सर्लाहीको लालबन्दीमा जन्मिएकी सुशीला पौडेलले गीत, गजल, कविता, मुक्तक र आख्यानमा कलम चलाउँछिन् । बुवा फणीन्द्रप्रसाद पौडेल र आमा राधा पौडेलको कोखबाट वि.स २०३८ साल बैशाख १७ गते धर्तीमा पाइला टेकेकी पौडेलले स्नातकोत्तरसम्मको अध्यन गरेकी छिन् । उनका प्रकाशित कृतिहरूमा ‘संसार’ गीति एल्बम, ‘उमंग’ गीति एल्बम, ‘हैसियत’ संयुक्त गजल सङ्ग्रह, ‘ई प्रतिनिधि गजल’ संयुक्त गजल सङ्ग्रह र ‘तृषा’ उपन्यास हुन् । साथसाथै तीन दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् । आधा दर्जनजति साहित्यिक संस्थामा आवद्ध सुशीला पौडेलले पछिल्लोपटक दुईवटा कृति एकैसाथ लोकार्पण गरेकी छिन् । आज उनका विमोचित दुई पुस्तकसँग सम्बन्धित रहेर सेतोमाटोका लागि जनक कार्कीले गरेको वार्ताको सारसंक्षेप प्रस्तुत गरेका छौँः

हालसालै यहाँले दुईवटा कृति ‘खुशीबिनाको मुस्कान’ (गजल सङ्ग्रह) र ‘मुक्तक मनुषी’ (मुक्तक सङ्ग्रह) एकैपटक लोकार्पण गर्नुभयो । दुईवटा कृति एकैपटक विमोचन गर्न सजिलो हुने भएर हो वा के कारणले यसो गर्नुभयो ?

सजिलो र अप्ठ्यारो भन्दा पनि धेरै अघिदेखि लेखेका गजल र मुक्तकलाई सङ्ग्रहका रूपमा ल्याउनुपर्छ भन्ने लाग्यो । प्रकाशकसँग सल्लाह गर्दा दुईओटा नै गरौं भनेर आग्रह गरेँ उहाँले हुन्छ भनेपछि सोही अनुरुप तयारीमा लागेँ ।

मुक्तकप्रति यहाँको लगाव अत्याधिक देखिन्छ । फेसबुकमा पनि हरेक शुक्रबार मुक्तक पोस्ट गर्नुहुन्छ । यहाँलाइ मुक्तक विधा मन पर्नुको कारण ?

मुक्तक लेखन मेरो लेखनयात्राको कान्छो विधा हो । मुक्तकको पूर्णता नै यसतर्फको आकर्षण हो । यसको सम्प्रेषण शक्तिले गर्दा थोरैमा धेरै भन्न सकिने र मानिसको मनमा छिट्टै प्रभाव पार्ने भएकाले मलाई मन परेको हो ।

पछिल्लो समय गजलप्रति नयाँ पुस्ताको आकर्षण देखिन्छ । गजललाई लिएर विवादहरू पनि भइरहेका छन् । यहाँका गजल मुक्त छन्द हुन्छन् कि बहरमा बाँधिएका हुन्छ्न र यो विवादबारे के भन्नुहुन्छ ?

माध्यमिक कालदेखि नेपाली साहित्यमा भित्रिएको गजल विधा लोकप्रिय विधाका रूपमा स्थापित भइसकेको छ । नयाँ पुस्ता झनै आकर्षित छन् ।

म मुक्तलयमा गजल लेख्छु । गजलमा पछिल्लो समयमा शास्त्रीय छन्द बहरमा लेख्ने र मुक्तलयमा लेख्नेका बिचमा द्वन्द्व देखिएको छ यसो हुनुमा एउटाले अर्कोको उपस्थित र अस्तित्वलाई स्वीकार गर्न नसक्नु हो जस्तो लाग्छ । सिर्जना पाठक तथा स्रोताको मायामा जीवन्त बन्छ त्यसैले लेख्नु नै ठूलो कुरा हो भन्ने मान्यतालाई सारथी बनाएकी छु मैले चाहिँ ।

यहाँका गजल र मुक्तकमा कस्ता विषयले स्थान पाएका छन् ?

म सिर्जनामा प्रायः समसामयिक विषय नै लेख्छु। यथार्थ र कल्पनाको समिश्रण नै मेरा सिर्जनाका विषय हुन् ।

यहाँको हृदयमा काव्यले कसरी र कहिलेदेखि डेरा जमायो ?

सानै उमेरदेखि पाठ्यपुस्तकमा भएका कविता पढ्दा र रेडियो नेपालमा बज्ने गीत कविता सुनेर बुझ्ने भएदेखि नै यसले हृदयमा डेरा जमायो । यही अहिले जीवनको अभिन्न अङ्ग भएको छ र पहिचान बनेको छ ।

कुनै पनि सर्जकले एकै पटक दुईवटा जीवन बाँचिरहेको हुन्छ भनिन्छ । ऊ भौतिक रूपमा जहाँ भए पनि हृदयमा एउटा काव्यधारा बगिरहेको हुन्छ । यहाँको आन्तरिक काव्यिक संसार सँगसँगै कसरी हिँडछ ?

भौतिक जिम्मेवारी पूरा गर्दै गर्दा आन्तरिक रूपमा सिर्जनाले उथलपुथल पारिरहेको हुन्छ । मनको भावलाई मनमै भण्डारण गरेर अनुकूल समयमा लेख्न बस्छु । यसरी नै तालमेल मिलाइरहेकी छु ।

यहाँले गीत पनि लेख्नुहुन्छ । विभिन्न चलचित्रका लागि पनि गीत पनि लेख्नुभएको छ । गीत, गजल र मुक्तक यिनीहरूमा खास भिन्नता के पाउनुहुन्छ र कुन विधामा बढी खुल्न सके जस्तो लाग्छ ?

विधागत भिन्नता त रहन्छ नै त्यसका अलावा विषय ,भाव, प्रस्तुति पनि फरक हुन्छ । चलचित्रमा गीत लेख्दा प्रायः चलचित्रको विषय वा कथाको मागअनुसार लेख्नुपर्ने हुन्छ । अन्य रचना स्वतन्त्र भएर लेख्न पाइन्छ । सबै विधामा सकारात्मक प्रतिक्रिया पाइरहेकी छु ।

प्रतिक्रिया कस्तो पाइराख्नु भएको छ ?

सबैको एकदमै सकारात्मक प्रतिक्रिया पाइरहेकी छु । त्यसैको कारण हुनुपर्छ निरन्तर लेख्नुपर्छ मैले भनेर हौसिएकी छु ।

आजभोलि लेख्नुभन्दा बढी समस्या पुस्तक प्रकाशन गर्ने कुरामा देखिन्छ, यहाँको अनुभव कस्तो रह्यो ?

आर्थिक हिसाबले लेखन सुरक्षित भइसकेको छैन ।लगानी गर्ने वातावरण पनि बनिसकेको छैन । राम्रो लेख्न सकियो भने प्रकाशक पाइन सक्छ । मेरा तीन पुस्तक शिखा बुक्सले प्रकाशित गरिदिएकाले मैले व्यक्तिगत रूपमा भने खासै समस्या भोग्नुपरेको छैन ।

कहिलेकाही लेखकलाई एउटा मोडमा आएर वितृष्णा पनि हुन्छ, मैले किन लेख्ने भनेर । यहाँलाई यस्तो भएको छ र यहाँले किन लेख्छु जस्तो लाग्छ ?

मैले धेरै अपेक्षा राखेर लेखन यात्रा सुरु नगरेको भएर होला मलाई आजको मितिसम्म वितृष्णा आइसकेको छैन ।

अरुका लागि लेख्ने कि आफ्ना लागि लेख्ने ?

लेखक द्रष्टा पनि हो । स्रष्टा र द्रष्टा दुवै भएकाले आफ्ना लागि र अरुका लागि लेख्नुपर्छ भन्ने लाग्छ । लेखकले सामाजिक उत्तरदायित्व वहन गर्न पछि हटनु हुँदैन ।

यहाँलाई एकदम मनपरेको केही श्रष्टा हुनुहुन्छ जसको लेखनीबाट निकै प्रभावित हुनुभएको छ यदि छ भने कुराले बढी प्रभावित गर्‍यो यहाँलाई ?

थुप्रै हुनुहुन्छ । गीत लेखनमा डा. कृष्णहरि बराल, एकनारायण भण्डारी विशेष मन पर्छ । उहाँको विषयवस्तुको चयन र प्रस्तुतीकरण ज्यादै मन पर्छ । उपन्यासमा ध्रुवचन्द्र गौतमको लेखनबाट प्रभावित छु । त्यसैगरी विशेश्वर प्रसाद कोइराला, भूपी शेरचन, माधवप्रसाद घिमिरे र पारिजात पनि मलाई मनपर्ने लेखक हुन् ।

एउटा मुक्तक र गजलका केही मनपरेका शेर यहाँ राख्न मिल्ला ?

हुन्छ ।

मुक्तक

मुखले मात्रै ठिक्क भलो चिताउने कोही हुन्न
नदेखी नाफा एकैपल बिताउने कोही हुन्न
लड्नु पर्छ एक्लै युद्ध जिन्दगीको मैदानमा
हारेर आफू अरुलाई जिताउने कोही हुन्न ।

गजल

खुसीबिनाको मुस्कान अब के गर्नु
लालीबिनाको विहान अब के गर्नु

भाग लाउने चलन यस्तो चल्यो कि
शिरविनाको सिरान अब के गर्नु

जुन निभेको रातमा घामको टुकी बाल्ने
बैसविनाको जवान अब के गर्नु (तीन सेर मात्रै)

अन्त्यमा एउटा स्वतन्त्र प्रश्न जसमा यहाँले मनलागेको कुरा लेख्न सक्नुहुन्छ ।

गीत, गजल, कविता ,मुक्तक हुँदै उपन्याससम्म आइपुगेकी छु ।सबैको माया ,स्नेह ,खबरदारी प्राप्त भइरहोस् ।नेपाली भाषा साहित्यलाई सबैले माया गरौं ।अझै अब त संरक्षण नै गरौँ भन्छु । मेरा कुरा राख्ने मौका दिनुभयो सेतोमाटो परिवारलाई धन्यवाद ।

प्रतिक्रिया

सम्बन्धित खवर