✍️ कृष्ण प्रसाई
घर छोड्नु अघि बन्धनी र कन्द्रुले पाकिसकेको तरुलभ्याकुरका चानालाई नुन खुर्सानीसँग चोबेर मिठो मान्दै खाएका थिए । तर कान्छो छोरो असारुले केही खान मानिरहेको थिएन । गन्तव्य जंगल लोग्ने स्वास्नीको एउटै भए पनि विरामी छोरो घरमा एक्लै छोडेकीले जंगलको छेउछाउबाटै झिरीमिटी दाउराहरु बटुलेर चाँडै घर फर्कने इच्छा राखेर बन्धनी जंगलको बाहिरी किनारबाटै उत्तरचर्फ लागी । तरुलभ्याकुर निकै भित्री जंगलमा मात्र पाइने भएकाले स्वास्नीसँग छुट्टिएर कन्द्रु भने तरुलभ्याकुरको खोजीमा बीच जंगलतिर बेगियो । छुट्टिनु अघि कन्दु्रले भनेको थियो
‘आज बेच्ने दाउरा होइन बाल्ने दाउरा खोजेस् ।’
‚ ‚ ‚
जंगलतिर भास्सिएको केही क्षणपछि कन्द्रुले ऊ जस्तै उसका छिमेकी र गाउँले सहजातिहरुले जंगलैभरि दुई तीन फिट जति खनेर पुर्दै नपुरी अलपत्रै छोडिराखेका खाडलहरु ऊ हिडिरहेको बाटो वरिपरि प्रशस्तै मात्रामा देख्यो । स्वास्नीसँग छुट्टिएपछि कन्दु्र किसान एक हिसाबले तिनै खाल्डा खुल्डी हेरेर अगाडि बढिरहेको थियो ।
कहिलेकाहीँ त संयोगवश जंगलको केही भित्र पसेपछि अक्कल झुक्कल तरुलभ्याकुरका लहराहरु भेट्टिएर पहिलो खनाइमै पाईहालिन्थ्यो । तर कहिले भने जंगलको धेरै भित्र पसेर दुई तीन ठाउँमा भए भरको श्रम खर्च गरेर दुई चार फिट गहिरो खन्दा समेत कनै तरुलभ्याकुरका गिठ्ठाहरु फेला पर्दैनथे । अथवा जरा फेला परिहाले पनि आफै एकाएक हराउँथे । फलस्वरुप रित्तै हात कोदाली काँधमा बोकेर यदाकदा घरतिर फर्कनु पनि पर्दथ्यो । तरुलभ्याकुरको खोजीले सारा शरीर माटै माटोले लेपिएको हुन्थ्यो । अघिल्लो दिनका गिठ्ठाहरु बचेका छैनन् भने त्यो साँझ पेटभरि भोक पालेर अर्को सूर्योदयको खोजीमा समय गुजार्नु पर्दथ्यो ।
कन्दु्र किसान यस्तै यस्तो कुराहरु सोचेर र यस्तै समयको कल्पनामा डुबेर पोहोर यत्ति नै बेलाको समय सम्झिरहेको थियो । पोहोरको त्यो समय दुई दिनसम्म तरुलभ्याकुरका गिठ्ठाहरु नपाउँदा पानी मात्र पिएर उनीहरुका सारा परिवारले भोक भोकै बस्नु परेको थियो । उस्तै स्थिति र अवस्था बोकेका छिमेकी सहजातिहरुबाट पनि सहयोग नपाउँदा त्यही मौकामा कन्दु्रकी साठी वर्ष पार गरिसकेकी रोगी आमा खाने कुराको अभावमा भोक भोकै मरेकी थिइ । मर्ने बेलामा उसले रुदै भनकी थिइ रे ‘कन्दु्र छोरा, अरु जे सुकै गरे पनि ती मेरा भोका नाति नातिनीलाई तरुलभ्याकुर नपाएको झोँकमा बोरामा हालेर चै नकुटेस् है !’
त्यसको भोलि पल्टदेखि नै हो, खानेकुरा मागेर कचकच गर्ने गरेका कन्दु्रका छोरा छोरीहरुलाई जस्तो सुकै रीस उठे पनि उसले बोरामा हालेर कुट्न बन्द गरेको थियो । आमा बितेको दुई महिना पनि नबित्दै कन्दु्रकी सानी छोरी पनि मरेकी थिई ।
सोचाइको तन्द्रासँगै उसले जंगलको धेरै बाटो काटिसकेको थियो । त्यो समय उसले घर तरुलको जस्तै लहरा भएर रुखहरुमा झुण्डिने वन तरुलको बेलो हेर्न नै बिर्सिएको थियो । यस्तो लाग्दथ्यो मानौ ऊ जंगलको रमाइलोमा हिडेको छ ।
बाटामा कन्दु्रलाई क्षण क्षणमै छोराको सम्झना आाइरहेको थियो । ऊ जंगलतिर लाग्ने बेलामा समेत छोरो ओछ्यानमा झोक्राएर बसेको थियो । बन्धनीलाई उसले छोराको स्याहारार्थ घरमै पनि राख्न नचाहेको होइन तर बन्धनीलाई घरमा राख्नुको परिणति त्यही हुन्थ्यो जुन कहिले काहीँ हुने गरेको थियो । साँझ दाउराको अभावमा तरुलभ्याकुर पकाउने अरु कुनै उपाय हुने थिएन । फलस्वरुप भोकै बस्नु पर्ने हुन्थ्यो । फेरि तरुलभ्याकुरका गिठ्ठाहरु दुई दुई पटक उसिनेर मात्रै खाने गरिन्थ्यो । अगिल्लो दिन उसिनेर चानै चाना पारिसकेर खोलामा रातभरसम्म भिजाउँदै गिठ्ठामा रहेको कोक्याउने स्वाद निख्रिसकेपछि मात्र पुनः उसिनेर खाइने हुँदा दाउराको खपत अरु पकवानमा भन्दा त्यसमा ज्यादा हुने गर्दथ्यो ।
कन्दु्रको घरमा छोरो असारुबाहेक अरु कोही रहेका थिएनन् । असारुकी हजुरआमा छउन्जेर त उसलाई खेलाउने र फुल्याउने कामको चौकिदारी थियो । तर आफ्नी आमा स्वर्गे भएपछि कन्दु्रले अर्को सानो तिनो अभाव भोग्नु परेको थियो । कन्दु्र किसानमा यस्ता धेरै कुराहरु एकपछि अर्को भएर मनभरि उर्लिरहेका थिए । भदौ महिना भएकाले आकाश माथिको घाम प्रचण्डा चर्किएको थियो त्यति मात्र होइन मानसिक अशान्तिको राप कन्दु्रको दिमागमा अझ चर्को गरी घुसेको थियो, जसले गर्दा पनि उसलाई अझ गर्मी महसुस भइरहेको हुन सक्छ । सूर्यको प्रचण्ड रापलाई छेकेर सालका बडेमान रुखहरुले क्षण क्षणमा छाता ओढाएपनि जंगलभित्र हावा छिर्न नपाएकोले वाफिलो उष्णता उसको कालो र कठोर छालाभरी पसिना भएर उत्रिएको थियो ।
कन्दु्रले आफ्नो मुजैमुजा परेको निधारमा अडिएका पसिनाका थोपाहरुलाई आफ्नो मैलो र थोत्रिसकेको धोतीको सप्कोले एकपटक पुछ्यो र धोतीको अर्को किनारी भागमा बेरर राखेको खैनीको डिब्बाबाटा खैनी निकाल्यो । त्यसपछि केही समयसम्म खैनीलाइै हन्केलामा राखेर माड्यो । यसको लगत्तै पछि दुई तीन पटकसम्म प्याट्प्याटी आवाज निकालेर दाहिने हातको औँलाले देबे्र हातको हत्केलामा रहेको खैनीलाई पिट्यो ।
अनि खैनीबाट निस्किएको रहल ढुटोलाई मुखले फुकेर फ्याँकिसकेपछि हातमा बँचेको बाँकी खैनीलाई दाहिने हातको बुढी र चोर औँलाले चेपेर ओठभित्र राख्यो ।
जंगलभित्रको एउटा सालको रुखमा घामबाट छेलिएर सितल तापिरहेको कन्दु्रले खैनी खानुअघि त्यही रुख छेउमै बिसाएको आफ्नो कोदालोलाई एक दृष्टि फ्याँक्यो । केही चिन्तित देखिइँदै गएको कन्दु्रले रुखमा अडेस लागेर आकाशतिर आँखा घुमायो ।
ऊ उभिए वरिपरिका रुखहरु आकाशै छुडुला झैँ गरि तिखारिएर माथि उठेका थिए । बाँच्नको लागि खजाना खोजेर बाहिर भौतरिरहनु नपर्ने ती रुखहरु ऊ भन्दा पनि अग्लो भएर बाँचेकोमा उसलाई रुखहरुप्रति डाह समेत पलाईरहेको थियो । आफू पनि रुख हुन पाएको भए यति दुःखहरुको सामना गर्नु पर्ने थिएन होला भनेर उसले मनमनै सोच्यो । उसका अरु पनि सोचाइहरु अथाह उर्लिरहेका थिए । तर जब कन्दु्रको देबे्र खुट्टाको पिँडुलामा एउटा ब्याँगे कमिलाले चरक्क चिल्यो तब उसले तर्सिदै आफ्नो गोडो माथि उठायो ।
एउटा खुट्टाले मात्रै उभिनु पर्दा त्यतिखेर उ झन्डै अगाडि लड्न पुगेको थियो । त्यतिखेर उसलाई झण्डै उसको अघिल्तिर रहेको कोदालोले काटेको पनि थियो । तर संयोगवश ऊ यसो हुनबाट जोगियो । आफ्नो देब्रे पिडुलामा त्यसरी चिल्ने ब्याँगे कमिलालाई समातेर उसले कच्याक्िकचिक पारेर भूँइमा फ्याँक्यो र कमिलाले टोकेको ठाउँमा हातले केही क्षण सुम्सुम्यायो । उसलाई एक किसिमको रीस उठिरहेको थियो । एक किसिमको खल्लो महसुस गर्दै कोदालो काँधमा हालेर कन्दु्र किसान त्यसपछि तरुलभ्याकुरको खोजीमा पट्टेर जंगलतिर भास्सियो ।
‚ ‚ ‚
जंगलको बाहिरी किनारातिर बन्धनीले धेरै बेरसम्म ससाना दाउराहरुको खोजी गरी तर कसैगरी आफूले सोचे अनुसारका दाउरा पाउन सकिन । रित्तै घर फर्केर कन्दु्रको पिटाई खानु भन्दा केही भित्र पसेर कम्ती नै भएपनि दाउरा खोजी हालौँ भन्ने सोचेर ऊ दाउराकै खोजीमा क्रमशः जंगलको सतहलाई चिर्दै अगाडि बढ्न थाली । दाउरा खोज्ने काम सजिलो भएपनि पाउन ज्यादै कठिन परिरहेको थियो । उसले आज त मझौलो खाले बन्चरो पनि घरमै छोडेकी थिइ । ससाना दाउरा हातैले भाँचेर आफ्नो काम चलाउन सकिन्छ भन्ने कुरामा दृढ भएर नै उसले सधैँ बोक्ने गरेको बन्चरोलाई आफ्नो छाप्रो मै छोडेकी थिई । एउटा भएको खुकुरी पनि दुई वर्षअघि वनपालेहरुले लखेट्दा जंगलभित्रै छोडिएको थियो ।
जंगलको किनारभन्दा भित्र यस अघि एक्लो रुपमा उ कहिल्यै पनि पसेकी थिइन । समुहमा हुँदा पनि डर मान्नु पर्ने त्यो जंगलभित्रको परिवेशमा उसका प्रत्येक बढिरहने पाईलाहरुले उसको मुटुलाई ढुक्ढुक्याएर कमजोर बनाउँदै लगेका थिए । जंगलभित्र सानोतिनो आवाज निस्किए पनि ऊ ससंकित हुने गरेकी थिइ । बन्धनीले चारैतिर आँखा फ्याँकी । जंगल अथाहा भएर लम्बिएको थियो ।
त्यतिखेर त्यहाँ कुनै रुखहरु पनि ढलेर सुकेका थिएनन् । कुनै सुकेका हाँगाहरु पनि रुखबाट टुक्रिएर झरेका थिएनन् । दाउरा नपाएकोमा बन्धनीलाई धेरै नराम्रो लागिरहेको थियो । दाउराबाहेक कन्दु्रको डर र छोराको चिन्ता एकै पटक उसको मष्तिष्कमा खेल्न आइपुग्ने गर्दथे । जंगलभित्र लाग्ने डरले पनि उसको धुनलाई चिथोरिरहेको थियो अझ भनौँ जंगली जनावरहरुभन्दा पनि मान्छे नै उसका लागि डरको कारण बनेका थिए र मान्छेहरुलाई अहिलेसम्म मान्छेबाहेक अन्य जनावरहरुले आक्रमण गरेको उसलाई थाहा थिएन ।
बन्धनीलाई विगत छ महिना अघिको एउटा घटना सम्झेर जंगलको वास्तविक यथार्थप्रति घृणा पलाइरहेको थियो । जंगलभित्रबाट जतिसुकै अत्याचार सहनु परेपनि जंगल जानु त्यतिकै अनिवार्यमा थियो जति बाँच्नु अनिवार्य छ । मान्छे भनाउँदाहरुले नै जंगली जनावरको रुप लिएर जंगलभित्र दाउरा खोज्न जाने आइमाइहरुमाथि दिउँसै आक्रमण र बलत्कार गर्न थालेका धेरै दिनहरु भैसकेका थिए ।
मान्छेहरुले नै सोझी र नीरिह आइमाइहरको इज्जतमा कपर्दी खेल्न थालेका थिए । अस्ती मात्रै त हो छेउकै रनाहा किसानकी श्रीमतीलाई वनपाले भनाउँदा वनरक्षकहरुले भक्षक भएर पालैपालो गरी सामुहिक बलत्कार गरेर मारिसकेपछि उसको लासलाई रुखमा झुण्ड्याइदिएका । केहि दिनअघि त हो कसुरै विना फागुनीलाई दाउरा खोजेको निहुँमा जंगल किनारबाटै पक्रेर तीन रात सम्म रेन्जर कार्यालयमा थुनिसकेपछि उसको लोग्ने भनाउँदो चैतु किसानले बात लगाएर फागुनीसँग सम्बन्धच्यूत गरेको । आखिर यी सबै कुराहरुमा कसको दोष थियो र ?
आजभोलि माान्छे रुपी राक्षसहरु कति हिंश्रक भएर हाम्रै वरिपरि घुमिरहेछन् । तिनीहरुलाई पक्रिने र थुन्ने कसले होला ? बन्धनीको कामिरहेको मन विरोध भएर जागिरहेको थियो ।
यी पहाडियाहरु हाम्रो जमीन पनि हडप्छन्, हामीलाई नै थुन्छन् , हामीलाई नै बलत्कार गर्छन् र दण्ड सजाय पनि हामीहरुलाई नै दिन्छन् । त्यतिमात्र होइन यिनै पहाडियाहरुको नोकरी पनि हामीले नै गर्नुपर्छ, र ऋणमा पनि हामीले नै थोपरिनु पर्छ । किन यस्तो भएको होला ? बन्धनी मनमनै गम्न छोडेकी थिइन । आफ्नो एक कठ्ठा पनि जमीन नहुने मान्छेहरुले कहाँबाट दाउरा ल्याउनु होला ? आफ्नो एउटा पनि रुख नहुने गरीबले कसरी पकाएर खानु होला ? गोवरका गुँइठा पनि त गाइ वस्तु हुनेले राख्न सक्छन्, कुखुरा मात्रै हुने हामीहरुले कसरी गुजरा गर्नु । आफ्नै हातखुट्टाहरुको दाउरा बनाएर बाल्न पनि त सकिदैन । ऊ अझै तड्पिरहेकी थिइ ।
बन्धनीले देखेकी थिइ उनीहरुको गाउँछेउमै बसेको पहाडिया मालिकले त्यही जंगलबाट ठूल्ठूला रुख काटेर चिरान गरिसकेपछि निस्केका तख्ती, बीम र बटमहरुलाई गोरुगाडामा लादेर बाहिर बेच्ने गरेको थियो । तिनै हरिया वर्दी लगाउने वनपाले भनाउँदा बन्दुकधारीहरुलाई बेलुका आफ्नो घरमा बोलाएर रक्सी र कुखुरा ख्वाउने गरेको थियो । भनौँ गाउँमा भेटिएका रक्सी र कुखुरा ओसारेर रातभरि मताउने गरेको थियो ।
भरखरै मात्रै त हो त्यही फागुनीको सरजिमिन गरेको दिन गाउँको त्यो पहाडिया देउनियाले कन्दु्रसहित गाउँका धेरै किसान आदिवासीहरुलाई सरजिमिनको कागजमा ल्याप्चे थिचाएर फागुनीले आफै झुण्डिएर मरेको भनी साक्षी बकाएको । त्यो साँझ फागुनीलाई बलत्कार गरेर मार्ने तिनै वनपाले हरुलाई त्यही पहाडिया देउनियाले रक्सीसँग ख्वाउन भनेर जबरजस्ती गरेर फुल पार्दा पार्दैको पोथी कुखुरो लगेर अझैसम्म पैसा तिरेको थिएन । पाहाडियाहरु त्यहा नआउन्जेलसम्म त्यति धेरै अन्याय सहनु परेको बन्धनीलाई थाहा थिएन । झन जब उनीहरुको गाउँमा कानून पस्यो तब उनीहरुले सरकार खेलाउनेहरुबाटै दुःख पाइरहेका थिए ।
जंगलभित्र एकाएक हल्का पाराले रुखका पातहरु बजेको आवाज सुन्ने वित्तिकै बन्धनी सोचाईको तन्द्राबाट पुनः झस्किइ । उसले चनाखो हुँदै चारैतिर आँखा घुमाएर हेरेकी थिइ । दुई सय गज जति टाढा तिनै वर्दीधारी वनपालेहरु आफू भएतिर अगाडि बडिरहेको देख्दा बन्धनीको एक पटक होस हवास उडे जस्तो भयो । उसलाई आफ्ना सम्पूर्ण नौनारी गले जस्तो लाग्यो र उ फत्रक्क भूँइमा लडी ।
कन्दु्र किसानले त्यो दिन सधैँभन्दा ज्यादा तरुलभ्याकुर बोकेर केही ढिलोगरी आफ्नो छाप्रोभित्र पस्यो । भित्र पस्ने बित्तिकै आफ्नै आँखाअगि उसले अर्कै दुर्दशा बाँचिरहेको देख्यो । छाप्रो भित्र उसको छोरो असारु उधोमुन्टो लगाएर लमतन्न लडेको थियो । विहान सुताएको ओछ्यानभन्दा केही पर भूँइमा छोरो हल नचल भएर घोप्टिएको देख्दा उसको मन सिरिङ्ग भयो । कन्दु्रले एक दुई पटक छोराको नाम काढेर उसलाई बोलायो पनि, तर प्रतिउत्तर केही फर्केन । निधारको पसिना पुनः पुछेर उसले छोरालाई फर्काउन खोज्यो तर छोरो अघि नै मृत्युको मुखमा परिसकेकोले शरीर फर्काउँदा काठ जस्तो अररिएर उत्तानो प-यो ।
असारुको मुखभरि माटै माटो पोतिएको थियो । छेउछाउमा राल सिगान पनि लत्पतिएको देखिन्थ्यो । कन्द्रु किसान गलेर थचक्क भूँइमा बस्यो र एकास्सी ठूलो आवाज निकालेर रुन थाल्यो । उसको रुवाई सुनेर कन्दु्र किसान सँगै छाप्रोभित्र पसेका उसका कुखुराका चल्लाहरु तर्सिएर केही हच्के । धेरै बेरपछि उ घुक्घुक गर्न थाल्यो । तर धेरै अबेर सम्म पनि गाउँले छाप्राका अरु किसान आदिवासीहरु त्यहाँ आइपुगेका देखिएनन् । हुनसक्छ छाप्राहरु मात्रै एक्लै छोडेर उनीहरु पनि बाँच्नु पर्ने विवशताको औषधि खोज्न जंगलतिर लागेका हुँदा हुन् ।
धेरै बेरसम्म रोएको कन्दु्र किसानले विस्तारै उठेर चारैतिर आँखा फ्याँक्यो र आँखा घुमाउँदै अन्तिम नजर छोरामाथि बिसायो । मृतक छोराको अनुहारमा झिँगाहरु भन्किरहेका थिए । उसले कामिरहेको एउटा हात हल्लाएर छोराको अनुहारमा बसेका झिँगाहरु धपाउँदै लामो सास फे¥यो । उत्तानो परेर लडेको छोराको लास छेउमै त्यसै दिन बिहान खाएका तरुलभ्याकुरका जुठा भाँडाहरु लडिरहेका थिए ।
# # #
बन्धनी अझै जंगलबाट फर्किसकेकी थिइन
– “प्रक्षेपण” कथा संग्रह २०४८बाट
(‘किसान’ जनजाति झापा जिल्लाको उत्तरपूर्वी सीमावर्ती इलाकामा बस्ने ज्यादै कम जनसंख्या भएका नेपालका आदिवासी हुन् । नेपालभरी पचासवटा घर परिवार भएका किसान समुदाय निरक्षर, गरीब र सोझा छन् । भदौ र असोज महिनाभरि नै उनीहरुलाई अनिकाल पर्ने हुँदा आसपासका जंगलबाट जंगली तरुलभ्याकुर र कन्दमुल खाएर जीवन निर्वाह गर्ने गर्दछन् ।)
प्रतिक्रिया
-
४