✍️अनन्त अनुराग
गजल – एक
यो काँडा किन प्रिय छ बिझेर पनि
लौ मुस्कुराउँदै छ घाउ दुखेर पनि
सुखको परिभाषा घोकिरहेको छु
सुख छैन सम्झेर पनि बिर्सेर पनि
मैले ऊबाट सिकेको हूँ उभिनु केहो
सदा ढलि नै रहन्छ जो ढलेर पनि
याद छ र त उज्यालो छ यो संसारमा
यहाँ मनहरू निभ्दैनन् जलेर पनि
कोही टाढा गयो, खुसी मनाइरहेछु
आखिर कोही त रहेछ म नेर पनि !
गजल – दुई
यो दुनियाँ सोँचेभन्दा फरक रहेछ
भँवरामा पनि फूलको महक रहेछ
जब झनै गाढा अँध्यारोमा पुगियो
थाुभो अँध्यारोमा पनि चमक रहेछ
गाडी यसरी चलाए चालकहरूले
यात्रीलाई लाग्यो यात्रा चकचक रहेछ
वाधाहरू अगाडि आए पछि बुझियो
घामभित्र छाया पनि बन्धक रहेछ।
नुनचुक दल्नेहरू दलिदिएर गए
कसैले भन्यो घाउ आकर्षक रहेछ
प्रतिक्रिया
-
४