✍️ देवव्रत

याद छैन कति जुग बित्यो
नबालेको बत्ती मैले
नउघारेको झ्याल र पर्दाहरू
उसो त जुगै बित्यो होला
एक किनारदेखि अर्को किनारसम्म
नहेरेको आफ्नै कोठालाई

यतैकतै हराए होलान्
तिम्रा कोसेलीहरू
भेट्दिन खोजेको किताब
एस्ट्रेमा यत्तिकै जलिगयो एउटा चुरोट
छैन फोहोर डस्टबिनमा
हरायो डस्टबिन पनि
पानीको जार, जुठा भाँडा, भरी बाँटा
कुर्सी र टेबिल
र्याक, जार र मसलाका डिब्बाहरू

हराउने सिलसिलामा
हरायो नागरिकताको ठेगाना
जुत्ताको तुना, ढोकाको चुकुल, चस्माको डाँडी
तिम्रो एउटा तस्वीर थियो मसँग
त्यो पनि हरायो
हरायो सर्टको खल्ती, अनि सर्ट शरिरबाट
छाडी गए साङ्ला र उडुसहरूले
छैनन् खाटका खुट्टाहरू
हराए रित्ता बोतल
मैनभित्रको सलेदो हरायो
मेरो आगो हरायो

चुपचाप हरायो घडीभित्रै सेकेन्डको सुई
मेरो जिन्दगीको बहिर्खाताबाट समय हरायो
छाम्छु छैन भित्ता कतै
हेर्छु देख्दिन आकृति केहीको
अध्यारो पनि छैन मसँग
तिम्रो अनुहार पनि हरायो
खस्छन् एकएक सामान कोठाभित्र
हराएको छ आवाज, आकार र रङ तिनको

टाउको छाम्छु टाउको छैन
अनुहार हेर्छु अनुहार छैन
खुट्टा कतै बिर्सी आएँ
यतैकतै हराएका हुन् औँला मेरा
हरायो मभित्रको एउटा मान्छे
जुन दिन तिमी गयौ
सबै सबै हरायो यहाँबाट

हिजो त कोठाभित्र
बिर्सिएर आफैलाई, खोजिरहेँ
सम्झिएर, आफैलाई खोजिरहेँ

प्रतिक्रिया

सम्बन्धित खवर