✍️ सानु शर्मा

 

मैले हात बढाएर कलबेल बजाउनुभन्दा पहिल्यै गेट खुल्यो । नचिनेका दुई जोडी बाहिर निस्किए र अघिबढे ।

गेट बन्द गर्न तत्पर काकीले मेरो अनुहार देखेपछि भन्नुभयो, “कति ढिलो गरेकी नानी ? यहाँ त सबैले तिमी आउन्नौ होला भन्ने सोचेर अघिनै खाना खाइसके ।”
“हेर्नुसन्, काममा साह्रै ढिलाभयो भन्या । त्यसमाथि गाडी स्टार्ट भएन । बल्ल तल्ल ट्याक्सीमा आएकी ।” मैले सफाइ दिएझैँ गरी भनेँ । मेरो पछाडि काकीले गेट बन्द गर्नुभयो ।

“उर्वशी सुतेकी त नहोली नि, होइन काकी ?” मैले सोधेँ ।
“के सुत्थिन् अहिल्यै ? पाहुना बिदा गरेर एकैछिन भयो सबैजना माथि उक्लिएको । उर्वशीकै कोठामा लुगा गहना मिलाउँदैछन् सबैजना ।” काकीले मेरो हातमा भएको ब्याग लिन खोज्दै सोध्नुभयो,“खाना तताऊँ ?”
मैले ब्यागबाट काकीको हात पन्छाएँ अनि कोमलस्वरमा भने-“ खासै केही छैन काकी यसमा, एकजोर फेर्ने लुगाबाहेक । मै लिएर जान्छु तपाईँ आफ्नो कामधन्दा सकाउनोस् । मलाई खाना खान मन छैन । त्यसैले त्यसको झन्झट नगर्नोस् । बरु तपाईँको धन्दा सकिएपछि एक कप कफी बनाएर ल्याइदिनोस्न, है ।”
हामी सँगसँगै भित्र पस्यौँ ।

“भोकै त कसरी सुत्नु र नानी ?“ काकीले बिस्तारै भन्नुभयो ।
“म भोकै छैन काकी, तपाईँ चिन्ता नगर्नोस् ।” भऱ्याङको पहिलो खुट्किलोमा खुट्टा टेक्नेबित्तिकै म अडिएँ अनि काकीसँग सोधेँ, “ के छ काकी निधिको हालखबर ?”

“ बेसै छ, नानी ।” उहाँको टाउकोमाथि बलिरहेको बल्बको पहेँलो उज्यालोमा मैले काकीको अनुहार चम्केको प्रस्टै देखेँ, “सबै तिम्रो उपकार हो नानी, नत्र म अनपढलाई के थाहा के गर्ने, कसरी गर्ने भनेर ?” उहाँको स्वरमा आभार मिसियो, “ ‘आमा’ भन्न, लेख्न सिकेकी छ । पहिलेजस्तो गाह्रो पनि छैन अचेल त्यसलाई ख्वाउन पियाउन । कुरो बुझ्नथालेकी छ । यो सबै तिमीले गरेर भएको हो । म कसरी तिरौँला नानी, तिम्रो यो ऋण ?”
“केको उपकार काकी ? आफ्नो मान्छेको सहयोग सबैले गरेकै हुन्छन्, मैले के अनौठो गरेकी छु र ?” मलाई सधैँ अप्ठ्यारो लाग्छ काकीका यस्ता आभारयुक्त कुरा सुन्नँ, त्यसैले म हतारहतार भऱ्याङ उक्लिएँ । पछाडि काकीले भनेको कुरो सुनेपनि बुझिनँ मैले तर मलाई थाहा थियो, उहाँको मन र मुखबाट मेरोलागि आशीर्वाद नै निस्केको थियो ।

काकी कसरी र कुन हिसाबले हाम्रो काकी पर्थिन् मलाई थाहा छैन । ममीले भनेअनुसार टाढाको नातापर्ने हुन रे उनी ।

मैले पहिलोपटक काकीलाई अस्पतालमा देखेकी थिएँ । उनलाई उनकी सासू र लोग्नेले गर्भ तुहाउन केही लोकल दबाइ खुवाएका थिए रे, काकीले थाहा नपाउने गरी तर औषधिको रियाक्सनले झन्डै मरेकी काकीलाई उनीहरूले गाउँलेहरूको हस्तक्षेपमा सहर ल्याएर अस्पताल भर्ना गरेर छोडिदिए ।

निकै दिन अस्पतालमा बिताएर जब काकी बाहिर निस्किन्, उनको कतै जाने ठाउँ थिएन । लोग्नेको घरमा उनी जान चाहन्नथिन् । त्यो अवस्थाकी काकीलाई कसैले आफ्नो घर लग्न चाहेनन् । त्यो बेला मेरो जिद्दीमा ममीले काकीलाई घर त लानुभयो तर काकीले छोरीलाई जन्म दिएपछि ममीलाई उनको जिम्मेवारी गरूङ्गो भयो । उहाँले आलो सुत्केरीको पनि ख्याल गर्नुभएन ।
“आफ्नै परिवार कसरी पालौँ भएको बेलामा दुईदुईवटा घाँडो ! भो, चाहिएन मलाई ।” ममीलाई काकीको उपस्थितिको पनि वास्ता हुँदैनथ्यो त्यसो भनिरहँदा ।

“ममी, कमसेकम काकीको अगाडि त त्यसो नभन्नोस् ।” म अनुरोध गर्थेँ , “बिचरा, घरका सबै काम गर्नुहुन्छ, कहिल्यै केही भन्नुहुन्न । तपाईँलाई नै त सजिलो भएकोछ उहाँ घरमा हुनाले ?”

“काम गर्ने, पाल्ने औकात छैन मेरो, तेरो र शैलेशको पढाइको खर्च पुऱ्याउनलाई मलाई कति जोडतोड गर्नुपरेको छ त्यो मैलाई थाहा छ । तँ आफू कामाउने भएपछि जेसुकै गर, तर म यी झिनामसिना कामको नाउँमा दुईदुईजना पाल्न सक्दिनँ ।”

ममी कसैगरी राजी नभएपछि मैले आफ्ना सारा आफन्तहरूलाई बिन्ती गरेँ काकीलाई घरमा राखिदिन भनेर तर कसैले खासै चासो देखाएनन् । खासमा काम गर्नका लागि काकीलाई आफ्नो घरमा राख्न त कुनै आपत्ति थिएन उनीहरूलाई तर काकीको जवान उमेर र उहाँकी दुधमुखे छोरीलाई घाँडो मान्थे सबैजना । यस्तोमा मेरै उमेरकी, मेरी जिग्री, मेरी सानिमाकी छोरी उर्वशी कामलागी मलाई । मैलेजस्तै उसले आफ्नी आमासँग जिद्दी गरेर काकीलाई आफ्नो घरमा लगी । सानिमा खुसी त हुनुहुन्नथ्यो तर काकीको केही नबोली दिनरात खट्ने स्वभावको कारण केही भन्नुहुन्नथ्यो । बिस्तारै बिस्तारै काकीको कामले रत्तिएर सानिमाको परिवारले काकी उहाँहरूको इच्छाविपरित त्यस घरमा भित्रिएको कुरा बिर्संदै गए ।

केही वर्ष बित्दा नबित्दै काकी त्यस परिवारको सदस्य समान भइसकेकी थिइन् । आफ्नो व्यवहार र मेहनतले उनले त्यस घरमा मात्रै होइन, परिवारका सदस्यहरूको मनमा पनि ठाउँ बनाएकी थिइन् । यो उनको मेहनत थियो, त्यसैले म उनको आभारको अधिकारी पटक्कै मान्दिनथेँ आफूलाई ।

काकीको छोरीको नाम मैले नै राखिदीएकी थिएँ -निधि । गर्भ तुहाउन ख्वाइएको औषधिको असर थियो या उनको दुर्भाग्यको, निधि सामान्य थिइन । उसको दिमाग सामान्य बच्चाको भन्दा सुस्त थियो । साढे आठ वर्षकी निधि भर्खर बोल्न सिक्दैथिई । मैले उसलाई त्यस्ता बच्चाबच्चीहरूका लागि खोलिएको स्पेसल स्कुलमा भर्ना गरिदिएको थिएँ । स्कुल महँगो थियो तर त्यसको सारा खर्चको जिम्मा मैले लिएको थिएँ, ममीको मर्जीको विरुद्ध ।

आठ वर्ष बित्यो ।

म पढाइसकेर जागिरे भएको पनि अब त निकै भइसक्यो । ममीको चाहनाविरूद्ध खासै केही नगर्ने मैले, तीन वर्षअघि आफैँले रोजेको केटोसँग बिहे गरेँ र अब ममीको इच्छाअनुरूप पर्सि ऊसँग अलग हुँदैछु । डिभोर्स दिदैँछु म गौतमलाई ।
मैले अठोट गरेकी थिएँ-डिभोर्सपछि काकी र निधिलाई आफैसँग राख्नेछु, ममीले मानेपनि नमानेपनि ।

माथि उक्लिएपछि एकैक्षण हिचकिचाएँ म । रातिको दश बज्दैथियो । सानिमाको भन्दापनि धेरै, मेरी अभिन्न साथी / कजन उर्वशीको घर थियो यो घर मेरो लागि, सायद त्यसैले नै होला, बिनासूचना यति ढिलो म यहाँ आउनसकेँ । भोलि उर्वशीको बिहेको पूर्वाङ्गको दिन । बिहेभन्दा एकहप्ता पहिलेदेखि यतै बस्न आउने उसको कडा आदेश हुँदाहुँदै पनि मैले बिहेको केवल दुईदिन अघिमात्र समय निकाल्न सकेथेँ उसको लागि । त्यो पनि रातिको यो प्रहर !

उसलाई थाहा थियो -जुन दिन उसको बिहे हुँदैथियो त्यहि दिन मेरो र गौतमको डिबोर्स हुँदैथियो । त्यसैले पनि होला- ऊ हुनुपर्ने जति खुसी हुन सकेकी थिईन ।

मैले उर्वशीको बेडरूमको ढोका धकेल्न हात बढाएँ तर कान्छी सानिमाको मुखबाट निस्किएको आफ्नो नाम सुनेर ढोका धकेल्न हिचकिचाएँ । उहाँ भन्दैहुनुहुन्थ्यो, “यति पढेलेखेकी, समझदार यो सिम्रिक यति मूर्ख होली भन्ने लागेकै थिएन मलाई ।”
“त्यही त !” उर्वशीकी ममी, माइली सानिमाले थप्नुभयो,“ यति समझदारीको कुरा गर्छे, सबैसँग यति राम्रो व्यवहार गर्छे, यति गुणी छ तर पनि यस्तो मूर्खता ?”

“ममी, सिम्रिक मूर्ख होइन, मूर्खताको हदसम्म भावुकचाहिँ पक्कै हो ।” उर्वशीले विरोधपूर्ण स्वरमा भनी ।
“ हामीले भनेको त सुन्दै सुन्दिन त्यसले, तैंले भनेको सुन्छे कि ? तँ किन सम्झाउँदिनस् त्यसलाई उर्वशी ?” कान्छी सानिमाले उसको नजिक सर्दै भन्नुभयो ।

“ यतिबेला ऊ आफ्नी आमाबाहेक अरू कसैको कुरो सुन्नेवाला छैन, सानिमा । त्यसमाथि मेरो र सिम्रिकको सम्बन्ध यति सुदृढ हुनुको कारण एकअर्काको व्यक्तिगत कुरामा हस्तक्षेप नगर्नु नै हो । मैले आजसम्म उसलाई केही भनिनँ र अब अगाडि पनि भन्दिनँ । पढेलेखेकी छ, समझदार छ । यदि उसले आफ्नो मनको सुन्दिनँ भने मेरो कसरी सुन्ली र ? त्यसमाथि मलाई उसको हरेक डिसिजनमाथि मान छ । ऊ त्यस किसिमको मान्छे हुँदै होइन जो हावाको भरमा गलत डिसिजन गर्छ । त्यसैले सानिमा, सिम्रिक खुसी हुँदा म खुसी, ऊ दुःखी हुँदा म दुःखी । मेरो काँध आजीवन अभाइलेवल छ उसका लागि, टाउको अड्याएर रून पनि, समाएर उभिन पनि ।”

उसको भावनामा डुबेको स्वरले तरल भयो मेरो मन । म भित्तामा अडेसा लागेँ ।

मेरो सम्झनामा उर्वशी तबदेखि नै छ जबदेखि मेरो दिमागले याद गर्न, याद राख्न जान्यो ।

ममी बाबाको झगडा, उहाँहरूका मुद्दा मामिला र डिभोर्स । ती सबै भयावह दिनहरूमा उर्वशी नै एउटा यस्तो याद हो जसलाई म बिर्सिन चाहन्नँ । उसको साथमा खुसी भएको सीमित पल पनि, दुःखीभएको क्षण पनि मेरा लागि उत्तिकै अमूल्य छन् ।

“दिदीले आफ्नो घर त बनाउनुभएन बनाउनुभएन, सिम्रिकको घर पनि बन्न दिनुभएन ।” कान्छी सानिमाको अफसोसपूर्ण स्वरले झस्कायो मलाई ।
“त्यही त भन्या ।” सानिमा भन्दै हुनुहुन्थ्यो, “आफूले गरेको गल्ती छोरीलाई गर्नबाट रोक्नु त परैजाओस्, झन् उसलाई उकासेर त्यही गर्न लगाउने । भिनाजुसँग मुद्दामामिला गरेर त्यत्रो हन्डर खाएको मान्छेले त चेत्नुपर्छ नि !”

“दिदी चेत्नेखाले कहाँ छिन् र ? उनले बिर्सिन्, माफ गर्न जानेकी भए आज सिम्रिक र शैलेश बाउको छत्रछायाँबाट वञ्चित किन हुन्थे ?”उर्वशीकी ममीले खिन्न हुँदै भन्नुभयो ।

“तर ममी, ठुलोबुवा नै उस्तो होइनन् र भन्या ? ठुलीआमा त…।”
“दिदी पनि कमकी कहाँ हुन् र ?” साहिंली सानिमाले उर्वशीको कुरा काट्दै भन्नुभयो “ हामी ४ जनामा जेठीबाठी । बाकी एकदमै साख्खै । बाको नचाहिँदो पुलपुल्याहट र छुटले दिदीलाई यति जिद्दी र स्वार्थी बनायो कि उनले आफ्नोसामु कसैलाई कहिल्यै मान्छे देखिनन् । रोजेर, कसैको नसुनी जात छोडेर बिहे गरिन् । बिहे गरेको ५ वर्ष नबित्दै मुद्दामामिला गरेर, अनेक रँडाको मच्चाएर त्यो जमानामा छोराछोरी र सम्पत्ति लिएर अलग भइन् । माइतीबाट पनि सबैलाई घुर्क्याएर, धम्क्याएर अंश लिइन् । अब धेरै कमाउने छोरीको कमाइ पनि एकलौटी चाहिएको छ उनलाई । त्यसैले ज्वाइँ र ज्वाइँको परिवारसँग हुँदो नहुँदो कुरामा निहुँ खोजेर छोरीलाई बेघर बनाउन आँटिन् । बिचरी सोझी सिम्रिक !”
के भन्दैथिए उनीहरू ? यो मैले कहिल्यै नसुनेको विषय थियो । म ढोकाको अझ नजिक सरेँ

“पैसाकै लोभ त नहोला हौ ।” कान्छी सानिमाले भन्नुभयो, “ के नपुग्दो छ र दिदीलाई ? एउटा घरको भाडाले मजाले खानलाउन पुगेको छ । आफू बसेको घर पनि आधा भाडामा लगाउनुभएको छ । त्यसमाथि हाम्री सिम्रिक यति गुणी छ, कलेज पढ्न थालेदेखि ट्युसन पढाएर आफ्नो र भाइको खर्च आफैँ जुटाई । दिदीलाई कहिल्यै चिन्ता गर्नै परेन उनीहरूको खर्चको । कमाउन थालेदेखि सबै कमाइ उहाँलाई नै बुझाई । बिहे भइसकेपछि पनि उसले कमाएको सबैजसो पैसा दिदीले नै लिन्छिन् यो र त्यो कारण देखाएर । धन्न ज्वाइँ गतिला परेका थिए दिदीका र त कहिल्यै केही भनेनन् ।”
“ देखिनस् कसरी दाइसँग झगडा गरेर, बासँग जिद्दी गरेर अंश लिइन् ? कम्ताकी छन् र हाम्री दिदी ? उनैले गरेर आमाबासँग दाइको कहिल्यै राम्रो सम्बन्ध भएन । अहिले पनि त कहाँ त्यति जानेआउने छ र दाइकोमा उनको ? न कुनै नातेदारले फुटेका आँखाले देख्नसक्छन् उनलाई । बाबै नि हाम्री एकलकाँटे दिदीको पेटमा को पस्नसक्छ र ?” साहिंली सानिमाले भन्नुभयो ।

मेरो मन खिन्नभयो । मैले किन कहिल्यै ममीमा कुनै खराबी देखिनँ ? उहाँको एक्लोपनको तुलनामा उहाँका सबैखाले खराबीलाई सहानुभूतिको चस्माले हेर्ने भएकोले नै होला मैले मेरी ममीका हरेक ज्यादती, कठोरता र तुच्छ वचनलाई क्षमायोग्य मानेँ- यो पनि बिर्सेर र कि गलत कुरा हरहालतमा गलत नै हुन्छ ।

“भिनाजु जतिसुकै बेठिक भएपनि हाम्री दिदी पनि सहीचाहिँ होइनन् है । सिम्रिकले आफ्नो रोजाइको केटोसँग बिहे गरेको दिदीलाई पटक्कै मनपरेको थिएन, त्यसो भन्दैमा छोरीको घरै भाँड्न त हुन्न नि ? म त भन्छु हाम्री सिम्रिक नै उस्ती ! यत्रो उमेरमा पनि आमाको लहैलहैमा लाग्छे ।”

“के गरोस् उसले पनि ?” उर्वशीले सानिमाको कुरा काटी, “सधैँ आमाको नजिक छ ऊ । खुसी भएको भन्दा धेरै रोएको, दुःखी भएको देखेकी छ उसले आफ्नी आमालाई । आमाले राम्रो भने राम्रो, नराम्रो भने नराम्रो मान्दै हुर्केकी छ ऊ । त्यसैले त यत्रा वर्षमा एकपटक बाउको मुख हेरिन उसले । पहिलेपहिले ठुलोबुवा आइरहनुहुन्थ्यो स्कुलमा तर सिम्रिकले भेट्न नमानेपछि आउन छोड्नुभयो ।” उसको स्वर उदास सुनियो ।

“बिचरी !” उसकी ममीले अफसोसपूर्ण स्वरमा भन्नुभयो, “अर्काको दुःख त देख्नसक्ने, बुझ्नसक्ने हाम्री सिम्रिकले आमाले देखाएको दुःख कसरी नदेखोस् ? तर हाम्री दिदीको ढुङ्गाको मन । कसरी नदेखेको होला छोरीको मन दुःखेको ? बिचरी जिउँदोजस्तो पनि देखिन्न यो पारपाचुकेको निधो भएदेखि । कसरी बाँच्ली आफूले मनपराएर बिहे गरेको लोग्नेसँग छुट्टिएर ? काखमा सन्तान भएपनि मन भुलाउने बहाना हुन्थ्यो बिचरीलाई !”

मेरा खुट्टा दुख्नथालेका थिए उभिँदाउभिँदा तर अब उहाँहरूको कुरा सुनेर मन पनि दुख्यो, बेस्सरी । भित्र पसौँ या बाहिर निस्कौँ, मैले निधो गर्न सकिनँ ।

“मलाई झन कति अफसोस छ कति !” उर्वशीले उदास स्वरमा भनी, “ बुझ्नेभएदेखि सुख र सन्तोषको मुख नदेखेकी सिम्रिक गौतमसँग बिहे गरेर साँच्चै नै खुसी भएकी थिई । मैले कल्पना पनि गरेकी थिइनँ सिम्रिकको खुसीको आयु यति छोटो हुनेछ भनेर ।”

“उर्वशी ! सम्झा, बुझा त्यसलाई । यो उमेर आमाको औँला समातेर हिँड्ने उमेर होइन, आफ्नो विवेकले देखाएको गर्ने उमेर हो भनेर । ज्वाइँ बेसै छन् । सासूससुरा सबैका उस्तै हुन्, रिझाउन जान्नुपऱ्यो । छुट्टिनु/अलग्गिनु समाधान होइन । हुनेभए दिदी यस्ती हुन्नथिन् ।” माहिली सानिमाले भन्नुभयो । केहीबेर मौनता छायो । म भित्र पस्न खोजेँ तर फेरि कान्छी सानिमाको स्वर सुनेर रोकिएँ ।
“खै त, आइ न त सिम्रिक यसबेलासम्म ?”

“कामको सुरमा बिर्सिहोला त्यसले । मैले पनि फोन गरिनँ त्यसलाई सम्झाउन । अब त के आउली र ?” उर्वशीको स्वर झन उदास भयो, “काममा अल्झी भने आफू सारा संसार बिर्सिन्छे अनि त्यही कुरा गौतमले गऱ्यो भनेर ऊसँग झगडा गरेर सम्बन्धलाई डिभोर्सको कठघरामा ठड्याउँछे । म के भनूँ यो सिम्रिकलाई ?”

हो त, म छु त्यस्तै । फेरि किन गौतमलाई मात्र दोषी मान्छु म हरेक कुराका लागि ? ऊ साँच्चै दोषी छ, जिम्मेवार छ र यो डिभोर्सका लागि या सानिमाहरूले भनेझैँ ममीकै चस्माले हेरिरहेँ मैले उसलाई आजसम्म ? म रन्थनिएँ ।

“लौ हेर, यत्रोबेर भइसके छ ? भोलिदेखि घरभरि पाहुना हुन्छन् । सुत्ने तर्खर गरौँ अब । तँ सिम्रिकलाई फोन गर उर्वशी ।” माहिली सानिमा उठ्नुभयो ।
“सुतिसकी होली, अब भोलि बिहानमात्रै फोन गर्छु ।”उर्वशीले भनी, “मेरो कोठामा अरू कसैलाई नकोच्नोस् है ममी मैले भन्दियाछु, यो मेरो र सिम्रिकका लागि बुक छ ।”
“लौ लौ, तेरी सिम्रिक बस्ने गरी आए त हो नि !”सानिमाले भन्नुभयो ।

म बिस्तारै तल झरेँ ।

भित्र पसेर उनीहरूको सामु उभिन जाने मेरो हिम्मत भएन । मैले भन्दा धेरै, मेरा जन्मदाताले भन्दा धेरै मेरो मन, मेरो दुःख बुझेका मेरा आफ्नाहरूको कसरी सामना गर्थें म झुटो मुस्कान ओढेर ?

भऱ्याङको पुछारमा माथि उक्लिन लागेकी काकीसँग भेटभयो ।
“काकी, गेट बन्द गर्नोस् म जान्छु ।” मैले सानो स्वरमा भनेँ, “म यहाँ आएको कुरा कसैलाई नभन्नुहोला । अब म भोलि बिहानमात्रै आउँछु ।”
काकीको अनुहारमा घोर आश्चर्य उदाएपनि उहाँ केही बोल्नुभएन ।

गौतम र मेरो बिहेको एकदमै विरुद्ध हुनुहुन्थ्यो ममी । अहिले सोच्दा लाग्छ- ममी मेरो बिहे गौतमसँग मात्र होइन, कसैसँग नहोस् भन्ने चाहनुहुन्थ्यो सायद त्यतिबेला । जीवनमा त्यही एक चिज थियो जुन मैले ममीको इच्छा विरुद्ध गरेकी थिएँ । नत्र त उहाँले बाबासँग नभेट, नबोल भन्नुभयो- मैले यत्रा बर्षसम्म बाबालाई आफ्नो वरिपरि पर्न समेत दिइनँ । विदेश पढ्न जाने अवसर पाएँ तर ममीको इच्छाअनुरुप म बाहिर पढ्न गइनँ । ममीको दुखिरहेको मन अझै नदुखाउन म आफ्नै मन दुखाइरहेँ सधैँ । त के मेरो दुखेको मनको पर्वाह उहाँलाई छँदैछैन ? जहाँ सारा साथीभाइ, नातेदार मेरो गौतमसँगको डिभोर्सलाई गलत भनिरहेछन्, त्यहीँ ममी मेरो पिठ्युँ ठोकिरहनुहुन्छ ‘सही गरिस्’ भनेर । के, साँच्चै नै सही गर्दैछु त म ?

उर्वशी र मेरी आमाको घरबिचको लगभग आधा घन्टाको बाटोमा, आधारातमा त्यसरी एक्लै हिँडिरहँदा मलाई गौतम र मेरोबिचका ती थुप्रै पलहरू याद आए जसलाई म निसङ्कोच, मेरो जीवनका अविस्मरणीय पल भन्नसक्छु । त के म ती पलहरूका लागि नै सही, गौतमले बारम्बार हात जोडेर गरेको सम्झौताको अनुरोध मान्न सक्दिनँ ?

मेरा हात अनायास पेट मुसार्न पुगे ।
ममीले झैँ म पनि मेरो पेटमा सास फेरिरहेको यो जीवनलाई टुक्रिएको परिवार र एक्लै हुनुको कुण्ठा दिन जाँदैछु । के, म यसलाई अर्की ‘सिम्रिक’ बनाएर कहिल्यै खुसी हुन सकुँला र ? आफूले गर्दै नगरेको अपराधको सजायस्वरुप आधा जीवन आफूभित्रै गुम्सिएर बाँचे म, त के यही जीवन म मेरो सन्तानलाई पनि दिन चाहन्छु ? सोचेरै कहालिएँ । प्रेग्नेन्सीको रिपोर्ट हातमा परेदेखि नै आन्दोलित मन सानिमाहरूको कुरा सुनेर यतिखेर झन छटपटाएको छ । मनको र आफन्तहरूको या ममीको- कसको कुरा सुनौँ म ?

ममी बाबाको छिन्नभिन्न वैवाहिक जीवनको त्रासदी देखेकी, भोगेकी मैले आजीवन बिहे नगर्ने प्रण गरेकी थिएँ । त्यो त गौतम नै थियो जसले मेरो पछाडि पाँच वर्ष खर्च गरेको थियो, मलाई ऊसँग बिहे गर्न राजी बनाउन ।

छोरोको रोजाइलाई खुसीखुसी स्विकारेर मलाई घरमा भित्र्याएकी उसकी आमा र मेरो महिना दिन पूरा हुन नपाउँदै ग्रह मिलेन । कारण थियो मेरी ममीको उनीहरूप्रतिको व्यवहार । मेरो गौतमसँगको बिहेबाट पटक्कै खुसी नहुनुभएकी ममी मलाई त केही भन्नुहुन्नथ्यो तर गौतम र उसको परिवारलाई अपमानित गर्ने कुनै मौका छोड्नुहुन्नथ्यो ।

पहिलेपहिले गौतम मध्यस्थता गर्ने कोसिस गर्थ्यो । आफ्नी आमालाई सम्झाउँथ्यो, मेरी ममीलाई सम्झाउन कोसिस गर्थ्यो तर यो सधैँको सधैँको किचलोसँग ऊ पनि बिरक्तियो बिस्तारैबिस्तारै । तथापि, हरेकपटक त्यस्तो किचलो मच्चिँदा ऊ प्रायः मेरै पक्ष लिन्थ्यो । मेरै साइडमा उभिन्थ्यो । उसको परिवार ऊसँग जतिसुकै रिसाए पनि उसले मेरो साथमा उभिन कहिल्यै छोडेन । मैले भने कहिल्यै उसको पक्ष लिईनँ । म त सधैँ आफ्नि ममीकै साइडमा उभिएँ- उसलाई एक्लो पारेर । यतिबेला मलाई त्यस्तो कुनै एउटा पल पनि याद आउनैसकेन जब ममीले उसको परिवारलाई लिएर मच्याएको किचलोमा मैले उसको साथ दिएको हुँ ।

रात निकै छिप्पिइसकेको हुनाले चकमन्न थियो । केवल कुकुर भुकेको र बाटोमा फाट्टफुट्ट हिँड्ने गाडीको आवाजले त्यो चकमन्नतालाई बिथोल्थ्यो ।मैले बेल बजाउनुको साटो आफूसँग भएको साँचोले गेट खोलेँ र भित्रपसेँ ।

ममी र भाइको निन्द्रा नखलबल्याउने उद्देश्यले म बडो सावधानीपूर्वक माथि उक्लिएँ ।

करिडोरमा डिमलाइटमात्र बलिरहेकोले पर्याप्त उज्यालो थिएन । म एकैक्षण ममीको सुत्नेकोठाको बन्द ढोकासामु उभिएँ ।

आफ्नो कोठातर्फ बढ्दा मैले देखेँ – मेरो भाइको कुनाको सुत्ने कोठाको अलिकति खुलेको ढोकाको कापबाट निस्किएको उज्यालोले करिडोरको एउटा सानो भाग ओगटेको थियो ।
‘के गरिराछ यो यसबेलासम्म नसुतेर ?’ मेरो मनमा कौतूहलता जाग्यो । म आफ्नो कोठाभित्र पस्न छोडेर उसको कोठातिर लागेँ ।

“तपाईं सधैँ यसै भन्नुहुन्छ ममी !“ उसको कोठाको ढोका नजिक पुगेपछि मैले भाइको अप्रसन्न स्वर सुनेँ, “ दुइ वर्षभयो मैले बाइक किन्दिनोस् भनेको तर तपाईँ…।”

“सिम्रिकले बिहे नगरेकी भए उहिल्यै किनिदिन्थेँ ।” ममीको स्वरले मलाई अगाडि बढ्न दिएन, “अब पर्सि डिवोर्स भइहालोस् त्यसको, त्यसपछि त उसको सबै कमाइ हाम्रो । अनि किन्दिन्छु म तँलाई तैँले रोजेकोभन्दा महँगो र राम्रो बाइक ।” ममीको स्वरको अपार सन्तुष्टिले भित्रसम्म हल्लायो मलाई । कुनै आमा कसरी यति सन्तुष्ट र खुसी हुनसक्छन् आफ्नो छोरीको घर बिग्रिँदा ? पहिलोपटक ममीप्रतिको मेरो आस्था, विश्वास र आदरको महल गल्र्यामगुर्लुम्मै ढल्यो । एकैक्षणमा आँसुले सरोबर भएँ म ।

“तर ममी डिवोर्सपछि के गर्छे दिदीले ?” भाइ सोध्दै थियो । उसको स्वरमा मप्रति चिन्ता मिसिएको थियो ।
“कस्तो, के गर्छे ?” मैले ममीको स्वरमा मप्रतिको कुनै चिन्ताको छनक भेट्टाइनँ, “त्यति ठुलो आइएनजिओमा त्यति राम्रो पोस्टमा काम गर्छे । घरधन्दा र गौतमको टेन्सन सकिएपछि अझ बढी समय र ध्यान लगाउनसक्छे उसले काममा । प्रमोसनसँगै पैसा पनि बढ्छ । देश विदेश घुम्ने मौका पाउँछे । त्यसभन्दा बढी अरू के चाहियो त्यसलाई ? हामी छँदैछौँ नि, किन चाहियो त्यसलाई अरू कोही ?”
मैले अरू सुनिरहन सकिनँ ।

आफ्नो कोठामा आएर खुब रोएँ म । चिजहरू आँखाका एकदमै नजिक भएभने प्रस्टदेखिँदैन भनेको सही रहेछ । मैले पनि सायद प्रस्ट देखिरहेकी थिइनँ किनकि ममीको एकदमै नजिक थिएँ म । मलाई सानिमाले भनेको ’अलग हुनु, छुट्टिनु समाधान होइन’ भन्ने कुरा याद आयो । मैले अलग हुनुको साटो जुटेर समाधान खोज्ने अठोट गरेँ र गौतमलाई फोन गरेँ ।

दुई रिङमै उसले फोन उठायो र अत्तालिएको स्वरमा सोध्यो-“आर यु अलराइट सिमी ? यति अबेलासम्म नसुतेर के गरिराछ्यौ ? घरमा ममी र भाइलाई त ठिकै छ ?”

म झनै बेस्सरी भक्कानिएँ । दुई दिनपछि डिभोर्स दिँदै थिएँ म उसलाई तर ऊ अझै मेरो र मेरो परिवारको कुशलमङ्गल जान्न यति आतुर थियो ? के साँच्चै नै खराब थियो त गौतम ?

“के भयो ? के भयो भन त ? कहाँ छ्यौ तिमी ?” उसको स्वरमा अनौठो व्यग्रता थियो ।
“घरको बाटोमा ।” मैले अवरुद्ध स्वरमा भनेँ, “अलमलिएँ गौतम, तिमी आएर बाटो देखाउँछौ, प्लिज ?”
“म आइहालेँ । एकैक्षण कुर्नसक्छ्यौ मलाई ?“ उसको स्वरमा अनुनय मिसियो ।

“जिन्दगीभरि कुर्न सक्छु ।” मैले कम्पित स्वरमा भनेँ । उताबाट उसले फोन राखेपछि म चुपचाप आँसु पुच्छदै तल ओर्लिएँ ।

गेटबाहिर उभिएर गौतमलाई कुर्दाकुर्दै मैले उर्वशीलाई म्यासेज गरेँ – “सरी, म आज तेरो घरमा आउन सकिनँ । यतिबेला म मेरो घरको बाटोमा गौतमलाई कुरिरहेको छु । मलाई माफ गर तर अब म तेरो बिहेको दिनमात्रै त्यहाँ आउँछु- गौतमको साथमा । मेरी सखी, यसपटक पनि मलाई तेरो काँधको आवश्यता छ तर यसपटक टाउको अड्याएर रूनलाई होइन, बरु थामेर उभिनलाई ।”

प्रतिक्रिया

सम्बन्धित खवर