कोहलपुरमा बसेर साहित्यको विभिन्न विधामा कलम चलाउने महानन्द ढकाल शिक्षण पेशामा आवद्ध छन् । तीन दशक लामो साहित्य यात्रा गरिसकेका ढकालको आधा दर्जन जति कृति प्रकाशित छन् । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष ढकालले नेपाली साहित्यको विकास र उत्थान गर्नका लागि योगदान पुर्याउँदै आएका छन् । प्रतिष्ठानले मोफसललाई केन्द्रिय साहित्यकारसँग जोड्न विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको छ। कविता लेखनबाट साहित्यमा प्रवेश गरेका ढकालका ‘खण्डित आत्मा’ गजल सङ्ग्रह (२०५८), ‘उस्तैउस्तै नदीका उस्तैउस्तै छालहरू’ गजल सङ्ग्रह (२०५९), ‘अव्यक्त प्रत्याशा’ गजल सङ्ग्रह (२०६३), ‘घाम उदाए’ हाइकु सङ्ग्रह (२०६८) र सिमाना मुक्तक संग्रह (२०७७) उनका प्रकाशित कृति हुन् । आख्यानकारको रूपमा पहिलो कृति ‘बुह्रान’ उनको पछिल्लो कृति हो । थारु जातिको संघर्ष, कला, संस्कृति, आन्दोलन, जीवन र भोगाइसँगै थारु र पहाडीको सम्बन्धलाई जोड्ने कथा हो ‘बुह्रान’ उपन्यास । सोही उपन्यास तथा साहित्यका विभिन्न विषयमा सेतोमाटोका लागि सहकर्मी जनक कार्कीले गरेको पुस्तक वार्ताको सारांश प्रस्तुत छः
सर्वप्रथम बधाई तथा शुभकामना, नयाँ उपन्यास लोकलाई अर्पण गर्नुभएको छ । यो समय एक किसिमको थकानको विराम जस्तो पनि होला, उत्सुकताको बेलुन जस्तो पनि होला, पाठकीय टिप्पणी को कतुहुलता पनि पक्कै छ । खासमा मैले सोध्न लागेको प्रश्नतिर जान्छु । बिहे गर्न लाग्दा र बिहे गरेपछि केही दिन बधाई सुरुमा लाजै पछि वाक्कै लाग्ने गरि खाइन्छ । किताब निकाल्दा पनि लगभग त्यस्तै शुभकामना र बधाईको वर्षात हुन्छ्न् । तर किताब पढिदिने मान्छे निकै कम हुन्छ्न् । यो डिजिटल युगको अतिक्रमणमा परेका कागज र अक्षरलाई कसरी बँचाइराख्न सकिएला ?
धन्यवाद । हजुरले भनेजस्तो थकान र बिरामी भए जस्तो महसुस गर्न परेको छैन । उत्साह भने थपिदै गएको छ । पाठकीय टिप्पणीको कोतुहलता भने हुने रहेछ । प्रत्येक दिन प्रतिक्रियाहरू आइरहेका छन् । सचेत पाठकहरूले सन्तुलित रूपमा प्रतिक्रिया दिइरहनु भएको छ । प्रतिक्रियाहरूले मनलाई दह्रो बनाइरहेका छन् ।
बधाई त आएकै छन् । बधाईहरू स्वीकार गरेर थाकेको छैन । बधाई दिने आफन्तहरूले हो शुभचिन्तकहरूले हो । आफन्त र शुभचिन्तकहरूप्रति मेरो सधैं सम्मान रहने गर्छ । बधाई दिनेहरूले बधाई दिने मात्रै होइन सम्भव भएसम्म पुस्तकहरू पनि लिइरहनु भएको छ । कहाँ र कसरी पाइन्छ भनेर सोधिरहनु भएको छ । पाठक तथा शुभेक्छुकहरूको यो हुटहुटी देख्दा मलाई लागेको छ पछिसम्म पनि यो उपन्यास पढ्नेहरूको सङ्ख्यामा कमी आउने छैन ।
जहाँसम्म डिजिटल युगमा कागज र अक्षरहरू अतिक्रमणमा परे भन्ने जुन कुरा छ यो कुरामा मेरो फरक विचार छ । डिजिटल युगले कागज र अक्षरलाई कुनै न कुनै माध्यमबाट सहयोग गरिरहेको छ । छोटो र छिटो सूचना प्रवाह डिजिटलबाटै भएको छ । राम्रा कृतिहरू सूचनाकै आधारमा धेरै पढिएका छन् । नपढ्नेहरूलाई पनि पढौं पढौं बनाउन सहयोग गर्ने काम डिजिटल प्रविधिले गरेको छ । यो हिसावले हेर्ने हो भनेपनि डिजिटल प्रविधिले राम्रै गरेको छ । झनै नयाँ लेखकहरूलाई त डिजिटल युग वरदान नै सावित भएको छ ।
सुरूमा उपन्यासको नाम बुह्रान भनेको के होला भन्ने उत्सुकता थियो, त्यो उत्सुकतालाई पत्रपत्रिकामामा आएका ‘बुह्रान’को चर्चा र व्याख्याले चिरिदियो । दाङ उपत्यकामा बसोबास गर्ने थारुले बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई बुह्रान भनेर चिन्दै आएका छन् । ‘बुह्रान’ झर्नु थारुहरूको रहरभन्दा बाध्यता नै होला, बाध्यताले बुह्रान झरेका थारुहरूको अहिले अवस्था कस्तो छ ?
मलाई धेरैले सोधेको प्रश्न हो यो । बुह्रान आफैमा धेरैका लागि नौलो नाम हो । पहाडी समुदायका लागि नौलो हुनु स्वभाविक हो यहाँ त थारू समुदायका युवापुस्ताहरूलाई समेत बुह्रान नाम नौलो लाग्ने गरेको पाएको छु । बुह्रान क्षेत्र विशेष मात्रै पनि होइन । बुह्रान शब्दलाई निकै गहन तरिकाले हेरिने गरिन्छ । यो त एक गम्भीर परम्परा जस्तै हो । अझ यसो भनौं बुह्रान गाँस, बास र कपासको मीठो सपना हो ।
बुह्रानले धेरैको सपना पुरा गरेको छ । रहरभन्दा बाध्यताले बुह्रान आएका गरिवहरूको कतिको सपना पूरा भएको छ । कतिको सपना पूरा हुने चरणमा होला । बुह्रान गरिव थारूहरूको आसा विश्वास र भरोसा हो । बुह्रानको विषयमा धेरै लेखिनु पर्थ्यो तर लेखिएन । नलेखिएको विषयवस्तुमा लेखिएकोले पनि बुह्रान धेरैका लागि मनमा बस्न थालेको छ ।
थारु समुदायको कथा लेख्नुभयो, थारु भाषा, कला, संस्कृति, भाषा आदिकुराको अध्यन पनि उपन्यास लेख्नको लागि गर्नु नै भयो होला, यो उपन्यास लेख्छु भनेर अहिले किताब निकाल्दासम्मको छोटोमा किताब–यात्राको रचना गर्भ सुनाइदिनु न ?
थारू भाषा, कला, संस्कृति र परम्परा लोभ लाग्दो छ । बाल्यकालदेखि नै मैले थारू संस्कृति र परम्परालाई अवलोकन गर्ने अवसर पाएँ । कतिपय संस्कार र संस्कृतिसङ्ग घुलमिल हुने मौका पनि जुर्यो । उहिले पढ्दादेखि अहिले पढाउँदासम्म थारू समुदायसङ्ग नजिकको सम्बन्ध रहदै आएको छ । अहिले पनि म यही समुदायका बालबालिकाहरूसँगै रहेको छु । थारू समुदायमा नै कार्यरत छु । सहकर्मी साथीहरू पनि थारू समुदायका हुनुहुन्छ । यी सबै कुराहरूले मलाई अध्ययन गर्न सहयोग गर्यो । अनुभवहरूले विषयवस्तुलाई तथ्यपरक बनाउन सहयोग गरे । जुन कुराले मलाई उपन्यास लेख्ने वातावरण तयार गरायो ।
बुह्रानका गरिव थारूहरूका आफ्नै खालका पीडाहरू छन् । कतिपय वाध्यताहरूले अहिले पनि अघोषित रुपमा पुराना प्रथाहरूबाट अलग हुन सकेका छैनन् । तराइलाई बस्ने योग्य भूमि बनाउने थारूहरू नै भूमिबिहीन हुनु आफैमा सुहाउने कुरा थिएन र होइन पनि । छलछाम नगरी कडा मेहनत गर्ने परिश्रमी गरिब थारूहरूको जीवनस्तर नउठ्नु पछाडिका कारणहरू खोज्ने क्रम सङ्सङ्गै यो उपन्यास तयार भएको हो । मैले देखेका भोगेका वा अनुभव गरेका विषयहरू नलेखेसम्म मनको छट्पटी बढी रह्यो । यही छट्पटीको शान्त पार्न बुनिएको कथानक बुह्रान उपन्यास हो ।
बुह्रानमा बस्ने थारु र पहाडीको अन्तरसम्बन्ध वास्तविक जीवन र उपन्यासमा कसरी चित्रण गरिएको छ होला ?
यो उपन्यास सहकार्य र सहसम्बन्धका कथाहरूमा आधारित छ । थारूहरूले भन्ने बुह्रानसङ्ग पहाडी समुदायका मानिसले भन्ने तराई वा मधेसको सम्बन्ध जोडिएको छ । बसाइँसराइ गर्ने क्रममा जसरी दाङका थारूहरूले बुह्रानलाई रोजे त्यसैगरी पहाडी समुदायका मानिसहरूले पनि तराईलाई रोजे वा मधेसलाई रोझे । अझ भनौं बुह्रानलाई रोजे । बुह्रानको बसाइ मिश्रित छ । थारु, पहाडी र छिटपुट रूपमा मधेसीहरूको बसाइ छ । समाजमा शान्ति स्थापना गर्न सबै समुदायका मानिसहरू मिल्नु जरुरी छ ।
मेरो उपन्यासको विषयवस्तु थारू र पहाडी बीचको अन्तरसम्बन्ध नै हो । मैले वास्तविकतामा आधारित रहेर कथानक बुनेको छु । बुह्रानमा बस्नेहरूले आफ्नै कथा सम्झने खालको कथानक छ बुह्रानमा । मैले अध्ययनमा पाएका तथ्यहरूलाई उपन्यासमा समेट्ने प्रयास गरेको छु। बुह्रान पढेपछि बुह्रान भनेको के हो ? बुह्रानको संस्कृतिक सामाजिक तथा आर्थिक लगायत भौगोलिक परिवेश के कस्तो रहेको छ । बुह्रानमा बस्नेहरूको सपना, सङ्घर्ष र स्वाभिमानको चित्रण सरल तरिकाले गरिएको छ ।
कमैया र कम्लहरी प्रथा अहिले हटेको भएपनि यसको रूप परिवर्तन भएर अन्य भेषमा समाजम रहेकै छ । यस उपन्यासमा कुन कालखण्डमा रहेह कथा चित्रण गरिएको होला ?
बुह्रान क्षेत्रमा निकै ठूला र ऐतिहासिक आन्दोलनहरू भए । सुकुम्बासी आन्दोलन, कमैया आन्दोलन, कम्लहरी आन्दोलन, भूमिगत आन्दोलनहरू र पछिल्लो समयमा पहिचानका लागि गरिएको थरुहट आन्दोलन । हरेक आन्दोलनहरूले आमूलपरिवर्तनको अपेक्षा गरेको भएपनि हरेक आन्दोलनहरू सीमित उपलब्धिमा पुगेर टुङ्गिएको देखिन्छ । नीतिगत रूपमा अब बुह्रान क्षेत्रमा कुनै कमैया छैनन् । कुनै कम्लहरी छैनन् । सुकुम्बासी समस्या जटिल समस्या होइन तर व्यवाहारिक रुपमा हेर्ने हो भने अवशेषहरू यत्रतत्र देख्न सकिन्छ । सरकारले कमैया कम्लहरी र सुकुम्बासीहरूलाई उपलब्ध गराएको सेवा सुबिधा वा जमिन जीवन जिउनका लागि प्रयाप्त छैन । बाँच्नका लागि अहिले पनि सङ्घर्षहरू जारी छन् । थोरै पारिश्रमिकमा काम गर्न बाध्य छन् । आन्दोलनहरूले नाम परिवर्तन गरायो काम परिवर्तन गर्न सकेन । जीवनस्तरमा परिवर्तन गराएन । अवशेषका रूपमा कमैया कम्लहरी प्रथा पुरानै रुपमा नभएपनि फरक फरक रुपमा काम गर्न बाध्य छन् ।
बुह्रान उपन्यास झण्डै पचास वर्षभित्रको समयावधिलाई आधार मानेर लेखिएको उपन्यास हो । सुकुम्बासी, कमैया, कम्लहरी जस्ता प्रथाहरू यस समयमा कायम रहेको र आन्दोलनहरूले नीतिगत रुपमा हटाएको समय पनि यही समयभित्र पर्छ । बुह्रान उपन्यासमा यो प्रथा अपनायका पात्र र परिवेश समावेश छ । कथाहरू यिनै पात्रहरू सङ्सङ्गै दौडिएका छन् ।
गजल, हाइकु, मुक्तक लेख्दालेख्दै उपन्यासको रंगिन दुनियाँमा प्रवेश गर्नुभएको छ, आजभोलि कविता,गजल,मुक्तकको महत्व भएपनि किताब बेँच्नु भनेको फलामको भात चपाउनु जस्तै भएको छ, उपन्यासको विक्री भने सन्तोषजनक नै छ । उपन्यास लेखेपछि एकाएक सेलिब्रेटी बन्ने अवसर पनि हुन्छन् । यहाँलाई उपन्यासकार रहर,सपना वा समाजको सहि मुद्धा उठाउने जिम्मेवारी, के ले लेख्न प्रेरित गर्यो ?
मेरो साहित्य लेखन कविताबाट सुरू भएको हो । कविता कृति तयारीमा रहेको भएपनि अहिलेसम्म प्रकाशित छैन । पचासको दसकमा गजलको माहौल सृजना भयो । पचासको दसकमानै दुई दुईवटा गजल सङ्ग्रहहरू प्रकाशित भए । साठीको दसकमा एउटा गजल र एउटा हाइकु सङ्ग्रह प्रकाशित भए । सत्तरीको दसकमा एउटा मुक्तक सङ्ग्रह र अहिले उपन्यास प्रकाशित भए । कुन विधामा के कस्तो प्रतिक्रियाहरू आउने रहेछन् भन्ने अनुभव पनि बटुल्ने अवसर मिल्यो । कविताका लघु विधाहरू लेख्नेहरूको सङ्ख्या बढेको भए पनि, सङ्ख्यात्मक रुपमा कृतिहरू प्रकाशनको मात्र बढेको भएपनि अझै पनि काव्यको बजार विस्तार हुन सकेको छैन ।
काव्यको तुलनामा आख्यानको बजार केही राम्रो छ । आख्यानमा पनि उपन्यास बजारमा बढी बिक्री हुन्छन् । मेरो हकमा आख्यान बढी बिक्री हुन्छ र आर्थिक लाभ हुन्छ भनेर वा सेलिब्रेटी भइएला भनेर मैले उपन्यास लेखेको पनि होइन । उपन्यासकार कहलिनकै लागि यो क्षेत्र रोजेको पनि होइन । न म रहरले यो क्षेत्र समातेको हूँ , न त लहडमा नै आख्यानमा आएको हूँ । म त सामाजिक कर्तव्य निर्वाह गर्ने क्रममा , नलेखिएका कथाहरू बाहिर ल्याउने क्रममा यो क्षेत्रमा आएको हूँ । मैले उठाउन खोजेका मुद्दाहरू आख्यान मार्फत समेटिन सक्छन् भनेर नै यो विधा रोजेको हूँ । कविता, गजल, मुक्तक र हाइकु आदिको भविष्य नदेखेर उपन्यासमा आएको भनेर कसैले दोष लगाइहाल्यो भने यो गलत हो भनेर मलाई भन्न कुनै अप्ठ्यारो छैन ।
मलाई बुह्रान लेख्न प्रेरित गर्ने मुख्य विषयवस्तु भनेका सामाजिक मुद्दाहरू नै हुन् । बेलाबखत सामाजिक सद्भाव भड्काउ चाहनेहरूले जातिगत रूपमा मिलेर बसेको समाजलाई भड्काउन खोजेको पनि देखियो । नेपाली समाज विविधता युक्त छ । एकले अर्काको अस्तित्व नस्वीकारी खुखै छैन । हामी सबै एक हौं भावना जागृति नभएसम्म समाजमा शान्ति नआउन सक्छ ।सामाजिक सद्भाव र सहकार्यका लागि मैले यो विषय छानेको हूँ ।
अहिलेको समय भनेको उपन्यास लेख्नुभन्दा छाप्नु गाह्रो र छाप्नुभन्दा पाठकको मनसम्म पुर्याउन गाह्रो समय हो । यहाँले प्रकाशक खोज्नमा कत्तिको मेहनत गर्नुपर्यो ?
यो मामलामा मलाई पटक्कै गाह्रो भएन । मैले पनि यही कुरा सुन्दै आएको थिएँ । प्रकाशक खोज्नु पर्ला भन्नेसम्म त सोचेको थिएँ तर म छिटै प्रकाशकको नजरमा परेछु । आफै खोज्दै हिड्नु नै परेन । पाण्डुलिपि बनाउनु पूर्व विषयवस्तुको सामन्य जानकारी पछि प्रकाशकले पाण्डुलिपि पठाइदिनु होला भन्नु भयो । मैले पठाएँ एकै पटकमा ओके भयो । नढाँटी भनौं सुरूमा त यति सजिलो होला भन्ने त मैल पनि सोचेको थिइन । मलाई यतिबेला के लागेको छ भने नयाँ विषयवस्तुमा कलम चलाउने हो भने प्रकाशक भेट्टाउन जति भनिन्छ त्यति कठिन छैन ।
अब पाठकको हातसम्म पुराउने जिम्मेवारी पनि प्रकाशकको भएकोले यो पनि कठिन हुने कुरा भएन बरू कठिन भनेको त पाठकको मनमा बसिरहन पो हो त । पाठकको मनमा कत्तिको बस्न सकिन्छ भन्ने कुराले भने मनमा खेलिरहने गरेको छ ।
अहिले माहोल पुरस्कारको चलिरहेको छ, थारु समुदायको कुरा उठाएर समाजिक उपन्यास नेपाली साहित्यलाई दिनुभएको छ । यस्ता विषयमा लेखिएका उपन्यासहरूलाई पुरस्कारको अवसर अलि बढी हुन्छ । ठ्याकै एकवर्षपछि, यतियतिबेला नै तपाईको उपन्यास पद्मश्री वा मदन पुरस्कारको छोटो सूचिमा पर्ने सम्भावाना वा आशा कत्तिको देख्नुभएको छ र अहिलेको दुबै ठूला मानिएका पुरस्कारको सूचि देखेर केही भन्नू छ ?
मज्जाको प्रश्न गर्नु भयो । छोटो समयमा नै मैले राम्रो पुरस्कार र सम्मान पाइसकेको छु । पाठकहरूले माया गरिरहनु भएको छ यो भन्दा ठूलो पुरस्कार र सम्मान के हुन सक्छ ? अर्को कुरा मैले पुरस्कार र सम्मानहरू पाइएला भनेर यो क्षेत्रमा कलम चलाएको पनि होइन त्यसैले त्यति धेरै महत्वकांक्षा बोकेर हिँडेको पनि छैन । तर जे जतिले पढ्नु भएको छ राम्रो मान्नु भएको छ ।
पुरस्कार छनोटको सूचिमा पर्यो भने राम्रै हुन्छ । आख्यान लेखनमा उत्साह थपिन्छ नै । सूचिमा परेन भनेपनि आत्तिनु पर्ने केही छैन । पुरस्कारको सूचिमा नपरेका तर पाठकहरूले पुरस्कृत गरेका दर्जनौं कृतिहरू हाम्रो अगाडि छदैछन् ।
अहिलेको सूचिको विषयमा धेरैले धेरै प्रश्न उठाएको पाएको छु । यो विषयमा म मौन छु । छनौटमा परेला धेरै कृतिहरू पढेको छैन पढ्न बाँकी छन् । नपढी कसरी मूल्याङ्कन गर्ने ? अग्नी, साती जस्ता कृतिहरू पनि परेका छन् । यी कृतिहरू त स्तरीय नै छन् । फेरि पुरस्कार दिने संस्थाहरूको नियमलाई पालना नगरेका वा संस्थामा दर्ता नभएका राम्रा पुस्तकहरू यो लिष्टमा नपरेका पनि हुन सक्छन् । संस्थाको कस्तो नियम छ भन्ने कुराले पनि प्रभाव पारेको हुनसक्छ ।
यस वर्ष मदन पुरस्कारको सूचिमा परेका सबै कृतिहरू नपढेकोले पनि यो वर्ष प्रकाशित सूचिप्रति मैले टिप्पणी गर्नु हुदैन भन्ने लागेको छ ।
मोफसलमा बसेर स्थापित हुन गाह्रो छ भन्ने कुरालाई पछिल्ला लेखकले गलत सावित गर्दिएका छन् । यद्यपि मोफसलामा बसेर लेखक धेरै अवसर र प्राप्तीबाट खुम्चिनु चाहिँ पर्छ । यहाँ अनि मोफसलमा बसेर सक्रिय रूपमा साहित्य कर्म गरिरहनु भएको श्रष्टा हुनुहुन्छ । के लाग्छ यहाँलाई ?
यो कुरा धेरैले उठाउने गरेको कुरा हो । हुन त अब को केन्द्रको को मोफसलको भन्ने बेला आइसक्यो ? प्रविधिले सबैलाई एकै ठाउँमा जोडिएको छ । तर पनि सेवा सुविधा र पहुँचका आधारमा केन्द्र र मोफसल छुट्टाउने हो भने फरक पाटो हो । गर्न सक्नेहरूले जसलाई हामी मोफसल भन्दै छौं त्यहाँबाट पनि राम्रो गरिरहनु भएको छ । राम्रा लेखकहरू मोफसलले नै जन्माएको छ । पछि काठमाडौं बासी बन्नु भएको होला त्यो फरक पाटो हो ।
हैन कर्म गर्दै जानु पर्छ राम्रो गरेमा मोफसलले पनि अवसर पाउन सक्छ । पाठकहरूले केन्द्र र मोफसल भनेर छुट्टाउने गरेका छैनन् । काम र लेखन स्यरीयतालाई हेरेर सही मूल्यांकन हुँदै आएको अनुभव गरेको छु मैले। त्यसैले पनि मेरो हकमा म काठमाडौं बाहिर छु भनेर कत्ति पनि हिनताबोध गर्ने गरेको छैन । चिन्ता मान्ने गरेको छैन । मैले जे जति साहित्यिक कर्म गरेको छु सोही अनुसारको सम्मान पनि पाएको छु । म मोफसलमा पनि खुसी छु ।
तपाईं शिक्षक पनि हुनुहुन्छ । अहिले त पाठ्यक्रमले व्यापक फेरबदल गरिरहेको छ । समसामयिक साहित्यकारका रचना पुस्तकमा समाविष्ट हुन थालेका छन् । तपाईंको यो उपन्यास बुह्रान विषयवस्तुका हिसाबले त्यो क्षेत्रलाई प्रतिनिधित्व गर्छ, आफ्नो उपन्यास पनि पाठ्यक्रममा समावेश हुन्छ होला भनेर सोच्नुभएको छ ? साथमा अहिलेको नयाँ पाठ्यक्रममा दनादन नयाँ लेखकका रचना समावेश गरिएको छनोट प्रक्रियाका बारेमा कस्तो धारणा राख्नुभएको छ ?
यो कुरा त स्थानीय पाठ्यक्रम बनाउनेहरूले सोच्ने कुरा हो । मैले त्यतातिर सोचेकै छैन । म शिक्षक हूँ । विभिन्न तहका कक्षाहरूमा के कस्ता पाठ्य सामग्रीहरू राखिएको छ हेरेकै छौं पठनपाठन गराएकै छौं । सामन्य विषयवस्तुहरू पनि पाठ्यक्रममा समावेश भएका छन् । हुन सक्छ पाठ्यक्रम निर्माताको नजरमा परियो भने यो ठूलो कुरा पनि भएन ।
पछिल्लो समय पाठ्यक्रममा नयाँ नयाँ लेखकहरूका रचनाहरूले स्थान पाएका छन् , यो राम्रो कुरा हो । पहुँचको आधारभन्दा स्तरीयतालाई ध्यानमा राखेर पाठ्यक्रममा समाबेश गर्न सके राम्रो हुन्छ भन्ने हो।
बुह्रान उपन्यासमा के छ / के छैन, उपन्यास किन पढ्ने, उपन्यासको भीडमा यसले कसरी अलग परिचय बनाउन सक्ला ?
बुह्रानमा के छ के छैन भन्ने कुरा समालोचक, समीक्षक तथा सचेत पाठकहरूले भन्ने कुरा हो । मैले यस्तो छ उस्तो छ भन्नु उपयुक्त पनि हुदैन ।
सामाजिक सद्भाव, सहकार्य र सहसम्बन्ध बुझ्न बुह्रान पढ्नु पर्छ । बसाइँसराइको बाध्यता बुझ्न बुह्रान पढ्नु पर्छ । थारू संस्कृति, संस्कार र परम्परा बुझ्न बुह्रान पढ्नु पर्छ । बुह्रान उपन्यास उपन्यासहरूको भिडमा अलग परिचय बनाउने धेरै कुराहरू छन् जस्तो लाग्छ ती मध्ये एउटा मात्रै आधार उल्लेख गर्ने हो भने फरक स्वादको विषयवस्तु नै हो।
यो समय प्रचारप्रसारको पनि हो । त्यसका लागि के कस्तो योजना बनाउनुभएको छ ?
यो विषयमा मैले केही योजना बनाएको छैन । सामाजिक सञ्जालहरू प्रयोग गरेको छु बस् । साथीहरूले विश्वास गर्नु भएको छ । सचेत पाठकहरूले आ आफ्नो तर्फबाट प्रचारप्रसार गरिरहनु भएको छ । कतिपय समालोचकहरूले बुह्रानको समालोचना लेखिरहनु भएको सूचना आएको छ । पाठकहरूले मन पराउनु भयो भने उहाँहरूले नै प्रचारप्रसार गर्नु हुनेछ भन्ने कुरामा म ढुक्क छु ।
अन्त्यमा एउटा स्वतन्त्र प्रश्न जसमा यहाँले मन लागेको उत्तर दिन सक्नुहुन्छ ।
मेरा विचारहरू राख्ने अवसर दिनु भयो । यहाँप्रति आभारी छु। बुह्रान सचेत पाठकहरू खोज्दै देश दौडाहामा निस्किएको छ । यहाँहरूको भेट हुने कुरामा म ढुक्क छु । बुह्रान पढ्नु होला । यहाँहरूको सल्लाह सुझाव र प्रतिक्रियाहरूलाई सधैं सम्मान गर्ने छु । बुह्रान यहाँहरूको मनमा बस्न सकोस् । यहाँहरूको प्रतिक्रियाको पर्खाइमा छु ।
प्रतिक्रिया
-
४
