सिन्धुलीमा जन्मिएका कवि बाबुराम श्रेष्ठ ‘यात्री’ आध्यापन पेशामा संलग्न छन् । कविता सँगसँगै गीत र कथामा कलम चलाउने श्रेष्ठको ‘देश स्वप्न’ (२०६३)मा कविता सङ्ग्रह प्रकाशित भइसकेको छ । केही साताअघि आफ्नो दोस्रो कविता सङ्ग्रह ‘बूढो समय’ लिएर उपस्थित भएका श्रेष्ठसँग कविता र साहित्यका विविध विषयमा सेतोमाटोका लागि सहकर्मी जनक कार्कीले गर्नु भएको कुराकानी प्रस्तुत छ ।
‘बूढो समय’ कविता सङ्ग्रह केही साताअघि लोकार्पण भएको छ । समय आफैँमा एउटा गतिशील कुरा हो । अविरल बग्ने समयलाई बूढोको उपमा दिनुभएको छ । विम्बात्मक हिसाबले धेरैले थुप्रै अर्थ निकाल्न सके पनि यहाँले बूढो समय कविता सङ्ग्रहको नाम सोच्दा के सोचेर राख्नुभएको हो ?
जिन्दगी एउटा अनुभवहरूको सङ्गालो रहेछ। सधैँ एकनास हुन्न रहेछ। विभिन्न रूपमा जीवन देखिनु खासमा यो पनि एउटा जीवन हो रहेछ। जीवन खोज्दै जाँदा कहिले जीवनमा नै हराइदो रहेछ। मनका असीमित चाहाना मन मै थन्क्याएर बिगतमा रमाउनु पनि कहिलेकाही जीवन नै हुदो रहेछ। अर्थात जति नै मरिहत्ते गरे पनि समय भन्दा अघि बढ्न नसकिदो रैछ।अनि रहरहरू पाल्दा पाल्दै, जीवनको गोरेटो खन्दा खन्दै खन्न नसकेको, अभावहरू टार्छु भन्दा भन्दै टार्न नसकेको, समस्याहरू समाधान गर्छु भन्दा भन्दै समाधान गर्न नसकेको र बेथितिहरूको लामले वर्तमान नै खुम्चिएर समय बूढो हुँदोरहेछ। यिनै अनुभुतीहरूले काउकुती लगाइ दिएपछि कविताको शीर्षक नै बूढो समय जुर्यो।
हरेक मान्छेको आन्तरिक संसार हुन्छ । त्यो आन्तरिक संसारमा के छ भनेर अनुमान लाउन गाह्रो हुने कुरा हो । कविको आन्तरिक मनमा वा तपाईंको आन्तरिक संसार कस्तो हुन्छ ?
अवश्य पनि आन्तरिक संसारमा के छ भनेर अनुमान लाउन गाह्रो कुरा हो। सामान्य रूपमा एउटा आम मानिसले सोच्ने भन्दा कविले सोच्ने आन्तरिक संसार फरक हुन्छ। यो अर्थमा फरक हुन्छ कि सामान्य कुरालाई पनि एउटा शब्दसँग खेलेर खास बनाउदछ। मन असाध्यै कमलो हुन्छ।अरु दुख्दा म पनि दुख्छु।अरु रूदाँ म पनि रुन्छु। अरु हाँस्दा म पनि हास्छु। यसरी मन–मनसँग गाँसिएको हुन्छ र मानवियता हुन्छ ।
संसारका धेरै कम प्रतिशत मान्छे मात्र कविता लेख्ने प्रयास गर्छन् । तपाईंको मनमस्तिष्कमा कविताको चेत कसरी आयो ?
कविता व्यक्तिको भावनाहरू र समाजमा भएका घटनाहरूसँग नजिक रहेर अभिव्यक्ति गर्ने एउटा शसक्त माध्यम हो। मानिसले जिन्दगी आ–आफ्नै तरिकाले ब्यतित गर्छन् । मचाहिँ पढेर र लेखेर बिताउने गर्थे सानैदेखि। थोरै साथीहरू तर राम्रा साथीहरूको सङ्गत गराउन मन पराउथे। कम साथिहरू भएकोले र बाँकी समय बिताउन किताब र कलम पर्याप्त हुन्थे। बिशेष त सुरुसुरुमा आफ्नै मनका भवनाहरू छोटो रूपमा लेख्थे। पछि विभिन्न घटनाहरू प्रत्येक्ष अप्रत्यक्ष रूपमा नजिक हुँदा वा भनौँ ती घटनाले छुँदा ती बिषयबस्तुलाई शब्दमार्फत पोख्ने क्रममा नजानिदो गरि कविताको रूप धारण गरेपछि बिस्तारै कविता हुन थालेछ। अनि समयसँगै विभिन्न स्कुल र क्याम्पसको कोर्समा रहेको किताबको कविता पढ्दा पढ्दै र पछि केही आफैँले किनेर कविता पढेपछि कविताको विभिन्न स्वरूप जाने र यसरी कविता चेत खुलेछ ममा।
कविताकै रूप गीत हो, गीत नसुन्ने कमै मान्छे होलान तर कविता पढ्ने मान्छेचाहिँ यति कम छन् कि खोज्नै पर्छ । गीतको हाइहाइ हुने कविताको बाबा हुने स्थिति किन आएको होला ?
वास्तबमा एउटा कवितालाई सङ्गीत हालेपछि गीत हुने हो। तर, सबै कविता गीत हुन सक्दैन। बिशेष त मेलोडिले पनि अहम् भुमिका खेल्दछ गीत सुन्न। शब्द उस्तै टपक्क टिप्ने खालका र सरल शब्दको अभ्यास गरिन्छ गीतमा। तर, कवितामा अलि शब्द कठिन र बिम्बको प्रयोगले सोझै अर्थमा कविता नबुझिने हुन्छ। कबिता गाइदैन। लेखिन्छ मात्र। मेलोडी हालिदैन। बाचन शैलीमा कम अभ्यास भएको छ। तर म अशावादी छु । कविताको पनि नबराज पराजुली जस्तै बाचन कला र गला हुने हो भने एकदिन हाइहाइ नै हुनेछ। यसमा म ढुक्क छु। मात्र ढिलो चाडो हो।
नेपाली समाजमा कवितालाई मनराउने पाठकको अवस्था कस्तो देख्नुहुन्छ ?
नेपाली समाजमा कवितालाई मन पराउने पाठक नभएको होइन तर अन्य विधाको भन्दा कम छ र पनि बढ्दो अवस्थामा छ। यो नै खुशीको कुरा हो। यसैपालिको कुरा मात्र गर्ने हो भने धेरै कविता सङ्ग्रह बजारमा आएका छ्न् र ती कविता बिकेका छन् र जति पैसा हालेका छ्न् ती पाठकहरूले मज्जा लिएर पढेका छन्। कविता किनेर पछुताउनु पर्ने अवस्था छैन । त्यो अवस्थाले गर्दा कविता पढ्ने र बुझ्ने पाठकहरूको चेतनास्तर बढेको छ।
कवि नै कविताको पाठक पनि हुन् तर प्रायः कवि आफ्नो कविता सबैले पढून भन्ने मान्यता राख्छन्, अरुका कविता भने त्यति उत्सुकताका साथ पढ्दैनन् । यस्तो किन भइरहेको छ जस्तो लाग्छ ?
अवश्य पनि कवि कविताको पाठक हुन। तर, म कवि आफ्नो कविता मात्र सबैले पढून् भन्ने मान्यता राख्ने कवि होइन । म यस भनाइमा असहमत छु। मलार्इ मन परेको कविता म खोजी खोजी पढ्छु । तर मन परेको हुनुपर्छ त्यसलाई मज्जाले पढिन्छ। फेरि सबै यस्तै स्वभावका हुन्छन् भन्ने पनि छैनन् । यदि यस्तो भएमा त्यस कविमा कविताको चेतनास्तर कमि भएको महसुस गर्दछु।
नेपाली साहित्यमा कविताको समालोचनाको अवस्था कस्तो देख्नुहुन्छ ?
एउटा समालोचकले जे देख्छ त्यहीँ लेख्नु पर्छ तर, कवि रिसाउला कि न सम्बन्ध बिग्रेला कि भनेर गल्ती कमजोरी लुकाउनु हुन्न। यसले कविलाई कहिल्यै पनि स्तरीय लेखनमा टेवा पुर्याउँदैन। त्यसकारणले नेपाली साहित्यमा कविताको समालोचना मध्यस्थताकर्ता लेखनको भुमिका खेल्ने अवस्थामा देख्दछु।
भनिन्छ, किताब लेख्नुभन्दा छाप्नु गाह्रो काम हो र छाप्नुभन्दा बजार व्यवस्थापन गर्नु अझ कठिन छ । यहाँको अनुभव कस्तो रह्यो ?
यहाँले सहि कुरा गर्नु भो। हरेक कुराको तालमेल मिलाउनु गाह्रौ छ। मेरै किताबको कुरा गर्ने हो भने ४ बर्षपछि निक्लेको हो। कविता आउनुभन्दा पहिल्यै नकारात्मक कुरा गरिदिन्छन् । कविता बिक्दैन । बजार छैन। सित्तैमा लिन्छन्। त्यसमा पनि कबिले नै यस्ता कुरा गरिदिन्छन् । सकारात्मक सोचौँ भन्छु म त। समय आउँछ बस धैर्यको आवश्यकता पर्दछ कवितामा । कविताको पनि कन्सर्ट भैरहेको छ उदाहरण नवराज पराजुलीलाई पाउनुहुन्छ।
‘बूढो समय’ पढ्दा पाठकले के पाउँछन् ?
मेरो कवितामा पाठकले विशेषत २०६३ सालदेखि हालसम्मको घटनाक्रमको अवस्थाहरू, एउटा व्यक्तिको जीवन जिउने, जीवनको कलासँग जोडिएको अनुभवहरू र कविता लेखनमा नयाँ शैली पाउनुहुन्छ । आममानिसका समस्याहरू र विकृतिले शहरप्रतिको मोह भङ्ग भएको कारुणिक चित्रण, समसामयिक, सामाजिक, राजनीतिक, माया प्रेम र अहिलेको जल्दोबल्दो समस्या र त्यस्ता समस्यामा निराश भै हाल्नु पनि छैन भन्ने सन्देश र यस्तै जीवन जगतका यावत कुराहरू पाठकले पाउँछन्। मैले मेरो कविता इमान्दार पूर्वक लेखेको छु।
कविता के होइन ?
कविता आख्यान होइन। सबैले बोलेका र लेखेका कविता हुन भन्ने लाग्दैन। कवितामा कवित्त्व कला हुनु पर्छ। बिशेषतः कविले नै कल्पना र संवेगद्वारा गरिएको जीवनको व्याख्या कविता हो ।
यहाँलाई मनपरेको ३ वटा कविता ?
घुम्ने मेच माथी अन्धो मान्छे, आमाको सपना र हिम चुली रक्तिम छ।
यहाँलाई मनपर्ने तीनजना कवि ?
भुपी शेरचन, गोआल प्रसाद रिमाल र मोहन कोइराला हुन् र अहिले हामीमाझ अझ धेरै राम्रा आदरणीय कविहरू हुनुहुन्छ उहाँहरूलार्इ ससम्मान मन मनै सम्झन्छु।
अन्त्यमा एउटा स्वतन्त्र प्रश्न यहाँले मन लागेको उत्तर लेख्न सक्नुहुन्छ ।
सर्बप्रथम साहित्यमा लाग्नु भन्दा पहिले म को हुँ ? म सहित्यमा लागेर के गर्न सक्छु। मेरो के कर्तव्य के हुनेछ । म कविता लेखेर कतिको सन्तुष्ट हुन सक्छु भन्ने प्रश्नको ख्याल गर्नु पर्छ जस्तो लाग्छ। त्यसपछि साहित्यमा कसैको लहड, सस्तो लोकप्रियताको लागि र अस्वस्थ प्रतिस्पर्धा गर्न नलेख्नुस भन्छु । साहित्य पढ्नुस बुझ्नुस्। मेरो भर्खरै बूढो समय कवितासङ्ग्रह (२०७८) बजारमा आएको छ। किनेर पढि दिनु हुन हार्दिक अनुरोध गर्दछु । साथै, कविताको बारेमा सुझाव र सल्लाहरूको पनि अपेक्षा गर्दछु। यसले एउटा सर्जकलाइ सहयोग पुग्दछ। साहित्यमा लामो साधना र निरन्तता आवश्यक छ। बस इमानदारीका साथ लेखी रहनुस र पढ्नुस। त्यसको मुल्याङ्कन कुनै दिन हुनेछ भन्न चाहान्छु।
प्रतिक्रिया
-
४
