✍️ भुमिराज पौडेल

खै कहाँबाट सुरु गरौँ, जहाँ प्रत्येक शब्द शब्दहरू प्रेमिल भाब बनेर गलामा अड्किन्छ यो कलिलो छाती चिरिन्छ । समुन्द्रको भेलसरी आँखाबाट अश्रुधारा बग्न थाल्छन्

अनि परदेशिएका दाजुभाइहरूलाई सम्बोधन गर्ने कुनै शब्द नै पाउदिनँ। हजारौँ लेख देखेँ, जो महिलाका हकहितका लागि लेखिए । हजारौँ सभा समारोहमा केवल महिला कै कुरा निस्किए । तर, मौन भएर हजारौँको भिडमा उभिएको पुरुषलाई कसैले सोध्नसम्म भ्याएन । के छ उसको पीडा ?

हो, म पनि एक पुरुष हुँ । मैले पनि लेख्नु पर्थ्यो, महिलाका गीत, आमाका कविता अनि महिलाको अधिकारको बारेमा । तर, मैले लेखिनँ किनकि यहाँ महिला मात्र कहाँ हो र ! कुनै न कुनै ठाउँमा पुरुष पनि हिंसामा छन्।

हिंसा भनेको हिंसा नै हो, चाहे त्यो पुरुषले गरोस् या महिलाले । हिंसा सहने ‘पीडित’ नै हुन्छन्, ती महिला हुन् या पुरुष । हिंसा गर्ने ‘पीडक’ नै हो । चाहे महिला होस् या पुरुष । हामी सधैँभरि श्रीमानले श्रीमतीमाथि अत्याचार गरेको देख्छौँ। तर, श्रीमतीबाट उत्पीडित श्रीमानको अवस्थाबारे बेखबर बन्छौँ। हिंसा बनेको कुटपिट गर्ने । दुर्व्यवहार गर्ने । मानमर्दन गर्ने जस्ता शारीरिक मात्र होइन, मानसिक रूपमा गरिने दुर्व्यवहार पनि हिंसाकै रूप हो ।

हाम्रो दिमागमा हिंसा जहिले पनि पुरुषले महिलामाथि मात्रै गर्छन् भन्ने कुराले भरिएको छ। महिलाले फिटिक्कै गल्ती गर्दैनन् । महिला भनेका सहने मात्र प्राणी हुन् भन्ने बुझाइ छ । तर, हेप्ने र होच्याउने ठाउँ आयो भने महिलाले पनि बाँकी राख्दैनन् । राखेको देखिएको छैन भन्दा पनि फरक पर्दैन । परिमाण धेरथोर मात्र हो ।

एउटा श्रीमान् घर–परिवारको खुसीको लागि अर्काको मुलुकमा पसिना बगाउँछ । तर, त्यही श्रीमानको रगत–पसिनाको कमाइमा रमाउने श्रीमती अर्कैसँग भाग्छे । त्यो अवस्थामा श्रीमानले भोगेको मानसिक पीडाको क्षतिपूर्ति के हुन्छ ? यो पुरुषमाथि गरिएको बेइमानी होइन ?

लोग्नेले श्रीमतीमाथि विश्वास गरेर पैसा पठाउँछ । त्यही पैसामा श्रीमती अर्कैसँग खुसी मनाउँछे । बालबच्चाको बिचल्ली हुन्छ । समाजले उल्टै लोग्नेलाई दुत्कार्छ, नेपालमा शारीरिकभन्दा पनि मानसिक हिंसा तुलनात्मक रूपमा पुरुषमाथि बढी हुने गर्छ। हिंसाको कुनै जात, लिंग हुँदैन । यो जोकोहीलाई पनि हुन सक्छ । तर हाम्रो समाजमा पुरुषमाथि हुने हिंसा सतहमा आउन सक्दैन ।

सबैको मुखबाट सुनिन्छ, पुरुषको मन कठोर हुन्छ रे । पुरुषहरू अक्सर सानो कुराले रुदैनन् कसैले यो देख्दैन उनीहरूका आँशु त सबै सकिन्छन्, पसिना बनेर, भन्ने कुरा ।

यसै सन्दर्भमा महिलाले पुरुषमाथि गरेको हिंसाको वास्तविक कथा सुनाउन चाहे “अहिले धेरै युवा रोजगारको लागि घरमा पत्नी र बालबच्चा छोडेर बिदेसिने क्रम बढ्दो छ । तर, विदेशबाट पतिले कमाएर पठाएको पैसा पत्नी मोजमस्ती गरेको र परपुरुषसँग लागेका घटना।” मेरा एकजना छिमेकी आफ्नो घरमा पत्नी र बालबच्चा छोडेर कामको लागि खाडी मुलुक लागे । यहाँ हुँदा उनी एउटा पसल चलाउँथे ।

उनी भन्ने गर्थे, “नेपालमा यसरी बसेर त के होला र खोइ, कमाएको पैसा खान, लगाउन मात्र ठिक्क भयो।”
उनको सपना थियो, “पैसा कमाएर काठमाडौँमा घर बनाउने र आफ्नो परिवारलाई सुखका साथ राख्ने । त्यसैले उनी विदेश गए र त्यहाँ कमाएको पैसा यहाँ पठाउने गर्थे । तर यहाँ भने उनकी पत्नी पर पुरुषसँग लागिन् । सबै पैसा मोजमस्तीमै खर्च गरिन् । उनी पछि छोरालाई लिएर त्यही पुरुषसँगै गइन् । कानुनले पनि ती महिलाकै पक्षमा फैसला गदिरियो र छोरा पनि ती महिलाले नै लिएर गइन् ।”

सोचेर हेर्नुस् त !
कस्तो दर्दनाक पीडा पुरुषलार्इ । आखिर यो पनि त एक हिंसा होइन र ?
हिंसाको कुनै जात, लिङ्ग हुँदैन । यो जोकोहीलाई पनि हुनसक्छ । तर, हाम्रो समाजमा पुरुषमाथि हुने हिंसा सतहमा आउन सक्दैन ।

अहिले नारीवाद नै आएको हाम्रो समाज खाली पुरुषको मात्र गल्ती देख्छ । सधैँ पुरुष मात्र कठोर हुन्छन् भन्ने छैन । महिला हिंसा भए त्यसविरुद्ध आवाज उठाउने थुप्रै संघसंस्था छन् । कानुन पनि महिलामैत्री छ, तर, पुरुषमाथि हिंसा भए त्यसविरुद्ध आवाज उठाउने कुनै संघ सस्था छैन ।

विवाहित र अविवाहित दुबै प्रकारका पुरुषहरू महिलाहरूबाट हिंसाका शिकार बनेका छन् हिजोआज ।अर्थात यही समाजका महिलाले साना हुन् या ठुला पदमा रहेका, सबैलाई फसाएका छन् । ब्लाकमेल गरेका छन् । अरुको घर परिवारमा आगो सल्काएका छन् । अनि यो समाजले न्याय, अन्याय नहेरी फेरी पनि तिनै महिलाकै पक्षमा बोलिदिनुपर्ने ?

श्रीमतीको इच्छा पूरा गर्न र छोराछोरीलाई महङ्गो स्कुल पढाउने सपनाहरू बोकेर बिदेश जान्छ पुरुष । र त्यहाँ रगत् पसिनाको खोलो बगाएर आफ्नो ज्यानलाई दाउमा राखेर, आधा पेट खाएर पैसा श्रीमतीलाई पठाउँछ । तर, यता कतिपयका स्वास्नी त्यही पैसाले जुवा तास, रक्सी, होटेल, रेस्टुरेन्टमा गएर रमाउने मात्र होइन, अर्कै लोग्नेमान्छेको साथमा रासलिला गरिरहेकी हुन्छे। अर्काको घरपरिवार तहसनहस पारेर, अरुको लोग्ने खोसेर, छोरो खोसेर ।

लोग्ने उता फलाम कुट्छ, स्वास्नी यता अर्कोलाई बाईक किनिदिन्छे । लोग्ने उता सिमेन्ट बोक्छ, स्वास्नी यता घर भत्काउँछे । लोग्ने उता पसिना बगाउँछ । स्वास्नी यता ब्युटिपार्लर धाउँछे । लोग्ने उता आधा पेट खान्छ, स्वास्नी यता रेस्टुरेन्टमा अर्कैसँग पिज्जा र तन्दुरीसँग रक्सिको चुस्की मार्दै अंगालोमा बाँधिएर मनोरञ्जन गर्छे। पत्याउनै नसक्ने नाता लगाएर लिभिङ्ग टुगेदरमा बस्छे ।

विदेशमा श्रीमानले कमाएको सम्पति सबै आफ्नो पेवा भन्दै घर जग्गा आफ्नो नाममा पार्ने श्रीमतीहरू पनि छन् । जब त्यो पुरुष घरमा आउने भनेर फुरुक्क हुँदै क्यालेन्डरमा गतेको अङ्क गोलो काट्दै बस्छ ।

कुनै कुनै त उतै मर्छन् र रातोबाकसमा बर्षौंपछि लास आउँछ र श्रीमती त्यही लासमाथि पनि बार्गेनिंग गर्छे। उसले कमाएको पैसाले आफूलाई पोल्ने दाउरा र लास ढाक्ने कात्रो सम्म किन्न पाउँदैन । अनि सकिन्छ खरानी बनेर ,उढ्छ धुवाँ बनेर ।

बाँचेर फर्केर आएकाहरुमध्ये कतिपयले त न स्वास्नी पाउँछ न धनसम्पती । र उल्टै मुद्दा हालेको हुन्छ श्रीमतीले मेरो मानहानी भयो, त्यसैको क्षतिपूर्ति पाउँ भन्दै । त्यस्तो बेहोर्नु परेको पुरुषले ती श्रीमतीलाई कस्तो मूल्याँकन गर्ला ? अनि के सबै पीडित पुरुष यस्ता केसमा बोल्न सकेका छन् ?

सबै महिलालाई एकै डालोमा राखेर यहाँ भन्न खोजिएको पटक्कै होइन । समाजमा असल उदाहरण भएका महिला प्रशस्तै छन् । पुरुष पनि सबै असल छैनन् । तर, यी सबका नाममा पीडित पुरुष चेपुवामा, अन्यायमा रहिरहनुपर्ने अवस्था अन्त हुनुपर्छ भन्ने मत हो।

सधैँ महिलाको हकहितका लागि आवाज उठे, महिला हिंसा विरुद्ध कैयौँ कार्यक्रम, कैयौँ गोष्ठी सेमिनार गरियो । तर त्यहीँ ठाउँमा पुरुषका लागि न कुनै आवाज उठ्यो न त कुनै गोष्ठी सेमिनार नै भयो ।

हर कोही भन्छ्न्, “महिला हिंसा दिनानुदिन बढ्दै छ । महिलाहरू पीडित छन् ।” महिला हिंसा देख्ने हाम्रा यी आँखाले किन कहिल्यै पुरुष हिंसा देखेनन् ? आखिर कही न कही, कतै न कतै पुरुष पनि हिंसामा नै त छन् ।

खाना खाएको चिसो हात ओभाउन नपाउँदै आफ्नो कामको लागि दौडिन्छन् । भ्याइ–नभ्याइ आफ्नो काम सकेर घर फर्किन जब सार्वजनिक बस चढ्छन्, बस्ने सिट भेटिदैन र पनि मौन हुन्छन् । चुपचाप उभिरहन्छन् । न कसैले सोध्छ थकाइ लाग्यो होला, गाह्रो भयो होला यता सिटमा बस भनेर । सधै अरुको लागि जिउँछन्, अरुकै लागी कमाउँछन् र अरुकै लागि रमाउँछन् ।

नेपाली उखान नै छ ‘खालि दिमाख सैतानको बास’ खासगरी एकजना मात्र काम गर्ने एकजना घरमा बस्नुले बढी हिंसा भएको देखिन्छ।

हुनत हिंसाको कारक एकजनामात्र कदापी हुन सक्दैन। पुरुष हिंसा भएको ठाउमा महिलाले बढि थिचोरेको महिलाहिंसा भएको ठाउँमा पुरुषले बढी थिचोरेको पाइन्छ। अब यी र यस्ता बहसको निष्कर्ष निकाल्नु आवश्यक छ।

न महिला न पुरुष हिंसारहित समाजको निमार्ण नै आजको आवश्यकता हो। यस बिषयमा पुरुषले पुरुषको र महिलाले महिलाको पक्षबाट धारणा दिनुभन्दा पनि अन्याय र सत्यको पक्षमा बोलौँ। तपाई र हामी सबैको घरमा हुने न पुरुष न महिला हिंसा कुनै पनि हिंसालाई प्रसय नदिऔँ।
चाहे नारी हुन् वा पुरुष । हिंसामुक्त बन्न सकेमात्र न्यायपूर्ण समाज निर्माण गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर