थियो । आगन्तुक पर्वहरूलाई कोइलीले आफ्नै सुमधुर स्वरमा स्वागत गरिरहेको थियो । म आफू खुब खुसीका साथ नाचिरहेको थिएँ ।

खै म किन नाचिरहेछु त्यो त म आफैँलाई थाहा थिएन थाहा थियो त केवल आफू परदेशिने कुरा । मनमा निकै कुरा खेलिरहेछ । मानौँ, आजै म त्यो ठुलो बाल्यकालदेखिको सपनाहरू पूरा गर्दैछु । अझै भनौ,ँ झोलाभरी अनेकौँ सपनाका पोकाहरू लिएर नेपाल एयर लाइन्सको ठूलो हवाइ जहाज चढेर म पैसा नै पैसाको सहरमा पुग्नेछु र किन्नेछु केही थान खुसीहरू।

जब सानो थिएँ हवाइ जहाजको आवाज सुन्नासाथ खाँदै गरेको खाना छाडेर बाहिर निस्कन्थेँ र हेर्थे आकाशतर्फ । बुन्न थाल्थेँ आफ्नो हवाइ जहाज चढ्ने सपनाका सुनौलो यात्राहरू !

साउनको महिना आकाशमा बादलहरू मडारिइहेको थियो । म भने आकाशतर्फ हेर्दै पानी पर्छ कि पर्दैन भन्दै सोचिरहेको थिएँ । केही बेरमै झरी दर्कियो । घरको छानाहरू चुहिने थिए । केही समय परेको पानीले मेरो घरको माथिल्लो तला भरियो ।

भरिन पनि यसरी भरियो कि फेवातालमा जमेको पानी जसरी भरियो । बुवा र ममी बिहानीको खाना खाएर बारीमा कोदो रोप्नका लागि बारीमा जानु भएको थियो । दिनको मध्य समय हुँदो हो पानी परेकाले उहाँहरू पनि आउनु भयो ! बुवाले अँध्यारो र न्याउरो अनुहार लागाँउदै भन्नुभयो “बुइगलभरि पानी चुहिएको होला यसपालि घर छाउन पर्ने । पैसा सुको पनि छैन।”

आफू घरको जेठो छोरो अर्थात् बुबापछिको सम्पूर्ण जिम्मेवारी मेरै काँधमा थियो । म केही बोल्नै सकिन । म केही नबोली बसेँ । ममीले भन्नुभयो “अब त चाडबाड पनि त आउन लाग्यो ।”

लाग्यो, यो चाड पनि कति चाँडै आको होला । गरीबलाई के चाड ? के दसैँ ? के तिहार ? म केहि नबोली बसेँ । माथिल्लो घरमा तीजको गीत खुब घन्की रहेको थियो । म भने मात्र चुहिने छानो, ममीलाई एकजोर राम्रा लुगा, नजिकिदै गरेको दसैँ, तिहार मात्रै सम्झिरहेको छु । मन एकतमासले भारी भयो ।

केहि बेरपछि पानी पनि रोकियो । भाइ र बहिनी पनि स्कुलबाट आएँ । साँझ पर्न थालिसकेको थियो । झ्याउँकिरीहरू कराउन थालिसकेका थिए । औशीँको रात सकिएर पूर्णिमाको उदय हुँदैछ । जुनकिरी आफ्नो मधुरो बत्ती लियर घर–घर डुल्न थालिसकेकी छिन् । एकै छिनमा जुन उदाउँदो तयारीमा छ । तर म ? म भने केबल आफ्नै दुःख मात्र सम्झिरहेको छु ।

ममीले पनि बेलुकाको आफ्नो धन्दा सक्काउनु भयो ! बुवा गोठाधन्दा सकेर आउनु भयो । बहिनीले बेलुकीको रोजीरोटी तयारी गरिन् । खाना खाने समय भयो ! ममीले सबैजनालाई खाना खानको लागि बोलाउनु भयो हामी सबै खाना खानका लागि एकै ठाउँमा भेला भयौँ।

खानाको मेलो सकेर मैले बुबा र मामीसँग आफू परदेश जाने सल्लाह गरेँ । मेरो प्रस्ताव पारित भयो । सोचेँ जीवन यात्रा हो । मैले जीवनमा हजारौँ यात्राहरू गर्नु पर्नेछ । लाखौँ खोलाहरू तर्नु पर्नेछ । जान्छु । कतै त ह‍ोला नि सुख ?

रातिभर मनमा कुरा खेलाउँदै सुतेँ । खै कति बेला पो निदाएछु । भोलिपल्ट बिहानै उठेँ । आफ्नो बिहानीको कामधन्दा सकेँ । र लागेँ हरियो राहदानी बनाउन सदरमुकामतर्फ ।

घरदेखि करीब चार घन्टाको बाटो पैदलै सदरमुकाम पुगेँ । सदरमुकाममा राहदानीमा सम्बन्धि सम्पूर्ण काम सकेँ उतैबाट अरनिको सुपर चढेर फेरि मेरो अर्कोतिरको यात्रा तय भयो राजधानी काठमाडौँसम्म । बाटोमा पनि मनभरि अनेकौँ कुराहरू खेलीरहे धेरै सम्झे बाल्यकाल देखिको साथीभाइ बाबु आमाको न्यानो काख तर सम्झेर के गर्नु मलाई जसरी पनि पुग्नुछ मुग्लान ।

जब सानो थिएँ, लाग्थ्यो दसैँ कहिले आउला । तिहारमा साथी भाइहरू सँगसँगै रमाइलो गरौंला तर ती सम्पूर्ण खुसीहरू मुग्लानको सपनाहरूमा परिवर्तन भए यतिबेला ।

सहर पसेपछि मेनपावर, अन्तरवार्ता, आर्थिक चाँजोपाँजो, स्वास्थ्य चेकजाँच । आफन्त र साथीभाइ भेटघाट । किनमेल । झण्डै दुई महिना बित्यो । हेर्दाहेर्दै केही समयको अन्तरपछि मुग्लान जाने दिन नजिकिँदै गयो । मेरो मुग्लानको यात्रा पनि निश्चित भएछ । मैले आफूले दिनुपर्ने बुझाउनुपर्ने सम्पूर्ण सम्प्रेषण मेनपावरमा बुझाएँ ।

अनि आयो मेरो त्यो दिन । त्यो यस्तो दिन, जुन दिन मैले देखेका हर सपनाहरू पूरा गर्ने दिन अर्थात् बाल्यकालदेखि देखेका सपना पूरा हुने पहिलो खुड्किलो । यो मनमा धेरै कौतुहलता जागेको छ । मन धेरै खुशीले अत्तालिएको छ । सोच्दैछु, कस्तो होला मुग्लान ? कस्तो होला जहाजको यात्रा ।

सपनाको जहाज चढ्ने दिन

बिहानै घरमा कल गरेर भनेँ बुबा ममीलाई जाँदैछु भोलि । मुग्लान ममीले रुञ्चे स्वरमा भन्नूभयो “राम्रोसँग जाउ बाबु ।” मनमनै भनेँ, “ममी म चाडै आउनेछु हजुरहरूको लागि केही खुशीहरू लिएर ।” फोन राखेँ ।

अन्तिममा सबैलाई सम्झेँ । मनभरी बोकेँ सबैको याद । हेर्दै बुबा ममीको तस्बिर, आँखाभरि आँसु बनाउँदै । हातमा नीलो राहदानी, र जहाजको टिकट बोकेर छिरेँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र लागेँ मुग्लान ।

सोच्दै थिएँ, कस्तो होला जहाज ? जहाज भित्र पनि पसेँ । अनौठो लाग्यो सपनामा देखेको जहाजभन्दा आफ्नै आँखा अगाडिको जहाज धेरै ठूलो थियो । जहाजमा पसेको केही बेर पछि जहाज आकाशतर्फ हुइँकियो । म पनि हुइँकिएँ मुग्लानतर्फ !

बिमानको यात्रापश्चात् आफ्नो गन्तव्य स्थान पनि आइपुग्यो । मसँग धेरै नेपाली दाजुभाइहरू पनि आउनु भएको थियो उहाँहरू पनि मेरो जस्तै सपना बोकेर आउनु भएको हो मुग्लान ।

प्रतिक्रिया

सम्बन्धित खवर