काठमाडौँमा जन्मिएकी दिपा मेवाहाङ राई अहिले कोरियामा बसेर कर्म गरिरहेकी छिन् । कविता र कथामा विशेष कलम चलाउने दिपा इतर अभियानको अभियन्ता समेत हुन् । दिपाको यसअघि ‘इतर कविता’ सयुक्त कविता सङ्ग्रह र ‘छकालै’ संयुक्त कथा सङ्ग्रहमा उपस्थिति जनाइसकेकी छिन् । हाल उनले एकल कविता सङ्ग्रहको रूपमा ‘यादको सन्दुक’ प्रकाशित भएको छ । सोही कविता सङ्ग्रहको सेरोफेरोमा रहेर आजका आँगनका लागि सेतोमाटोका सहकर्मी जनक कार्कीले गरेको पुस्तक वार्ता यस्तो छः
वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा हुनुहुन्छ। घरदेखि टाढा हुनु भनेको याद उत्पादन गरिरहनु हो र त्यहीँ यादलाई सन्दुकमा जम्मा गरिरहनु पनि हो । ‘यादको सन्दुक’ कविता सङ्ग्रह लिएर आउनुभएको छ, यो सन्दुकमा कस्ता कस्ता यादलाई सङ्कलन गर्नु भएको छ ?
हजुर, म वैदेशिक रोजगारको सिलसिलामा बिगत ५ बर्षदेखि दक्षिण कोरियामा छु । घरपरिवार, आफन्त, साथीभाइ, देश सबै सबैबाट टाढा छु । यस्तोमा मसँग साथमा रहने भनेकै ती सबैका याद हुन् । ती सबैको यादलाई ‘यादको सन्दुक’ भित्र सकेसम्म समेट्ने कोसिस गरेको छु ।
विदेशमा सबैभन्दा महत्त्वपूर्ण समय हो र यसलाई व्यवस्थापन गर्न चुनौतीपूर्ण पनि हुन्छ । समय अभावको दैनिकीको अलावा पनि कसरी सिर्जनालाई समय निकालिरहनु भएको छ ?
परदेशमा समयलाई थोपा थोपामा सञ्चय गर्नु पर्छ । हामी यहाँ (कोरियामा) कामदारको रूपमा आएका हौँ र पहिलो प्राथमिकता कामलाई दिनु पर्छ । बाँकी सबै कुरा दोस्रोमा पर्छन् । त्यहीबीच सञ्चय गरिएको थोरै समय यही लेखनलाई दिएकी छु ।
यहाँ इतर आवाज समूहको अभियन्ता पनि हुनुहुन्छ, इतर आवाजको संयुक्त कविता सङ्ग्रह पनि प्रकाशित गरिसक्नु भएको छ, इतर आवाज अभियानको बारेमा संक्षिप्त परिचय खुलाइदिनोस् न ?
हजुर, २०१६ मा स्थापना भएको इतर आवाज साहित्य समाज (अहिले इतर अभियान) लामो समय ( लगभग ३÷४ बर्ष) लगाएर तयार पारिएको थियो । ‘इतर कविता’ जसमा विश्वभरी छरिएर रहेका विभिन्न जनजाति कविहरू ३४१ जनालाई समिटिएको छ । अँ बिशेषत ‘इतर’ भन्ने बितिक्कै ‘फरक’ शब्द बुझाउँछ ।मुलधारको साहित्य भन्दा पृथक साहित्यको खोजी, आदिवासीहरूको सौन्दर्य, पहिचान, सीमान्तकृत वर्ग समुदायको आवाजलाई बुलन्द रूपमा राज्य सामु पुर्याउने एक अभियान हो । जसमा अहिले हामी १० जना अभियान्ता साथै छौ ।
यहाँ प्राय कोमल कविता, मानवीय संवेदनाका विषय र ससाना कुराहरूलाई काव्यिक प्रस्तुति दिन खप्पिस हुनुहुन्छ । यहाँले कविता लेख्दा कस्तो कुरामा ध्यान दिनुहुन्छ र कस्ता विषयले यहाँलाई कविता लेख्न प्रेरित गर्छ ?
कस्ता बिषय छान्ने या कस्ता कुरामा ध्यान दिने भन्दा पनि जब मलाई कुनै घटना या परिस्थितिले अति नै मनमा छुन्छ । तब म अलिकति भए पनि मनलाई शान्त बनाउनलाई कविता लेख्छु । सायद मनैबाट लेखिएको कविता भएर पनि पाठकको मन छुन पुगेको हुनसक्छ ।
तपाईं कोरियामा हुनुहुन्छ, कविता सङ्ग्रह सार्वजनिक पनि गर्नु भयो, अहिले जमाना प्रचारको र हल्लाको छ । कोरियामा भएकोले विभिन्न विमर्श कार्यक्रम र स्वयं उपस्थित भएर प्रचारप्रसार गर्न कठिन नै हुन्छ । कविताप्रेमी माझ कविता पुर्याउन के कस्तो कसरत गरिरहनु भएको छ ?
मान्छेहरू बिचको सम्बन्धलाई आत्मिय बनाई राख्न कुनै कफि सप या कतै भेटेर घण्टौ गफ गर्नुपर्दैन । साहित्यमा एउटा सर्कल बनेको छ । त्यहाँ भित्रमा कति जना त हामी भौतिक रूपमा भेटिएका पनि छैनौं । तर शब्दहरूमा भने भेटिरहन्छौ । गत हप्ता थापा गाउँस्थित मण्डला थिएटरमा ‘यादको सन्दुक’ बिमोचन भयो मेरो उपस्थिति बिना नै । जसमा फेसबूकको पोस्ट देखेर मात्रै मेरो कलमलाई माया गर्नेहरूले धेरै जना उपस्थित भइदिनु भयो । मेरा कविता मनपराउने पाठकले खोजेर पढ्नुहुनेछ भन्ने विश्वास छ ।
यो संसारमा यदि कविता नभएको भए कस्तो हुन्थ्यो होला ?
म आफ्नै कुरा गर्छु । कविता भएरै आज म बाँचिरहेको छु । नभए…
संसारभर नै कविता लेख्ने जमात एकदम कम छ । यहाँलाई कविता लेख्नुपर्छ भन्ने र कविता लेख्ने हुटहुटी कसरी भयो ?
किताब पढ्ने सुरुवात लगभग बचपन देखिको हो । पहिला फिक्सन धेरै पढेँ ।कविताका किताब कमै मात्रामा पढ्थेँ । फिक्सन पढिरहँदा मनमा हुटहुटी नै चल्थ्यो । कालन्तारमा एउटा उपन्यास चै लेखि छोड्छु । जब द. कोरिया आएँ । एउटा साहित्यिक सर्कल (इतर अभियान)सँग भेट भयो । बिस्तारै कविता पनि लेख्नु पर्छ भन्ने कुरा मनमा आयो । त्यस पछि कविता लेख्न सुरु गरेँ ।
कोरियामा निकै सक्रिय साहित्यकार देखिनुभएको छ । पछिल्लो क्रममा पनि कोरियाबाट धेरै कृति प्रकाशित भएका छन् । तपाईंहरूको साहित्यिक समूहको मेलमिलाप पनि लोभलाग्दो देखिन्छ । यो एकता, यो सद्धाव कसरी कायम भइरहेको छ ? जब कि नेपालमा यस्तो किसिमको साथ सहयोग देखिदैन ।
दिनहुँजसो एकै किसिमको दैनिकी , भागदौड , विभिन्न तनाबहरूसँग जुधिरहेका हुन्छौँ । त्यसबाट आफैलाई छुटकारा दिलाउन पनि साहित्यिक जमघट गर्छौँ । वर्तमान नेपाली साहित्यको अवस्था आदि इत्यादीको बारेमा कुरा गर्छौ । अबको नेपाली साहित्यलाई कसरी अगाडि बढाउन सक्छौ भन्ने योजना पनि बनाईरहेका हुन्छौँ। जब कुनै मान्छेमा ‘मेरो’ नभए ‘हाम्रो’ भन्ने कुरा मनै बाट लिन्छौँ, यो एकता सद्भाव भन्ने कुरा आफै आउँछ ।
‘यादको सन्दुक’ सङ्ग्रहमा कहिलेदेखि लेखिएका कविता सङ्ग्रहित गर्नु भएको छ ?
पहिलो कुरा त म साहित्यमा नयाँ नै छु भन्दा पनि हुन्छ । मैले लेख्न थालेकी धेरै भएको छैन । चार पाँच वर्षयता लेखिएका कविता यस सङ्ग्रहमा सङ्ग्रहित छ ।
प्रायः विदेशलाई दुःखको विम्बको रूपमा कवितामा प्रयोग गरिन्छ, यहाँले परदेश भोगाइका विम्बलाई दुःख मात्र बनाएर प्रस्तुत गर्नुभएको छ कि परदेशलाई अवसरको रूपमा पनि देखाउनु भएको छ ?
एउटा कवि भैसकेपछि आफूले भोगिरहेको दैनिकी, आफू बाँची रहेको परिवेशलाई मात्रै लेख्दैन । कम्तीमा पनि उसले आज र भोलि पनि लेख्न सक्नु पर्छ । मेरो अवस्था म परदेश भएको कारण पनि पाठकलाई यो भ्रम हुनसक्छ । परदेशलाई समेटेर लेखिएका कविता धेरै होलान् भन्ने । तर कविता सङ्ग्रह पुरै पढिसक्दा पाठक यो भ्रम बाट निस्किसकेको हुनेछ ।
यहाँले केही समय पहिला एउटा कविता लेख्नुभएको थियो, जसमा मान्छेलाई यन्त्रको विम्ब बनाउनु भएको थियो, त्यो कविता निकै चर्चित पनि भयो । मान्छेको जीवन यान्त्रिक हुँदै जानुको कारण के देख्नुहुन्छ ?
हजुर , ‘मेसिनको सहर’ शीर्षकको कविता थियो त्यो । चर्चित टेलिभिजनकर्मी रुपेश श्रेष्ठले वाचन गरेर टुइटरमा राख्नु भएको थियो । उहाँकै तर्फबाट पनि धेरै स्रोता, पाठक सम्म पुग्न सफल भयो । फेरि अहिलेको वर्तमान परिस्थिति हेर्ने हो भने मान्छे भित्र संवेदनात्मक र भावनात्मक वरुप नहुने हो भने यन्त्र र मान्छेमा कुनै फरक छुटिदैँन थियो । यहिँ मैले थोरै खुसीको पनि कुरा जोडिहालेँ । मेसिन कविता संगीतबद्ध भएर छिटै बजारमा ल्याउने तयारी पनि हुँदैछ ।
यहाँ मनपर्ने तीनवटा कविता ?
थुप्रै मन पर्ने कविको कविताको लिस्ट मेरो नोटमा सुरक्षित छन् । कसरी तीन वटा मात्रै कविता भनौँ ?
यहाँलाई मन परेको पाँचजना कवि ?
पाँचजना भन्दा धेरै हुनुहुन्छ । त्यसैले यो पनि बताउन असमर्थ भएँ ।
अन्त्यमा स्वतन्त्र प्रश्न यसमा तपाईंले मनलागेको उत्तर दिन सक्नुहुन्छ
धेरै पहिला देखि अन्तरवार्ता गरौँ भन्नू भएको थियो । समय प्रतिकुल बनी रह्यो । त्यसको लागि माफी चाहेँ । अन्त्यमा आफूलाई मनमा लागेको कुरा पाठक सम्म पुर्याउने मौका दिनु भएकोमा जनकजी लगायत सबैलाई धन्यवाद ।
प्रतिक्रिया
-
४
