रोशन परियार

पहिलो चोटी बा ले
बा भन्न सिकाउदा “आ” पनि सँगै आउँदो रहेछ
आमाले त्यही “आ” पछाडि “मा” थपिदिइन् र आफ्नो र बा को
सम्बन्धका बारेमा मलाई व्याकरण सिकाइन्
मलाई भाषा सिकाउने मेरा बा भाग्य विधाता हुन्
मनमा आशा र खुशीको सुइँको पाउने आमा अन्तरयामी हुन्
भाषाकी ज्ञानी हुन्
अक्षरहरूकी जननी पनि हुन्
बा को शब्दकोश बाट “आ” हटेन
“आ” को पछाडि कहिल्यै “मा” छुटेन
मलाई शब्दकोषमा भएका तिनै
बाआमा शब्दको शालिकमा
प्राण भरेर जगाउनु छ, ब्युँताउनु छ
अनि एउटा युगको गरिमा बा को काँधमा चढाउनु छ
एउटा युगको महिमा आमाको काखमा हुर्काउनु छ
आऊ सभ्यता र शिष्टताका प्रेमिल सम्बन्धहरू
बाहाँ जोडेर मित लगाउन चाहन्छु म

मेरा बा ले थप्पड लेख्न जानेनन्
तर सयौं पटक खाएका छन् अघाउने गरी
गरिबीको नाममा, मजदुरीको काममा
अनि आफूसँग भएको ईमानको भारी बोक्दा बोक्दा गह्रुङ्गो भए पछि
ईमानको “ई” झिकेर उसैलाई दिए
जसले थप्पडको पछाडि त्यही “ई” थपिदियो
र दुनियाँलाई बजाउन सिकायो
तै पनि दश औंलाको जदौमा उसैको भलो चिताउँदै
आफू दुब्लो शरिर घिसारेर
धर्खरिदै, लर्खरिदै राति मेरो कापीसम्म आइपुगे
र थर्थरी काँपेको मसिनो स्वरले सोधे मलाई
ईमान को “ई” हराएपछि के बाँकी रहन्छ छोरा ?
मैले “मान” भन्न नपाउँदै
मान बहादुर लेख्न लगाए, मैले हतार – हतार लेखिदिएँ
जो मेरा बा को आफ्नै नाम थियो
मैले मानको अगाडि “सम” थपिदिएँ
र हराएको “ई” लाई बहादुरको पछाडि जोडिदिएँ
जसलाई हार्दिकताले अभिनन्दन गर्न चाहन्छु म
अहिले पनि “सम्मान बहादुरी”को भनेर

नाम्लाको पाताले थेप्चिएर
ठसठसी गन्हाउने पसिनाले छ्याप्पै भिजेको
मेरा बा को पेवा टोपीको पसिनाबाट “प” निकाले
अनि “सिना”लाई सडाई दिए
रगतको रातो रङ्गमा चुर्लुम्मै डुबेर
मेरो शिरमाथि अग्लिन आएको मेरा बा को पेवा टोपीको रगतबाट “र” निकाले
अनि बाँकी रहेको “गत” कहिल्यै वर्तमान बन्न सकेन
मैले भोगेको झुपडीबाट
पसिनाको “प” अनि रगतको “र” मिलाएर जे बन्छ
त्यसको प्रयोग गरी
अबको शब्दकोशबाट
मेरा बा को गरिबीलाई
एक शताब्दी “पर” फ्याँक्न बाँकी छ
देउ न अक्षरहरू उधारोमा ईश्वर
मैले बा को एक हरफ जिन्दगी लेख्न बाँकी छ !!!

***

प्रतिक्रिया

सम्बन्धित खवर