आख्यानकार नुमेश घर्ती मगर करिब एक दशकदेखि साहित्यमा कलम चलाइरहेका छन् । डायरीमा आत्मकथा लेखनबाट साहित्य यात्रा सुरु गरेका उनी पछिल्लो समय आख्यान लेखनमा सक्रिय छन् । अहिले उनी समुदायको कथा र उपन्यासमा कलम चलाउँछन् । उनको ‘बिर्सिएका सत्य’ उपन्यास (२०७४)मा सांग्रीला बुक्सबाट प्रकाशन भइसकेको छ । त्यस्तै, उनको पितृसत्तात्मक सामाजिक संरचना भत्काउन संघर्षरत प्रगतिशील महिला मुक्ति उपन्यास प्रकाशनको तयारीमा रहेको छ। आजको आँगनमा नेपाली साहित्यका समसामयिक विषयमा मनु विद्रोहीले गरेको भलाकुसारीको सम्पादित अंश यस्तो छः

साहित्यमा लाग्ने प्रेरणा कहाँबाट मिल्यो ?

एकजना लेखकले भन्नुभएको थियो “प्रतिभा प्रयासबाट जन्माउने हो जन्मँदै कोही पनि प्रतिभा लिएर आएको हुँदैन । लेख्न सुरु आफ्नै कथाबाट गर्नुपर्छ ।,” मलाई उहाँको भनाइले मन छोयो र कथा लेख्न थालेँ आफ्नै ती तिता-मीठा अतीतहरूबाट ।

तपाईंको विचारमा साहित्य के हो ?

साहित्य समाजको दर्पण हो यसमा दुई मत छैन । किनकि समुदायकै घटना÷विषयवस्तु लेखिन्छन्। साहित्य सुन्दर शब्दको कला हो । साहित्य आफूले समाजलाई केही भन्न चाहने विचारको माध्यम पनि हो ।

कथाभन्दा उपन्यास धेरै बिक्री हुने गर्छ । कथा एक बसाईमै पढ्न सकिन्छ तर पनि उपन्यासका तुलनामा कथाका किताब पनि कम प्रकाशन भैरहेका देखिन्छन् । कतिपय कथा त उपन्यास जसरी सुरुवात गर्ने र कविता जसरी छोटोमै अन्त्य गरिदिने गरेको पनि पाठकको आरोप छ । यो सत्य हो भने कथाकारको भूमिका के हो ?

पाठकको आरोप लेखकले गम्भीर रूपमा लिनुपर्छ भन्ने मलाई लाग्छ । फेरि दुई व्यक्ति हुनु भनेकै दुई अलग विचार÷रुचि पनि हो । त्यसैले एक पाठकलाई मनपर्ने कथा अर्का पाठकलाई मन नपर्न सक्छ । खास गरेर कथामा सीमित पात्र हुन्छन् जसले गर्दा कथाको उपकथा हुँदैन र एक बसाइँमा पढेर सकिने खालका हुन्छन् । तर, पाठकले गुनासो गरेजस्तो लामा कथा बजारमा आएका छन् । त्यसलाई कथा भन्ने कि उपन्यास साँच्चै अन्योल छ ।

बिक्रीको तुलनामा त भन्न सक्दिनँ तर प्रकाशनमा उपन्यासभन्दा कथा कमै रहेको साँचो हो । पछिल्लो समयमा पठनीय कथा छापिएका पनि छन्, यो राम्रो कुरा हो । नेपाली साहित्य जगतमा एउटा कमजोरी के देखियो भने बोल्नेको खरानी बिक्ने नबोल्नेको पिठो पनि नबिक्ने उखानजस्तै भएको छ । यसो हुँदा राम्रा कृति नेपथ्यमा पर्ने खतरा बढी हुन्छ । हल्लाको भरमा पाठक ठगिन्छन् ।

पछिल्लो समय उपन्यास लेख्ने उपन्यासकारहरू असाध्यै धेरै छन्, कता कताबाट प्रकाशन पनि भएका छन् तर पाठकले मन पराउने उपन्यास औँलामै गनेर भन्न सकिने मात्र छन् । उपन्यास भन्ने विधा लहडमै लेखिदिने विधा हो र ?

एक हिसाबले साहित्य प्रेमीहरू बढ्नु राम्रो कुरो हो । यसरी पठन संस्कृतिको विकास हुँदै जान्छ । तर, लेख्नकै लागि लेखेर बजारमा उपन्यास थुपार्नाले पाठक साँच्चै ठगिन्छन् यो राम्रो कुरो होइन । उपन्यास लहडमा नभइ के विषयमा लेख्ने र लेखकले लेखेको कृतिबाट समाजले कस्तो सन्देश दिन्छ भन्नेतिर गम्भीर ध्यान दिन आवश्य हुन्छ ।

किताब लेखेपछि प्रकाशकबाट ठगिने गरेको गुनासो छ । लेख्नु पनि उल्टै छाप्नलाई पनि दिने र किताब बेचेर लेखकलाई पारिश्रमिक पनि नदिने प्रकाशकहरू छन् भन्ने सुनिन्छ । के भन्नु हुन्छ ? कसको कमजोरी हो ? के गर्नुपर्ला ?

मलाई लाग्छ नेपालीहरूको बानी कस्तो छ भने एउटाले जे गर्छ अर्कोले त्यही गर्नु पर्छ । साहित्यमा पनि त्यो लागु भएको देखिन्छ । साहित्य प्रेमीले साहित्य लेख्नै पर्छ भन्ने छैन लेख्नु हुँदैन भन्ने पनि होइन । अहिले नेपालमा के देखिन्छ भने उसले किताब छाप्यो त मैले पनि छाप्नै पर्छ चाहे त्यो उत्कृष्ट होस या नहोस्सँग मतलब हुँदैन जसकारण स्वम् लेखकले नै प्रकाशकलाई रकम तिरेर छाप्न अनुरोध गरेको घटना पनि सुनिन्छ ।

यसमा दुइ कुरा हुन सक्छ एक, उत्कृष्ट कृति हुँदा पनि प्रकाशकले छाप्न यसकारणले नमानेको हुनुपर्छ कि लेखक नयाँ त्यो पनि कहीँ दुर्गम क्षेत्रको कसैसँग चिनजान नभएको । तर, लेखकलाई त कृति छाप्नै पर्ने छ भने रकम दिएको हुनुपर्छ । दुइ, किताब त्यत्ति ओजनदार नभएको तर उसका फ्यानहरू चैँ धेरै भएका जसकारण लेखकले रकमै तिरेर छाप्न लगाउने सम्भावना बढी हुन्छ । पारिश्रमिक नपाएका गुनासो पनि सुनिन्छ तर यसमा लेखक र प्रकाशकबीच सम्झौता के थियो भनेर जान्नुपर्ने हुन्छ ।

सामाजिक सञ्जालमा चर्चाले उचाइमा पुगेको पुस्तक पढ्दा त्यत्तिकै उत्कृष्ट र स्तरीयता पाउनुभएको छ ?

हो, सञ्जालतिर चर्चा र हल्ला बढी भएका कयौँ पुस्तक स्तरीय हुँदैनन् । तर, चर्चामा पुर्याइदिने पत्रकार, समीक्षक र हल्ला मच्चाइदिने आफ्नै मान्छे हुन्छन् जसकारण आम पाठक ठगिन्छन् ।

साहित्यलाई समाजको ऎना मानिन्छ,कस्ता कस्ता विषयमा जोड दिने हो भने समाज परिवर्तनको लागि सहयोग पुग्ला ?

पक्कै पनि साहित्य समाजको ऐना त हो तर आँसुको कथा दुस्खको कथा लेखेर मात्रै समाज परिवर्तन हुन सक्दैन । बरु ती दुःखका कारण पत्ता लगाइ निराकरणतिर लेखकको कलम चल्नु पर्छ । उदाहरणका लागि पितृसत्ताले शोषण गर्दै आएको महिलालाई कसरी मुक्ति दिन सकिन्छ ?

महिलाको थिचोमिचो लेखेर मात्रै पुग्दैन त्यो थिचोमिचोका कारण र त्यसबाट मुक्त हुन कुन कदम चाल्नुपर्ला जस्ता विषयतिर विशेष ध्यान दिनु पर्छ । समाज परिवर्तनका लागि लेख्छु भन्ने तर सधैँ मूल पात्र पुरुष मात्रै देखाउने । महिलालाई दोस्रो दर्जामा राख्ने । बिम्ब दिँदा पनि महिलालाई तल्लो स्तरमा राखेर लेख्ने लेखकबाट समाज परिवर्तनको आसा गर्न सकिँदैन । मेरो विचारमा त साहित्य अधिकांश प्रगतिशील हुनुपर्छ ।

साहित्यमा दीगो विकासका लागि राज्यस्तरबाट कस्तो कदम चालिदिए राहत महसुस गर्न सकिएला ?

राज्यले चासो दिनु पर्छ आजसम्म त दिएको आभास भएको छैन । कमसेकम राम्रो लेखक लेखेकै भरमा बाँच्न सक्ने वातावरण बनाउन राज्यले कदम चाल्नु पर्छ ।

तपाईंलाई भन्न मन लागेको मैले सोध्न छुटाएको केहि छ कि ?

भलाकुसारीका लागि तपाइँलाई धेरै-धेरै धन्यवाद । म ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादमाथि विश्वास गर्छु। जसकारण मानवका दुःख पूर्वजन्ममा निर्धारित नभइ यसै जन्ममा भौतिक परिस्थिति अनुरूप भएको हो । मानव-मानवबाटै शोषण भइरहेको व्यवस्था परिवर्तन गर्न सकिन्छ । पितृसत्ता, जात व्यवस्था ढाल्न सम्भव छ । त्यसका लागि अध्ययन आवश्यक हुन्छ ।

अध्ययनबाटै विचार निर्माण र संघर्ष सुरु हुन्छ । अध्यनका लागि साहित्य प्रेमी हुनु पर्छ । साहित्य प्रेमीले नै समाज बुझ्न सक्छ । बुर्जुवा वर्ग तथा धर्मका ठेकेदारले भौतिकवादी (नास्तिक)लाई निकै गाली गर्ने गरेका छन् । भ्रम फैलाइरहेका छन् । तर, वास्तवमा भौतिकवादीहरू चेतनशील, प्रगतिशील, मानव शोषण मुक्त समाज चाहन्छन् । भौतिकवादीहरू प्रेमिल हुन्छन् । म त भन्छु सबै मानव जाति भौतिकवादी हुनु पर्छ । भौतिकवादीले कसैलाई कुनै पनि बहानामा शोषण गर्दैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर