✍️ गीताश्री शर्मा

 

सधैँझैं उठेर बस्छ ऊ
झ्यालको छेउमा
हेर्छ पारी गाउँ
झार्छ आँखाबाट बलिन्द्र आँसु
हिक्हिकाउँछ ऊ
बर्बराउँछ मनमनै
अनि सम्झन्छ…
आफूले खाई नखाई
भ्याइ न भ्याइ जोहो गरेर
बनाएको आरामदायी घर,
अनि आफ्नो त्यो नरम डस्ना
अनि छाम्छ……
आफू बसेको काठको खाट ऊ ।

छ डल्लो परेको चीसो भात
झर्छन् आँसुका सितन
मुछ्दै कोच्याउँछ आफैँलाई
अनि सम्झन्छ भाग्य आफ्नो
अड्किन्छ भातको गाँस
लाग्छ गला र निल्छ सिता पानीको घुट्कीसँग ।

आफ्नो पूर्व जीवन
हुँदैन उसको आँखाबाट ओझेल
आफूले गालेका पसिनाका थोपा थोपा
प्राण प्यारी !
श्रीमतीका कानका चेप्टेसुन
नाकका ढुङ्ग्री-मुन्द्री
छमछम बज्ने सुनका बाला

झरिझुट्ट गरगहनासित गाँसिएको
श्रीमतीको हाँसो र खुसी
सबै धितो राखेर
किनेको त्यो टारी खेत ।

अझ पर गएर सम्झन्छ ऊ
आफ्नी प्राणेश्वरी
परलोक भएकी उसकी अर्धाङ्गिनी
र भन्छ मनमनै,
तैँले जितिस् मङ्गली
बिहे गरेर भित्र्याउँदा पनि
तैँ अगाडी थिइस्
जीवनको लडाईँको होडमा पनि
तैँले जितिस् ।

सुन् त मङ्गली !….
त्यो टारीखेतमा रोपेको
बास्मती धानको चामल र
कान्ला र आलीमा रोपेको
मासको दालपनि
पक्कै नाता नातिनीले खाँदै होलान् नि हो कि ?

पागल जस्तो ऊ
बोल्छ भित्ताहरूसँग
पोख्छ दुःख , झ्याल र ढोकाहरूसँग
अँगाल्छ तकिया
सुमसुम्याउँछ काठको खटिया
सुनाउँछ अतीतका तीता- मिठा कुरा
र बाँड्छ खुशी
अनि
एक्लै खिसिक्क हाँसिदिन्छ ।

खडक् खडक् खड्किने खटियामा सुतेर
फेर्छ कोल्टो
सम्झन्छ
कटेरामा बाँधेका तारी र माली गाई
अनि सधैँ कुँडेमा तताउने गरेको बाक्लो दूध
निल्छ घुटुक्क थुक
फेरि नाच्छन्
पर खोरमा राखेका बाख्राका पाठाहरू
आँगनमा खेलिरहेका
नाता-नातिनीहरू !!
गुन्जन्छ कानमा उस्को
हजुर बा!! भनेर बोलाएको आवाज
अनि ओल्टो-कोल्टो फेर्दछ
धिक्कार्छ काललाई
अनि भन्छ –
किन आउँदैनस् मलाई लिन तँ ?
आखिर किन आउँदैनस् ….. !!

वृद्धाश्रमको एक कुनामा
छ एउटा पुरानो खाट,
छन् कब्जाले छोड्नै लागेका ढोका र झ्याल
अनि मैला गनाउने कम्बल र डस्ना
हो,
त्यही खटियामा
ओल्टो कोल्टो फेर्दैछ
शिरदेखि पाउसम्म दुखेको
एउटा लुते र शिथिल शरीर !!
पर्खिरहेछ ऊ आफ्नै
अन्तिम यात्रा …

प्रतिक्रिया

सम्बन्धित खवर