रिमा केसी भारतको मध्य प्रदेशमा जन्मिएकी हुन् भने उनको स्थायी घर प्युठान हो । हाल काठमाडौँमा बसेर साहित्यिक कर्म गरिरहेकी छिन् । कविता, कथा, मुक्तक र अनुवादमा विशेष सक्रियता देखाउँदै आएकी केसीको ‘यात्रामा अक्षर’ (कविता सङ्ग्रह (२०७५) प्रकाशित छ । दोस्रो कृतिको रूपमा ‘अमृता प्रीतमका छानिएका कविता’ (अनुवाद–कविता) गएको हप्ता मात्र लोकार्पण गरिएको छ । आजको पुस्तक वार्तामा उनै कवि केसीसँग नवीनतम कृति केन्द्रीत भएर सेतोमाटो डटकमका सहकर्मी जनक कार्कीले गरेको अन्तर्वार्ताको सम्पादित अंश प्रस्तुत छः

यहाँले आफ्नो दोस्रो कृतिको रूपमा अनुवाद कविताको कृतिलाई सिर्जना गर्नुभयो । अमृता प्रीतमका कवितालाई अनुवाद गरेर ‘अमृता प्रीतमका छानिएका कविता’को नामबाट पुस्तक बजारमा उपलब्ध छ । अनुवादका लागि अमृता प्रीतमलाई नै किन छान्नु भयो ?

हजुर हो मेरो पहिलो कविता सङ्ग्रह यात्रामा अक्षरपछि मैले यो अनुवाद कविता सङ्ग्रह निकालेँ । भारतीय प्रसिद्ध कवि अमृता प्रीतमका छानिएका कविताहरूलाई मैले नेपालीमा अनुवाद गरेर सङ्ग्रह रूप दिएको छु । अनुवादका लागि अमृता नै किन छानेँ भन्दाखेरि मलाई उनका कविताहरू धेरै मन परे । उनका कवितामा जुन बिम्बहरू छ्न ती यथार्थ छ्न् । उनका कवितामा जुन गहिराई भेट्छु नि म त्यो अरुमा कम भेट्छु । मलाई उनका धेरै कविताहरूले भित्र सम्म छुन्छ्न । मलाई जस्का कविता धेरै नै मन परे मैले उनैको कविताहरु अनुवाद गरेँ । मेरो खुशी र आत्मसन्तुष्टिको लागि मनले उनलाई चुन्यो ।

कुनै विद्धानल भनेका छन, ‘अनुवाद भनेको एउटा बोत्तलबाट अर्को बोत्तलमा अत्तर खन्याए झैँ हो’ जति नै सावधानी अपनाए पनि केही सुगन्ध त उडिजान्छ । यहाँको अनुभवमा अनुवाद गरिएका कविताबाट कत्तिको सुगन्ध उडे होलान् ?

ठिक छ विद्वानले भने होलान् । त्यो सत्य पनि हो । तर अत्तरको केही सुगन्ध उड्दैमा बोतल खाली हुँदैन नि । उस्को आफ्नो सुगन्ध जुन हुन्छ त्यो पुरै हराएर जाँदैन । हो भाषा अनुवाद गर्दा केही शब्दहरूमा फरकपन आउन सक्छ । केही हल्का शब्द प्रयोग भए होलान् तर मैले सकेसम्म उनको जुन मौलिकता छ जुन शैली छ त्यसलाई जोगाउन प्रयास गरेकी छु । भाषाले पनि कति फरक पर्दछ । जुन हिन्दीमा मिठो सुनिन्छ त्यो नेपालीमा अलिक खल्लो लाग्न सक्छ ।

अनुवाद भनेको शब्दको अर्थ लेख्नु मात्र पनि होइन । अनुवाद भुगोल, संस्कृति, परम्परा, भाषा, सामाजिक,राजनीतिक, मानसिक आदिको अवस्थाको चित्रण पनि हो । कुनै पनि अनुवाद सफल हुन् यी सिर्जना भित्रको पृष्ठभुमि पनि बुझ्न जरूरी हुन्छ । साहित्यिक कुराको अनुवाद गर्दा शब्द भन्दा बढी भावको अनुवाद बढी आवश्यक हुने गर्छ । यहाँले यस्ता कुरामा कत्तिको ध्यान पुर्याउनु भयो ?

अनुवाद भनेको शब्दको अर्थ लेख्नु मात्र होइन यसमा मेरो सहमति छ । अनुवादमा आउने जुन भुगोल, संस्कृति, परम्परा, भाषा, सामाजिक, राजनीतिक,मानसिक आदिको अवस्थाको चित्रण हुन्छ त्यो बुझ्नु अत्यन्त जरुरी हुन्छ । हाम्रो देश नेपाल र भारतको लगभग धेरै कुराहरू मिल्छ्न् । भौगोलिक, सामाजिक, धार्मिक, राजनैतिक र मानसिक अवस्था उस्तै उस्तै हुन्छ्न् । संस्कृति र परम्पराहरू पनि करिब करिब मिल्दा जुल्दा हुन्छ्न् । र त्यस कुरामा मैले बुझेको पनि छु । साहित्य त्यसमा पनि कविताको अनुवाद गर्दा शब्दहरू सँगसँगै भावलाई बढी बुझ्नु पर्दछ । र त्यो कुरालाई मैले सक्दो बुझ्ने प्रयास गरेर उनका कविता अनुवाद गरेको छु । मेरो पहिलो प्रयास हो केही कमि कमजोरी होलान्। त्यो जिम्मा पाठकलाई दिइसकेकी छु ।

आख्यानकार बुद्धिसागरले माइकल हाटसँगको कुराकानीमा एउटा रोचक प्रसंग निकालेका थिए । सो किस्सा अनुसार भारतीय कवि सर्वेक्षल दयाल सेक्सेनाको एउटा कवितालाई कुनै नेपाली अनुवादकले अनुवाद गर्दा गंभिर त्रुटि गरेका रहेछन् । कविता यस्तो थियोः में धुप मे बेठा हु: अनि अनुवाद यस्तो भएछः म अगरबत्तीमा बसिरहेछु । अनुवादमा हुने यस्तो त्रुटीबाट बच्न यहाँले के कस्तो सावधानी अपनाउनु भयो ?

त्यो त कस्ले के भन्यो वा कस्ले के गर्यो भन्दा पनि मुख्य कुरा राम्रोसँग बुझेर गर्नु पर्यो नि । कुन हिन्दी शब्दले नेपालीमा के अर्थ दिन्छ । त्यसको भाव हिन्दी र नेपालीमा उस्तै आउँछ कि आउँदैन । मुख्य कुरा यो बुझ्नु पर्छ । त्रुटी नै छैनन मैले गरेको अनुवादमा त भनेर नै म भन्दिन। होलान् कति गल्ती कमिकमजोरी । तर मैले सक्दो प्रयास गरेकी छु। साथीभाइसँग सरसल्लाह गरेर होस अथवा गुगल, शब्दकोशमा खोजी गरेर होस् । भारतीय साथीहरूसँग पनि सल्लाह मागेर गरेकी छु ।

अमृता प्रीतम एउटा क्रान्तिकारी नारी हुन् । लिभिङ टुगेदर भन्ने शब्द आज पनि समाजले पचाउन नसकेको अवस्थामा उनले त्यति बेला नै इमरोजसँग लिभिङ टुगेदरमा बसिन । पहिलो श्रीमानलाई त्यागेर उनी साहिरलाई प्रेम गरिन् तर भौतिक रूपमा साथमा बसिनन् । इमरोज र उनको प्रेम एउटा उदाहरणीय प्रेम बन्यो । निस्वार्थ र निशर्त प्रेमको दृष्टान्त बनेको उनीहरूको प्रेम कुनै सिनेमा भन्दा कम लाग्दैन । अमृता जस्तो कविता लेख्ने मात्र होइन कविता जिउने चरित्रको आवश्यकता आजको समाजलाई कत्तिको आवश्यक छ जस्तो लाग्छ ?

हो, उनी त्यस समयको समाजमा विद्रोह गरेर लेख्न सक्ने, बांँच्न सक्ने एउटा ससक्त क्रान्तिकारी नारी हुन । त्यो बेलाको पितृसत्तात्मक समाजमा निर्बन्ध र स्वतन्त्र तरिकाले जिउने हिम्मत गर्न सक्ने महिला हुन् उनी । मलाई उनका कवितासँगसँगै उनको यो हिम्मत, आँट र उनको जीवन जस्तै यथार्थ लेखनले आकर्षण गर्यो । म उनको जीवन र उनका कविताहरूबाट निकै प्रभावित भएँ । उनी त्यसबेलाको समयमा पनि आफ्नो श्रीमानसँग अलग भएर साहिरसँगको प्रेमलाई खुलेआम रूपमा सार्वजनिक गरिन् । पछि उनीहरू बीचमा दुरी भयो । उनको जीवनमा इमरोज आए । उनले अमृतालाई निशर्त र निर्बन्ध रूपमा जुन प्रेम गरे । त्यो तारिफ योग्य छ । त्यसबेलाको समयमा जसरी उनिहरु बेपर्वाह भएर लिभिङमा बसे । त्यो आजको समयमा पनि हाम्रो समाजले पचाउन्न । तर मेरो विचारमा जो पनि लेखकले जस्तो जीवन बाँच्छ त्यस्तै लेख्नुपर्छ । अनि मात्र यथार्थ र सत्य लेखन आउँछ । तर हाम्रो समाजमा त्यस्तो भेट्न मुस्किल देख्छु म ।

हामी सबैले अमृता प्रीतमको हक्की स्वभाव, उदाहरणीय प्रेम र बोल्ड लेखनको तारिफ त गर्छौँ तर नेपाली महिला लेखकले अमृताले जसरी निर्धक्क भएर लेख्न कत्तिको सकेका छन् जस्तो लाग्छ ?

अमृतालाई मन पराउने सबै भेटिन्छ्न । चाहे ती महिला होउन् या पुरुष । प्रेम होस या लेखन दुबै उत्कृष्ट लाग्छ मलाई । म पनि तारिफ गर्छु । मन पराउँछु । तर लेखन होस् या जीवन हाम्रो समाजमा त्यसरी उनी जसरी खुलेआम सार्वजनिक गर्न सक्ने आज सम्म भेटेको छैन मैले । केही हदसम्म लेखेका छ्न् । जीवन जिएका पनि होलान् तर उनीसँग तुलना गर्ने गरि सायद कोही छैन होला आजसम्म मलाई थाहा भएअनुसार ।

अमृता प्रीतममा धेरै कविताहरूबाट कस्ता कवितालाई यसमा चयन गर्नु भएको छ ?

मलाई मन परेका मात्र गरेकी छु । त्यसमा प्रेम कविताहरू नै धेरै होलान् । कुनै बिद्रोह बोलेका, कुनै वियोगका अनि समसामयिक समयको आवाज बोल्ने कविताहरू छ्न् । समग्रमा लगभग सबै भाव र मुद्दाहरू समेटिएका कविता नै छ्न्।

तपाईंको विचारमा अमृता प्रीतमलाई एक हरफमा व्याख्या गर्न पर्यो भने कसरी गर्नुहुन्छ ?

उनी मेरो आइडल हुन । एउटा बिद्रोही कवि । जसले जस्तो जीवन बाँचिन उस्तै लेखिन् । निर्बन्ध, स्वतन्त्र, स्वच्छन्द, बेप्रवाह, र निस्फिक्री जिन्दगी बाँच्ने त्यस समयको महिला हुन् । जसको जीवनमा धेरै घटना घटे धेरै संघर्ष भोगिन् धेरै अनुभव बटुलिन् । उनी त्यो समयको यस्तो प्याकेज हुन् जुन आजसम्म पनि उपलब्ध हुन मुस्किल छ । समाजलाई च्यालेन्ज गरेर जिउन सक्ने आँट र साहस बोकेकी नारी । जस्तो जीवन भोगिन् त्यसलाई नै कविता, उपन्यास, निबन्ध, कथा बनाएर पोखिन्। त्यस्तो लेखिका आजको युगमा जन्मिनु जरुरी छ ।

पुस्तकको पाठक प्रतिक्रिया कस्तो पाइराख्नु भएको छ ?
आजको दिन सम्म राम्रो नै भइरहेको छ । एकदमै सकारात्मक प्रतिक्रियाहरू आइरहेका छ्न्। भर्खर त बजारमा आएको छ । अब बिस्तारै थाहा हुँदै जान्छ नि ।

अन्त्यमा एउटा स्वतन्त्र प्रश्न जसमा यहाँले मन लागेको उत्तर लेख्न सक्नुहुन्छ ?

हार्दिक आभार यहाँलाई यो अवसरको लागि ।

प्रतिक्रिया

सम्बन्धित खवर