वि.स. २०३६ साल कार्तिक २६ गते कास्की जिल्ला भरतपोखरी गाविसमा पिता लिलबहादुर थापा र माता गिनकुमारी बोहराका सुपुत्रका रूपमा जन्मेका अशोक थापाले त्रिभुवन विश्वविद्यालयबाट एम.ए., एम्लिबएस्सी (पुस्तकालय विज्ञान) तथा शिक्षा शास्त्र सङ्कायमा वीएड् गरेका छन्। नाटक विधामा रुचि राख्ने थापाले त्रिविबाट विद्यावारिधि (पीएच्डी) उपाधि पनि हासिल गरिसकेका छन् । उनको पहिलो रचना (जनमत, २०५८) भूपि शेरचनका विषयमा प्रकाशित देखिन्छ। यस बाहेक उनका भाषासाहित्यसँग सम्बन्धित झण्डै तीन दर्जन समालोचना तथा पुस्तकालय विज्ञान विषयका दर्जनभन्दा बढी अनुसन्धानात्मक लेखहरू प्रकाशित छन्।
उदयीमान समालोचकका रूपमा देखिएका थापाको नाट्य समीक्षा र अन्य समालोचना (२०६५) नामक अनुसन्धानात्क समालोचनात्मक ग्रन्थ प्रकाशित छ।यसका अलवा थापाले नेपाली केन्द्रीय विभागबाट प्रकाशित हुने कुञ्चिनी, सार्दूल साहित्य प्रतिष्ठानबाट प्रकाशित हुने शार्दूल तथा पुस्तकालय विज्ञान केन्द्रीय विभाग त्रिविबाट प्रकाशित हुने इन्फोलिब जस्ता पत्रिकाको सम्पादक तथा प्रधान सम्पादकका रूपमा कार्य गरिसकेका छन्।नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा शिक्षणरत थापाले पुस्तकालय व्यवस्थापन विषयमा पनि प्रशिक्षण दिनुहुन्छ।साहित्यको समीक्षा र टिप्टपनीमा रुचि राख्ने थापा निकै गहकिलो समालोचकीय दृष्टिसहितको समालोचक हुन्। नेपाल पुस्तकालय संघका अध्यक्षका रूपमा उनी कार्यरत थिए । उनको रुचि नाटक लेखन, मञ्चन र अनुसन्धानमा रहेको देखिन्छ । उनको सिर्जनात्मक कृतिको रूपमा कथा सङ्ग्रह ‘सन्तापको धून’ भर्खरै बजारमा आएको छ । यसै सङ्ग्रहमा केन्द्रित रहेर साहित्यका विभिन्न विषयमा सेतोमाटोका लागि सहकर्मी जनक कार्कीले गरेको पुस्तक वार्ताकोे सम्पादित अंश यस्तो छः
यतिबेला दशैँ-तिहारको विदाको समयमा जन्मभूमि पोखरामा हुनुहुन्छ । यो दशैँ तपाईँका लागि मालाश्री धुन मात्र होइन `सन्तापको धून´ पनि बजाउने अवसर लिएर आएको छ । दशैँ कस्तो रह्यो र `सन्तापको धून´ को सुर कत्तिको गुञ्जिदै छ ?
दशैँ जस्ता सांस्कृतिक पर्वलाई मैले पारिवारिक उत्सवका रूपमा बुझ्ने गर्छु । पक्कै पनि पहिलो सिर्जनात्मक कृतिले सकारात्मक प्रतिक्रिया पाइरहेको समयमा म यति खेर पोखरा छु अनि यहाँका स्थानीय मिडियाले ‘सन्तापको धून’ उपर चासो दिएको यो समयमा म थप उत्साही भएको छु ।
तीन दर्जनभन्दा बढी समालोचना तथा पुस्तकालय विज्ञान विषयमा अनुसन्धानात्मक लेखहरू लेखिसक्नु भएको यहाँले साहित्यिक कृति प्रकाशित गर्न किन अबेर गर्नुभयो ?
यसका सैद्धान्तिक र व्यवहारिक दुई पक्ष छन् । सायद चाँडो र ढिलोको मापन हामीले हाम्रो औसत उमेरका सापेक्षतामा गरेका हुन्छौँ । कहिल्यै ढिलो हुँदैन राम्रो सिर्जना गर्न । राम्रो कृति जन्माउन थोरै समय बढी लाग्न पनि सक्छ । हडबड गर्दैनन् सफल हुने लेखकले खासमा ढिलो नै सुरु गर्छन् । रह्यो अर्को व्यवहरिक पाटो । हामी मध्यमवर्गीय किसान परिवारबाट आएका लेखकको पहिलो प्राथमिकता उसको करियर बन्ने गर्छ र अनि मात्र सिर्जना । मैले पनि यसै गरेँ सायद । त्यसैले ढिलो भए जस्तो लागेको हुनसक्छ । सकारात्मक प्रतिक्रियाले मलाई ढिलो भएकोमा पछुतो हुन दिएको छैन ।
नाटकमा विद्यावारिधि गर्नुभयो । रङ्गमञ्च र रङ्गशिल्प भएको यहाँले कृतिको रूपमा कथा विधालाई रोज्नु भयो ।
नाटकबाट कथामा आउनु भनेको एउटै बारीमा कहिले कोदो छर्नु र कहिले मास छर्नु जस्तै हो । बरु मेडिकल साइन्स, इन्जिनियरिङ, कानुन, गणित आदिजस्ता फरक विधाबाट त लेखकहरू साहित्यमा आएका छन् । आउँदैछन् । म त आफ्नै जमिनमा छु डेरी उत्पादकले कहिले पनिर बनाउँछ कहिले छुर्पी । मलै कसम खाएर नाटक विधा छोड्ने घोषणा गरेको छैन । नाटकको कम उपस्थिति भइरहेको यो समयमा नेपाली साहित्यले नाटकको आवश्यकता महसुस गरिरहेको अवस्थामा किन कथातिर हान्निनु भयो त ?
सत्य कुरा हो हाम्रोमा नाटक विधामा थोरै कलम चलेको छ । यो लेखकको रुचि अरुचि भन्दा पनि यसको विधागत संरचना र आयामले यस्तो बनाएको होला । मैले नाटक छोडेको छैन बरु सिर्जनाको अँगालोमा कथालाई पनि समेटौँ भन्ने चाहना हुनसक्छ । अर्को मनोवैज्ञानिक पक्ष कथामा जसरी छताछुल्ल पोखिन सकिन्छ त्यति नै जटिलता छ नाटकमा किनकि नाटक त्रिआयामिक हुने गर्छ । मनको मञ्चमा सजिलै मञ्चन हुने सक्ने भएकाले यसपटक कथा रोजेँ ।
एउटा सस्तो प्रश्नको गम्भीर जवाफको अपेक्षा सहित सोध्न मनलागि हाल्यो । वास्तवमा यहाँले कथालाई कसरी परिभाषित गर्नुहुन्छ ?
…कथा जिन्दगी हो । जिन्दगीको कलात्मक प्रकटीकरण हो ।
यो समय डिजिटल समय हो । यस्तो समयमा मान्छेसँग भुल्ने अनेक माध्यम छन् । आख्यानलाई फिल्मले र कवितालाई गीतसङ्गीतले ओगटिरहेको अवस्थामा किताब पढ्ने संस्कृतिमा ह्रास आउन थालेको छ । यस्तो अवस्थामा साहित्यिक पठन संस्कृति बढाउन के गर्नुपर्छ जस्तो लाग्छ ?
पुस्तकको विकल्प विद्युतीय सामग्री हुन सक्छ कि सक्दैन ? यो संसारभर बहस भइरहेको विषय हो । टिकाउका हिसाबले पुस्तक लामो समय टिक्छन् । अर्को कुरा के पुस्टि भइसकेको छ भने पुस्तकले दिन जस्तो आनन्द अन्य माध्यमले दिन सक्दैन । चलचित्रले पुस्तकलाई विस्थापन गर्न यो पुस्तक जत्तिकै राम्रो हुनुपर्छ । पठन संस्कृतिको विकास गर्न शैक्षिक प्रणालीका नीतिगत सुधार गर्नु पर्छ र लेखकले राम्रा सिर्जना गर्नुपर्छ ।
`सन्तापको धून´ कथा सङ्ग्रह पाठकले किन आफ्नो रोजाइमा पार्ने ?
समाजभित्रकै नभनिएको कथा हो सन्तापको धून । अझ फरक तरिकाले भनिएको कथा पनि हो जस्तो लाग्छ । हामीले दिनदिनै देखेर पनि अनदेखा व्यवहार गरेका घटना टिपेर लेखिएको कथा भएकाले पाठकको रोजाइमा पर्छ होला । मेरो विश्वास के हो भने यसको प्रारम्भिक प्रतिक्रिया सकारात्मक आउनुमा यस्तै यस्तै पक्षहरू जिम्मेबार छन् होला ।
समालोचकको खडेरी लाग्दै गरेको समय हो यो । यहाँकै पुस्तक परिचर्चा कार्यक्रममा सरूभक्तले समालोचकले नजिक र टाढाको लेखकलाई हेरेर कसैलाई गाली बर्साउने त कसैलाई देवत्वकरण गर्ने गरेको वर्तमानलाई सङ्केत गर्दै उहाँले समालोचकले पछिल्लो समय न्यायाधीशको झैँ निष्पक्ष भूमिका निर्वाह गर्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । समालोचकले आफ्नो कार्यमाथि पनि समालोचना हुन्छ भन्ने सत्यलाई सधैँ आत्मसात् गर्दै कृतिमाथि निष्पक्ष दृष्टिकोण प्रस्तुत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यहाँ पनि समालोचना गर्नुहुन्छ । यस्तो अवस्थामा समालोचकको भूमिका कस्तो हुनपर्ने देख्नुभएको छ ?
म उदारवादी समीक्षक हुँ जस्तो लाग्छ । सिर्जनाको मूलो जरो निमोठेर अब्बल समीक्षक बन्न सकिन्छ भन्नेमा मैले कहिल्यै विश्वास गरिन । समीक्षा खास विचारले मात्र भेदिएर गर्नु हुँदैन । पक्षधरताका आधारमा गरिएका समालोचना खासमा पार्टी कार्यकर्ताले गरेका चुनावी रणोनीति जस्तै हो । मेरो मान्यता के हो भने हिमाल आफैँमा सुन्दर छ त्यसमा बिहानको लालिमाले जस्तै टलक ल्याउनु समालोचनाको पहिलो सर्त हुनुपर्छ । हुन त यो समालोचनाले नेतृत्व गरेको समय भने होइन ।
यहाँले भन्नुभएको थियो, `ठूलाठूला विषयको खोजी गर्दा सिर्जना गर्न ढिलो भयो ।´ साना र ठूला विषय भनेको के हो ?
समाजमा, इतिहासमा, हाम्रो भूगोलमा, संस्कृतिमा, धर्ममा इतिहासले बनाएका विशाल आख्यान छन् जुन लामो समय लेखियो तर अब हामी ती विशाल विषयबाट हाम्रा दैनिकीमा सूक्ष्म क्षेत्रमा प्रवेश गर्नु पर्ने छ । म ठान्छु सन्तापको धून कथामा सूक्ष्म घटनाको आख्यानीकरण गरिएको छ ।
यहाँले छन्द कविता पनि लेख्नुहुन्छ । छन्द कविताको उपस्थिति पनि निकै कम हुँदै गएको देखिन्छ । छन्द कविताको विकासको लागि छन्द कविता सङ्ग्रहको बारेमा के सोच्नुभएको छ ?
भानुभक्त र लेखनाथका छिमेकी छन्द कविता नपढ्ने, नसुन्ने, नलेख्ने कमै छन् । म पनि त्यी आम मान्छेका बगालमा मिसिएको मात्रै हुँ । अझै पनि म फुर्सद हुँदा गौरी, तरुण-तपसी, शाकुन्त, राजेश्वरी जस्ता काव्यभित्रका श्लोक गुनगुनाउन बिर्सन्न । छन्द कविता लेख्न भने बन्द गरेको छु यो विधातिरको विकर्षणले होइन मसँग छन्दकविता कुँद्ने गतिलो सिप छ भन्नेमा कहिल्यै विश्वस्त हुन सकिन ।
यहाँ त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रिय विभागमा शिक्षणरत हुनुहुन्छ । तर दुःखको कुरा के भने शिक्षा र मानविकी संकाय बाहेक ब्याचलर लेभलका अन्य संकायबाट अनिवार्य नेपालीलाई हटाइएको छ । एउटा जिम्मेवार पदमा बसेकोले यो प्रश्न सोधिहालेँ नेपाली विषयलाई किन उपेक्षा गरिदै छ ?
अब समय बदलिएको छ । आजभन्दा २० वर्ष अगाडि सबैभन्दा गाह्रो विषय अङ्ग्रेजी र सजिलो विषय नेपाली भन्ने थियो । अब निजी विद्यालयका विद्यार्थीहरू अङ्ग्रेजी विषयको जाँच आयो भने खुसीले फुरुङ्ग हुन्छन् जसरी हामी रुन्थ्यौँ । अनिवार्य नेपालीलाई कतिपय सङ्कायबाट हटाइएको साँचो हो, त्यसो त लोकसेवाबाट हटाइएको छ । थपिएको पनि छ । लोकसेवाका, सुरक्षा निकायका कतिपय विज्ञापन (नर्सिङ, महिला विकास, प्रास, विनी, सेना, पुलिस) मा थपिएको पनि छ । त्रिविका वीसीए जस्ता नयाँ कार्यक्रममा अनिवार्य नेपाली राखिए पनि छ । समग्रमा हामीमा भाषिक राष्ट्रवादको खडेरी परेको सत्य हो ।
अहिले अङ्ग्रेजी माध्यमा पढिरहेका विद्यार्थीहरूको नेपाली निकै कमजोर छ । उनीहरूले पाठ्यपुस्तक बाहिरका किताब पढ्नै परे अङ्ग्रेजी भाषाका किताब नै पढ्न रुचाउँछन् । यसरी आउने दिनमा नेपाली साहित्यका पाठक निकै घट्ने सम्भावना देखिन्छ । यसलाई कसरी सम्बोधन गर्न सकिएला ?
हाम्रा नयाँ पुस्ताको नेपाली कमजोर छ तर अङ्ग्रेजी पनि अब्बल छैन । अङ्ग्रेजी माध्यमका विद्यालयले नेपाली भाषा बोलेमा अझै पनि रकम जरिवाना गर्न नीति अख्तियार गरेकाले उनीहरूले अङ्ग्रेजी भाषाका पुस्तकमा रुचि राख्नु स्वाभाविक छ । यसमा हामीले रुचिका किताब लेख्न नसकेर पनि हो । नेपाली भाषामै पढुँ पढुँ लाग्ने बालसाहित्यका पुस्तक लेख्न ढिलो गर्नु हुँदैन ।
भनिन्छ पुस्तक लेख्न भन्दा प्रकाशन गर्न झन् झन्झटिलो छ । यहाँले आफ्नो पुस्तक नयाँ प्रकाशन गृहबाट प्रकाशित गर्नुभएको छ । यहाँको यो प्रक्रियाको अनुभव कस्तो रह्यो ?
दिमाग फाट्ने गरी साहित्य सिर्जना गरेर फेरि जुत्ताको तलुवा फाट्ने गरी नाम चलेका चलाइएका प्रकाशकलाई चाकडी गर्नै मन लागेन मेरो स्वभाव पनि अनि अन्तर्मुखी प्रकृतिको छ । नयाँ प्रकाशकबाट मैले निकै सम्मान पाएको छु जहाँ नयाँ ज्वाइँले पाउने जस्तै सम्मान पाएको अनुभूति गरेको छु किनभने मेरो पुस्तकबाट प्रकाशकले ड्यभ्यु गरेको हो ।
साहित्यको बजारीकरण भएको छ । प्रेम, रोमान्स, यौन र रुन्चे साहित्य अलि बढी बिक्री भएको देखिन्छ । गुणस्तरीय साहित्यको व्यापार सन्तोषजनक छैन । पाठकको चोइस बदलिएको हो वा गुणवान साहित्यको कम उपस्थिति हो ?
आजको पुँजीवादी समय साहित्यको बजारीकरण वा कमोडिटीका रूपमा हेरिनु अस्वाभाविक होइन । संसारमा प्रेमविषयक साहित्यले २ तिहाइ स्थान ओगटेको कुरा सुनिन्छ । सयकडा १० जति पुस्तक मात्र पठनीय हुन्छन् । राम्रा पुस्तक पाठकले पढेका छन् ।
विज्ञापनको जमाना छ । जति हल्ला गर्न सक्यो उति पुस्तक र सर्जकको बढी चर्चा हुन्छ । विज्ञापनले पाठकलाई झुक्याएको पनि हुन्छ । यसको तालमेल मिलाउन के गर्नुपर्ने देख्नुहुन्छ ?
विज्ञापन त किताब मात्र होइन सुनको पनि गरिन्छ । विज्ञापनको काम नै हल्ला गर्ने हो । पाठक स्मार्ट भइसकेका छन् । उहाँहरू विज्ञापन हेरपछि पनि साथी भाइ र समीक्षा लगायतका कुराबाट उनीहरू पुस्तक किन्छन् झुक्किनेको सङ्ख्या कम हुँदै गएको छ । पाठकले अब बुझिसकेका छन् सबैभन्दा ठूलो विज्ञापन गुणस्तरीयता हो ।
नेपाली कथामा अङ्ग्रेजी शब्दको प्रयोग अचेल अलि धेरै देखिन्छ । यहाँको कथा सङ्ग्रहमा पनि एउटा कथाको शीर्षक अङ्ग्रेजीमा छ `भजाइनल ट्रमा´ । यो आवश्यकता हो कि ट्रेन्ड मात्र ?
अङ्ग्रेजी शब्द प्रयोग हुनु स्वाभाविक छ किनभने हामी अङ्ग्रेजी भाषिक उपनिवेशको चपेटामा छौँ । मैले पनि एउटा कथाको शीर्षक भजाइनल ट्रमा राखेको छु । जसको नेपालीकरण गरियो पनि भने अश्लिल सुनिन्छ । स्त्री यौनाङ्गको कुरालाई भन्नु पर्दा अङ्ग्रेजीको सहारा लिनु परेको हो । ठाउँ ठाउँ अरू अङ्ग्रेजी शब्द पनि परेका हुनसक्छन् त्यसलाई निफन्न नसकेको हो र पाठकले हजम गरिसकेका शब्दप्रति उदारता देखाएको पनि हो र नेपाली भाषामा वैकल्पिक शब्दको अभाव पनि हुनसक्छ ।
नेपाली साहित्यको ठूलाठूला पुरस्कारहरू प्रायः विवादमा परिरहन्छ । पुरस्कारलाई दाग लागिरहनुको पछाडि के कस्तो कारण छ जस्तो लाग्छ ?
जहाँ रकम जोडिन्छ त्यहाँ विवाद हुन्छ सबभन्दा धेरै झगडा जग्गा किनबेचमा छ, बैंकिङ कसुरका धेरै विवाद छन् त्यसैले धनको मुख कालो भएकाले पुरस्कार विवादमा परेका हुन् । यसमा केही कमसल लेखकले पनि दावा गरेकाले पनि यसो भएको हुनसक्छ, हाम्रो विभाजित समाजमा यो विवाद अझै कमै हो ।
नेपाली कथाहरू गुरुप्रसाद मैनाली र भवानी भिक्षुका शैलीमा बढी लेखिएका छन् भन्ने कुरा विभिन्न समालोचकले भन्दै आएका छन् । तपाईँले नयाँ शैलीको खोज कत्तिको गर्नुभएको छ ?
मेरा कथाहरू गाउँले परिवेशका भएकाले गुरुप्रसाद मैनालीको निकट परिवेसका हुन सक्छन् समाज मनोविज्ञानका सन्दर्भमा म भिक्षुबाट पनि प्रभावित छु । कथानकको भँचाइ (डाइभर्सन), कौतहलता कथाको अन्तिम वाक्यसम्म बल्झाउन सक्ने प्रविधि मेरो कथामा भएको खास कुरा हो भनेर समीक्षकहरूले बताएका छन् ।
यहाँले पुस्तकालय प्रशिक्षण विषयमा प्रशिक्षण पनि दिनुहुन्छ । नेपालमा पुस्तकालयको अवस्था के कस्तो देख्नुभएको छ र नेपालमा पुस्तकालयको सङ्ख्या कसरी बढाउन सकिएला ?
चेतनाको हिसाबले पुस्तकालय खोल्नुपर्छ, जानुपर्छ भन्ने विकास भएको छ । तर पुस्तकालय निर्माणका सरकारको कुनै स्पष्ट कानुनी आधार वा ऐन छैन त्यसैले अभ पुस्तकालयको सङ्ख्या र गुणस्तर दुवै बढाउन ढिलो गर्नु हुँदैन ।
यसै हप्ता नेपाली भाषी प्रसिद्ध भारतीय कथाकार गुप्त प्रधानलाई गुमाउन पुगियो । उहाँले लेखक शरद प्रधानसँगको कुराकानीमा भन्नुभएको थियो : लेखनमा समसामयिकता हुनुपर्छ भन्ने दृष्टान्त गिरीले छोडिराखेर गएका छन् । साहित्यमा केही हदसम्म बौद्धिकता सुहाउँछ तर तर नुन वेसी हुँदा भोजन सबै बिग्रे झैँ हुने गर्छ अति बौद्धिकताले । इन्द्र बहादुर राईले साहित्यमा बौद्धिकताको अतिवादलाई प्रवेश गराउने हुँदा पाठकलाई केही समयसम्म दिगभ्रमित पार्न सके । तर उनको निधनसँगै उनका ती आयामेली र लीला लेखन अब इतिहासमा परिणत भएर रहला जस्तो छ । उनलाई चिनाउने त उनका ती सर्वमान्य कथाहरू नै हुन् आयामेली र लीला लेखनका कृतिहरू होइनन् । लेखक गनेस पौडेलले पनि परिचर्चामा यहाँलाई एउटा सुझाव दिनुभएको छ कि समालोचकीय व्यक्तित्वको प्रभाव परेकोले यसलाई कम गर्नुपर्छ भनेर । यो विषयमा यहाँको भनाई के छ ?
कथाहरू वौद्धिकताले थिचिनु भनेको निमोनियाले ग्रस्त बिरामी दौडन खोज्नु जस्तै हो । वौद्धिकताले थिच्नु भनेको लेखकको असफलता र पाठकप्रतिको वेइमानी पनि हो । हो मेरा केही कथामा प्राध्यापकीय शैली र समालोचकीय शीली घुसेको छ भन्ने आलोचना भएको छ । म त्यसलाई स्वीकार गरेर आगामी दिनमा सचेत भएर सिर्जान गर्न चाहन्छु ।
अन्त्यमा स्वतन्त्र प्रश्न जसमा यहाँले मनलागेको उत्तर लेख्न सक्नुहुन्छ ।
आम पठकलाई विशेष धन्यवाद ।
प्रतिक्रिया
-
४
