वि.सं. २०७२ सालको मदन पुरस्कार एकाएक सुदुरपश्चिमका लेखक रामलाल जोशीको (ऐना) पोल्टामा गयो । ऐना कथासङ्ग्रहको सफलताले जोशीको जीवनमा नयाँ मोड आयो । त्यसपछि उनी भइखाएको जागिर शिक्षण पेशा छाडेर विशुद्ध साहित्य सेवामा साधानरत भए । त्यसपछि उनले उपन्यास ‘सखी’ लेखे थारु समुदायले भोग्नु परेको किनाराकाको कथा बुनिएको उपन्यासले उनलाई थप स्थापित बनायो । हुनत उनले ‘हत्केलामा आकाश’ (गजलसङ्ग्रह) २०५७ सालमै प्रकाशन गरेका थिए। अहिले पछिल्लो पटक उनले ‘बाआमा’ नामक कृति लोकार्पण गरेका छन् । यो पुस्तकले अहिलेसम्म प्रकाशित भएका आफ्नै कृतिहरूलाई उछिन्ने उनको दावी छ । यस पुस्तकको विधामा भने उनले यो नयाँ प्रयोग बताएका छन् । पाठकलाई कथा जस्तो लागे पनि सबै कथाहरूमा अन्तरसम्बन्ध हुन्छ । सबै कथा पढिसक्याउँदा पाठकलाई उपन्यास जस्तो पनि लाग्छ । त्यसैले यो कृतिलाई उनले सम्बन्ध आख्यान पनि भनेका छन् । आजको पुस्तक वार्तामा सहकर्मी जनक कार्कीले उनको पछिल्लो कृति ‘बाआमा’सँग सम्बन्धित भएर साहित्यको चर्चा गरेका छन् । यस्तो छ सम्पादित अंशः
गएको भदौ १७ मा ‘बाआमा’को विमोचन भयो । विधाको कुरा गर्ने हो भने तपाईंले यसलाई कथा वा उपन्यास भनेर छुट्ट्याउनु भएको छैन । सम्बन्ध आख्यान भनेर यसमा नयाँ प्रयोग गरेको कुरा बताउनुभएको छ । छोटो समयमा नै पुस्तक पढेर राम्रो प्रतिक्रिया दिनेहरूको लस्कर देखिएको छ । ‘बाआमा’ले उठाएको विषयमा थोरै प्रकाश पार्दिनु न ?
हो। तपाईले भनेको ठिक हो। विधाका हिसाबले सामान्यतया यो कथाहरूको सङ्ग्रह हो। तर हरेक कथा स्वतन्त्र भइकन पनि एक अर्कामा जेलिएका जस्ता छन् । पात्र र घटनाहरू दोहोरिएर आउछन् । पाठकले पढ्दै जाँदा सुरुसुरुतिर कथा पढेको आभास गर्छ तर टुङ्गिदा एउटा उपन्यास पढेको अनुभूति उसलाई हुन्छ होला।
‘बाआमा’सम्बन्धहरूको कथा हो। छोराछोरीको आँखाबाट हेर्दा यो बाआमाहरूको कथा हो भने बाआमाका आँखाबाट हेर्दा यो सन्तानहरूको कथा हो।
तपाईं सबैथोक त्यागेर विशुद्ध साहित्य लेखनमा आफ्नो उर्जालाई लगाइरहनु भएको लेखकको रूपमा समाजले चिन्दछ। लेखक मात्र भएर जिउँदा उसको जीवनशैली कस्तो हुन्छ अर्थात तपाईंको जीवनशैली कस्तो छ ?
केही समय अगाडि म एउटा शिक्षक थिएँ । महिना मर्नासाथ तलब आउँथ्यो। त्यो छोडेर म लेखेरै बाँच्छु भनेर लागेँ। खासगरी मेरो जीवनमा आएको यो एउटा मोड हो। यो मोड मेरो पहिलो आख्यान ऐनाले ल्यायो। ऐना आइसकेपछि आर्थिक, सामाजिक र लेखकीय रूपमा मलाई जुन प्रतिफल प्राप्त भयो त्यही कारणले यो उर्जा र हौसला मिल्यो।
जागिर छोडेर बेरोजगार लेखक भएको पनि आज ६ वर्ष भैसक्यो। यो ६ वर्षको अवधिमा मैले सखी र बाआमा गरि दुईवटा आख्यान ल्याएँ। लेखनको हिसावले अलि मिहिनेत र परिश्रम गरि यी कृति ल्याउने समय पाएँ। जागीर गर्दै गरेको भए सायद यो समय पाउने थिइनँ। त्यसैले लेखनको जागिर छोडेर एकदमै राम्रो गरेँ भन्ने लाग्छ।
अर्को कुरा आर्थिक रूपमा पनि वर्षभरिमा पढाएर आउनेभन्दा बढी पैसा लेखेरै पाइरहेको छु। त्यसैले मलाई आफ्नो दैनिक जीवन चलाउन केही गाह्रो महसुस भएको छैन।
अर्को कुरा मलाई जागिर छोडेर लेखनमै लाग्न सबैभन्दा ठूलो सपोट मेरो श्रीमतीबाट मिलेको छ। उनी शिक्षण पेशामा छिन् । केटाकेटीको फिस र घर खर्च चलाउछिन्। बस्नलाई धनगढीमा घर भएकोले भाडा तिर्न पर्दैन। आफ्नो खर्च मैले लेखेरै कमाइहाल्छु। सामान्य जीवनशैली छ। लत वा कुलत कुनै छैन। मेरो लत वा कुलत जे भने पनि लेख्ने नै हो। अर्को रुचि साथीभाइहरूको सर्कल बनाएर बस्ने बानी हो । सामाजिक सांस्कृतिक कार्यहरू गर्नमा रुचि छ। जतिसक्दो आफूलाई सहज बनाउन खोज्छु। यै हो।
मदनपुरस्कार प्राप्त गरेको लेखक हुनुहुन्छ । मोफसलमा बसेर पनि आफ्नो सफलतालाई जोगाइराख्न सफल हुनुहुन्छ । मदनपुरस्कार पाएपछि राजधानीमै बसेर लेख्छु भन्ने लागेन ?
मलाई पूर्णकालीन लेखक बनाउनमा मदन पुरस्कार एउटा कारक हो। तर लेखकका लागि लेखन कर्म नै ठूलो हो। लेखकको सफलता भनेको उसको परिश्रम , साधना, र लेखन शक्तिमा भर पर्ने कुरा हो। कुनै ठाउँ विशेषमा बसेर उसको सफलताको धानिने भन्ने हुँदैन । राजधानीमा बसेर लेखनको सफलताको धानिने अन्त बसेर नधानिने भन्ने हुँदैन ।
अर्को कुरा मैले राजधानीमा बसेर, सर्कल बनाएर, मिडिया रिझाएर, काठमाडौँको साहित्यक र बौद्धिक वृत्तलाई रिझाएर लेखक बनेको पनि होइन लेखनमा सफलता हासिल गरेको पनि होइन। त्यसैले यस्तो कुरामा मलाई विश्वासै छैन। मैले राजधानी बाहिरै बसेर आफ्नो पहिचान बनाएँ । राजधानी बाहिर बसे पनि पाठकको मन मुटुभित्र बस्न सफल भएँ।
त्यसैले मलाई राजधानीमा बसेर होइन पाठकको मन मुटुमा बसेर लेखौँ भन्ने चाहिँ लाग्छ।
हुनत बाआमा जस्तो ईश्वरीय शब्द अरु नहोला तर साहित्यका जानकारहरू ‘कस्तो फितलो नाम राखेको अलिक काव्यिक नाम त राख्नुपर्छ’ भनेर भन्छन् । यसमा यहाँलाई केही भन्न छ ?
यसबारेमा त लामो कुरा छ हेर्नुस् । मेरो नाम पनि सामान्य वर्गका मान्छेकै प्रतिनिधित्व गर्ने नाम हो। मिस्त्री, कुल्ली, बेरा, नायी, पियन, चौकिदार आदि तल्लो र किनारीकृत वर्गका मान्छेको नाम हुन्छ – रामलाल।
अझ कसैकसैले त ‘रामलाल भनेको नेवार जातको होला, बूढो मान्छे होला’ सोचेको थिएँ सम्म भन्छन् । यसैले मेरो नामले नै अति सामान्य वर्गका मान्छेको प्रतिनिधित्व गर्छ। मलाई पनि आफ्नै नामसङ्ग कैलेकाहीँ वैराग्य लागेर आउथ्यो। तर आज यै नामले मलाई चिनारी दियो। यै नामले मलाई मेरो जन्मको सार्थकता दिदैछ। यै नामले हेपचेपमा परेका तल्ला वर्गका मान्छेलाई सन्तोष दिने अवस्थामा पुगेको छ। त्यसैले मैले आफ्नै नामलाई ‘बधाई छ मेरो नाम’ भनेर आफ्नै नामलाई बधाई दिएको छु।
जसरी मैले आफ्नो हेपाहामा परेको आफ्नो नामलाई सार्थक बनाउने प्रयास आज गर्दैछु त्यसैगरी ठूला साहित्यकार र लेखकले सामान्य, भनेर छोडेका कथा लेख्ने प्रयास गर्दैछु। सामान्य भनेर शब्दलाई कृतिको नम दिएर प्यारो र सार्थक बनाउने मेरो प्रयास भन्नुस या प्रवृत्ति हो। मेरा हरेक किताबको नाम सामान्य हुन्छ र हुनेछ पनि। किताबको कथा, प्रस्तुति र विषयवस्तुको गरिमाले नै पछिपछि प्रिय बन्ने हो।
तपाईले भनेजस्तै सुरुसुरुमा धेरैले यसै भन्थे। कसैले त साह्रै सामान्य नाम पो भयो भने। तर, आज हेर्नुस् त किताब आएको एक हप्ता नबित्दै सबैका मुखमा ‘बाआमा’ झुण्डको छ। बाआमा जति प्रिय नाम आज अर्को लाग्दैन। त्यसैले सामान्य ढुङ्गालाई आफ्नो कलाकारिताद्वारा मुर्तिको रूप दिएर कलाकारले भगवान बनाउन सक्छ भने लेखक कवि र साहित्यकारले सामान्य शब्द, विषय र घटनालाई पनि आफ्नो सीप साधना र प्रतिभाले विशिष्ट बनाउन सक्छ नि। होइन र ?
यहाँले सुदुरपश्मिमा बसेर साहित्य सेवा गर्ने क्रममा साहित्य महोत्सवको पनि आयोजना गर्नुभयो । साहित्यका स्थापित व्यक्तित्वहरूलाई धनगढीमा लगेर कार्यक्रम सञ्चालन गर्नुभयो । यो एउटा उदाहरणीय काम पनि हो । यति हुँदाहुँदै पनि सुदुरपश्चिमका स्थानीय लेखकलाई सँगै लिएर हिँड्न नसकेको आरोप यहाँलाई लागेको छ । पछिल्लो कार्यक्रममा त केही समुहले यो कार्यक्रमलाई बहिष्कार नै गर्यो । यो आरोपको बारेमा के भन्नुहुन्छ ?
होइन ठूला काम गर्दाखेरी सानातिना कमीकमजोरी भैहाल्छन। यत्रा ठूला कार्यक्रम गर्दाखेरी हामीले मन्च पाएनौँ। स्थानीय नवसर्जकहरूले मौका पाउनुपर्छ भन्ने श्रष्टाहरूको माग र गुनासो पनि सही हो। त्यत्रा कार्यक्रम गर्दा हामीले पनि सबैलाई एकैपटक मञ्च दिन नसकेको पनि सही हो। उद्देश्य गलत छैन।सुदूरपश्चिममा साहित्यिक गतिविधि बढून् । हाम्रा कुरा पनि बाहिर जाऊन् । मूलधारसँग सुदूरपश्चिम जोडियोस भन्ने उद्देश्य हो। यसमा अरु त के नै भन्नू छ र !
के तपाईं मदन पुरस्कार नपाएको भए यसैगरी साहित्यमा साधना गरिरहनु हुन्थ्यो वा परिवेश अर्कै बन्थ्यो ?
होइन । साहित्य त मेरो लत भन्नुस या कुलत भन्नुस्, सानैदेखिको हो। पुरस्कार नपाएको बेला पनि लेख्थे ऐले पनि लेख्छु। पुरस्कार त कर्म गर्दैजाँदा आइपरेको उत्प्रेरणा र उर्जाका थोपा हुन् । पुरस्कार नपाए पनि लेख्न त लेख्थेँ नै साधना गर्नु त मेरो कर्म नै हो । तर, मदन पुरस्कारले एउटा मोडचाहिँ ल्याइदियो।
गजलबाट साहित्यिक यात्रा सुरु गर्नुभएको यहाँले गजललाई त चटक्कै बिर्सनुभयो नि ?
होइन नि। कविताबाट मेरो साहित्यिक यात्रा सुरु भएको हो। पहिलो प्रकाशित रचना पनि कविता नै हो। पहिलो प्रकाशित कृति भने गजलको हो – हत्केलामा आकाश । ऐले आख्यान लेखनमा हुँदा अलि ओझेल परेको मात्रै हो। गजल लेख्न छोडेको चाहिँ होइन।
‘सखी’ उपन्यासमा यहाँले यौनलाई उदार भएर लेख्नुभएको छ । सामाजिक मूल्य मान्यताले यौनलाई एउटा सीमामा बाँधेर राखेको छ । वैवाहिक संस्थाले श्रीमानश्रीमती बाहेकका अन्यत्र सम्बन्धलाई अनैतिक बताउँछ । तर समाज भने यौन कुण्ठामै घुमिरहेको देखिन्छ । यौन अधिकारबाट मान्छेलाई बञ्चित गरिएको जस्तो देखिए पनि यसलाई सभ्यताको नाम दिएर संस्थागत गर्न खोजिन्छ । मानव जीवनमा यौन,यसको महत्त्व, र यौन स्वतन्त्रतालाई कसरी लिनुहुन्छ ?
यो व्यक्तिको निजी स्वतन्त्रताको कुरा हो। यो लेखनको विषय हो । उपभोगको विषय हो । यौन बहसको विषय नै होइन।
अहिले भर्खरै दुई ठूला पुरस्कारको विजेता पुस्तक घोषणा भएका छन् । हरेक वर्ष पुरस्कारको नतिजा घोषणा हुँदा विवाद चर्किरहन्छ । यहाँले पुरस्कार पाउँदा पनि विरोध गर्ने एउटा जमात निस्किएको थियो । पुरस्कारको इतिहास हेर्दा युगमै विरलै जन्मने साहित्यकार लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडयाल,बालकृष्ण सम,विश्वेश्वरप्रसाद कोइराला,विजय मल्ल, गोविन्द गोठाले, सिद्धिचरण श्रेष्ठ, लैनसिंह बाङदेल, माधव घिमिरे, भूपि शेरचन आदि साहित्यकारले मदन पुरस्कार पाएका छैनन् र पनि उनीहरूको कृतिलाई अत्याधिक रुचाइएको छ । के पुरस्कार पाउन जरुरी छ र नत्र किन यस्तो मनोविज्ञानको विकास हुँदै छ कि पुरस्कार सबथोक हो । यहाँले यो विवाद र पुरस्कारलाई कसरी हेर्नुहुन्छ ?
म यससम्बन्धी जानकार होइन। यति भन्न सक्छु – साहित्य भनेको साधनाको विषय हो । स्वान्त सुखायको विषय हो । पुरस्कार त आइलाग्ने अतिरिक्त प्रोत्साहनको कुरा मात्रै हो।
पुस्तक कत्तिको पढ्नुहुन्छ र पछिल्लोपटक मनपरेका केही पुस्तकहरू ?
ठिकठिकै पढ्छु। पछिल्लो समय धर्मवीर भारतीको गुनाहोका देवता पढें। साह्रै राम्रो पुस्तक। अमृता प्रीतमको रसिदी टिकट पढें। एकदमै मन परेको हो। सूर्यमणी अधिकारीको खस जातिको इतिहास पढें ।
अन्त्यमा एउटा स्वतन्त्र प्रश्न मन लागेको उत्तर दिन सक्नुहुन्छ ।
लेखक सबल र सफल हुनका लागि पाठककरूको उर्जा र फिडब्याक आवश्यक हुन्छ। भर्खरै मेरो आख्यान बाआमा बजारमा आएको छ। पढिदिन हुन म सबै पाठकहरूलाई अनुरोध गर्दछु।
प्रतिक्रिया
-
४
