चितवनमा जन्मिएकी कवि सिन्धु पौडेल हाल रोजगारीको सिलसिलामा इजरायलमा कार्यरत छिन् । विश्व नेपाली साहित्य महासंघ (इजरायल शाखा), साहित्य चौतारी (इजरायल शाखा) र अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास)मा आवद्ध सिन्धु पौडेलले केही साताअघि आफ्नो पहिलो कविता सङ्ग्रह ‘मृत सागरको उचाइबाट’लोकार्पण भएको छ । आँगनको लागि सेतोमाटो डटकमका सहकर्मी जनक कार्कीले उनै कवि पौडेलसँग गरेको पुस्तक वार्ताको सम्पादित अंश प्रस्तुत छः
यतिबेला यहाँ इजरायलमा कार्यरत हुनुहुन्छ । यहाँको भैतिक अनुपस्थितिमा केही हप्ता पहिले यहाँको नवीन कविता सङ्ग्रह ‘मृतसागरको उचाइबाट’ नेपालमा विमोचन भयो । आफ्नै कार्यक्रममा आफैँ उपस्थित हुन नपाउँदा कस्तो लाग्ने रहेछ ?
स्वँय श्रष्टालाई अलिकति नमिठो महशुस त लाग्छ नै तर, अहिलेको परिप्रेक्ष्यमा देशभन्दा बाहिर बसेर सृजना गर्ने स्रष्ठाहरू अत्याधिक हुनाले र समय र परिस्थितिले स्रष्ठाहरू आफै ँपुगिहाल्न नसक्ने र अर्को कुरा डिजिटल जमाना भएको कारणले मैले डिजिटल्ली लाइभ नै अनुभव गरेँ । त्यहाँ पुस्तक विमोचन भइरहदाँ म प्रत्यक्ष्यदर्शी पनि हुन पाएँ । त्यसैले खासै नराम्रो अनुभव त भएन र पनि पुग्न पाएको भएँ अझै राम्रो हुने थियो। तर, भर्चुअल जमाना भएकोले खासै ठूलो अन्तरचाहिँ नहुँदो रहेछ।
भनिन्छ, परदेशले मान्छेमा भएको काव्यिक हृदयलाई सक्रिय बनाउन सक्छ । यहाँले प्रवासको व्यस्त जीवनलाई सदुपयोग गरेर साहित्यिक गतिविधिमा सक्रियता देखाउँदै आउनुभएको छ । यहाँलाई पनि परदेश बसाइँले नै कवि बनाएको हो कि वा नेपाल हुँदा नै साहित्यमा रुचि थियो ?
परदेशले मात्रै मानिसको काब्यिक गुण र क्षमता बाहिर ल्याउँछ भन्ने चाहिँ होईन । त्यसो भनिरहँदा नेपालमा बसेर साहित्य सृजनामा जुटिरहनु भएका साहित्कारहरूप्रति अन्याय हुन जान्छ । तर, हामीमा भएको काब्यिक चेतनाको हृदय भने विश्वको जुनसुकै ठाउँमा पुगे पनि सक्रिय भई नै राखेको हुन्छ त्यसैले मैले प्रवासको ब्यस्ततासँगै कामबाट बचेको समय निचोरेर साहित्यिक अध्ययनमा र लेखनमा लागिरहेँ । हुनत मेरो पारिवारिक माहौल पनि साहित्यिक भएको कारणले गर्दा साहित्यमा सानैदेखि रुचि राख्थेँ, तर बाहिर आउने डिजिटल युग थिएन त्यो बेलामा । र प्रवास आईसकेपछि मलाई साहित्यिक प्यासले फेरि डोर्यायो र प्रवासमा बसेर लेख्न थालेँ र प्रवासले नै मलाई चिनायो ।
यहाँको यस सङ्ग्रहमा सङ्ग्रहित कविताहरू कुन कालखण्डमा लेखिएका हुन् ?
म देशमा हुँदा उच्च शिक्षा अध्ययन कालको समयदेखि प्रवासी जीवन बिताउन थालिसकेपछिको पछिल्लो समय यिनै कालखण्डमा लेखिएका कविताहरू हुन्।
कविता जीवनको भोगाइ र त्यसमा आफ्नो दृष्टिकोण हो भनिन्छ, यहाँले यस सङ्ग्रहमा कस्ता कवितालाई स्थान दिनुभएको छ ?
अवश्य पनि कविता जीवनको भोगाइ हो। तर, त्यो भोगार्इ आफ्नो मात्र नभएर समग्र देश र समाजमा घट्ने गरेका प्राकृतिक घटना र आम मानिसका जीवनसँग सम्बन्धित हो तिनै यावत कुराहरूलाई बिम्बले सिङ्गारेर कविता लेख्न सक्नु र आम मानिसको सोचभन्दा कविले सोच्ने जीवनको भोगाई अलिक फरक पर्ने भएकोले नै कविको दृष्टिकोणमा जीवन भोगाई, सुनाई र देखाईका बिबिध घटनाक्रमहरूले नै कविता बनेर मेरो यस काव्य सँग्रह ‘मृत सागरको उचाइबाट’मा समेटिएका छन् । साथै देशप्रेम, प्रकृतिप्रेम, प्रवासपीडा र समाजको विकृतिहरू नै छन् मेरो यस सङ्ग्रहभित्र।
केहिले भन्छन् लेख्नु स्वान्त सुखायका निमिय्त हो, कसैले भन्छन् लेख्नु नशा हो । लेख्नु आन्नद र नशाकै लागि मात्र हो कि यसको अरु पनि प्रयोजन छ ?
हरेक ब्यक्तिको चेतना स्तर फरक हुन सक्छ र त बिचार अलग पनि हुन्छ तर लेख्नु भनेको आफैँलाई चिन्ने कोसिस गर्नु पनि हो। प्रायोजन त साहित्यमा अवश्य हुन्छ किनकि साहित्य समाजको ऐना हो नयाँ र पुराना पुस्ता जोड्ने सेतु पनि हो।
यो समाजमा एउटा मान्छेले कविता लेखिरहनु भनेको के को संकेत हो ?
हाम्रो नेपाली समाजमा पनि कविता मन पराउने पाठकको सँख्या ह्वात्तै बढेको पाइन्छ । किनेर नपढे पनि अनलाइन पोर्टलहरूमा कवितानै धेरै पढिएको देखिन्छ। हिजोआज कविता पढ्ने पाठकहरूको चेतना स्तरमा बृद्धि भएकोले नै अहिले हाम्रो समाजमा यौटा मानिस या भनौँ कविले कविता लेखिरहनु पर्छ ।
कविता जीवन जगतको दर्पण पनि हो जस्ले समाज र देशमा हुने बिकृत्तिहरुलाई खबरदारी गर्दै स्वच्छ चेतनशिल समाजको निर्माण गर्न काब्यले अहँम भूमिका खेलेको हुन्छ ,खेल्नु पर्छ । त्यसैले यौटा कविले कविताको माध्यमबाट समाजलाई घच्घच्याईरहन जरुरी छ र कविता लेखिईरहनुपर्छ।
यहाँको कविता सङ्ग्रहको नाम निकै काव्यिक छ । मृतसागरको उचाइबाट भनेर नाम राखिएको छ ।जबकी मृत सगार भनेको संसारकै होचो ठाउँ हो । यसरी हेर्दा यसलाई होचो ठाउँको उचाइ भनेर निकै विम्बात्मल रूपा पनि लिन सकिन्छ । मृतसागरमा जो कोहि पनि पौडी नखेली तैरिन सक्छन् । यहाँ केही जीव बाहेक अन्य जीव बाँच्न सक्दैनन् । ९९७ फिट गहिरो उचाइबाट यहाँले के भन्ने कोसिस गर्नुभएको छ ?
प्रश्न स्वँयमा आफै उत्तर बनेको छ। र अर्को कुरा यस्लाई विम्बात्मक बनाउन खोजिएको नै हो । मृत सागरको उचाइ भनेको चाहिँ मृत सागरको गहिरो ठाँउबाट लेखिएको भन्ने हैन । यस्को किनारा या त छेवैमा बसेर लेखिएको काव्य हो । यस्लाई मृत सागरको छेउबाट या किनाराबाट पनि राख्न सकिन्थ्यो तर उचाइबाट भन्दा निकै विम्बात्मक पढिने हुनाले मृत सागरको उचाइबाट नामाकरण गरेको हो । उचाई हरेक चिजको हुन्छ नि हैन र ! गहिराइको पनि उचाइ र होचो चिजको पनि अग्लाई हुनाले यो ९९७ फिट होचो ठाउँको सर्वोच्च शिखरबाट लेखिएको भन्ने पनि हुन्छ । र सँसारको सर्वोच्च शिखर सगरमाथाको देशबाट आएर सँसारको सबैभन्दा होचो भागको उचाइबाट लेखिएकोले यस्लाई ‘मृत सागरको उचाइबाट’ भनेर नामाकरण गरिएको हो।
प्रख्यात पत्रकार जोनीले भनेका छन, ‘इजरायल प्यालेस्टाइन भित्र छ र प्यालेस्टाइन इजरायल भित्र’ मानचित्रमा हेर्ने हो भने ठूलो भाग इजरायल र सासाना टुक्राहरू प्यालेस्टाइन हो । जानकारहरू भन्छन् इजरायल र प्यालेस्टाइन छुट्ट्याउने तरिका भनेको जो गरिब छ ऊ प्यालेस्टाइन बाँकी इजरायल हो । यहाँले पनि कतिपटक बमबारुदको बादल देख्नु भएकै होला । यस्तो सुरक्षा थ्रेट भएको देशमा बस्दा एउटा कवि हृदयलाई के कुराले बढी छुदो रहेछ र हमास भएर कत्तिको सोच्नुभएको छ ?
यस्को लागि तपाईं स्वयँले एकपटक ‘मृत सागरको’ उचाइबाट पढिदिनु हुन अनुरोध गरेँ । अर्को कुरा कविले हमास भएर कहिल्यै सोच्दैन र सोच्नु पनि हुदैन किनकि हमास युद्ध हो भने कवि बुद्ध हो।
यहाँलाई मनपर्ने तीनजना कवि र तीनवटा कविता कुन कुन होलान् ?
माहाकवि लक्ष्मीप्रसाद देवकोटा : मुनामदन
राष्ट्रकवि माधब घिमिरे : गौरी
कवि भुपि शेरचन : असार
अन्त्यमा, एउटा स्वतन्त्र प्रश्न यहाँले मन लागेको उत्तर दिन सक्नुहुन्छ ।
मलाई आफ्नो बिचारहरू राख्न दिनुभएकोमा हार्दिक धन्यवाद कवि जीवन कार्कीजीलाई साथै भर्खरै मात्र मेरो कविता सँग्रह ‘मृत सागरको उचाइबाट’ प्रकाशित भएर बजारमा आएको छ पढेर सल्लाह र सुझावको अपेक्षाको लागि पनि अनुरोध गर्छु पाठक प्रतिकृया नै यौटा सर्जकको लागि खुराक हो भन्न चाहेँ।
प्रश्नहरू पठाएको छु । यसको उत्तर लेखेर शुक्रबारसम्म पठाइदिनु होला । उत्तर पठाउन असमर्थ भए खबर गर्नुहोला है । अर्को व्यक्ति खोज्न पर्ने हुन्छ
प्रतिक्रिया
-
४
