✍️ ईश्वर दाहाल

 

गजल – एक

उसलाई बर्बादीमा खुशी पाउनु पर्ने थियो !
आफैँ भत्कियो घर भत्काउनु पर्ने थियो !

प्रथम अरु नै भयो तिमी आउन छुटाएर
प्रतियोगिता,कसैलाई रुवाउनु पर्ने थियो !

बा–आमाको तस्वीर भित्तामा टासिदिएँ
सस्तो दाममा मन्दिर बनाउनु पर्ने थियो !

यहाँको सबभन्दा राम्रो चित्रकार को छ ?
जिन्दगी अलिक राम्रो बनाउनु पर्ने थियो !

कागजमा आँसु लेखेर पानीमा छोडेकोछु
मैले जसरी पनि आँसु बगाउनु पर्ने थियो !

तिमिले आगोलाइनै अझै दुइपटक रोज्यौ
जहाँ दुइटामध्य एउटा समाउनु पर्ने थियो !

तँ त बाँचुन्जेलपनि घरमा बसिस ईश्वर
घर त आखिर मरेर पनि आउनु पर्ने थियो !

   गजल – दुई

तिमीले छोएर गएकी रहेछौ कुनै पल,सम्झिरहेका छन् !
आज पनि ढलहरू आफुलाइ गंगाजल सम्झिरहेका छन् !

सुनको भाउ घटेको मात्र थियो बजारमा केही समय
अचेल आफ्नाहरू नै मलाई पित्तल सम्झिरहेका छन् !

संसारको सबैभन्दा सुन्दर ठाउँ सम्झिनु थियो एउटा
यी आँखा हाम्रो भेट भएको स्थल सम्झिरहेका छन् !

किन आगो सल्काएर ताप्छन् कोही चिसा रातहरूमा
कसले मेरो दिललाई सधैँभरी मकल सम्झिरहेका छन् ?

यो गाउँमा लोरी सुनाएर मात्र निदाउँदैनन् बच्चाहरू
हरेक बा–आमाले ईश्वरका गजल सम्झिरहेका छन् !

प्रतिक्रिया

सम्बन्धित खवर