✍️ सत्या अधिकारी

चक्रपथको बस चढें। जेष्ठ नागरीक लेखिएको सीटमा झ्यालपटी एउटी महिला थिइन् ।आफ्नो पनि कपाल तीलचामले भएकोले उनैको छेउमा बसें। उनी परिचित झैं लाग्यो मलाई । उनले बाहिर हेर्दा लुकेर उनको मुहार चिह्याएं। सोधपुछ गरेँ। कुराकानी बाट थाहा पाएँ। उनी त मेरै माइती गाउँकी माइली दिदी पो रहिछन् ।

कम्ता राम्रा सिलाउँथे र उनका बा अमाले हाम्रा लुगा?उनी पनि स्वर्गकी अप्सरा जस्ती पो थिइन उतिबेला।
छक्क परें। समयको शक्ति देखेर। मान्छेलाई कस्तो बनाउन सक्नेरहेछ।कहाँ गयो होला उनको त्यो सौन्दर्य ? के ले खायो होला त्यो मोटो शरीरको मासु?ऐले त मात्र थियो अस्थिपंजर ।

आँफैलाई धन्य लाग्यो। आफ्नो गाढा स्मरण शक्ति देखेर। प्रश्नका बर्षा गरें मैले उनमाथी ।अचम्म लाग्यो मलाई उनको यो अवस्था देखेर।
मेरा हरेक जिज्ञासा मेटाउने क्रममा उनी उनकै विगतमा पुगिन् र भन्दै गइन्।म सुन्दै गएँ।
” नानी! बिर्सी सकेकी थिएँ उसलाई। अचानक “एक दिन जम्काभेट भयो।उस्ले चिनेन मलाई।तर मैले चिनें। उस्को नाम मेरो हृदयमा खोपिएको थियो।बिर्सन नस्क्ने गरि। किरण बाबू! भन्दै उसको नामै तोकेर बोलाएं।झस्कियो उ। चिनोस् पनि कसरी? मलाई नमस्कार गर्यो। मेरा गालाका मुजा तन्किए उसलाई देखेर। उ हाँसेन।सिरियस भयो। एक मन रिस पनि उठ्यो उसँग र त्यो पापी समाजसँग जसले हाम्रो चोखो प्रेमको हर्जना नराम्रोसगं तिराएको थियो।” अनि मलाई यो हालतमा पुर्याएको थियो।”
हर्जना? किरण ? समाज? मेरो थुर्मी जत्रो दिमागले उनका कुराको भेउ पाएन।
फेरि दिदीका सबै कुरा जान्ने रहर भयो। र भनें,”अनि के के भयो त दिदी?”
मेरा सबै खुल्दुली मेटाउन फेरि उनको रमाइलो अतीततिर पुगिन् उनी।
” कति रमाइला थिए ती दिन्। नानी! सम्झदा यो मन भरभर भएर आउँछ। बिष्टकाँ लुगा सिलाउँथे मेरा बा आमा। उनका एक्ला छोरा थिए किरण। सबैले हीरो भन्थे उनलाई।उनको रुपलाई हेरेर नाम जुरेको होला किरण जस्तो लाग्थ्यो मलाई पनि।
आफ्नो रुपको पनि बर्णन गर्न भ्याइन् उनले। “म पनि त कहाँ कम थिएँ र? बाहुन काठाहरु सबै घुम्थे मेरा पछी , कात्तीके कुकुर झैं। केटा देखि धोती पाटा फेर्ने बुढाहरुसम्म मेरो जवानीलाई हेर्दै र्याल काढ्थे।
अरुका गिद्दे नजरलाई कहिल्यै वास्ता गरिन मैले। मेरो नजर भने किरणतीर गाढेकी थिँए।
मलाई स्कुल पढाउने हैसियत थिएन मेरा बा आमाको। सपनाको कुरा। कहिल्यै रहर पनि गरिन मैले। तर मेरै घरको बाटो गर्दै बाहुन गाउँका केटाकेटी स्कुल जान्थे। पहिला त मलाई उति चासो थिएन को गयो? आयो? भन्नेमा।तर पछी चाहिँ त्यै मोरो किरण कति बेला आउला भन्दै आँखा गाड्न थालेको थिएँ।
मेरै बाले सिलाएको सेतो सर्ट अनि निलो पाइन्ट र बबी चप्पल पड्काउँदै हातमा किताब च्यापेर आउँथ्यो उ। म दौडेर कान्लाबाट हेरीरन्थेँ उसलाई।उ बाटो नकटे सम्म हेर्थें। बेलुका उ फर्कंदा पनि त्यसै गर्थें म। सातो दसदिन सम्म त्यै क्रम चलिरह्यो मेरो। तर उस्ले मलाई पटक्कै वास्ता गरेन।उ पढेलेखेको बाहुनको छोरो।म अनपढ दमिनी भनेर होला जस्तो लाग्यो। उस्लाई सधै हेरें मात्र बोल्ने आंट गरिन।
एकदिनको कुरा हो।मैले धेरै दिन बाटोमा कुरेको देखेर होला उसले सोध्यो,
“किन तिमी सधै मलाई भेट्न यहाँ आउछ्यौ?” म रातो पिरो भएँ।कतै गाली गर्ने पो हो कि भनेर । तर उसले गाली गरेन। उल्टो “कति राम्री छौ है दिदी तिमी पो भन्यो। उमेरमा उ, म भन्दा कान्छो हो भन्थे मेरा बा।
मलाई स्वर्गका राजा इन्द्र बोलेको जस्तो भयो उसको कुरा सुनेर।दुबैले दुबैको तारीफ गर्दै बिदा भयौं त्यो दिन। रात उस्कै कल्पनामा बिताएँ। त्यसपछी हाम्रो भेट्ने क्रम पहिला भन्दा बाक्लियो। स्कुलबाट आउँदा मलाई मिठाई र बिस्कुट ल्याइदिन्थ्यो।तिमी पनि पढ्न हिँड भन्थ्यो बिचरा मलाई ।
म पनि बनमा दाउरा घाँस गर्न जाँदा काफल, ऐसेलु , तिंदु र गोलकाँक्री ल्याइदिन्थें। मीठो मानेर खान्थ्यो किरण । कामै नपरे पनि बिष्टकोमा केही निहुँ पार्दै जान्थें म । उ पनि आउँथ्यो मेरो घरमा।
बर्षेनी इलिम बजार लाग्ने गर्थ्यो हाम्रो गाउँ भन्दा पर। यो बर्ष हामी दुबैले जात्रा हेर्न जाने निधो गरयौं।
उ घरको एक्लो छोरो।जे भन्यो त्यै पुर्याउंथे उसका बा आमाले। मसँग पैसा नभए पनि उस्कै पछि लागें म।
दिनभर जात्रा हेरयौं, नाच गान भयो। गीत गाउन सिपालु थिएंँ म।नाच्न सिपालु रहेछ उ। नाच गीतको तालमा दिन ढलेको थाहै भएन हामीलाई। बाहुन गाउँका प्रधानपंच पनि उसँगै थिए। हाम्रो जोडीका ताल हेर्दै मक्ख थिए उनी।उमेरले पाको भए पनि खै किन हो? तेतीबेला हाम्रो जोडीलाई बाधक बनेनन उनी।हामी दुबैलाई मन पर्यो ती पंचे बा।
रात छिप्पिंदै गयो।उतै बस्नु पर्ने भयो।
हाम्रो प्रेम पनि रात सँगै गाढा हुँदै थियो। गाउँका सबैभन्दा ठुला पंचे बाले साथ दिएपछि हामीलाई केही कुराको डर लागेन। एउटा पालमुनि सुत्ने ठाउँ मिल्यो।बिस्तारै हामी दुईबाट एक भयौं।
बिहान भयो। घर फर्कने तयारीमा थियौं हामी।हिजो अस्ति भन्दा आज मलाई किरणको माया झन बढी लाग्यो। उसले पनि त्यसै भन्यो।”
उनको रोमान्चित कुराले मलाई पनि काउकुती नलागेको कहाँ हो र? फेरि सोधेँ ” अनि के के भयो दिदी?”
अघि भर्खर को त्यो हँसिलो मुहार एक्कैचोटि कुचुक्क भयो र लामो सुस्केरा निस्क्यो उनको घाँटी हुंदै मुखबाट।

” मेरो त्यो खुशी धेरै बेर टिक्न पाएन। नतिजाको होसै नगरी गरेको कामले के राम्रो होस्?
त्यै महिनाबाट मेरो महिनाबारी बन्द भयो। उसलाई सुनाएँ ।केही थाहा नभएको उ डरायो। आत्तियो।
गाउँभरी हल्ला फैलियो। हाम्रो समस्या सबै थाहा पाएका पंचे बा , बेला बेला आएर मलाई भन्ने गर्थे ” उति बेला त हामीले पाल बिन्ती लाउँदा एक पटक छुन दिइनस्।अब हेर्दै जा के के हुन्छ?” उनको कुराले मेरो घाउमा नुन चुक छर्ने काम भन्दा अरु केहि गरेन। आफ्नै आँखाले आफ्नो शरीर नदेख्ने गरि बढ्दै थियो मेरो पेट।आतिएँ म। मेरो जिवनमा 10 रेक्टरको भुइँचालो गयो। ”
उनका कुरा सुन्ने मेरो मनमा भने त्यो भन्दा ठुलो भुईचालो गयो।म झसङ्ग भएँ।ला अब के हुन्छ? भन्दै छिट्टै भन्न आग्रह गरें दिदीलाई उनका थप कुरा।

बिचरी माईली दिदी भन्दै गइन, “के भन्नू नानी! मेरो सबै कहानी थाहा पाएको त्यो अपराधी पंचेले किरणको घरमा पानी बाराबार गरेछ। ऐलेजस्तो गर्भपतनका औषधि पनि पाइन्नथ्यो उतीबेला। पेटमा बच्चा छ।आमाको पिटाइ। अनि त्यो भन्दा बढी दुख्ने बाउका वचन र टिमुरका काँढा भन्दा तिखा समाजका गिद्दे नजर । नौ महिना कसरी कटाएँ होला? अनुमान लाउने लाई ठुलै पुरस्कार ।” भन्दै गइन् उनी ।
महिना पुगेर घरमै छोरा जन्म्यो। कोहि खुशी थिएनन् ।तर म चाहिँ किरणको छोरा जन्माएकोमा खुशी थिएंँ।काटीकुटी उ जस्तै थियो मेरो छोरा। मेरो छोरा जन्मेपछी त्यो गाउँको पंचेले कचहरी बोलाएर उनको बाउलाई हर्जना तिराएछ्न् र चोखिएछ्न् किरणका परिवार। आफ्नो अन्जानमा गरेको गल्तीले बाउको गैरी खेत बेचिएको र आफ्नो घरलाई समाजले अछुतो बनाएको पीडा सहन नसकेरै होला, किरण गाउँ छोडेर बेपत्ता भएको पनि सुनें। उखर्माउलो छुटेर आयो।
बच्चाको न्वारनको दिन गाउँको पंचायतले पल्लो गाउँबाट सन्तेलाई बच्चाको बाउ बनाएर ल्याए। मलाई पनि उसैको जिम्मा लगाएर डांँडा कटाए।
कहिल्यै नफर्कने प्रण गर्दै सन्तेसँग बाटो लागेँ म।आमा रुँदै आइथिन्।खै किन हो? तेतीबेला भने उनको माया बेस्सरी लाग्यो।तरै पनि सन्तेकै पछि लागें। किरणको छोरो अब सन्तेलाई बाउ भन्न थालिसकेको थियो। ”
“अनि सन्तेले तिमीलाई माया गर्यो त दिदी?” भन्ने मेरो प्रश्नको उत्तरमा बनावटी उत्तर थियो। “खासै दुख दिएन।” त्यो पापी समाजले झैँ ।”
“यतिका बर्ष पछि उसको त्यो फुङग उडेको अनुहार फुलेको दारी, कपाल देख्दा मर्स्याङ्दी नदीझैँ उस्को माया उर्लेर आयो।रिस उठेन पट्क्कै उसँग। दुख मलाई त्यो समाजले दिएको हो। किरण ले त होइन झैँ लाग्यो।
अनि मैले उसलाई चिनाउदै भनें” म के त तिम्रो….. माइली।
मेरो कुरा सुनेर उ झसङ्ग झस्क्यो।मानौ मैले झम्टन्छे झैं।एक छिन केही बोलेन। दुबै नि:शब्द भयौँ।
अनि उस्ले पनि आफ्ना पीडा पोख्न थाल्यो।
धेरै इच्छुक थिएंँ म उसका कुरा सुन्न।
बेलाबेला दुई हात जोडेर माफ माग्दै भन्थ्यो। “हेर माइली! मैले तिमीसँगै मेरो पढाइ पनि छोडें । सबथोक छोडेँ।मैले गरेको गल्तीले आज मलाई पोलिरहेछ भत्भती।केही गर्न सकिन जिन्दगीमा। पछाडी मात्र धकेलीरह्यो मलाई मेरो जिन्दगीले।कहिल्यै अगाडि बढने आँट आएन।जहिले तिमी र त्यो बच्चा हेर्ने आशामा तड्पी रहें।जहाँ जान्थें त्यहाँ तिरस्कार मात्र पाउथें।
बा आमा र परिवारको माया अनि समाजमा मुख देखाउन लाज भएर सहरमा ज्याला मज्दुरी गरें। बाको पैसाले हाम्रो घर चोखिएपछि घर गएँ। बिबाह गरें। छोराछोरी पनि छैनन्् । पश्चतापको तातो भुमरीमा पुर्यायो हामीलाई हाम्रो अन्जानमा गरेको प्रेमले।
धेरैबेरको कुराकानी पछि मेरो पनि एक्लो छोरो भनौ कि हाम्रो प्रेमको हर्जना भनौँ । टुप्लुक्क आमा भन्दै आइपुग्यो।मेरो गालामा झरेका आँशुका धारा देखेर होला नरमाइलो मान्दै सोध्यो। “के भयो आमा? किन रोएकी यसरी? को हुनुहुन्छ उहाँ ? प्रश्न माथी प्रश्न तेर्स्यायो उसले ममाथी। धोतीको सप्कोले आँसु पुछ्दै भनें “बाबू! तिम्रो मामाघरका बाहुन बा हुन्। ढोग।”
धेरै बर्ष पछि खोजेको कुरा भेटेर होला किरणले हामी दुबैलाई अङालोमा कस्यो। कह्ल्यै नफुस्कने गरि।
उनका कुरा सुनीरहेकी मेरा आँखा पनि ओभाना कहाँ थिए र?
चेलीबेटीलाई माइतको कुकुर त प्यारो लाग्छ । उनी त हाम्रै माईती गाउँकी दुखको भवसागरमा डुबेकी बिचरी माइली दिदी।सारै माया लागेर आयो।
सन्तेले राम्रैसंग पालेको कुरा उनको शरीर हेर्दै थाहा हुन्थ्यो।
माइली दिदीका सबै कहानी सुनिसक्दा बसको खलाँसी भाईको ढयाक ढ्याक आवाजले हामी दुबैको ध्यान मोडियो। बस खाली भैसकेछ। दिदीको भाडा पनि मैले दिएं र फेरि फेरि भेट्ने वाचा गर्दै हामी आ -आफ्नो बाटो लाग्यौं ।

***

प्रतिक्रिया

सम्बन्धित खवर