कथा एक – डोरीको गाँठो र जीवनका समस्या
एकदिन भगवान बुद्ध आफ्नो सभामा पुगे । त्यसबेला उनको हातमा डोरी थियो । बुद्धले आसन ग्रहण गरे र केहि नभनी डोरी गाँठो पार्न थाले ।
त्यहाँ उनका शिष्यहरु थिए । गौतम बुद्धले डोरीलाई गाँठो पारिरहेको देखेपछि उनीहरुमा जिज्ञासा उठ्यो, अब के गर्ने होला ?
तब बुद्धले सबैलाई एक प्रश्न गरे, ‘मैले यस डोरीको तीन गाँठो बनाए । अब म यो जान्न चाहन्छु कि, यो त्यही डोरी हो, जो गाँठो पार्नुअघि थियो ?’
एक शिष्यले उत्तर दिए, ‘गुरुजी यसको उत्तर दिनु थोरै कठिन छ । वास्तवमा यो हाम्रो हेराइमा निर्भर गर्छ । एक दृष्टिकोणबाट हेर्दा, डोरी त्यही हो, यसमा कुनै परिवर्तन छैन । अर्को कोणबाट हेर्दा, यसमा तीन गाँठो देखिन्छ, जो पहिला थिएन ।’
‘साँचो हो’ बुद्धले भने, ‘अब म यस गाँठोलाई खोल्नेछु ।’ यति भनेर बुद्धले डोरीको दुबै छेउमा समातेर जोडले तान्न लागे । उनले सोधे, ‘तिमीहरुलाई के लाग्छ, यस प्रकार डोरीलाई दुईतर्फबाट तान्दा गाँठो फुत्किएला ?’
‘होइन, होइन । त्यसो गर्नुभयो भने त त्यो गाँठो थप कसिलो बन्छ । र, यसलाई खोल्न मुश्किल पर्छ’ एक शिष्यले जवाफ दिए ।
बुद्धले भने, ‘ठिक छ, अब एक अन्तिम प्रश्न । भन, यस गाँठोलाई खोल्नका लागि हामीले के गर्नुपर्ला ?’
एक शिष्यले उत्तर दिए, ‘गुरुजी, यसका लागि हामीले हेर्नुपर्छ कि कसरी गाँठो परेको छ ।’
‘म यहि सुन्न चाहन्थें । मूल प्रश्न यही हो कि, जुन समस्यामा तिमी फेसका छौ, वास्तवमा त्यसको कारण के हो ? कारण नै पत्तो नपाई त्यसको समाधान संभव छैन ।’
उनी भन्दै गए, ‘मैलें देखेको छु कि, धेरैजसो मान्छे कुनैपनि समस्याको कारण नै नबुझी त्यसको समाधान खोजिरहेका हुन्छन् । कतिले मलाई सोध्छन् कि, मलाई किन रिस उठ्छ ? मानिसहरु सोध्छन् कि, म आफ्नो रिसलाई कसरी काबुमा राखौं ? कोही यस्तो पनि सोध्छन् कि, मभित्रको अहंकारको कसरी उब्जियो रु
प्रिय शिष्य, जसरी डोरीमा गाँठो पारेर त्यसको प्रकृति बदलिदैन । त्यही प्रकार मनुष्यमा पनि केहि विकार आउँछ, तर ऊ भित्रको तत्व उहि हुन्छ । आवश्यक्ता के छ भने, कुनैपनि समस्याको कारण राम्ररी जान्नुपर्छ । जब कारण फेला पर्छ, त्यसको निवारण सहज हुन्छ ।’
कथा दुई – जीवनको मूल्य
एक व्यक्तिले भगवान बुद्धसँग सोधे, ‘जीवनको मूल्य के हो ?’
बुद्धले तत्काल जवाफ दिएनन् । बरु एउटा काम लगाए । उनले ति व्यक्तिको हातमा एउटा ढुङ्गा थमाइदिए र भने, ‘जाउँ, यस ढुङ्गाको मूल्य पत्ता लगाएर आउँ । तर, ध्यान राख यसलाई बेच्न पाउने छैनौँ ।’
ति व्यक्ति ढुङ्गा बोकेर हिँड्यो । उनी सुन्तला वेचिरहेका पसलेकहाँ पुगेर सोधे, ‘यसको मूल्य कति होला ?’
सुन्तला बेचिरहेका व्यक्तिले त्यो चम्किलो ढुङ्गा हेरे । अनि जवाफ फर्काए, ‘१२ वटा सुन्तला दिन्छु, यो ढुङ्गा मलाई दिनुहोस् ।’
त्यहाँ भन्दा अगाडि एक पसले आलु बेचिरहेका थिए । ती व्यक्ति आलु व्यापारीकहाँ पुगे । चम्किलो ढुङ्गा हेर्दै आलु व्यापारीले भने, ‘एक बोरा आलु लानुहोस्, यो ढुङ्गा म राख्छु ।’
उनले ढुङ्गाको वास्तविक मूल्य कति हो भनेर भेउ पाएनन् । उनी अगाडि बढे । त्यहाँ सुन बेच्ने पसल थियो । सुन व्यापारीसँग पनि उनले ढुङ्गा देखाउँदै त्यसको मूल्य बुझ्न चाहे । सुन व्यापारीले भने, ‘म सुन दिन्छु, तपाईंले मलाई यो ढुङ्गा दिनुहोस् ।’
उनी अर्को पसलमा पुगेँ, त्यो पनि ज्वेलरी पसल थियो । ज्वेलरी पसलेले ढुङ्गालाई निकैबेर ठिम्याए । सुमसुम्याए । र, ढुङ्गाका लागि जतिपनि मूल्य चुकाउन तयार भएको वताए । ‘यति अनमोल चिज कहाँ फेला पार्नुभयो, मलाई दिनुहोस्’ उनले जिद्दी गरे ।
ति व्यक्ति रनभुल्लमा परे । उनले ढुङ्गाको वास्तविक मोल कति हो भनेर थाहा पाउनै सकेनन् । उनी आजित भएर बुद्धकहाँ फर्किए । तब बुद्धले भने, ‘तिमीले मलाई जुन प्रश्न सोधेका थियौं, त्यसको जवाफ पाइसक्यौं । जीवनको मूल्य त्यही कुराले निर्धारण गर्छ कि, त्यो कसको हातमा छ ?’
बुद्धले अरु प्रष्ट पार्दै भने, ‘यो चम्किलो ढुङ्गाको मूल्य एक सुन्तला पसलेका लागि १२ वटा सुन्तला बराबर भयो । सब्जी पसलेका लागि एक बोरा आलु बराबर भयो । सुनारका लागि एक तोला सुन बराबर भयो । र, हीरा व्यापारीका लागि यो अनमोल भयो ।’
प्रतिक्रिया
-
४