✍️ डा. निरज भट्टराई

गजल – एक

कसरी कसरी राजहरू कहाँ कहाँसम्म पुग्छन्
बन्द कोठाबाट आवाजहरू कहाँ कहाँसम्म पुग्छन्

जो गएको छ उ फर्केर आउन सक्दैन तर
ढोका हल्लिँदा अन्दाजहरू कहाँ कहाँसम्म पुग्छन्

त्यसै त हात जोडेका छैनन् ,त्यसै त झुकेका छैनन्
यी प्राथना, यी नमाजहरू कहाँ कहाँसम्म पुग्छन्

केवल गरिबको कसौँडीसम्म पहुँच हुँदैन
पुग्नलाई त अनाजहरू कहाँ कहाँसम्म पुग्छन्

तेरो गजलमा भावको दायरा साँघुरो छ, ‘निरज’
‘गालिब,’ ‘दुश्यन्त’ र ‘फराज’हरू कहाँ कहाँसम्म पुग्छन्

गजल – दुई

ए मान्छे ! तँ यसरी निराश न हो
जिन्दगी भन्नु त जिउने अभ्यास न हो

यो त केहि हैन के के हुनु छ बाँकी
उदास हो तर यत्ति उदास न हो

अझै केहि बेर हेर्छु यी बादलहरु
त्यसपछि उही पुरानै प्यास न हो

हरेक जाडोमा नयाँ ‘स्वेटर’ बुन्छिन्
यो हराएको छोरो फर्कने बिश्वास न हो

बर्षौँदेखि भौंतारिइरहेछ मान्छे
ईश्वर एउटा नटुङ्गिने तलाश न हो

प्रतिक्रिया

सम्बन्धित खवर