✍️ विष्णु पादुका

 

१२खरी उत्कृष्ट कथा २०७९ ले ४१४ पेज बोकेको रहेछ । सामाजिक संजालबाट प्रकाशन हुनु अघि प्रतियोगिता आव्हान हुँदै थाहा थियो । बिमोचन अनि पुरस्कारको समाचारले मन खुशी भयो । सकभर छिटो पढौं भन्ने पनि लाग्यो । तर बितरण प्रणाली नमिलेर होला पहुँच हुने बजारमा भेटिएन । जे होस् पुस्तक पढ्न पाइयो । पढेर सकाइयो । सामान्य त्रुटि औल्याइएन । सुधारेर पढियो ।

कथाले समाज बोल्छ । पात्र बोल्छन् । दुस्ख पीर बोल्छन् । सबैभन्दा ठूलो कुरा वर्तमान पुस्ता बोलेका कथा हुन् यी । पाँच स्थापित कथाकारका कथाले अझ यो बलियो हुन पुगेको छ ।

कथाहरूलाई तुलनात्मक हिसाबले जस्ले हेर्ने जिम्मेवारी लिनुभएको थियो । यसप्रति बिमती जनाउनु छैन । कथा भित्रबाट बाहिरिए पछि मनमा आएका र लागेका कुरा आउने नै छन् ।
कथा भित्र नै छिर्नअनुमति चाहेँ ।

नवीन अभिलाषीको दमाहामा नेपालको पहाडी परिवेश जहाँ दलितको पीडासँगै चरम गरीबी छ । कथित उपल्लो जातको शुभ कर्म गर्न प्राकृतिक प्रकोपले पनि रोक्दैन । हेपाइमा परेका दलितले आफ्ना यावत दुःख बिर्सेर आज्ञा सिरोपर गर्दा गर्दै पनि अधुरो रहेको काम सिलसिलेबार ढङ्गले देखाएको छ । पहाडी क्षेत्रको भिरालो जमिनको पुरै बस्ती बाढी पहिरोले तहसनहस हुँदा, मानविय क्षती प्रती समेत उपल्लो जात भनिने वर्गको शब्दमा समेत सहानुभूति देखिदैन ।

प्राकृतिक चोटको कारुणिकता मानविय अवहेलनाले पुत्रहिनताको गहिरो चोट समेत छायामा परेको देखाउने कथाकारिता साँच्चिकै लोभलाग्दो छ । सैयौ कथा माझ पहिलो नंबरमा पर्नु दमाहाको कथान्तको चमोत्कर्ष नै हो । हेलाँको विस्फोटमा क्रान्तिको संकेतमा रगत मिसिएको थुकले बिचारको बन्दुक निशानामै पड्काएको देखिन्छ ।

‘डढेको आकाश’ रमेश जंग थापाको कथा हो । चिनियाँ सांस्कृतिक क्रान्तिका बाछिटा संसार भर फैलिएको छ आज पनि । दिल्लीको एउटा कोठामा खुम्चिएको आकाश स्वतन्त्र चीनको पनि हो । शरणार्थी हुनुपर्दाको पिडा, थातबास छोड्नुको रोदन अनि यात्रामा आइपरेका भोक प्यास र बाधा बिघ्नका विवरणमा जो कसैको मन कटक्क काटिन्छ ।

तराईमा ओढिने पछ्यौरीहो ‘घुघट’ । घुघटको प्रयोग घाम शीत र हावापानी छेक्न मात्र होइन आफ्नै छोराबाट पाएको धोकाबाट समेत बचाउन बलियो हतियारको रूपमा आएको छ रुम न्यौपानेको कलम बाट । बुहारीको मच्याहटमा लागेर दुर्बुद्द भएको छोरोलाई हराइएकी आमाले गतिलो पाठ पढाइदिईन् । मातृशक्तीमा मातृत्व मात्र हुँदैन परिआउँदा कठोर हतियार पनि उम्रन्छ भन्ने गहिरो सन्देश बोकेको छ यस कथाले ।

पाठकलाई कम्तिमा तीन ठाउँमा आँसु चुहाउँछ अजित रूपाबुङको कथा ‘अब रुन्न कहिल्यै’ले ।लाउँलाउँ खाउँखाउँ उमेरको आफ्नो लोग्ने निहत्था र निरपराध मारिए पछि , आफन्तकै गिद्दे नजरमा परेकी निसहाय नारी जन्मेको माटो छोड्न बाध्य छन् । मुलुक छोडेको पीडा र पछ्याएको कुकुरले कुन पाठकलाई नछोला । छोरीको निधन र श्रीमानको हत्या भएको प्रमाणित हुनुले रुन्न भन्नेलाई पनि रुवाउँछ । कथा सिल्पी अब्बल छ ।

काँशीलाल अधिकारीको ‘धमेलो’ले नेपाली समाजमा ब्याप्त अन्धविश्वासको उजागर गरेको छ । औषधोपचारको अभावमा आज पनि दुर्गम बस्तिका गाउँ धामिकै वरिपरि पुग्न विवस छन् ।
डा. गोमा अधिकारीको ‘बालन’ कथा लोपोन्मुख बालन संस्कृतिको जगेर्नाको आधारभूमिमा कोरिएको छ ।

चन्दन अर्यालको ‘नियती’ कथाले गरिबी अभाव मात्र बोल्दैन त्यसलाई चिर्न बिदेशिएको एक युवा कोरोना महामारीको सिकार हुन्छ । लास समेत देख्न नपाउनुको पिडादायी कथाको पात्र सुमन प्रती जोकोही पाठकले सहानुभूतिमा आँसु चुहाउँछ । आमाका सुख्खा आँखासँगै । चेतनाथ आचार्यको ‘राजकुमारी दिक्पाल’ले मनोवैज्ञानिक असरको प्रतिनिधित्व गरेको छ । किशोरी अवस्थाकि छोरीमा एउटा कथाले पारेको प्रभाव र बाआमाले दिन नसकेको समयले समस्या जटिल हुन्छ तर सुखद अन्त्यमा कथा सकिएको छ ।

‘विरुपाक्ष’ जनक कार्कीको कथामा पौराणिक कथासँग आधुनिक समाजको संघुलन गरिएको छ । सचेतना फैल्याउने अन्तिम बिन्दु आशा नै हो । निरासाको बाटो सदैव अँध्यारो हो भन्ने सन्देश बोकेको छ विरुपाक्षले ।

माओवादी द्वन्दले छोडेको घाउ हो जीवन खत्रीको ‘लेख्न नचाहेको कथा’ । द्वन्दले बाबुको ज्यान लिएपछि त्याग्नु परेको गाउँघर र शहरको संघर्ष पछि बिदेशिनुको बाध्यता अनि आमाको मृत्यु र पत्निको धोकाले आजको वास्तविक समाज देखाएको छ ।

‘देवता बनाउने मान्छे’ दीपेन्द्र दोङ तामाङको कथा हो । गाउँमा आइपर्ने गार्हा अफ्ठ्यारामा दिलोज्यान दिने दलित परिवारमा पटक पटक हुने आपराधिक शृङ्खलाको पराकाष्ठा हो । दलितको हातबाट निर्मित मुर्ती देउता बन्न सक्छ । तर बनाउने मान्छे मान्छे हुन सक्दैन । पुजारीकै छद्ममा बालिकाको बलात्कार अनि मृत्यु मात्र होइन लास गुम्नुले दलितको आवाज विहिनता प्रकट भएको छ ।
दुर्गा ढेंगाको ‘भोक’ बाल्यकालको अभाव देखाइएको कथा हो । चामलको सेतो भात प्रतिको आकर्षक भन्दा स्थानिय भाषाको प्रयोगले मिठास थपेको बोध हुन्छ ।

द्वैपायन रेग्मीको ‘म अश्वत्थामा’ महाभारतकालिन मिथकसँग आजको समाज जोडिएको दार्शनिक कथाको प्रतिनिधि कथा हो । निबन्धात्मक शैलीमा लेखिएको यो एक सफल कथा हो । जित्नेको जय र हार्नेको उछितो काढ्ने निर्देशित सिद्धान्तको प्रतिपक्षी भएर उभिनु यस कथाको बलियो पाटो हो । आजको समाजमा पनि उस्तै प्राचीन पात्र छन् हाम्रा वरिपरि । दिनबार र शताब्दी त समयका आयाम र नाप मात्र हुन् मानवियता सकिनु नै समयको अन्त हो भन्ने दार्शनिकी सुन्दर छ ।

‘निर्धो समय’ डा. नवीन बन्धु पहाडी दाहालको कथा हो । माओवादी छापामारको दुर्दान्त कथा हो यो । सेना समायोजनको झेल देखि बेरोजगार हुनुको र अभावको चरमोत्कर्ष अनि पतिको मृत्यु पछि छोरीहरूको भोक मेट्न शरीर नै पेश गर्नुपरेको बैचारिकी बोकेको कथाले मार्मिकता बोकेको छ ।
‘बयान’ पूजा आराधनाको प्रताडनाको बयान दिन सक्षम छ ।दुस्ख बर्सिँदा ओढाउँने छाता हुँदैन । भिजिसकेपछी निचोर्नका लागि बयान आएको छ । जो न्यायका नाममा बिशाक्त बन्दै छ । शब्द आफैमा खुनको बदला खुन त दिन सक्दैन कुनै न्यायालयले । अपाङ्ग छोरी र तिरस्कृत आमाको पक्षमा कुन अदालत खडा छ र समाजमा ? यावत् प्रश्नको बोझ बोकेको बयान ससक्त कथा हो ।

प्रतीक्षा घिमिरेको ‘ढक–ढक’ जीवनका निर्मम भोगाइले थाकेर मृत्यु भएका ति तमाम नारीको कथा हो । जो यमराजको धर्म सभामा समेत उचित न्याय पाउन सक्दैनन् । लाल जिल्ला र श्वेत जिल्लाको नवीन काल्पनिकिले कथालाई डोर्‍याएको छ । नारीलाई कमजोर बनाउने नारीत्वलाई कमजोर आँकलन गर्ने केवल पुरुष दृष्टिकोण हो । जुनकुरा यमराजमा समेत हावी रहेको देखाइएको छ । चारो नपाएका कुखुरा जस्ता पुरुष बिम्बले कथालाई थप शक्तिशाली बनाएको छ ।चेतना प्रवाह र एकता कायम गर्नुको शक्ति पनि यस कथाको सन्देस हो ।

प्रोल्लास सिन्धुलियको प्रगल्भ स्वभावको ‘मच्छिनी–दंशन’ एक प्रेम कथा हो । छापामार र एक कविको बाल्याकालिन प्रेमले छापामार युद्ध झेल्नुपर्दा प्रेमले साकार रूप लिन सकेको देखिदैन । सहयोग र प्रेम लिन र दिन नसके पनि प्रेमको दियोको रुपमा प्रेमिका गुमाए पनि छोरीलाई प्रेमको सुन्दर फूलको रूपमा देखाइएको छ ।

महेन्द्र महकको कथा ‘क्षतिपूर्ति’ दलितको दहन माथी केन्द्रित कथा हो । नामथर उल्लेख हुने नागरिकता माथी थर फेरिनु अथवा देखावटी रूपमा आरक्षणको व्यवस्था गरिनुले के क्षतिपूर्ति हुन्छ त्यो बर्षौं देखिको दलन र अपहेलनाको ? प्रश्न गम्भिर छ ।

बन्दी प्रत्यक्षीकरण हुन नसक्ने र नियम कानुन समेत हुनेखाने वर्गकै पहुँचमा भएको सबुत हो ‘हेवियस कोर्प्स’ परिवार पाल्न जोहो गर्न सेप्फ्टी ट्यांकी सफा गर्ने एउटा वर्गको प्रतिनिधि पात्रको माध्यम ले संसदको गैरजिम्मेवार काम समेतलाई उजागर गरेको छ । कथाको प्रयोग शैली भिन्न छ । जगदीश घिमिरेको कविताको टुङ्याइनीले कथा थप बलियो र शसक्त बनेको छ ।

कादम्बरी रमा अधिकारीको ‘पुरुष बेश्या’ कथा पढिरहँदा कथाकार चुक्न सक्ने डर लागिरहेको थियो ।प्रेम कथा भित्रको नारी उत्पिडनसँगै कथान्तको अन्तिम वाक्यले कथाको पुरै सार्थकता बहन गर्‍यो । एउटा शसक्त अन्त्यले सुन्दर घरमा एउटा ताल्चाले सुरक्षा दिने शर्त लेखनमा लागू भएको देखेर कथा प्रती जो कोहि सकारात्मक भैदिन्छ ।

राधिका कल्पितको ‘मालती मिस’ अर्को भिन्न प्रेम कथा हो । प्रेम आसक्तिको एउटा रुप हो । तर आसक्ति शारीरिक मात्र हुन सक्दैन ।आत्म आशक्ती पनि प्रेम हो । माया र प्रेमबीचको अन्तर र आसक्ति भिन्न हुन् । आधुनिक बिज्ञानको युगले समाजका नजरमा टाढा रहेका प्रेमी एक अर्काको उपस्थितिले खुशिको अनुभव लिन्छन् । प्रेमीको रूपमा सन्तानको चाहना राखेर त्यसलाई प्राप्त गर्नु प्रेम भित्रको आसक्तिको शसक्त उदाहरण हो । जहाँ कतै केही आक्षेप र लाञ्छना नलगाई कथालाई संयोगान्त बनाइएको छ ।

डा. विनोद ढकालको विधाको ‘ब्यार’ दुर्गम हिमाली भेकको एउटा छोटो समयको कार्यसहित को भ्रमण हो । जुन कथाले स्वास्थ्य समस्याको उठान र प्रतिनिधित्व गरेको छ । सीमित साधन श्रोत र गुणस्तर नभएका म्याद गुज्रिएका स्वास्थ्य सामग्री सँग जुध्दै एउटा महिलाको अप्रेसन गरेर आमा र बच्चालाई जोगाउनु एउटा कर्तव्य मात्र थिएन ।एउटा खतरापूर्ण काम पनि थियो । जसलाई एउटा अनुभवी डाक्टरले पूरा गरेका छन् । स्वास्थ्य क्षेत्रभित्र हुनुपर्ने स्तरीयता र सजगताको चरम अभाव रहेको यो कथा यथार्थपरक छ ।

वीरसिंह विश्वकर्माको ‘काँठी बच्छी’ नेपाली सामाजिक कथाको लुकेको पाटो हो । छुवाछूतको विकराल समस्या भोगेको दलितको भोगाइ र हेलाँले कति मान्छेको जिन्दगी भताभुङ्ग भएको होला । प्रश्न यथावत छ । कथित छुत प्रतिको सम्मान र माया पनि कसरी अपराध सावित हुन्छ भन्ने पक्षमा लेखिएको यो यथार्थवादी कथा हो ।

निकै सन्देशमुलक र सकारात्मक कथान्तले कथा बलियो भएको छ । सेसेफुङको ‘नागरिकता’ कथा हाँसो भित्रको गम्भिरता हो । महत्त्वपूर्ण कागजात नागरिकताको प्रमाणपत्रमा एउटा अक्षरको अन्तरले पुस्ता समेतलाई अनागरिक बनाएको र आत्म स्वाभिमानमा चोट पुर्याएको छ । स्थानिय भाषामा ज्ञान नभएका कर्मचारीको सानो गल्तीको सजाय सबै परिवारले पाएको छ । स्थानिय भाषाको एक अक्षरले नामको अर्थमा निकै ठूलो र गलत अर्थ लाग्न सक्ने यो शसक्त उदाहरण हो । पहिचानको मुद्दा उठाउने प्रतिनिधि कथाको रूपमा लिन सकिन्छ यो कथा ।

सिर्जु शाहको ‘कचेरा’ नेपालका जुनसुकै समुदायमा ब्याप्त छोराको चाहना राख्ने प्रवृत्तिमाथि लेखिएको लैङ्गिक विभेदको प्रतिनिधि कथा हो । तीनवटा छोरीको जन्म पछि जमुनीले पाएको पारिवारिक प्रताडना निकै कारुणिक छ । नारीजन्य रोग पाठेघर खस्ने समस्याको राम्रो उपचार हुन नसक्नुले उनको लोग्ने अर्को बिहे गर्न समेत तम्सिएको देखिन्छ । एउटा महिलाको शरिरलाई फगत मेसिनको रूपमा बुझ्ने पुरुष पात्र मात्र होइन स्वयं नारी पनि जानी नजानी त्यो अत्याचारमा सामेल छन् सासुका रूपमा । आत्महत्याको दृश्यले कथा निकै दुखान्त छ ।

प्रतियोगितामा छानिएका बाहेक खेलाँची डा. ध्रुवचन्द्र गौतम ,देवकी माया ठकुरी ,गफ्फु यादव डा. बेन्जु शर्मा ,राजव को वेडिङ रिङ र अन्त्यमा अन्तहिन कथाले बिट मारिएको कथाहरूको पुस्तक भित्र विविध पक्षका कथाहरू छन् ।

अमेरिकादेखि नेपालका धेरै भूगोलको प्रतिनिधित्व कथाहरूले गरेका छन्। विषयबस्तुका हिसावले शिक्षा क्षेत्र समेटिन छुटेको आभास भयो । अपाङ्गतामाथि पनि एउटा कथा भेटिएन । सम्पादक समुहले यसप्रति चासो नपुर्याएको हो कि ? कथाहरूको सम्पादन गर्दा कतिपय कथामा कथा सकिएपछि फेरि कथामाथी दृष्टिकोण पनि राखेको त्यति चित्त बुझ्दो लागेन। यति हुँदाहुँदै पनि पाठकको पठन लगाबलाई टुट्न जोगाएका छन् सबै कथाले । कथाको इतिहासमा १२ खरीले खेलेको भूमिका निकै सह्रानिय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर