✍️ राधिका कल्पित
ध्यान, अध्यात्म र दर्शन मेरा मनपर्ने बिषयवस्तु हुन्। यो भोक सायद सुषुप्त रुपमा बाल्यकालदेखि नै रहेछ कि भन्ने महसुस हुन्छ आजकल जब सम्झन्छु शैशवकालका तीँ दिनहरु जुनबेला मेरा साथीहरू समूह बनाएर खेल्न, कुद्न र खानमै रमाउथे तर म भने आफुले रोपेका फूल र फलका बोटबिरुवासँग खेलिरहन्थेँ। चरा, पुतली, जुनकिरी,घामकिरी र कुमालकोटीसँग कुरा गर्थेँ। घन्टौँसम्म फलफुलका रुखमा चढेर घोत्लिन, आकाश हेरेर केके सोचिरहन, खोलाको किनारमा बसेर खोला सुसाएको आवाज सुनिरहन खुब आनन्द आउथ्यो । मेरो यो एकोहोरे पारा देखेर घरका ठुलाबडाबाट ‘एकसुरे’ भनेर गाली पाउथेँ बारबार। सधै केही न केही सोचाइका तन्द्रामा या कुनै न कुनै बिचार या तथ्यको जवाफ कुरिरहेजस्तो लाग्थ्यो। जब आजकल ती गतिविधिमा फर्केर गम्भीर भएर सोच्छु तब लाग्छ सायद ममा ज्ञान र प्रज्ञानको भोक थियो कि ? या हुनसक्छ त्यसभित्र प्रकृति प्रतिको असिम अनुराग थियो अथवा ध्यानको एउटा स्वरुप पो थियो कि ?
एउटा शिशु नौ महिनासम्म ध्यान मुद्रामा आमाको गर्भमा रहेर, जन्मदा समेत जुम्लेहात गरेर जन्मन्छ र आमाको गर्भाशयबाट पृथ्वीमा अवतरण गर्ने क्रममा पहिलो रूवाइमा उसको ध्यान भँग हुन्छ र सायद मानव स्वभावत: अध्यात्मिक हुन्छ कि जस्तो पनि लाग्छ ।
जन्मजात प्रकृति र प्रेम जे जेमा भए पनि परिस्थिति अनुसार चल्दाचल्दै नयाँ परिवेश, आवस्यकता,परिबन्द र सामाजिक एवम् पारिवारिक उत्तरदायित्व र सामाजिक पद र सो अनुसारको भुमिका निभाउँदै जाने क्रममा मान्छेभित्रका अन्तरनिहित गुण, चाहना र दक्षताहरु पनि गौँढ हुँदै क्रमश: ओझेल पर्दै बिस्तारै बिस्थापित हुँदै जाँदा रहेछन्। यो जीवनको स्वभाविक प्रक्रिया हो जस्तो लाग्छ र हामीले खासै ध्यान दिँदैनौ र कहाँनिर कुन बिन्दुबाट वास्तविक ‘आफु’ छोडियो भन्ने पत्तो समेत हुँदैन।
यस्तै कर्म, जागिर, घर गृहस्थ भन्दाभन्दै चाहेर पनि समय दिन नसकेको ध्यान र योगलाई मूर्त रुप दिने अवसर मिल्यो जीवनसाथी सहितको पारिवारिक समुहको तपोबनको यात्राले। अब्यक्त मनोकामना बुझिदिएकोमा मनैदेखि जयजय होस् भनेँ सहयात्रीलाई।
आफू तपोबन जाने योजना बनेको हप्तामै कुलमान घिसिङ र सिके राउत तपोबनमा नाचेको भिडियोमा नकारात्मक टिप्पणी अनि ओशो तपोबनमा धनाड्यहरूको मस्ति गर्ने ठाउँ भन्दै समाचार भाइरल भइरहेको अवस्थामा त्यही ठाउँको भ्रमण जुर्नुले मेडियामा आएका खबर के होलान् भन्ने कौतुहुलता हुनु त स्वभाविक नै थियो र त्यसका अतिरिक्त ओशो रजनिशका बारे अलिअलि मात्रै जान्दादेखि नै उनको दर्शनलाई यौन स्वतन्त्रता र उछृङ्खलतासँग जोडिएर आएका नकारात्मक धारणा बारे पनि उत्तिकै खुलदुलीसहित तपोबन पुगेका हामी त्यहाँ पुगेपछि भने यी सतही रूपमा ती नदेखेपछि कुराहरू भ्रामक समाचार रहेछन् कि भन्ने लाग्यो यधपी साँचो कुरा के हो बाहिर आउला।
न त्यहाँ धनाड्य मात्र थिए न यौन उछृङ्खलता। सामान्य गरिखाने मान्छेदेखि धनाड्य, ब्यापारी देखि सरकारी उच्चपदस्थ ब्यक्तित्वहरु एकै किसिमको खाना खाने, एउटै थलोमा एकै किसिमको सुबिधा लिइरहेका थिए केवल सुत्ने कोठाहरु आवश्यकता र क्षमता अनुसारका लिन सकिने सुबिधा रहेछ। तप र ध्यानका लागि शुभ मानिने गेरु वस्त्रमा सजिएका मानिसहरुको भीड पनि शान्त समुन्द्र जस्तो लाग्थ्यो जब ध्यान सत्र सुरू हुन्थ्यो।
ओशो दर्शन र अध्ययनको क्षेत्र निकै व्यापक र गहन रहेछ थोरै समयमा छिचोल्न नसकिने। त्यसकारण कुनै पनि कुरामा गहन अध्ययन नभइकन अल्पज्ञानमै र सुनेकै आधारमा धारणा बनाउनु निकै घातक हुनेभएकाले त्यसबारेमा बिस्तृत अध्ययनका लागि उनका थुप्रै पुस्तकहरू किनेर पढ्दै बुझ्दै गर्ने प्रयास पनि जारी राखियो।
ध्यान शिविरमा प्रयोग हुने केही विधि र दिक्षान्त समारोहका केही अनुभव र दृश्यले ओशोमार्ग थोरै जादु जस्तो, थोरै तन्त्र-मन्त्र जस्तो पनि लाग्ने कतै छुट्टै धर्मको सम्प्रदाय जस्तो पनि लाग्ने, केही एउटा वाद हो कि जस्तो लाग्ने तर ओशो दर्शन बौद्ध, हिन्दु, इस्लाम, जैन, ताओ, इसाइ धर्मका सुन्दर पक्षहरु सिन्थेसिस गरि निर्माण गरिएको एउटा नव- मार्ग रहेछ जसको सार रहेछ एकदम सामान्य: ध्यानबाट आफुलाई शुद्ध पार्नु, जीवनलाई प्रेम गर्नु र वर्तमानमा रमाउनु। हुनत हाम्रो यात्राको उदेश्य धर्म, वाद या सम्प्रदायबारे गहिरो अनुसन्धान गर्नु या पछ्याउनु भन्दा पनि योग सिक्नु र तनावबाट मुक्ति मिल्ने मुक्तिमार्ग पहिचान गरि जीवनबिज्ञान बारे बुझ्नु थियो थियो तसर्थ हामी त्यसमै केन्द्रित रह्यौँ।
तपोभुमीमा ध्यान गरिरहेका देश विदेशका युवायुवती देखि प्रौढ ब्यक्तिहरु देख्दा यस्तो लाग्थ्यो उनिहरु मस्तिष्कमा रहेका सम्पूर्ण क्लेश,द्वेष, मनमा रहेका मैलाहरु, जिन्दगी र आफन्तसँगका गुनासाहरू, पीर, कुण्ठा, विषाद सारा धोएर घाममा सुकाएका मलमलका च्यादर जस्ता नरम र कञ्चन छन्। उनिहरूका अनुहार र आँखाहरू देख्दा ‘फूलको आँखामा फूलै संसार’को भावलाइ पूर्णतः अङ्गिकार गरेजस्तो लाग्थ्यो।
पहिलो र दोस्रो दिन घरमा केटाकेटीले के खाए होलान्, आफ्नो अनुपस्थितिमा काम कति बित्यो होला, ब्यापार ब्यवसाय कति चौपट भयो होला भन्ने जस्ता चिन्ताले मनमा चस्स चस्स घोची रहन्थ्यो। दुबै हत्केला जोरेर योगमुद्रामा बाँध्न खोजेको मन काखको बच्चो झैँ फुत्त फुत्केर घरि घरको आगनमा पुग्थ्यो भने घरि अफिसको टेबुलमा।
तेस्रो दिनमा थोरै के बोध भयो भने हुर्केका केटाकेटीले भोक लागे पकाएर खान्छन्, अफिस पनि म बिना चल्छ अथवा चल्ने बनाउनु पर्छ, मरेर जाने मान्छे मर्नेबेला श्रीसम्पत्ति बोकेर जाने त होइन। हुन पनि हो, यो जगतमा कति प्राणी छन् जो आफै अण्डा फोडेर बाहिर निस्कन्छन र आफ्ना लागि चारो खोज्न थाल्छन्। कति माकुरा जस्ता जीव छन् जसका बच्चाले जन्मिएपछि आफ्नै आमाको प्राण खान्छन् र आमा बिना बाँच्न सक्छन। हुनत सांकेतिक रुपमा हेर्ने हो भने मनुष्यको माता र माकुराको पोथी माकुरामा त्यति फरक छैन किनकि हामी आमाहरू पनि बच्चा बोक्ने,जन्माउने, चुसाउने, हुर्काउने क्रममा आफुलाई अणुअणुमा ढालेर सन्तानकै खुसी र भविष्यको आहारा बन्छौँ तर मातृत्व एउटा त्यस्तो समर्पण हो त्यसबाट दिनुमा जति सन्तुष्टि अरु कुनैमा पनि हुँदैन। त्यो सन्तुष्टिका अगाडि त्यो दुख, दुख जस्तो लाग्दैन कष्ट पनि कष्टकर लाग्दैन।
यस्तो लाग्छ प्रसव पीडाको स्मरण समागमको बेला आउँदो त कुनै पनि नारी पून: गर्भाधानका लागि तयार हुन्नथिन् होला तर सहवासको सुखभोगको प्राप्तिले प्रसव कालका हुने पीडालाई छेउ लगाइदिन्छ। जीवन रहस्यै रहस्यको पोको हो कि जस्तो लाग्छ घोत्लिएर जीवनतिरै फर्किएर बुझ्न खोज्यो भने र यही रहस्यको ढोका खोल्ने चाबीको काम गर्दो रहेछ ध्यानले।
ध्यानकक्षमा लस्करै राखिएका विभिन्न धर्मका धर्मगुरु, साधु,सन्त, महन्त, ऋषिमुनि र दार्शनिकहरुका लहरमा महिलाहरुको उपस्थिति नगन्य हुनुले मनमा आइरहने पुरानो प्रश्नले फेरि टाउको उठायो र मेरो मन फेरि ध्यानबाट भागेर मौन र आत्मिक बहस तिर मोडियो। के साँच्चै भारतीय महाद्विपमा महिला योगीहरु नभएका हुन् त ?
मानवशास्त्रिय सिद्धान्त अनुसार समान जीनमा,समान वातावरण, संस्कृति र पर्यावरणमा लगभग एकैखालका मानविय गुण र क्षमता बिकास हुन्छ भन्ने मान्यतालाई मान्ने हो भने यतिका महाज्ञानी र महापुरुष हुँदा किन बराबरी नभएपनि केही सँख्यामा स्त्री योगिहरु त हुनुपर्थ्यो किन भएनन् होला भन्ने प्रश्न मस्तिष्कको एउटा कक्षबाट निस्क्यो र मस्तिष्ककै अर्को कक्षबाट जान्ने बिधार्थीले झैँ उत्तर दियो: हिन्दु सनातन धर्म स्वयंले स्त्रीको स्वतंत्रता, योग ध्यान र प्रज्ञाको सर्वोच्चताको वकालत केवल पुरुषका लागि गरेको छ महिलाको लागि यसले महत्व दिएको छैन।
महिलालाई कन्या हुन्जेल बाबुको संरक्षणमा, बिहे पश्चात पति र प्रौढ अवस्थामा पुत्रको छत्रछाँयामा उनीहरुले दिलाएको अधिकार र स्वतन्त्रताको लक्ष्मणरेखामा रमाउनु पर्ने भनेर लेखिएको छ भने शिक्षा-दिक्षा दिने, गुरु-आश्रममा ज्ञान आर्जनका लागि पठाउने, जीवनोपयोगी ज्ञान, सीप र कलाहरु सिकाउने संस्कार थियो र बिसौँ शताब्दी सम्मपनि अध्ययनको अधिकार र महिला ध्यान र तपस्याका लागि यात्रा सामाजिक बन्देज जस्तै थियो। गार्गि,मैत्रैयी जानकी, अहिल्या, घोषा, स्वाहा, लोपामुद्रा लगायत अन्य नारीहरु विदुषी भएर पनि तपस्वी या योगी भनेर किन चिनिन सकेनन्?यि बाबा र स्वामीहरुको लस्करमा किन अटाएनन् ?
खैर यो बिषयमा बिगतमा लेखिएका होलान्, भविष्यमा बुज्रुकहरुले लेख्लान म त्यतातिर लाग्न चाहन्न तर मेरो ध्यान भङ्ग गर्न आउने शैशवकालदेखिको उक्त प्रश्नले भने मलाइ घोचिरहन्छ ध्यान मुद्रा बाहिर पनि।
निस्फिक्री तालले नृत्य गराएर, मरुन्जेल हँसाएर, जसरी हुन्छ रुवाएर र विभिन्न आसन र बिधीमा बुद्ध, ताओ, सूफी, ओशो, महावीर लगायत अन्य योगी र गुरुहरुले निमार्ण गरेका नवीन र क्रियात्मक ध्यान र सँगितका माध्यमबाट मनबाट पिडा र कुन्ठा, मस्तिबाट तनाव र पुर्वाग्रह र डर अनि तनबाट रोग र शिथिलता निराकरण गर्ने बिधीहरु बिधीपुर्वक र नियमितरूपमा गरेमा त्यसको प्रतिफल र लाभ लिन सकिदो रहेछ भन्ने उदाहरण त्यहाँका बर्षौँदेखि अभ्यासरत साधकहरुको अनुभवबाट सुन्न पाइयो र छोटोे समयमै भएपनि आफूलाई पनि अलिकता भएपनि महसुुस हुँदै जान थालेको थियो।
अन्य प्रायःजसो धर्मले झैँ कट्टर धार्मिक नियमको पालना गर्नुनपर्ने, आडम्बरी पुजापाठ, कर्मकाण्डिय, बोझिलो र भड्किलो संस्कार र बिधीको जन्जाल बिना सिर्फ ध्यान,योग र आत्मिक प्रफुल्लताको माध्यमबाट आत्मामा रहेको इश्वरिय शक्तिलाई अनुभूत गर्न सकिन्छ भन्ने मान्यतामा यसका अनुयायीहरु विश्वस्त रहेछन्। आत्मज्ञानको माध्यमबाट आफुभित्रै रहेको शान्ति र आनन्दको पहिचान गर्न अग्रसर गराउने तथा ईश्वर शरीरभित्रै रहने र शरीरभित्रै रहेका ईश्वरलाई आनन्दानुभूतिको माध्यमबाट भेट्न सकिन्छ न कि अन्य धर्मगुरुले भनेजस्तो शरीरलाई यातना र दुःख दिएर । यही धार्मिक, जातीय, सम्प्रदायिक, लैँगिक र भौगोलिक बिभेद रहित मूलभूत मान्यताले यो सम्प्रदायमा दिनप्रतिदिन युवायुवतीको क्रेज बढ्दो रहेछ।
आज नै अन्तिम दिन हो भने जसरी नाच्ने, यो दुनियामा म एक्लै छु जसरी रुने कराउने चिच्याउने अनि जिउँदो छ कि मरेको हो खुट्याउन नसकिने तवरले ध्यानमा लिप्त हुनसक्ने र मेडिटेसन सेसन पछिको साधकहरुका अनुहारमा फैलिएको कान्ति र उनीहरूको बोली र ब्यबहारमा झल्कने कोमलता र शान्ति देख्दा बढो अद्भुत लाग्दोरहेछ। उनिहरु यसरी हाँस्थे मानौँ समस्या उनीहरूको बाटो हुँदै हिड्दै हिँड्दैन या मानौ दुःख भन्ने चिज उनिहरुको भागमा पर्दैपर्दैन ।
अनि उनिहरू यति निस्फिक्री देखिन्थे मानौ भोलिसँग उनिहरुको कुनै लिनु दिनु छैन। ध्यान र योगजस्तो कठिन कार्यमा पनि कलिला युवायुवतीको समर्पण, लगाव र आत्म अनुशासनले निकै प्रभावित पार्यो । त्यो भन्दा अझ जापान,युरोप, अमेरिका, क्यानडा जस्ता देशहरुबाट आएका पर्यटकहरूको दशकौं र बर्षौँ देखि दत्तचित्त भएर योग र ध्यानमा लिप्त भएको देख्दा अनि तपोबन परिसरमा स्वयंसेवकका रुपमा स्वतस्फूर्त: र नि:सर्त रूपमा काम गरेको देख्दा देख्दा अचम्म लाग्यो ।
कठोर साधनापछि बल्ल मन ध्यानमा केन्द्रीत हुँदै थियो जेलरले कैदीलाई सिटि बजाएर आफन्ती भेट्ने समय सकिएको जानकारी दिएजस्तै घर फर्किन पर्ने बाध्यतालाई सिटी हानिरहेको थियो भित्ताको क्यालेन्डरले। आजिवन आर्जेको सम्पत्ति मरेर लैजान पाइन्न भन्ने जान्दाजान्दै पनि बाँचुन्जेल मुखमा माड लगाउन त्यहि नभइहुन्न भन्ने आत्मबोधले मन घरी चुलोमा पुग्थ्यो त घरी धन्सारमा पुग्थ्यो अनि सन्त्रासले घरि छोरी सम्साझमा स्कुलबाट घर फर्कने एकलासे बाटो नाप्न पुग्थ्यो।
सातदिने ध्यान सप्ताहको अन्तिम दिन ओशोमार्गमा आस्थाराख्ने र सो मार्गमा लाग्न चाहने साधकहरुका लागि ओशोको माला `ग्रहण गर्ने´ या `सन्यास लिने´ भन्दा रहेछन्। सन्यास लिन चाहने साधकलाई संकल्प गरिएको ओशोको तस्बिर सहितको माला लगाइदिएर गुरुबाट संकल्पित गराउने बिधीलाई दीक्षा समारोह भनिदोहेछ र दिक्षित हुनुलाई सन्यासी हुनु भनिदोरहेछ।
सामान्यतया: हिन्दु धर्ममा सन्यास लिनुभनेको घर गृहस्थ छाडेर भौतिक जीवनबाट आध्यात्मिक मार्गमा लाग्नु भनेर बुझिने भएकाले सन्यास लिने इच्छा जाहेर गर्दा जीवनसाथीको अनुहारमा देखिएको दीनभाव र चिन्ताले दाम्पत्य जीवनको मनोबिज्ञान कति कसिलो हुने रहेछ, सहयात्री कतै सहयात्रा छाडेर सन्यासी भइ भने एक्लै जिउनपर्ने हो कि भन्ने संसय र भय देख्दा माया र दया दुबै उर्लेर आयो। उसो त ओशोको नव- सन्यास मान्यता अनुसार सन्यास लिनु भनेको `विगतको पीडाबाट छाड्नु र भविष्यको भय र आशक्ति बाट मुक्त भइ `आत्मा´ भएर बाँच्नु´ लाई भन्दा रहेछन्।
सन्सार र सन्यासमा के फरक छ भन्ने जिज्ञासामा ओशोले `जीवनलाई आत्म अज्ञानताको नजरले हेर्नु सन्सार हो भने आत्म-ज्ञानको नजरले हेर्नु सन्यास हो´ भन्दा रहेछन् तर पनि सन्यास लिएका कतिपय युवायुवती वर्षौंदेखि आजिवन अविवाहित रहेका अथवा गृहस्थ छाडेर आश्रममा बसेका उदाहरण पनि देखियो त्यसैले पनि आफुले प्रेम गर्ने मान्छे गुम्छ कि भनेर डराउनु स्वभाविक लाग्दछ। आखिर स्वभावतः मान्छे योगमा भन्दा भोगमा रमाउने प्राणी न हो। सन्यास लिनुलाई `घरबार बिग्रनु´सँग जोडेर मान्छेहरुले कुरा गरिरहेको देख्दा मन एककिसिमको असन्तुष्टि र खलबली मच्चिरहेको थियो। के आत्मज्ञानको माध्यमले वास्तविक खुसी भेटिँदा के कुनै चीज टुट्नुपर्छ? यही मानसिक खलबलीमा कवि हृदयमा एउटा कविता जन्मिएको थियो जुन यस प्रकार छ:
बिग्रनु
जसरी बिग्रेर कोपिला
बन्छ फूल
जसरी बिग्रेर बीज
बन्छ बिरुवा
जसरी बिग्रेर प्यूपा
बन्छ पुतली
उसैगरि
बिग्रेर म
बन्न चाहन्छु
खरानी जस्तो
जो जलाउन खोज्दा
फेरि नजलोस्।
बिग्रेर म
बन्न चाहन्छु
पानी जस्तो
जो पगाल्दा खोज्दा
फेरि नपग्लियोस्
टुक्रिएर म
बन्न चाहन्छु
अक्सिजनको एउटा अणु जस्तो
जो टुक्राउन खोज्दा
फेरि नटुक्रियोस्।
………………….
गुरुले शरीर र आत्मा अलग गर्नुस् भनेर भन्ने बित्तिकै शरीरलाई क्रमशः आत्माबाट अलग गर्न बहुत कठिन कार्य रहेछ । यो कार्यका लागि सात दिनको ध्यान प्रयाप्त रहेनछ भन्ने कुरो बोध त्यतिखेर भयो जतिखेर शरीरका अँगहरु योगाभ्यासमा अभ्यासरत रहन्थे भने मनले मस्तिष्कको खालि पन्नामा कविता लेखिरहेको हुन्थ्यो।
दिनभरमा पाँच सेसनमा बिभाजित गरिएका निकै बैज्ञानिक र लाभदायक ध्यानका विधीहरु समस्टीमा निकै लाभदायक भएपनि गृहस्थको जन्जाल दिमागभरि बोकेर ज्ञान र योग ध्यान सिक्न खोज्नु चुहिने लोहोटा लिएर महासागरमा पानी लिन गएजस्तो भान भएथ्यो फर्कने समय आएर ध्यानलाई बीट मार्ने क्रममा । विशाल वायुमण्डलबाट एकफोक्सो वायु भरे जस्तै विशाल समुद्रबाट एक अञ्जुली पानी पिए जस्तै ज्ञान र योगको अथाह खानीबाट केही झिल्का चेतना, केही चमत्कारपुर्ण अनुभूति, ध्यान र योगका केही विधिहरू सिकेर आइयो ।
काठमाडौंको कोलाहालबाट धेरै टाढा पुगेजस्तो तर भौगोलिक दुरीका हिसाबले राजधानीको मुटुबाट छोटो दुरीमै अवस्थित यतिसम्म सुन्दर र प्राकृतिक सौन्दर्यले भरिपुर्ण र थुप्रै तपस्वी र ध्यानीहरुको तपोभुमि तपोवनमा पहिले नै किन आऊन सकिएन होला भन्ने खतखत मनमा भइरह्यो। सात दिनको प्याकेज सकिएपछि र ब्यागप्याक बोकेर तपोबनबाट योग,ध्यान र जीवन- बिज्ञानको जोरन लिएर जीवनभोगतिरै फर्कियो।
जीबनमा भोग गर्दागर्दै भोग्न छुटाएका,जन्मेदेखि सास फेरिरहेपनि सास फेर्न नसिकेका, नाच्न खोज्दाखोज्दै ताल र लय छुटाएका, रुनको लागि वातावरण र स्थान नपाएका अनि हास्न खोज्दा मन खोलेर हाँस्न डराएका, उज्यालोमा पनि उज्यालो राम्रोसँग देख्न नसक्ने र अध्यारोभित्र पनि उज्यालो हुन्छ भनेर पत्याउन नमान्ने हठि मान्छेहरु एकचोटी तपोबन पुग्नै पर्दो रहेछ।
प्रतिक्रिया
-
४
