मोरङमा जन्मिएकी रञ्जना निरौला विशेषगरी कविता,समीक्षा र सम्पादनमा कलम चलाउँछिन् । नेपाली र समाजशास्त्रमा स्नातकोत्तर गरेकी शिक्षण र सम्पादनमा कर्ममा व्यस्त उनका ‘छरिएका भावना’ कवितासङ्ग्रह (२०६८), ‘कलम र म’ कवितासङ्ग्रह (२०७४) , ‘निशेधाज्ञाका प्रतिबिम्बहरू’ संयुक्त कवितासङ्ग्रह (२०७८) प्रकाशित छन् । निरौलाको पछिल्लोपटक ‘अनुभूतिको अवतरण’ निबन्धसङ्ग्रह (२०७९) सार्वजनिक भएको छ । आजको पुस्तक वार्तामा सेतोमाटोका लागि सहकर्मी जनक कार्कीले सोही कृति र साहित्यका विविध विषयमा गरेको वार्ताको सम्पादित अंश प्रस्तुत छः

‘अनुभूतिको अवतरण’ पुस्तक लोकार्पण भएको छ, यो पुस्तकको जन्म हुनुपूर्व यसले के कस्तो यात्रा र कथा बनाएको छ, बताइदिनोस् न ?

दुई वर्षदेखि प्रकाशनको तयारीमा थिएँ । प्रविधिक कारणले गर्दा भन्दा अहिले आएर अवतरण भएको हो । भोगाईका केही अलिनो केही चर्को अनुभूतिका यात्रा र कथा यसले बोकेको छ ।

कविता लेखिरहेको मान्छे निबन्धमा उदाउनु भयो, यो सङ्ग्रहमा भएका निबन्धमा के कस्ता विषयवस्तुलाई टिप्नु भएको छ, निबन्धको स्वरूप कस्ता होलान् र निबन्धले नेपाली पाठकलाई के नयाँ स्वाद देलान् जस्तो लाग्छ ?

म कविता र निबन्धमा सँगसँगै थिएँ । निबन्धको पुस्तक पछाडी आएको हो । फाट्टफट्ट पत्रपत्रिकामा प्रकाशित भेरहेका थिए निबन्ध । देश, समाज, घटना, यात्रा र व्यवस्थाहरुको साक्षात्कारद्वारा प्रेरित बैचारिक अभिव्यक्तिको दस्तावेज छ, यो निबन्धमा । हामी सबैका साझा विषयहरूका भावभूमिबाट अवतरित छन् विषयहरू । पत्रात्मक शैलीमा आत्मपरक ढाँचाका यी निबनधले पाठकलाई नयाँ स्वाद पक्कै दिनेछन् भन्ने विश्वास छ ।

विमोचनको क्रममा वक्ताहरूले दर्शन, यथार्थ,विचारको कलात्मक संगम भएको र निबन्धहरूमा राम्रा मननग्य शुक्ति रहेको पनि रहेको बताएका छन् । यसको लागि के कस्तो पृष्ठभूमि तयार गर्नुभयो ?

मेरो मन पर्ने विषय पढनु पनि हो । यथार्थको साक्षात्कार र दर्शन, साहित्य धार्मिक पुस्तकहरूको अध्ययन चिन्तन र मननको संयोजन नै यसको लागि पृष्ठभूमि हो ।

आजभोलि चिया पसलमा साहित्यिक गफगाफ चल्दा भन्ने गर्छन्, अचेल कविता निबन्ध जस्ता र निबन्ध कविता जस्ता हुन थाले तपाईंको निबन्ध निबन्ध जस्तै छ्न् कि अरु केही जस्तो पनि होला ?

गद्य कविता र निबन्धको शैली गद्य नै भएर निबन्ध र कविता उस्तै लागेको हुनसक्छ । तर, निबन्ध र कविता नितान्त फरक विधा हुन्। लेखनमा कवित्वको प्रभावले निबन्ध कवितात्मक लाग्न सक्छ्न् आयाम र शैलीका हिसाबले कविता निबन्धजस्ता लाग्न सक्छ्न् । तर कविता र निबन्ध फरक विषय र विधा हुन्। मलाई लाग्छ मेरा निबन्ध, निबन्ध नै हुन् ।

साहित्यमा निकै सक्रिय देखिनुहुन्छ, साहित्यिक पत्रकारिता, विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागीता, विभिन्न विधामा कलम चलाउने गरिरहनुहुन्छ, के कुराले प्रेरित गर्छ यति धेरै उर्जाशील भइरहन ?

साहित्य जीवनको यौटा पाटो र आदत बनेको छ । पुस्तक देख्दा जति मन आनन्द हुन्छ अरु कुरामा हुन्न । साहित्य रुचिको विषय भएकोले केही गरिरहन मन लाग्छ । साहित्यप्रतिको लगावले नै ऊर्जाशील बनाएको हुनुपर्छ ।

आजभोली पुस्तक प्रकाशित गरेर मात्र हुँदैन त्यसलाई राम्रो बजार व्यवस्थापन र प्रचारप्रसार पनि गर्न सक्नुपर्छ । यसबारे केही योजना बनाउनु भएको छ ?

लेखकको समस्या यो पनि हो पुस्तक छापियो तर प्रचारप्रसार भएन । मेहनत गरेर लेखेका पुस्तक सर्वसुलभ हुन, पाठकका हातमा परुन् र प्रतिक्रिया प्राप्त हुन् भन्ने लेखकको इच्छा हुन्छ तर यो भैरहेको हुन्न । प्रचारप्रसारको अभावले कसको कस्तो पुस्तक आएको छ भन्ने कुरा पनि थाहा हुन्न पाठकलाई । पाठक नै हुन् जो लेखकको लागि मार्गदर्शक र प्रेरक हुन्छन् । तर प्रचार प्रसारको अभावले कृति सीमित भएर बस्नुपरेको हुन्छ । निश्चित योजना त मैले बनाएकी छैन केही कार्यक्रम पुस्तकका विषयमा गर्नुपर्छ भन्ने चै सोचाई छ ।

आजको व्यस्त दुनियाँ त्यसमाथि डिजिटल युग अबका पुस्ता साहित्यका कृतिभन्दा बढी इन्टरनेटमै बढी भ्रमण गर्न रुचाउँछन् । यस्तो अवस्थामा पठन संस्कृतिलाई जोगाइराख्न के गर्नपर्छ जस्तो लाग्छ ?

पुस्तक मानवका लागि सर्वोत्कृष्ट बौदिक बरदान हो । प्रेरणा आनन्द, उर्जा, ज्ञानको स्रोतको विकल्प पुस्तक नै हो । अबका पुस्तालाई घरमा सानो पुस्तकालय बनाएर वा राम्रा, ज्ञानवद्र्धक पुस्तक ल्याएर राखिदिएर । घरमै पढ्ने वातावरण बनाईदिएर पुस्तकका बारे छलफल गरेर, पुस्तकका विभिन्न प्रेरक प्रसंगका चर्चा र उपयोगिताको बारे जानकारी गराएर पठन संस्कृतिको लागि प्रेरित गर्न सकिन्छ जस्तो लाग्छ ।

यहाँलाई मनपर्ने नेपाली निबन्धकारहरूको नाम लिन पर्‍यो भने दुईचार जनाको नाम लिनोस् न अनि उहाँका निबन्ध किन मनपर्छ ?

सबै निबन्धकार मन पर्छ । जसमा सबैभन्दा मनपर्ने निबनधकार लक्ष्मीप्रसाद देवकोटा हुन् । तारानाथ शर्मा, शंकर लामिछाने भैरव अर्याल र वर्तमानमा कुमारी लामाका निबन्ध मन पर्छ । देवकोटाको स्वच्छन्दत्मकता, बौद्धिकता तारानाथको भाषागत विशेषता प्रकृतिगत चित्रण, लामिछानेको भौतिकता र आधुनिकता र कुमारी लामाको शिल्प र शैलीका कारणले उहाँहरूका निबन्ध मन पर्छ ।

निबन्धका विषयवस्तुले यहाँको मस्तिष्कमा कसरी घण्टी बजाए ?

जीवन जगतका यावत उतार चडाव, गाउँ देश र विश्वमा भएका घटना परिघटनाले धेरै पटक चिमोटे पछि, दुखाए पछि हँसाए पछि अनुभुतिहरू विषय भएर थुप्रिए अनि छानिएर माझिएर निबन्धमा अवतरित भएका हुन् ।

अन्त्यमा खुल्ला प्रश्न मन लागेको जवाफ दिन सक्नुहुन्छ ।

यौटा सर्जकले धेरै मेहनत गरेर पुस्तक प्रकाशन गरेको हुन्छ । सर्जकका लागि पाठक नै मार्गदर्शक र प्रेरक माध्यम हुन्छ्न । पाठकको खवरदारीले लेखकलाई लेखनमा सचेत बनाउँछ । यही सचेतना र प्रेरणका लागि सम्पूर्ण पाठकहरूमा मेरा निबन्ध पढेर उचित सुझाव सल्लाह दिनुहुनका लागि हार्दिक अनुरोध गर्छु ।

 

प्रतिक्रिया

सम्बन्धित खवर