‘छोरीले जन्माएका आमाहरू’ पुस्तकमा अमेरिकाको विभिन्न राज्यमा बसोबास गरिरहेका नेपाली छोरीहरूले आमाको कथा लेखेर आमालाई जन्माउन प्रयास गरिएको छ । यस पुस्तकमा इन्द्र गुरौ, उमा शर्मा, कमला न्यौपाने, डा. कविता घिमिरे, कल्पना तामाङ, जानु ओझा, तनुजा पाखरेल, निर्मला राई, मीरा बस्नेत, मञ्जु थापा, डा. मोनिका आचार्य र सञ्जिता बराइली गरी १२ जनाका लेख समाविष्ट छन् । यसलाई मञ्जु थापाले संयोजन गरेकी हुन् । आजको पुस्तक वार्तामा हामीले १२ जनाको प्रतिनिधित्व हुने गरेर यसै पुस्तकमा अटाइएकी लेखक कमला न्यौपानेसँग सहकर्मी जनक कार्कीले गरेको कुराकानीको सारसंक्षेप ।

१. ‘छोरीले जन्माएका आमाहरू’ कृति केही महिना पहिला प्रकाशित भयो । आपनो काव्यिक नामले गर्दा पाठकलाई तान्न सक्ने शक्ति यस कृतिमा छ । बाह्रजना छोरीहरूले यस कृतिमार्फत आमालाई जन्माएका छन् । यस कृतिको गर्भधारणदेखि जन्मसम्मको रचनागर्भ के कस्तो छ ?

धन्यवाद जनकजी । यस गहन प्रश्नको उत्तर केही लामो दिनुपर्ने हुन्छ किनभने यो किताब कोरा कल्पनामा आधारित कृति होइन । यसमा लेखिएका सबै घटना र तथ्यहरू यथार्थ हुन्, साँचो संस्मरण हुन् ।

‘छोरीले जन्माएका आमाहरू’ अमेरिकामा बस्ने हामी बाह्रजना छोरीका कलमले लेखिएको आ–आफ्ना आमाहरूको जीवनगाथा हो । यस कृतिको परिकल्पना सन् २०२१ को अप्रिल–मेतिर भएको हो । संयोगवश त्यस वर्षको मदर्स डेका दिन हामीले यो पुस्तक तयारीका लागि पहिलो जुम मिटिङ गरेका थियौं । हाम्रा आमाहरूका विषयमा हामीले नलेखे कसले लेख्ने ? हिज स्टोरी त धेरै–धेरै लेखिन्छ र लेखिएकै छ तर हर स्टोरी नगण्य मात्रै आएका छन् । त्यसमा पनि सफल व्यक्तित्व बनिसकेका आमाहरू वा सफल व्यक्तिका आमाहरूका कुरा मात्र लेखिन्छन् । खासमा त ओझेलमा परेका वा सामान्य आमाहरूका जीवनगाथा पनि उत्तिकै महत्त्वपूर्ण छन् र तिनलाई अभिलेखीकरण गर्नु पनि उत्तिकै जरुरी छ भन्ने मन्जु थापाको परिकल्पनाबाट यो पुस्तक लेखनको सुरुआत भएको थियो । यो कृति बाह्रजना आमाहरूको कथा मात्र नभएर समग्रमा ती आमाहरूसँग जोडिएका परिवार, समाज, संस्कृति र तत्कालीन राजनीतिलाई समेटेर लेखिएको एक साझा पुस्तक हो ।

यो कृति लेखनको एउटा मुख्य उद्देश्य अमेरिकामा बसेका छोरीहरूले आफ्ना आमाहरूको वास्तविक कथा लेख्ने थियो जसले गर्दा हाम्रा अपरिचित आमाहरूको संघर्ष र योगदानलाई समाजमा चिनाउन सकियोस् । दोस्रो, हामी अमेरिकामा बसेका छोरीहरू सबैजना कामकाजी महिला हौँ तर हामीलाई यहाँसम्म पुग्नमा हाम्रा आमाहरूको देन के कस्तो रह्यो भन्ने बताउने जमर्को पनि यस किताबमार्फत गर्न सकियोस् भन्ने हो ।

आमाहरूका कथा लेख्ने क्रमको थालनीका दिनहरूमा विभिन्न वर्ग, क्षेत्र, जातजाति, पेसा र अमेरिकाका विभिन्न राज्यहरूमा बस्ने हामी २५ जना छोरीहरू थियौँ । पछि पुस्तक तयार भई प्रकाशन हुने बेलासम्म आइपुग्दा विविध कारणले धेरैजना छुट्नुभयोे । मसमेत अन्य साथीहरू इन्द्र गुरौ, उमा शर्मा, कमला न्यौपाने, कल्पना तामाङ, कविता घिमिरे, जानु ओझा, तनुजा पोखरेल, निर्मला राई, मञ्जु थापा, मीरा बस्नेत, मोनिका आचार्य र सञ्जीता बराइली आ–आफ्ना आमाहरूको जीवनकथा लेख्न सफल भयौँ । यस पुस्तकमा प्रकाशित हामी लगभग जम्मैजसो छोरीहरू लेखक थिएनौँ । हामीमध्ये धेरैजनाले त नितान्त पहिलोपटक यसरी कुनै आलेख लेखेका हौं । करिब एक वर्षभन्दा केही बढी समय लगाएर अत्यन्त मिहिनेतका साथ पाण्डुलिपि तयार गरिएको हो । जुमको माध्यमबाट हामी प्रत्येक महिना आफ्ना लेख सुनाएर एक अर्कालाई प्रेरित गर्थ्यौँ। यस किताबको सम्पादन जयदेव गौतमले गर्नुभएको हो । अक्षर क्रिएसन्सले प्रकाशन गरी सेप्टेम्बर १२, २०२२ मा प्रज्ञा प्रतिष्ठान काठमाडौंमा विमोचन गरी पाठकहरूको जिम्मा लगाएपछि यस पुस्तकको औपचारिक जन्म भएको हो ।

२. हाम्रा आमाहरूले पितृसत्तात्मक पञ्जाको चंगुलमा जेलिएर नै जीवनयापन गरेको पाइन्छ । तपाईंहरूले जन्माएका आमामा आम मान्छेका आमाले भोगेको जीवनभन्दा केही फरक विद्रोह–चेत र चेतनाको उन्नत विकास रहेका केही तत्वहरूलाई प्रकाश पार्दिनोस् न ।

हाम्रा आमाहरू पनि आम आमाहरू नै हुनुहुन्छ । पुस्तकमा चित्रण गरिएका हाम्रा आमाहरूको कथा आम आमाहरूभन्दा बिल्कुलै फरक छ भन्न म सक्दिन किनभने उहाँहरू आम आमाहरूकै प्रतिनिधि पात्र हो । बाह्रजना आमाहरूको कथा भएकाले कतै न कतै अरू आमाहरूसँगको सन्दर्भ र परिवेश मिल्न सक्छन् । यति हुँदाहुँदै पनि कतिपय आमाहरू परम्परागत सोच र ढर्राप्रतिको विद्रोह, सामाजिक उत्तरदायित्वपूर्ण सक्रियता र महिला अस्तित्वको चेतनाले फरक पनि हुनुहुन्छ । ‘छोरीले जन्माएका आमाहरू’ मा आम मान्छेका आमाले भोगेको जीवनभन्दा केही फरक विद्रोह–चेत र चेतनाको उन्नत विकासका सन्दर्भहरू सबै अध्यायमा पाउन सकिन्छ ।

३. हिजोका आमाहरूले गरेको संघर्षका कारण नै आज तपाईंहरू जस्ता छोरीले सहज जीवन जिउने मार्ग भेटाउनुभएको छ । शब्दमा तपाईंहरूले आमालाई जन्माउने प्रयास गर्नुभएको छ । अब आउने दिनमा तपाईंलाई छोरीहरूले पनि त्यसरी नै जन्माउनुपर्ने बाध्यता आउला या नआउला ?

मेरो विचारमा यस किसिमका आलेख र पुस्तकहरूहरू आइ नै रहनुपर्छ जसले गर्दा समय, काल र परिस्थितिअनुसार समाजमा महिलाहरूमा के कस्ता परिवर्तन आए र महिलाहरूको सामाजिक हैसियत कसरी परिवर्तन हुँदै आयो भन्ने अभिलेखीकरण राख्न पनि सजिलो हुन्छ । यस अर्थमा आउने दिनहरूमा समेत छोरीहरूले पनि र छोराहरूले पनि आफ्ना आमालाई शब्दहरूमा जन्माइ रहन जरूरी छ यद्यपि यसलार्ई बाध्यताका रूपमा भने लिनु हुँदैन ।

४. पुस्तकमा आमाले भोग्नुपरेका विभेद र हिंसा तथा उहाँहरूले गरेको संघर्ष र विद्रोह आदि कुराहरू कत्तिको अटाएका छन् ?

यस पुस्तकमा चित्रित आमाहरूलाई प्रत्यक्ष शारीरिक हिंसा भएको मैले पाइन यद्यपि सामाजिक, सांस्कृतिक, आर्थिक र जातीय विभेदका कारण भोग्नुपरेका अप्रत्यक्ष हिंसाहरू सबैको भागमा थिए । त्यस्ता विभेदहरूलाई ती आमाहरूले कहिले सहँदै र कहिले प्रतिकार गर्दै जीवन बाँच्नुभएको पक्ष पुस्तकमा मिहिन ढंगले उठाइएको छ । सबैजसो आमाहरूले आफ्नो परिवारका लागि गर्नुभएको योगदान र गर्नुपरेको संघर्षका कुराहरू तथा मुख्य रूपमा आफ्ना छोरीहरूलाई पढ्नका लागि हौसला दिएका तथ्यहरू प्रसस्त औंल्याइएको छ । केही आमाहरूले परिवारभित्र गरेका विद्रोह र महिलाको हक–हितका लागि क्रियाशील भएका विषयहरू पनि लेखिएको छ । लेखक निर्मला राईकी आमाले पढ्न नपाउँदा गर्नुभएको विद्रोह, मन्जु थापाकी आमाले महिला हक–हितका लागि उठाउनुभएको आवाज र काम, सञ्जीता बराइलीकी आमाले भोग्नुपरेको सामाजिक विभेदका कुरा त्यस्ता केही उदाहरण हुन् भने समग्रमै बाह्रजना आमाहरूले आफ्ना परिवारको हक–हितका लागि गर्नुभएको योगदान अत्यन्त रोचक र मार्मिक ढंगले किताबमा वर्णन भएको छ । मलाई लाग्छ, पुस्तकमा हामीले आमाहरूको जीवनका सबै पक्षलाई सन्तुलित ढंगले उजागर गर्ने प्रयास गरेका छौं । बाँकी कुरा त पाठकहरूले पढेपछि आफैँ मूल्याङ्कन गर्नुहुनेछ ।

५. यस पुस्तकमा केही रोचक र विद्रोहका किस्साहरू पनि छन्, जस्तै– माइतीको करकापमा बिहे गरिएको र त्यसपछि एक वर्षसम्म पतिलाई आफ्नो देह स्पर्शसम्म गर्न नदिएको प्रसङ्ग, मावली हजुरबाको नराम्रो पाटो, गरिबी र छुवाछूतको मार, आदिवासी थारूको थलो पहाडियाको आगमनले संकुचनमा परेको ऐतिहासिक झलक दिने प्रसङ्ग, जमिनदारको घरमा हरूवा–कमैया रहेका आफ्ना बाजे–बज्यैसम्मको इतिहास, बेलैमा सन्तान नपाएकी महिलाको मानसिक आघात, सानैमा विधवा बनेर पुनः विवाह गरेको प्रसङ्ग, विवाहपश्चात् देश परिवर्तन गरेर त्यहाँको परिवेश र संस्कृतिमा घुलमिल हुन गरिएको संघर्ष आदि । यस्ता विषयहरू किताबमा समेटिँदा यसले समाजमा के कस्तो योगदान दिन्छ जस्तो लाग्छ ?

यी प्रसङ्गहरू हाम्रा आमाहरूले गर्नुभएका विभिन्न संघर्षका पाटाहरू हुन् र यी सबैजसो आमाका कथाहरूमा उजागर भएका छन् । यस्ता घटनावलीहरूको वर्णन र प्रसङ्गले हामी के बुझ्न सक्छौ भने त्यस समयमा पनि आमाहरूले आफुलाई मन नपरेको कुरामा विद्रोह गर्नु हुँदो रहेछ, सामाजिक विभेदमा आफ्नो प्रतिक्रिया जनाउनु हुँदो रहेछ, त्यस समयमा जातीय छुवाछूतको अवस्था कस्तो थियो, महिला शिक्षाको अवस्था कस्तो थियो, बालविवाहको अवस्था कस्तो थियो, चाह्यो भने विषम् परिस्थितिमा पनि कसरी परिवार, समाज र देशका लागि क्रियाशिल रहँदै सन्तुलित जीवन बाँच्न सकिँदो रहेछ, लुकिलुकी आफू अक्षर चिनेर पढ्न प्रयास गर्ने आमा देखेर छोराछोरीले पढ्नलाई प्रेरित हुनु, सानै उमेरमा बिहे भएको भएर छोरीले हुन्छ भने पछि मात्र बिहे गर्न सहमति हुने आमाहरू आदि जस्ता धेरै प्रसङ्गले एक किसिमको पाठ हामीलाई सिकाएका छन् ।

आज समय बदलिएको छ र अबका आमाहरूको यस्तो प्रसङ्ग अर्कै पनि हुनसक्छ । यहाँ केवल बाह्रजना आमाहरूको कुरा गरिएको छ । हामीले त्यस समयको परिवेश लेखेर, नलेखिएका आमाहरूका प्रेरक पाटाहरू औँल्याएर त्यसले समाजमा धेरैथोरै जे जस्तो परिवर्तन ल्यायो अथवा ल्याउन सघायो अथवा कालान्तरमा ल्याउन सघाउने छ भन्ने अपेक्षा पनि हो । हामीलाई लाग्छ, किताबमा उल्लिखित विभिन्न उथलपुथलपूर्ण परिस्थिति पार गरेका हाम्रा आमाहरूले सबै छोरीहरूका लागि ‘रोलमोडल’ को काम गर्नुभएको छ ।

६. पुस्तकमा प्रायः आमाहरूको कथन भनेको “मैले पढ्न पाइनँ, छोरीहरूले पढ्नुपर्छ” भन्ने समावेश भएको भनेर समीक्षक गणेश खनियाले ‘हिमालखबर’ पत्रिकामा लेखेका छन् । पढे–लेखेका छोरीहरूले आमाले जस्तो संघर्ष गर्न नपरे पनि अहिलेसम्म यो पितृसत्तात्मक समाजमा उनीहरूको संघर्ष कायम नै छ । पढे–लेखेका छोरीहरूले आजको दिनमा भोग्नुपरेका समस्याहरू के के हुन् जस्तो लाग्छ ?

हाम्रा आमाहरूले गर्नुपरेको संघर्ष जस्तै त पक्कै हामी धेरै लेखकहरूले गरेका छैनौं तापनि आमाहरूले गरेको संघर्षले हामीलाई पनि छोएकै छ । मलाई अझै पनि के लाग्छ भने आम नेपालीहरूको घर, परिवार र समाजमा पितृसत्ता नै व्याप्त छ । त्यही सोच र व्यवहार हाम्रो घर–घरमा पनि छ । अहिले पनि अधिकाँश छोरीहरूले झेल्नु परिरहेका समस्याहरूमा क्रमशः घरबाहिर काम गर्नका लागि अक्सर परिवारको सहमति हुनुपर्ने, महिलाहरूले स्वतन्त्र रूपमा हिँड्न वा बोल्न नपाइने, महिनावारी हुँदा अझै छुवाछूत बार्ने, अझै एकल आमा वा विधवा र अन्तरजातीय विवाहलाई स्वीकृति नदिइने बरु अनर्गल टीका–टिप्पणी र अस्वीकारोक्तिजन्य ठट्यौली गर्ने, छोरीलाई भन्दा छोराहरूको पढाइलाई प्राथमिकता दिने, महिलाहरू निरन्तर हिंसाको सिकार हुनुपर्ने, सबै किसिमका विभेदहरू महिलाहरूले नै बढी सामना गर्नुपर्ने, कानुनी रूपमा विभेदको पराकाष्ठाका रूपमा अझै पनि आमाको नामबाट नागरिकता नदिइनु आदि अनेक छन् । हामी यस किताबका लेखकहरू पढिलेखी संसारको सबैभन्दा विकसित देशमा बसोबास गर्दै आएका छौँ। नेपालबाट अमेरिका आउँदा गरेका संघर्षबाहेक पनि हामीले यहाँ आप्रवासीहरूलाई गरिने विभेद कुनै न कुनै समयमा झेल्दै आएका छौं । यसरी नै यहाँ महिला र पुरुषको श्रममा गरिने विभेद पनि झेल्नु परेकै छ ।

७. यहाँहरू सबै लेखक अमेरिकामा हुनुहुन्छ । विदेशमा आमाबुबालाई लगेर घुमाउने प्रचलन पनि छ । प्रायः आमाबुबालाई विदेश बोलाउने भनेको नातिनातिनाको स्याहार–सुसारको लागि हो भनेर आलोचना पनि गरिन्छ । शिशुलाई तेल लगाउन आमाबुबालाई विदेश बोलाउने संस्कृति बढेको छ, त्यसैले यसलाई ‘तेल भिसा’ भनेर पनि व्यङ्ग्य गरिन्छ । यो कुरालाई कसरी हेर्नुभएको छ ?

हो, पछिल्ला केही वर्षदेखि ‘तेल भिसा’ भन्ने शब्द नेपाल र नेपालीहरूमाझ निकै प्रचलनमा आएको छ । हामी विदेशमा बसेका कतिपय छोरी–बुहारीहरू सुत्केरी भएको बेला नेपालबाट आमाबाबाहरू सहयोगका लागि आउनुहुन्छ । यसमा खराबी नै के छ र ? त्यसो त नेपालमै पनि छोरी–बुहारी सुत्केरी हुँदा आमा र सासुआमाहरूले सहयोग गर्नु हुन्न र ? तेल लगाई दिनुहुन्न र ? अथवा त्यसरी तेल लगाइदिने मान्छेको व्यवस्था गर्नुहुन्न र ? नेपाली परम्पराअनुसार कम्तिमा पनि सुत्केरी र बच्चालाई एक महिनासम्म घरपरिवार र छरछिमेकीले मिलेर स्याहार्ने गरिन्छ । यो त हाम्रो राम्रो परम्परा पनि हो । अचेल प्रायःजसो नेपाली छोराछोरीहरू विदेशमै छन् । त्यसैले आमाहरूले छोरीबुहारी र नातिनातिनालाई मद्दत गर्ने इच्छा पनि राख्नुहुन्छ । त्यसैले पक्कै पनि तेल लगाउने भिसामा बोलाएको जस्तो लागेको पनि हुनसक्छ । जसले जे नाम दिए पनि विदेश आउने इच्छा नभए त कसरी आमाबुबाहरूलाई बोलाउन सकिएला र ? विदेशमा पनि यहाँका रैथानेहरूका बाबुआमाले नै सुरुका दिनहरूमा सहयोग गरेका हुन्छन् नि त । खाना बनाएर अस्पताल वा कार्यस्थल ल्याइदिने र आफूले ‘बेबी सिटिङ’ गरेर छोरी या बुहारीलाई काममा पठाउने गरिरहेका हुन्छन् । यसलाई के भन्नुहुन्छ ? त्यसैले आमाबुबालाई सुत्केरी छोरीबुहारी हेर्न बोलाउनु गलत होइन । अँ, के चाहिँ हो भने उहाँहरूलाई आफ्नो सुत्केरी अवस्थामा मात्र बोलाउने तर अरू बेला कुनै वास्ता नगर्ने हो भने त्यो पूर्णतः गलत र नितान्त आलोच्य कुरा हो ।

८. आमाहरूले भोग्नुपरेको घरेलुदेखि यौन हिंसाका विषयहरूमा लेखकहरू कत्तिको खुल्न सक्नुभएको छ ?

हाम्रा आमाहरूले प्रत्यक्ष यौन हिंसा सहनु नपरेको भएर होला, त्यस विषयमा पुस्तकका सह–लेखक छोरीहरूले लेख्नुभएको देखिँदैन। मेरो जानकारीमा आएसम्म यस किताबमा समेटिनुभएका आमाहरूले घरेलु वा यौन हिंसा ब्यहोर्नु परेन । यथार्थमा यौन हिंसा भनेको अत्यन्तै संवेदनशील विषय हो । कहाँसम्म भने आजका महिलाहरूले पनि यस विषयमा खुलेर कुरा गर्दैनन् । बरु बेलाबखत सामाजिक सञ्जालमा यस विषयमा सुन्न आइरहन्छ तर त्यसरी सार्वजनिक भएका घटनाहरूमा पनि यथोचित् न्याय निरूपण वा सम्पादन भएको हुँदैन, पाइँदैन । सायद त्यसैले गर्दा पनि यो विषयमा आमाहरूले कहिल्यै केही अभिव्यक्त नगर्नु भएर हो कि ?

९. लेखकको चयनमा अलिकति ‘प्रिभिलेज्ड’ स्रष्टाहरू र सबै समुदायबाट प्रतिनिधित्व गर्ने स्रष्टाहरू समावेश नभएकाले किनारबाट उठेका आमाहरूको कथा त कतै ओझेलमा परेन ?

यस किताबको परिकल्पना र उद्देश्यअनुसार नै यसमा अटाएका सबै लेखकहरू अमेरिकावासी हौं । हामी सबैले आफू लाई ‘प्रिभिलेज्ड छोरीहरू’ ठानेका छौँ यद्यपि हाम्रा सबै आमाहरू नेपालका विभिन्न जाति, समाज, समुदाय र क्षेत्रका हुनुहुन्छ, हुनुहुन्थ्यो । सबै आमाहरूले हामीलाई यहाँसम्म पु¥याउन गर्नुभएको संघर्ष र प्रेरणालाई हामीले लेखेका छौं । यहाँले भने जस्तै बाह्रजना मात्र आमाको कथा लेख्दा अरू आमाहरूका कथा पक्कै ओझेल परे होलान् तर फेरि साँचो कुरा के पनि हो भने सबै आमाहरूका कथा केवल एउटै पुस्तकमा अटाउन सक्दैन । त्यसैले, मलाई लाग्छ, यसरी नै अरू ‘नजन्मिएका आमाहरू’को कथा अन्य सबैले लेखेर जन्माउन सकून् भन्नका लागि यस पुस्तकले अवश्य प्रेरणा दिनेछ ।

१०. अन्त्यमा एउटा स्वतन्त्र प्रश्न जसमा यहाँले मन लागेको केही छ ?

जनकजीलाई हार्दिक धन्यवाद यी सबै प्रश्नका लागि । यी प्रश्नहरू गहन छन् । उठाउनुपर्ने प्रश्न थिए र त उठाउनुभयो । हामीले हाम्रा ‘नजन्मिएका आमाहरू’का कथा लेखेर समाजमा उहाँहरूले गर्नुभएको संघर्ष, प्रेरणा र त्यो समयकालीन इतिहास लेखेर उहाँहरूलाई जन्मायौं । भनौं, अभिलेखीकरण वा डक्युमेन्टेसनको सुरुआत ग-यौं । अब अरू छोरीहरूले पनि यसरी नै लेखेर तमाम अलिखित आमाहरूको जन्म भएको पढ्न पाउन पाए हुन्थ्यो भन्ने अपेक्षा छ । हामीले आफ्ना आमाहरूका कथा लेखेर पाठकलाई बुझाएका छौँ । धेरैभन्दा धेरैजनाले यो किताब पढेर उपयुक्त सल्लाह–सुझाब दिनुभए झन् कति राम्रो हुने थियो ?

प्रतिक्रिया

सम्बन्धित खवर