✍️भुमिराज पौडेल

यो समय चुनावी माहोलको समय हो। देशदेखि लिएर गाउँ सहर सबै निर्वाचनमय भएको छ। प्रतिनिधिसभा अनि प्रदेशसभा निर्वाचनको लागि भोट माग्न उमेदवारहरूले कम्मर कसेर हिडेका छन्।

साना साना खरका झुपडीदेखि ठूला ठूला होटलहरू एका बिहानैबाट प्याक भएको देखिदैँ छ। खेती थन्काउने चटारोमा लागेका किसानहरूसमेत पार्टीको झण्डा बोकेर हिडेका छन्।

उमेदवारीहरू निरासमा आशाको पोको बोकेर जनताको घर घर मा खेत खेतमा पुगेका छन्। लाग्छ, यतिबेला त देश नै फन्नी भएको छ नेताहरू फन्नी भएकोले मतदाताहरू पनि फन्नी भैसकेका छन्।

घर घरमा मात्र नभएर खेतबारीमा काम गरिरहेका किसानहरूलाई भेट्न पनि उम्मेदवार पुगेको देखिएको छ। सहयोग गरेको नाटक पनि सञ्जालमा देखिएकै होला । बेलैमा मल नपाउने किसानले पनि अहिले त नमस्कार छिन छिन मै पाएका छन् । पीडित हुँदा आवाज नसुनिदिने न्याय नपाउनेले पनि नमस्कार सम्म पाएका छन् अब हामीले यस्ता उम्मेदवार चुनेर के गर्ने ?

मेरो दल नै मेरो देश हो, मेरो पाटी नै मेरो देश हो, मेरो दलले मेरो पार्टीले हार्यो भने मेरो देशले हार्छ । नेपाल आमाको मन रून्छ । जनताको घर घरमा खेत खेतमा गएर देशले उधोगति र उधोमतिको रूप लिन्छ भनिरहेका छन् ।

प्रत्येक पाँच बर्षमा अनुहार देखाउँन आउनेहरू !! तिनीहरूलाई के छ र भनिदिउँन भन्न के आइतबार पर्खेने ? जनतालाई आशाको त्यान्द्रोमा झुन्डाएर आफुलाई र आफ्ना छोराछोरीलाई मात्र हेरे ।

वास्तवमा भनुपर्दा राजनीति भनेको नीतिहरूको पनि मुल नीति हो। राजनीतिभन्दा माथि कुनै नीति नै छैन। भनिन्छ नि, राजनीति जनता समाज र राष्ट्रको सेवा हो राजनीतिभित्र सामाजिक, आर्थिक, साँस्कृतिक आन्दोलनका छुट्टाछुट्टै नेता हुन सक्छन् । तर सबैको मुल भनेको राजनितिक नेतृत्व नै हो। “नेताले लिएको लक्ष्यले ऊ कति ठूलो नेता हो भन्ने कुराको निर्धारण गर्दछ उसको पछाडि लागेको भिडले होइन।

हामी सबै आम जनतालाई देशको विकास अनि कानुनी राज्य चाहिएको छ । नेपाललाई जापान स्वीजरल्याण्ड अमेरिका बनाउनु परेको छ । अनि फेरि देश चलाउने जिम्मा देशका लागि काम गर्ने नभई आफ्नो काम गरिदिने मान्छेलाई दिन मन छ।

हामी चाहान्छौँ कि राम्रो मान्छेले भन्दा हाम्रो मान्छेले जितेमा उसले नियम विपरित भएर पनि हाम्रो सम्पूर्ण काम गरिदिन्छ, तर यसमा नेताको दोष हुँदैन । भोट हाल्ने सम्पूर्णको दोष हुन्छ । आफुलाई व्यक्तिगत फाइदा दिने हैन समस्त देशको हित गर्ने नेता चाहिएको छ भन्ने कुरा नेपाली मतदाताले बुझ्नु पर्ने बेला आएको छ। राजनीतिक आस्था राख्नेले त निर्वाचनमा भाग लिनु भनेको ठिकै हो। चासो नै नभएकालाई समेत निर्वाचनले नराम्रोसँग जोडेको छ ।

आफ्नो पार्टी राम्रो हो भन्ने देखाउने पक्षमा सबै लागेका छन् । हिजोसम्म एउटै थालमा खाना खाने दाजुभाइ आज राजनीतिक अवस्थाका कारण दुश्मन बनेका छन् ।

निर्वाचनपछि यो गर्छु त्यो गर्छु भन्दै जनताको चुलो चौकोमा उम्मेद्वारहरू पुगिरहेका छन् । उनका समर्थक कार्यकर्ताहरू जिन्दवाद मुर्दावादको नारामा दौडिएका छन् भने कति नोटसँग भोट साट्न तल्लीन छन्।

राजनीतिको बारेमा मलार्इ खासै चासो अनि ज्ञान त छैन तर यति बुझेको छु कि, नेताको चाप्लुसीमा जनता बिक्नु भनेको देश बेच्नु सरह जस्तै रहेछ ।

यो निर्वाचन विगतको निर्वाचनभन्दा फरक भएकोले अब हामी सबै मतदाताहरूले विचार पु¥याउनु पर्ने हुन्छ। अब हामी सबै मतदाताहरूले आफ्नो मत दुरुपयोग हुन नदिन विवेकको प्रयोग गर्न सक्नुपर्दछ।

प्रायजसो हाम्रो बानी के छ भने नेतृत्व चुन्ने बेला गल्ती गर्ने र पछि गएर यसले यस्तो गर्यो त्यसले त्यस्तो गर्यो भन्ने, धारे हात लगाएर सराप गर्ने बानी छ। यसबाट हुनेवाला केही छैन।

पारिलो उर्वर ठाउँ खोज्ने र बिउबिजन पनि राम्रो रोप्ने हो भने फल पनि पक्कै राम्रो हुनेछ तर बीउ नै कुहिएको रोपियो र ठाउँ पनि गतिलो भएन भने न त उम्रन्छ न त फल नै लाग्छ बिउ पनि कुहिन्छ कि भुटिन्छ।

त्यसकारण यो पटक को निर्वाचन मा नेतित्व चुन्ने बेला सबैले ध्यान पुर्याउनु पर्छ। नत्र फेरि पाँच बर्ष दुःख पाइएला नि ! गएको पाँच बर्षमा जनप्रतिनिधिलाई गाली गर्दै बसेका युवा पनि यतिबेला नेताको चाकडी गर्दै हिडेका छन्। कसले कति खर्च गर्न सक्छ त्यसको पछाडि लागेका छन्।

प्रिय मित्रहरू, मेरो देशले ब्यहोरेको विगतको राजनीतिक विचार पोष्ट्याउदा तपाईंहरू कतिलाईलाई रिस उठेको पनि होला ! अब तपाईं हामीले कदम कदम सोच्नुपर्ने अवस्था देखिएको छ। उमेदवार, पेट्रोल, मासुभातको पछाडि लागे भनेर म आफूले जुनसुकै पाटिको पनि बिरोध गर्न खोजेको हैन ।

उमेदवारको पछाडि लाग्दै नलाग्नुहोस् भन्न खोजेको हैन । तपाईं हामी सबै स्वतन्त्र मतदाता हौँ, स्वतन्त्र रूपले मतदान गर्न पाउने अधिकार तपाईं हामी सबैको रहेको छ। आफ्नो भोटलाई नोटमा परिवर्तन नगरिदिनुहोस्। यसले हामीलाई पाँच बर्ष श्राप दिनेछ।

निर्वाचन आज अब एक दिनमात्र बाँकी छ । हामी जनतालाई कस्तो उमेदवार लाई भोट दिने भन्ने कुरा अझै पनि थाहा छैन, किनभने हामिले कहिल्यै कानुनी राज्यको अनुभव गर्न पाएका छैनौ।

अब हामी युवाले यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने हुन्छ। हतारमा गल्ती गरेर फुर्सदमा पछुताउनु भन्दा निर्णय गर्ने बेलामा बुद्धि पुर्याउनु ठिक होला नि हैन र ? आजसम्म त हामीलाई हात्तीको मुखमा जिरा जस्तै बनाए।

अब हामीलार्इ न त जे सुकै होस भन्ने छुट छ, न त कसैकसैको लहैलहैमा, दवाबमा, लागेर आफ्नो अमूल्य मतको दुरुपयोग गर्ने छुट छ ।

अब मैले के पाउँछु वा देशको बिकास हुन्छ कि हुन्न भन्ने कुरामा भन्दा पनि कसले जनता को अधिकारको सुरक्षा गर्ने ब्यवस्था बनाउन सहयोग गर्छ भन्ने बिषयमा मतदाता सचेत हुनुपर्छ।

अहिले सम्म यो देशमा गतिलो नेता कोही भएनन् पार्टीको विरोध गर्ने, नेताले नेतालाई नै गालि गलोज गर्ने, भष्ट्रचार गर्ने मात्र भए। जनता मालिक हुने भनेको यहि चुनावको बेला मा मात्र हो। मेरो एउटै आग्रह छ कसैले पनि भोटलाई नोटमा रूपान्तरण नगरिदिनुहोस्। नेता पनि पैसा छाप्ने मिसिन त हैन नि !

यो चुनावमा परिवर्तन म बाट सुरु गरेर हामीसम्म पुर्याउ। एक रुपैयाँ खर्च नगरी चुनाव लड्ने अवस्थाको सिर्जना गरिदिउँ। अहिले नोटसँग भोट साटेर चुनावपछि बिदेशी भुमीमा रगत र पसिनासँग रेमिटेन्स साट्नुभन्दा त अहिले देशमा स्वाभिमानका साथ बाँच्ने वातावरण सिर्जना गरौँ।

त्यसैले विगतका नेताहरू कसले कहाँ के गरे त्यस्को लेखाजोखा गरी राम्रो काम गर्नेलाई काखमा लियौँ र नराम्रो काम गर्नेलाई पाखामा लगाइदिउँ त्यस स्थानमा नयाँ जोस जागर र सोच भएकालाई ल्याउन सक्ने प्रयास तपाईं हामीबाट नै सुरु गरिहालौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर