✍️ क्षितिज सरगम

काभ्रेको पहाडी गाउँमा एउटा सानो बस्ती छ, जुन वस्तीलाई दुबाचौर भनिन्छ । दुबाचौरमाथि खरले छाएको एउटा ढुङ्गा माटोको घर छ । त्यही घर हो रामलाल र धनलालको दाजुभाइको । सानैमा बाबुआमा गुमाएका उनीहरू गाई, भैंसी पालेर, मेलापात गरेर नै जीवन निर्वाह गर्छन् ।

रामलालको चार जना छोरा छन् । काम नपाएपछि दुई जना छोरा साहुसँग ऋण काढेर विदेश जान्छन् । रामलालले दुई जना छोराहरूलाई सुख दुःख गरेर पढाइरहेका छन् । पढाए पनि उनीहरूले भनेजस्तो जागिर पाउन सकेका छन् । उनीहरूले सहरमा ज्यामी काम गरिरहेका छन् ।
अहिले स्थानीय चुनावको समय छ । नेताहरू घरघरमा भोट माग्न आइरहेका छन् । ती नेताहरू रामलालको घरमा पनि भोट माग्न आइपुगे । नेताहरू आएको देखेपछि खेतबाट हस्याङ्फस्याङ गर्दै घर आइपुगेका रामलालले आफ्नी श्रीमती जमुनालाई बोलाउँछन् ।

“हजुर किन आत्तिएर कराको के भयो म याहा चोटामा फोहोर भएर कुचो लगाउदै छु ।” जमुनाले चोटाबाटै जवाफ फर्काछिन् ।
रामलालले श्रीमतीलाई भने “आउन क्या उ तल्लो घरबाट लर्काे लागेर नेताहरू भोट माग्न आउदै छन्, गुन्द्री ल्याउ त खोइ !”
नभन्दै नेताहरू झण्डासहित लर्काे लागेर रामलालको घर आइपुगे ।

नेता : ए रामलाम खोइ छोराहरू आए त ? हामी त भोट माग्न आको यसपालि भोट हामिलाई दिनुपर्छ है अरुलाई नदेउ नि फेरी । बरु भोट हाल्ने परिचयपत्र नभए हामी खर्च हालेर बनाइदिम्ला ।

जमुना : हुन्छ नेताज्यू भोट त तपाइहरूलाई नै दिन्छम् तर मेरो छोरालाई एउटा जागिर मिलाइदिन पर्यो । खोइ केही पाइएन, पढ्नको लागि घरबाट खर्च पनि दिन सकिँदैन ।

नेता : ए ल मैले जिते भनेचाहिँ वडा हुन्छ कि कता हुन्छ म राख्दिन्छु । चिन्ता नगर म गर्छु । यो घरको सबै भोट हामीलाई दिएर जिताउनु पर्छ है । अन्त पनि जानुपर्ने भन्दै नेताहरू उठेर गए । नेताहरू गएको रामलालले पिढीको डिलमा बसेर हेरिरहे ।

“के हेरेको नि गर्ने बेलामा केही गर्दैनन् भन्ने त हो नि, भैंसीलाई घाँस छैन बरु घाँस काट्न जाउँ” जमुनाले भनिन् । उनीहरू दुबै जना घाँस काट्न पाखातिर जान्छन् । घाँस काट्दा काट्दै रामलाल रुखको फेदमा बसेर चिसो पानी पिउछन् । “साँच्चै भोट कसलाई दिने बुढी ?”

रामलालको प्रश्न सुनेर निराश हुँदै जमुनाले जवाफ दिइन् “खोइ बुढा आखिर हामीलाई कसले के गर्छन् र पोहोर जिताएर उ अरु उसका आफ्न्तलाई जागिर काम दिए आफ्नो छोरा काम नपाएर बिदेश पठाउनु पर्यो ।”

“न केही गरिदिन्छन् कि ! अघि आएका पारी दले दाइको छोरालाई दिम् न त भोट । केही गरिदिन्छन् कि ।” रामलालले जुमनालाई आशा देखाए ।

जुमनाले श्रीमानको कुरामा सहमति जनाउँदै ‘हुन्छ ! बिचार गरौँ न ।” भनिन् । रामलाल र जमुना घाँसको भारी बोकेर घर नपुग्दै अर्को पार्टीका नेताहरू घरमा आइसकेका थिए । गोठमा भारी बिसाएर पुगेका रामलाल र जमुनालाई नेताहरूले नमस्कार गरे ।

रामलालले जमुनालाई गुन्द्री ल्याउन भने । रामलालको कुरा सुनेर नेताले भने “पर्दैन पर्दैन हामी धेर बेर बस्दैनम् ल है हजुर भोट चाहिँ हामीलाई दिनुस् ।” जे परे नि हामी नै गर्छौ भनेर हात जोड्दै उनीहरूले बेलुकी सानो भोज भएकोले काइलाको घर आउन रामलालका परिवारलाई नेताले आग्रह गरे ।

फेरि अघि गाको नेता आइपुग्छन् ल है तिनीहरूले भोज गर्दैछ त्यता भोट नदिनु है भन्दै फेरि फकाउन आइपुग्छन् । नभन्दै राती काइलाको घरमा भोज हुन्छ । मासु, रक्सी केके खाने सबै खाइरहेका हुन्छन् । नेता भने सोचेर भोट गन्दै यो घरबाट यति उ घरबाट यति भन्दै हिसाब गरिरहेका थिए । त्यति नै खेर रामलाल पनि पुग्छन् ।

रामलालाई देखेर नेताले भने “ए रामलाल पनि आएछ्न ल ल खोइ त्यो खाजाको ब्यावस्था गर्दिनु त” “पर्दैन हजुर मैले खाएर आको” रामलालले खान नमानेपछि नेताले थोरै भए पनि केही खान आग्रह गरे । “उहाँ त मेरो आफन्त हो नि !” उनले रामलालको जिउमा सुम्सुम्याए ।

मनमनै सोच्छन् “मेरो जिउमा सुमसुमाउनु पक्कै भोट फकाउन हो भन्छन् ।” त्यसपछि थोरै खाजा खाएर रामलाल घर फर्किन्छन् र जमुनालाई भन्छन् । “ भोट त उनीहरूलाई नि दिउ है जमुना ?”

“हुन्छ नि त छोरालाई जागिर पनि लगाइदिन्छु भन्छन् न लगाइदिन्छन् कि !” जमुनाले पनि आशा व्यक्त गरिन् ।
एकैछिनमा छोराको फोन आयो । छोरालाई फोनमै साहुले तलब नदिएको बताए र रिचार्ज किन्न पैसा नभएकोले फोन गर्न नपाएको गुनासो गरे ।

जमुनाले छोरालाई पिर नगर्न र भोट हाल्न परिचय पत्र बनाउन आग्रह गरिन् । साथै नेताले जागिर लगाइदिने भनेको कुरा पनि सुनाइन् ।
“हुन्छ ममि जागिर लगाइदिने भए त एकदिन साथीलाई खर्च मागेर भए पनि आएर परिचयपत्र बनाउँछु ममी” छोराले भोट हाल्न घर आउने बताए । रामलालको दुबै छोराहरूले साथीसँग खर्च मागेर मतदान परिचयपत्र बनाउन घर आए ।

स्थानीय चुनावमा भोट हाल्न शहरदेखि मानिसहरू गाउँ आए, रामलालको छोराहरू पनि आए । चुनावकै दिन पनि नेता कार्यकर्ता भने सबैलाई आँखा जुधाउदै ल है मेरो पार्टीमा भन्दै दौडधूप गर्दै थिए । रामलाको परिवारले पनि मतादान गर्छन् ।

नभन्दै रेडियोले आफूले भोट हालेको नेताले नै चुनाव जितेको समाचार सुनायो । “हामीले भोट हालेको नेताले जितेछ अब छोराहरूलाई पक्कै जागिर लगाइदिन्छ खुसी गद्गद् हुन्छ ।” रामलालले खुशीको कुरा जुमनालाई सुनाए ।

एकैछिनमा बिजय जुलुस र बाजागाजासहित नेतालाई फुलमाला लगाएर गाउँ टोल घुमाउछन् ।
त्यसपछि तिनै नेता वडा अध्यक्ष बन्छन् ।

एक महिनापछि एउटा कार्यलयमा ४/५ जाना कर्मचारीको विज्ञापन हुन्छ । रामलाल आफ्नो छोरालाई जागिर गराइदिन्छ भन्न पुग्छन् ।
“हिजो तपाइहरूलाई जिताइयो लौन न कर्मचारी मागेको रहेछ म गरिबको छोरालाई राख्दिन पर्यो ।” रामलालको कुरा सुनेपछि अध्यक्षले आफूले कोशिश गर्ने बताए ।

अध्यक्षले रामलालसँग खासै करा गर्न चाहेनन् । बरु बाहिर गएर कसैलाई फोन गरेर भने “ए तिमी कहाँ छाँै छिटो आउ त । यहाँ कर्मचारी चाहिएको छ । मैले तिमीलाई भनेर राखेको छु । सबै आवेदन दिन आइसके ।” रामलाल अध्यक्षको कुरा सुनेर निराश हुन्छन् तर उनको मनमा झिनो आशा भने बाँकी नै थियो । नाम निकाल्न सके जागिर लगाइदिने अध्यक्षको आश्वासन लिएर रामलाल घर गए ।

रामलालले दुबै जना छोराहरूलाई परीक्षा दिन लगाए र जागिरमा वडाअध्यक्षकै आफन्तको मात्रै नाम निस्कियो । रामलालको छोराहरू भने पहिलेकै ज्यामी काम गर्न शहर फर्किन बाध्य भए ।

प्रतिक्रिया

सम्बन्धित खवर