✍️ दिनेशराज पुरी

थाहा छ,
तिमीले आज पनि
यसलाई सम्झिनुहुन्न भन्दै
धेरै पटक सम्झिएकी छौ
*
यसलाई नबोलेरै तड्पाउनुपर्छ भन्दै
आफैं तड्पिरहेकी छौ
छुकछुके रेलको धुवाँजस्तो
पुतुतु आएको छ मेरो याद तिमीलाई
सदाभन्दा दोब्बर !
बङ्गालको खाडीबाट चलेको सुनामी भन्दा
अझै बेसी आएको छ
तिम्रो मनमा मेरो रिक्तताको भूमरी !
कति समय भयो यो सँग नबोलेको ?
औंला भाँचिरहेकी छौ तिमी
यति दिन अझै बोल्दिन
आफैंसँग गरिरहेकी छौ अडान !
तर,
दिदीको बिहेमा
गोडा धून भोको बसेको भाइले
लुकेर खाएझैं अचार र सेलरोटी
सेकेन्डभरमै,
तोडिरहेकी छौआफैसँग आफ्नो अडान !

ऐजन ऐजन छ मेरो पनि हालत यता !
रिसै गरेर सही-
भुल्न नसक्नु भनेको प्रेम हुनु हो !

ओ महारानी !
बोली सकिएपछि
बोल्छु भनेर फेरि पाइनेछैन
ओठ रहुन्जेल त हो नि हाँस्न पाउने पनि

अलिकति खहरे बढेको मात्र हो
अविश्वासका
केही दाह्रे ढुंगाहरू थपिएका मात्र हुन्
केही बिग्रेको छैन
आफ्नो नामको खेत, आफ्नै नाममा छ
गल र गैँची हामीसँगै छ
आऊ बिर्सेर सबै सबै,
अलिकति आँठा मिलाउँ भुलहरूका
अलिकति गरा सम्याउँ-घमन्डका
अलिकति, आलि ताछौँ अहंकारका
एक अर्काको नशामा बगिरहेको
सङ्लो आत्मीयताको कुलो ल्याएर भिजाउँ
मनको जम्मै गैरीखेत
र, काढेर, मनकै गराबाट
रहरका मुठी चारेक् बियाड
आऊ रोपौं, प्रेमको रोपो !
कहिल्यै सुकेर जाँदैन
मनमा मनले रोपेको प्रेम !
र, प्रेम हरियो रहेसम्म,
सुक्दैन जिन्दगी पनि !

प्रतिक्रिया

सम्बन्धित खवर