आँगन
– दिक्षान्त अग्निभोर
आँखामा सिङ्गो ब्रह्माण्ड बोकेर
तिमि मेरो अघिल्तिर उभियौ
मलाई तिम्रो आँखामै बस्न मन भयो
बिस्तारै मैले आफूलाई
तिम्रो आँखाभित्र हेलिदिएँ
त्यहाँ मभित्रको अहंकार बिसाउने
ठूलो चौतारी रहेछ, बिसाएँ
म हराउन सक्ने
घना जंगल रहेछ, हराएँ
मैले आफैंलाई मेटाउने
मन्दिर रहेछ, मेटाएँ
शून्य भएर बिलाउने
आकास रहेछ, बिलाएँ
म मेटिए पनि, हराए पनि
शून्य भइ आकासमा बिलाए पनि
मैले त्यहाँ आफैंलाई पाएँ
आखिर म तिमी भित्रै त थिएँ
तिम्रो आँखाको ब्रह्माण्डभित्र ।
***
प्रतिक्रिया
-
४