पेशाले पत्रकार चेतनाथ आचार्यले चारवटा आख्यान र दुईवटा गैरआख्यान गरी ६ वटा कृति प्रकाशन गरिसकेका छन्। उनको पछिल्लो उपन्यास रुइबा फिनिक्स बुक्सले प्रकाशन गरेको हो। आचार्यका अन्य कृतिहरुमा रित्तो कोठाको तस्बिर कथा सङ्ग्रह, बुद्धको उपहार कथा सङ्ग्रह र उपहार कथा सङ्ग्रह हुन्। त्यसैगरी मेरा आँखामा चीन र चीन चियाउँदा उनका गैरआख्यान कृति हुन्।

आचार्यको ‘रुइबा’ उपन्यासले अरनिको अन्तर्राष्ट्रिय पुरस्कार २०७८ प्राप्त गरेको छ। २०२९ साल कात्तिक ८ गते इलामको तत्कालीन नयाँबजार (हाल माइजोगमाई गाउँपालिका वडा नम्बर १)मा भएको हो। उनी दस वर्षदेखि चीनको राजधानी बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्। आचार्य नेपाली सञ्चारमाध्यममा विशेषगरी चीनसँग सम्बन्धित विश्लेषणात्मक लेखहरु प्रकाशित गर्दै आएका छन्। आख्यानभित्र विशेष गरी कथा लेख्न रुचाउने आचार्यको कथा राजकुमारी दिक्पाल ‘१२खरी उत्कृष्ट कथा २०७९’मा छनोट भएको छ।
आचार्यको ‘रुइबा’ उपन्यास पुरस्कृत भएपछि सोही विषयमा विषयमा केन्द्रित रहेर आँगनका लागि सहकमीृ जनक कार्कीद्वारा लिइएको अन्तर्वार्ता सम्पादित अंश प्रस्तुत छः

तपाईंको पछिल्लो उपन्यास ‘रुइबा’ नेपालको प्रतिष्ठित पुरस्कारहरूको छोटो सूचिमा परेनस धेरै पाठक र साहित्यकारहरूले यसमा असन्तोष व्यक्त गरेर समाजिक सञ्जालमा लेखे पनि । अहिले आएर अरनिको अन्तर्राष्ट्रिय पुरस्कार (२०७८ प्राप्त गरेको छ । यो समयको खुसी कसरी सेलिब्रेट गर्दै हुनुहुन्छ ?

सामान्यतः कुनै पनि सर्जकले पुरस्कारका लागि कृति लेख्छ जस्तो मलाई लाग्दैन। मैले पनि रुइबा उपन्यास पुरस्कारका लागि लेखेको होइन। उपन्यास प्रकाशन भएपछि धेरै पाठकले मन पराइदिनुभयो। एक वर्षमा यो उपन्यासमाथि दुई दर्जनभन्दा बढी समीक्षाहरू प्रकाशन भएका छन्। मलाई चिन्दै नचिन्ने व्यक्तिहरुले पनि समीक्षा प्रकाशन गर्नु भएको रहेछ। लेखकका लागि सबैभन्दा गहन र महत्वपूर्ण कुरा चाहिँ पाठकको मूल्याङ्कन हो। पाठकले गर्ने आलोचना, दिने सुझाव, मनखुशी गर्ने टिप्पणी, कृतिका बारेमा उठाउने प्रश्न, शैली तथा कथनका बारेमा लागेका कुराहरु सर्जकका सबैभन्दा ठूला सम्पत्ति हुन्।

उही कृतिलाई पुनः संस्करण गराउँदा र अन्य कृति सिर्जना गर्नमा पाठकले दिने यस्ता गहकिला प्रतिक्रिया ग्रहण गर्दा लेखक सफल हुँदै जान्छ जस्तो लाग्छ। रुइबा नेपालबाट दिइने विभिन्न पुरस्कारको छोटो सूचिमा परेन भनेर तपाईंले सुरुमै सोध्नुभयो।

मलाई यसमा कुनै गुनासो छैन। तर, रुइबा उपन्यास पढेका पाठकले यो कृति किन छोटो सूचिमा परेन भनेर प्रश्न उठाएको मैले पनि देखेँ। हिजोआज कृतिको सबैभन्दा ठूला मूल्याङ्कनकर्ताका रुपमा पाठक रहेछन् भन्ने कुरालाई यसले पनि पुष्टि गर्छ। पछिल्लो समय गैरआवासीय नेपाली संघ अन्तर्गत अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिले अरनिको अन्तर्राष्ट्रिय पुरस्कार २०७८ रुइबा उपन्यासलाई दिने निर्णय गरेको थाहा पाउँदा खुशी लाग्यो। यद्यपि मैले पहिले नै भनिसकेँ मैले रुइबा उपन्यास पुरस्कारका लागि लेखेको होइन।

कसैले मूल्याङ्कन गरेर पुस्कार दिँदा खुशी हुनु स्वाभाविक हो। अहिले साथीहरुबाट बधाई आइरहेको छ। यस कुराले खुशीसँगै केही जिम्मेवारी पनि थप भएको जस्तो लागिरहेको छ।

यतिबेला चीनमा हुनुहुन्छ । चीनमा ज्यान बसेर किताब नेपालमा विमोचन गर्दा पाउन पर्ने चर्चा पाउन सकेन भनेर तपाईंका शुभचिन्तकले भनेको सुनिन्छ । यो विषयमा के भन्न चाहनुहुन्छ ?

साहित्यिक सिर्जनालाई पाठकसम्म पुर्‍याउनका लागि विभिन्न तरिकाहरु अपनाइने गरिन्छ। जसमा पुस्तक विमोचन पहिलो विधि हो। त्यसपछि पुस्तकमाथि चर्चापरिचर्चा गर्दै सञ्चारमाध्यममा अन्तर्वार्ताहरुले पनि पुस्तकलाई पाठकसम्म पुर्‍याउन सहयोग गर्छन्। अझ हिजोआज त मुख्य सहरहरुमा लेखकलाई लगेर पाठकहरुसँग साक्षात्कार गराउने अनि कृतिमा हस्ताक्षर गर्दै बिक्री वितरण गर्ने काम भइरहेको देखिन्छ। नाम जे राखे पनि यी सबै कार्यको मियो भनेको कृति प्रवर्द्धन नै हो।

रुइबा उपन्यास प्रकाशन हुने समयमा म पनि चीनबाट काठमाडौँ ओर्लने तयारीमा थिएँ। तर चीनले अपनाएको शून्य कोभिड नीतिका कारण चीनबाट नेपाल फर्कन तत्काल सम्भव भएन। लेखक नै अनुपस्थित भएपछि उपन्यासको विमोचन समारोह पनि भएन। न कुनै चर्चापरिचर्चा भयो न कुनै सञ्चार माध्यममा अन्तर्वार्ता दिएर कृतिका बारेमा व्याख्या गर्ने अवसर जुर्‍यो।

स्वाभाविक रूपमा पाठकका हातमा पुगेपछि उहाँहरूले ओहो यस्तो कृतिको विमोचन गर्न पाए हुन्थ्यो भन्नुभयो। कृतिमाथि कुनै गोष्ठी अथवा छलफल कार्यक्रम हुन नसक्दा शुभचिन्तकहरूले खल्लो महसुस गर्नुभयो। म आफैँलाई पनि केही अलिनो जस्तो लागेको हो। अब त विस्तारै शुभचिन्तकहरूको ‘माउथ पब्लिसिटी’बाट राम्रै ‘माइलेज’ पाइरहेकाले त्यति धेरै दुःख चाहिँ लागेको छैन।

तपाईंले गरिव तामाङ समुदायको एउटी नारीको कथा लेख्नु भएको छ । तामाङ समुदायको कला, संस्कृति, भाषा, संस्कार आदिलाई पनि मज्जाले चित्रण गरेको पाएँ । तमाङ समुदायलाई यति धेरै कसरी बुझ्नुभएको थियो ?

रुइबा उपन्यासमा तामाङ समुदायको कला, संस्कृति, भाषा, संस्कार आदिको चित्रण गर्नु मेरो बाध्यता थियो। यो उपन्यास आफैँमा एउटा तीतो सत्य हो। यद्यपि कुनै पनि साहित्यिक कृति पूरै सत्य र पूरै काल्पनिक हुँदैन। कुनै घटनामाथि लेखकले आफ्नो भावना पोख्ता काल्पनिकता पनि देखिन्छ। कल्पना गरेर साहित्य लेख्ता यथार्थ घटना पनि समेटिन आउँछ।

जब मैले रुइबा उपन्यास लेख्न थालेँ त्यतिबेलै तामाङ समुदायको साङ्गोपाङ्गो केलाउनु पर्ने बाध्यता थियो। त्यही भएर पनि यो उपन्यास सिध्याउन सात वर्ष लाग्यो। चीनबाट वर्षको एकपटक बिदामा नेपाल जाँदा तामाङ समुदायको अध्ययन र अनुसन्धान गर्नु मेरो नियिमित कार्य थियो। काठमाडौँमा भेटिने जेष्ठ तामाङ जातिका व्यक्तिहरूसँग कुराकानी गर्ने, तामाङ लेखकहरुसँग भेट गरेर सोधपुच गर्ने, तामाङ संस्कृतिमाथि लेखिएका पुस्तक, पत्रपत्रिका, लेखरचना, शोधपत्र आदिको सङ्कलन गरेर चीनमा भारी कसेर ल्याउने र तिनीहरुको गहन अध्ययन गर्नुपर्ने थियो।

काभ्रे र धादिङका तामाङ समुदायका रहनसहन र संस्कृति तथा संस्कार मिल्दैनन्। रुइबा उपन्यासको पृष्ठभूमि उत्तरी धादिङ रहेकाले त्यहीँका बारेमा लेखिएका सामग्रीमा केन्द्रित भएर अध्ययन गर्नु चुनौतिपूर्ण थियो किनभने सामग्रीको अभाव र सो क्षेत्रमा फैलिएको इसाइ धर्मको प्रभावले पनि सामग्री पाउन मुस्किल थियो। उपन्यासको पाण्डुलिपि पढेर प्रतिक्रिया दिने तामाङ जातिका मित्रले ठूलो योगदान दिनु भएको छ।

हुनतः म आफैँ तामाङ गाउँमा जन्मिएर हुर्किएको हुँ। तर, इलामको नयाँबजार क्षेत्रका तामाङको चालचलन र धादिङका तामाङको चालचलनमा निकै भिन्न रहेछ। अझै पनि तामाङ संस्कृतिका बारेमा म निकै चासो राख्छु। उपन्यासमा कयौँ कुरा छुटेका छन्। यद्यपि रुइबा उपन्यासले जति समेटेको छ, त्यस हिसाबले तामाङ समुदायमाथि न्याय गरेको छ जस्तो लाग्छ।

तपाईंले तामाङ समुदायका रुढीबादी परम्परालाई प्रसय दिन खोजेको जस्तो पनि लाग्छ, यस बारेमा के भन्नुहुन्छ ?

तपाईंले भने जस्तै प्रतिक्रियाहरू केही सचेत पाठकबाट पनि आएका छन्। विशेष गरी तामाङ जातिमा उपचार गर्नका लागि झाँक्री लगाउने चलन, रातको समयमा बिराला लर्दा आउने आवाजले गाउँमा कोही मान्छे बिरामी हुन्छ विश्वास, कुकुर रोएपछि अपशकुन हुन्छ भन्ने कुरा उपन्यासमा रहेको छ। यी प्रसङ्गमार्फत मैले रुढीवादी परम्परालाई प्रसय दिन खोजेको चाहिँ होइन तर तामाङ समुदायमा के कस्तो चलन रहेको छ भन्ने कुरालाई चाहिँ जस्ताको तस्तै राखेको हुँ। यस्ता प्रचलन तामाङ समाजमा मात्र होइन अन्य समुदायमा पनि हुन्छन् र रहेकै छन्। हाम्रो समाजमा अझै पनि अन्धविश्वासहरू कायम रहेका छन्। त्यस्ता अन्धविश्वासका पछाडि लाग्दा घाइतेको उपचार हुँदैन, गाउँमै अकालमा मृत्यु हुन्छ।

त्यसमाथि भौगोलिक हिसाबले विकट, शैक्षिक दृष्टिबाट पछि परेको र सामाजिक तथा आर्थिक क्षेत्रमा राज्यद्वारा हेपिएका क्षेत्रमा रुढीवादी र अन्धविश्वास बढी नै हुने गर्छ भन्ने कुराको पुष्टि मात्र हो उपन्यासभित्रको प्रसङ्ग। रुढीवादीलाई प्रसय दिने गरी अन्धविश्वासलाई स्थापित गरिएको छैन।

उपन्यासमा धेरै आँसु बेच्न थालियो, तपाईं के भन्नुहुन्छ ?

यो भनाइ मैले पनि सुनेको हुँ। यस्तै सोचाइ राखेर रुइबा पढ्ने हो भने त सुरुदेखि अन्त्यसम्म आँशु बाहेक छैन भन्न सकिन्छ। पाण्डुलिपि पढेर वरिष्ठ साहित्यकार कृष्ण धराबासीले भन्नु भएको थियो – “तपाईंको उपन्यास रुन मात्र किन पढ्नेरु कमसेकम उपन्यासलाई संयोगान्तमा टुङ्ग्याउनुहोस्। त्यसपछि पाठकले केही सुखानुभूति गर्न चाहन्छन्।” उपन्यासकी मुख्य पात्र न्याउली चीनको जेलमा छिन्। उनी जेलबाट छुटेर नेपाल फर्किएको लेख्न धराबासी सरले सुझाव दिनु भएको थियो।

मैले पात्रमाथि अन्याय गर्न सकिँन। जो पात्रमाथि उपन्यास लेखेँ, उनी अहिले पनि चीनकै जेलमा छिन्। तर, उनलाई जेलबाट छुटाएर नेपाल फर्किएको बनावटी कुरा उपन्यासमा लेख्न मेरा हातले मान्दै मानेनन्। बरु पाठक रोइरहुन् तर उपन्यासलाई बङ्ग्याउँदिन भनेर जे हो त्यही लेखिदिएँ। यो त मेरो अनुभव भयो। हिजोआज अन्य उपन्यास पनि रोदनपूर्ण देखिन्छन्। उपन्यासमा लेखकले आँशु भर्ने होइन, कथाले के माग्छ त्यो दिने हो। कथामा आँशु होस् अथवा हाँसो जे भए पनि कत्तिको स्वाभाविक छ भन्ने कुरा विचारणीय हो। अनावश्यक रुपमा प्रवेश गराइएका र नियतपूर्ण रुपमा लाधिएका कुरालाई आजका श्रद्धेय पाठक वर्गले सहजै मूल्याङ्कन गरिदिन्छन्।

त्यसो भए ‘रुइबा’ उपन्यास सत्यघटनामाथि लेखिएको कृति हो ?

मैले माथिको एक प्रसङ्गमा बताइसकेको छु। कुनै पनि आख्यान आफैँमा पूर्ण सत्य र पूर्ण काल्पनिक हुन सक्दैन। समाजमा भएका घटनामा साहित्यकारले रूप र रङ भर्ने हो। यथार्थ घटनामा आफ्नो शिल्प प्रयोग गर्दा कतै अलिक बढी काल्पनिक लाग्न सक्छ। अथवा सर्जकले कुनै आख्यानको प्लट सोचेर कथा भर्दा ठ्याक्कै समाजमा भएकै घटना जस्तो पनि बन्न सक्छ। छोटोमा भन्नुपर्दा रुइबा उपन्यासकी मूल पात्र न्याउली हुन् र उपन्यासमा वर्णित घटना उनै न्याउलीले भोगेका अधिकांश सत्य घटनाहरु हुन्। उपन्यासमा वर्णित चिनियाँ पात्रहरु पनि यथार्थ र सत्य नै हुन्।

अहिले के लेख्दै हुनुहुन्छ ?

रुइबा मेरो छैटौँ कृति र चौथो आख्यान हो। यस अगाडि मैले तीनवटा कथा सङ्ग्रह र दुईवटा चीनसँग सम्बन्धित समसामयिक लेख सङ्ग्रह ल्याइसकेको छु। यतिखेर एउटा उपन्यास र एउटा कथा सङ्ग्रहको तयारी गर्दैछु। तर त्यसभन्दा अगाडि नै चीनसँग सम्बन्धित एउटा राजनीतिक विश्लेषणात्मक कृति ल्याउने सोचाइमा छु।

नेपाली साहित्यको वर्तमान अवस्था कस्तो देख्नुभएको छ ?

नेपाली साहित्यको वर्तमान अवस्थाको मूल्याङ्कन गर्ने ह्याउ मसँग छैन। आफूले देख्ता चाहिँ केही कुरामा निकै अगाडि बढेको जस्तो लाग्छ र केही कुरामा सयौँ वर्षदेखि उही अवस्था पनि देखिन्छ। मोतीराम भट्टको समयमा एउटा कृति एक हजारप्रति प्रकाशन हुन्थ्यो अहिले पनि अवस्था उही छ। नयाँ पुस्ताका लेखकहरु बजारलाई हस्तक्षेप गर्ने गरी अगाडि आएका छन्। केही आशा गरिएका लेखकका कृति उत्ति नरुचाइएको पनि बजार प्रतिक्रिया छ।

म चीनमा बस्छु। एउटा उदाहरण तपाईंलाई सुनाउछु। चीनका एकजना फोटोग्राफरले नेपालका राम्रा फोटो सङ्कलन गरेर एउटा किताब निकाल्नु भएको छ। चिनियाँ भाषामा प्रकाशित उक्त कृति २ लाख ५० हजार प्रति निस्किएको रहेछ। ती फोटोग्राफरले मलाई बताए अनुसार चीनमा नेपालका बारेमा धेरै मान्छेहरु जानकार नभएकाले उक्त कृति सीमितप्रति निकालिएको रे। अब तपाईं आफैँ भन्नुहोस् जहाँ २ लाख ५० हजार प्रतिलाई सीमित भनिन्छ, त्यसैको छिमेकी हामी कतिप्रति कृति निकाल्छौँ ? अहिले पनि नेपालमा लेखेरै जीवन गुजारा गर्ने व्यक्तिको सङ्ख्या हातका औँलामै गन्न सकिन्छ भने यसको विकास भएको भन्ने कि विनास !

आजको समय विज्ञापनको भयो । कमसल कुरा पनि ठूलो प्रकाशन गृहबाट आयो भने पाठकलाई उल्लु बनाइहाल्छ, राम्रो चिज सानो प्रकाशन गृहबाट आउँदा पाउनुपर्ने सफलता पाउँदैन । उसो त केही किताब माउथ पब्लिसिटीबाट पनि चर्चित बनेका छन् । यो किसिमको समस्यालाई कसरी समाधन गर्न सकिने देख्नुहुन्छ ?

नेपालीमा एउटा भनाइ छ बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्दैन। यहाँ पिठो भनेर भन्न खोजिएको कुरा चामल कुहिएर अथवा किराले खाएपछि धुलो बनेको बस्तु हो। नेपाली समाज मात्र होइन आजको दुनियाँ नै विज्ञापनको दुनियाँ हो। विज्ञापनको प्रभाव चाहिँ कस्तो हुन्छ भने असारे भेलको खहरे जस्तो। पानी पर्दा उर्लिएर आउने तर केही घण्टापछि सामसुम। यदि राम्रो कृति छ भने त्यसको प्रभाव एक दुई वर्ष होइन दशक अथवा युगसम्म रहन्छ। बिक्रीकै कुरा गर्ने हो भने बसपार्क क्षेत्रमा फिँजाइएका यौन साहित्य अगाडि हुन सक्छन्। तर तिनीहरुमा गुदी हुँदैन। गुणस्तरीय साहित्यलाई बजारमा स्थापित हुन समय लाग्छ तर एकपटक स्थापति भएपछि सदाबहार रहन्छन्। प्रकाशनगृहले पनि हल्ला र गुदी बिनाका साहित्यिक कृति प्रकाशन गरेर आफूलाई हलुको बनाउनु हुँदैन। पहिले कृतिलाई राम्ररी नापजोख गर्नुपर्छ। सम्पादनमा यथेष्ट रकम खर्च गर्नुपर्छ र राम्रा लेखकका गुणस्तरीय कृतिलाई स्थान दिन कन्ज्युस्याँइँ गर्नु हुँदैन।

एउटा क्लिसे लाग्ने प्रश्न सोधिहालौँ, वास्तवमा साहित्य के हो ?

साहित्य समाज नियाल्ने ऐना हो। साहित्यबाट समाज, संस्कृति, अर्थतन्त्र, रहसनसहन, चालचलन, संरचना र यथास्थिति चियाउन सकिन्छ। एक हिसाबले भन्ने हो भने समाजको एक्सरे मिसिन हो साहित्य। पात्रमार्फत, घटना मार्फत, देशकाल र परिस्थिति मार्फत समाजका कुरालाई साहित्यले बाहिर ल्याउने गर्छ। ती कुराहरु राम्रा अथवा नराम्रा जे पनि हुन सक्छन्। त्यसकारण छोटोमा भन्ने हो भने समाजको नदेखिएको पाटोलाई देखाउने काम साहित्यले गर्दछ।

तपाईंलाई मनपरेका पाँचवटा पुस्तक ?

सबैभन्दा अप्ठ्यारो प्रश्न। अहिले मुखमा आएका कृतिहरु फ्याट्ट भनिन्छ तर पछि ए हे त्योभन्दा यो राम्रो थियो नि भन्ने लाग्छ। तपाईंले सोधिहाल्नुभयो। मैले पछिल्लो समय पढेको र निकै मन परेका पाँच कृतिहरूमा विदेशी तथा स्वदेशी लेखकका छ्यासमिस बनाएर भन्छु। जापानी आख्यानकार हारुकी मुराकामीको उपन्यास ‘नर्वेजियन उड’, चिनियाँ उपन्यासकार यु ह्वाको ‘ब्रदर्शस्’, पारिजातको उपन्यास ‘शिरिषको फूल’, बीपी कोइरालाको उपन्यास ‘सुम्निमा’ र अमर न्यौपानेको उपन्यास ‘सेतो धरती’।

अन्त्यमा स्वतन्त्र प्रश्न जसमा यहाँले मन लागेको जवाफ दिन सक्नुहुन्छ ।

सर्जकले आफ्ना कुरा पात्र मार्फत राख्छ। त्यसैगरी गाउँघरमा बोलिने लवज र संवादलाई टपक्क टिपेर आफ्नो सिर्जना बनाउन पनि सकिन्छ। त्यसकारण साहित्य मात्र त्यस्तो क्षेत्र हो जहाँ आफ्ना कुरा अरुका र अरुका कुरालाई आफ्ना बनाउने काम एक नम्बरीमै गरिन्छ।

यस्तो कुरा दुई नम्बरी हुनुपर्थ्यो तर एक नम्बरी नै हुने भएकाले साहित्यिक सिर्जनामा लेखकको भन्दा बढी पात्रको खुबी नाचेको हुन्छ। सर्जकले व्यक्त गरेका कुरालाई पाठकले आफ्नै महसुस गरोस्, वर्णित घटना आफ्नै जस्तो ठानोस्, पात्रहरू आफ्नै वरिपरी देखोस्, पात्रका पीडामा आँशु खसालोस्, पात्रका खुशीमा मुसुक्क हाँसोस्, संवेगहरूसँगै विचरण गरोस्। केही पृष्ठ, केही लाइन, केही शब्द दोहोर्याएर पढोस्। बस् सर्जक सफल भयो भनेर ठोकुवा गर्न सकिन्छ। बजारमा किताब कतिप्रति बिक्री भयो अथवा कति पुरस्कार भयो भनेर हिसाब गरिरहनु पर्दैन।

प्रतिक्रिया

सम्बन्धित खवर