पालुङ्टार नगरपालिका–८, गोरखाकी डा. अम्बिका अर्याल नेपाली साहित्यमा परिचित नाम हो । पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार काठमाडौँमा उपप्राध्यापक रहेकी डा. अर्यालले नेपाली साहित्यमा पिएच डी. गरेकी छन् । हाल बुढानिलकण्ठ काठमाडौँमा बस्दै आएकी साहित्यकार अर्यालले विशेषगरी समालोचनामा कलम चलाएकी छन् । उनको नारीवादी सिद्धान्त र औपन्यासिक विश्लेषण (समालोचना, २०६९), उत्तरआधुनिक साहित्य ः सिद्धान्त र विश्लेषण (सहलेखन, समालोचना, २०६९), विश्व नारी साहित्य सम्मेलनका कृति (समालोचना, २०७२), अनेक विधा अनेक दृष्टि (समालोचना, २०७५(, अविश्रान्त (उपन्यास, २०७५)लगायत रहेका छन् भने उपन्यास, कथासङ्ग्रह, गजलसङ्ग्रह, कवितासङ्ग्रह, समालोचना आदि प्रकाशोन्मुख रहेका छन् । आजको आँगन अङ्कमा सेतोमाटो डटकमका लागि साहित्यकार डा. अर्यालसँग मनु विद्रोहीको भलाकुसारी यस्तो छः
साहित्ययात्रा कहिलेदेखि सुरु गर्नुभयो ?
मेरो साहित्य लेखन बाल्यकालबाटै सुरु भएको हो तर सङ्कोची स्वभावकी भएकीले होला कसैलाई देखाउनभन्दा लुकाउनतिर लागेँ, त्यसैले धेरै त च्यातेर मिल्काएँ, कतिपय चाहिँ बडो जतनले लुकाएर राख्ने हुँदा झन् हराए । पहिलो लेखन यही हो भन्ने याद छैन तर १२ वर्षको उमेरमा कक्षा आठमा पढ्दै गर्दा मेरो देश शीर्षकमा एउटा कविता लेखेर कक्षामा शिक्षकको अगाडि सुनाएको भने याद छ । तर पहिलो प्रकाशित रचना भने बल्झिएर दुख्न थाले (२०६०) शीर्षकको गजल हो ।
कुन विधाबाट साहित्यमा प्रवेश गर्नु भयो ?
कविता विधाबाट नै साहित्यमा प्रवेश गरेकी हुँ ।
साहित्यमा लाग्ने प्रेरणा कहाँबाट मिल्यो ?
खासगरी हाम्रो घरमा साहित्यिक माहोल नै थियो । हजुरआमा रामायण र महाभारतका ठेली लिएर लय हालीहाली वाचन गरिरहनुहुन्थ्यो र हामी नजिक पर्नेवित्तिकै लयवद्ध वाचन गर्न लगाइहाल्नुहुन्थ्यो, बुबा आफैँ फुर्सदको समय लेखनमै व्यस्त रहनुहुन्थ्यो अनि सबै छोराछोरीलाई जम्मा गरेर कतिपय आफूले लेखेका त कतिपय सुनेका लोककथा तथा कविताहरू सुनाउनुहुन्थ्यो । दिदीहरू पनि विभिन्न साथीहरूलाई सायरी लेखेर पठाउने र आफ्ना कपिमा पनि सबै साथीहरूलाई फोटोसहित मुक्तक लेख्न लगाउनुहुन्थ्यो । मैले त्यसो त गरिनँ पढ्नचाहिँ खुब रहर लाग्थ्यो र त्यस्तै लेख्ने प्रयत्न पनि गर्दथेँ । त्यसैले खास कुनै व्यक्तिको प्रभावभन्दा पनि पारिवारिक वातावरणले नै साहित्यमा लाग्ने प्रेरणा मिल्यो ।
तपाईंको विचारमा साहित्य के हो ?
साहित्य कला र विचारको अनुपम सङ्गम हो । यो समाजको विगत, वर्तमान र भविष्यको समेत दर्पण हो । साहित्यले कलात्मक तवरले सकारात्मक परिवर्तनको बिउ रोपेर समाजको हितमा ज्ञानको उत्पादन गर्दछ र यसले शुष्क एवम् पट्यारलाग्दा ठाडा उपदेशभन्दा चित्ताकर्षक शाब्दिक तस्बिरका माध्यमबाट कौतुहलता र उत्प्रेरणा जगाउँदै मनोरञ्जनपूर्ण तवरले सुटुक्क पाठकका विचार बदल्न सक्ने सामर्थ्य राख्नुपर्छ ।
समालोचना न राम्ररी समालोचकले गर्छन् । न पढ्ने पाठकले नै पढ्छन् । समालोचना पढेर पुस्तक पढेँ भन्ने पाठक पनि भेटिन्नन । किन यस्तो ?
बढो सान्दर्भिक प्रश्न गर्नुभयो । अहिले समालोचनामा नातावाद वा गुटको राजनीति हाबी भएको हल्ला जताततै फैलिरहेको छ । तर यसरी निराश भइहाल्नुपर्ने स्थिति छैन । केही समालोचकमा यस्ता प्रवृत्ति होलान् तर धेरैजसो समालोचकले समालोचकीय धर्मलाई चटक्कै बिर्सेर गुणगानका समालोचनाको पछि लाग्न छाडी वस्तुपरक र सन्तुलित समालोचना लेख्ने गरेका छन् । राम्रा पक्षको चर्चा भन्दा नकारात्मक टिकाटिप्पणी छिटो फैलने प्रवृत्तिले यस्तो भएको हो । समालोचनाका पाठक नै छैनन् भन्न भने मिल्दैन । साहित्यका पाठकभन्दा कम छन् भन्नु सान्दर्भिक होला । विश्वविद्यालयमा अनुसन्धान गर्दै गरेका विद्यार्थी तथा प्राज्ञिक वर्गमा समालोचनाको पठनप्रतिको अभिरुचि बढी देखिन्छ । समालोचना पढेर पुस्तक पढेँ भन्ने भन्दा पुस्तक पढेर आफैँ समालोचना गर्ने प्रवृत्ति बढ्न थालेको पो हो कि : अरुले गरेका समालोचनाका आधारमा पुस्तकको मूल्याङ्कन गर्नुभन्दा पुस्तक पढेर समालोचना गर्ने हुनु त झन् सुखद पक्ष हो र यस्तो हुनुपर्छ भन्ने लाग्छ मलाई ।
पछिल्लो समय उपन्यास लेख्ने उपन्यासकारहरू असाध्यै धेरै छन्, कता कताबाट प्रकाशन पनि भएका छन् तर पाठकले मन पराउने उपन्यास औँलामै गनेर भन्न सकिने मात्र छन् । उपन्यास भन्ने बिधा लहडमै लेखिदिने बिधा हो र ?
साहित्यको वर्तमान समय तपाईँले भनेजस्तै उपन्यासमय बन्दै गइरहेको पक्का हो । धितमरुञ्जेल पानी नखाएसम्म तिर्खा नमेटिएजस्तै साहित्यमा उपन्यासले जीवनका समग्र पक्षलाई सरल र सुबोध्य भाषाका माध्यमबाट प्रस्तुत गरी पाठकको जिज्ञासा मेटाउने भएकाले उपन्यास विधा हरेक पाठकको रुचिको विषय बन्दै गइरहेको छ जस्तो मलाई लाग्छ ।
बजारको मागअनुसार उत्पादन त हुनै पर्यो । त्यसैले होला अरु विधामा भन्दा उपन्यास लेखनमा सबैको ध्यान जान थालेको छ र पुराना त छँदै छन् नयाँ सर्जकहरु पनि उपन्यासबाटै उदाउन थालेका छन् । तर उपन्यास त्यति सजिलै लेख्न सकिने विधा भने होइन । यसका लागि धैर्य, तपस्या र चिन्तन चाहिन्छ । शब्दको थुप्रो लगाएर पुस्तकको साइज बढाउँदैमा उपन्यास बन्दैन । यसैले त प्रकाशित सबै उपन्यासहरुले पाठकका मन तान्न सकिरहेका छैनन् । लहडले र चर्चा कमाउने ध्येयले रचिएका उपन्यासले गर्दा नै आज उपन्यासको गरिमा र महिमामाथि यसरी प्रश्न उठ्न थालेको हो ।
किताब लेखेपछि प्रकाशकबाट ठगिने गरेको गुनासो छ । लेख्नु पनि उल्टै छाप्नलाई पनि दिने र किताब बेचेर लेखकलाई पारिश्रमिक पनि नदिने प्रकाशकहरू छन् भन्ने सुनिन्छ । के भन्नु हुन्छ ? कसको कमजोरी हो ? के गर्नुपर्ला ?
यो बढो गम्भीर तर वास्तविक समस्या उठान गर्नुभयो । प्रकाशित पुस्तकबाट केही रकम लेखकलाई दिने सम्झौता गरेका प्रकाशकहरु पनि मदन पुरस्कार विजेता पुस्तकले बाहेक अरु पुस्तकले बजार नै नपाएको भन्दै आफ्नै व्यापार घाटाको बेलिविस्तार लगाउन भुल्दैनन् । अहिले त झनै कोरोनाको महामारीको आरोप लगाउन सजिलो भएको छ, यो कहरले वास्तवमै सबैलाई असहज परिस्थितिमा पुर्याएको त हुँदै हो । तर पनि यो महामारीभन्दा पाँचरसात वर्षअघि प्रकाशित पुस्तकले पनि यही बहाना पाइरहेका छन् अचेल । सच्चा लेखकको मूल्य नै छैन आजकल । कहाँ पारिश्रमिकको कुरा ? कतिपय लेखनबाटै जीविकोपार्जन गर्नुपर्ने बाध्यता भएका लेखकहरूले प्रकाशकसँग केही मुनाफा चाहिँदैन तर प्रकाशन मात्र गरिदेऊ भनी भीख माग्नुपर्ने अवस्था छ । प्रकाशनमा जसले आफैँ लगानी गर्न सक्छ उही मात्र लेखक बन्न सक्ने तीतो सत्य एकातिर छ भने अर्कातिर आफूलाई लेखक भनेर चिनाउन जति पनि लगानी गर्न तयार हुने गुट पनि छ । पैसामुखी बन्दै गएको वर्तमान समाज यस्तैको पछि लागेर कमाउन पल्केको छ । यसमा कसको दोष भनौँ खै ? तर यसले वास्तविक एवम् सबल लेखकका ऊर्जा घटाएर कलम सुस्ताउने अवस्था बनाउने पक्का छ । यसले राष्ट्रकै सम्पत्ति मानिने नेपाली भाषा र साहित्यको शक्तिलाई समेत क्षीण बनाउने भएकाले अबको नयाँ पुस्ता र राज्यले यसतर्फ ध्यान दिनु जरुरी छ ।
सामाजिक सञ्जालमा चर्चाले उचाइमा पुगेको पुस्तक पढ्दा त्यत्तिकै उत्कृष्ट र स्तरीयता पाउनुभएको छ ?
सामाजिक सञ्जालमा चर्चाले उचाइमा पुगेका पुस्तक सबै त नभनौँ, केही त हावाकै भरमा चर्चा गरिएका भेटिन्छन् । उत्कृष्ट एवम् स्तरीय साहित्य कस्ता हुन्छन् भन्ने थाहै नभएका र हालसम्म कसैका साहित्यिक पुस्तक नै नपढेका मानिसले आफूलाई लेखक भनाउन गरेको लगानी र चर्चा परिचर्चा देखेर कहिलेकाहीँ उदेक पनि लाग्छ ।
धेरैको त मेरो गोरुको बाह्रै टक्का भन्ने प्रवृत्ति छ नेपाली समाजमा । अरुले पढेर सुझाव दिनु कता कता, आफैँ आफ्नो पुस्तकलाई उत्कृष्ट दाबी गर्ने र यसका बारेमा जबर्जस्ती प्रचार गराउन जति पनि खर्च गर्न पछि नपर्ने प्रवृत्ति कतिपय लेखकमा अनि प्रकाशकमा समेत देखिन्छ । विज्ञापनका भरमा पुस्तक त बजारमा बिक्री हुन्छन् नै । तर पाठकको हातहातमा पुगेपछि त्यसको मूल्याङ्कन भइहाल्छ नि ।
साहित्यलाई समाजको ऎना मानिन्छ, कस्ता कस्ता विषयमा जोड दिने हो भने समाज परिवर्तनको लागि सहयोग पुग्ला ? साहित्यमा दीगो विकासका लागि राज्यस्तरबाट कस्तो कदम चालिदिए राहत महसुस गर्न सकिएला ?
खासगरी समाज परिवर्तनका लागि लेखिने साहित्य यही विषयमा भनेर तोकिनुभन्दा पनि महिला, जनजाति, उत्पीडित वर्ग आदि जुन विषयमा केन्द्रित भएर लेखिन्छ त्यसमा भएका अँध्यारा पाटा वा नकारात्मक सोच, रुढिवादी परम्परा र अवहेलना तथा विभेद, अन्यायका विरुद्धमा आवाज उठाउँदै न्याय, परिवर्तन र सकारात्मक कदमका पक्षमा लेखिनुपर्छ । यसरी लेखिएका जुनसुकै विषयका साहित्यले पनि समाजलाई मार्गनिर्देश गर्न र समतामूलक समाजको निर्माणमा सहयोगी भूमिका निर्वाह गर्न सक्छ जस्तो मलाई लाग्छ ।
साहित्यमा दीगो विकासका लागि राज्यस्तरबाट विशेष योजना र लगानीको खाँचो छ । कतिपय सरकारी निकायहरूले यसका लागि काम गरिरहेका पनि छन् तर त्यो नितान्त सीमित व्यक्तिको पहुँचभन्दा माथि उठ्न सकिरहेको छैन ।
राम्रा भन्दा पनि हाम्रामा लगानी गरेर राज्यको सम्पत्ति रित्याउने खेलबाट मुक्ति नमिलेसम्म साहित्यमाथि पनि न्याय हुन सक्ने देखिँदैन । यसैले सर्वप्रथम राज्यले साहित्यका क्षेत्रमा लगानी विस्तार गरी दीगो विकासका लागि नीतिनियम र कार्यान्वयन पक्षमा ध्यान पुर्याउनुपर्ने हुन्छ । त्यसपछि साहित्यका क्षेत्रमा गरिएका राज्यको लगानीमा हुने दुरुपयोगप्रति सचेत वर्गको खबरदारी पनि उत्तिकै जरुरी छ ।
तपाईंलाई भन्न मन लागेको मैले सोध्न छुटाएको केहि छ कि ?
खासै केही छैन । साहित्य, समालोचना, प्रकाशन तथा यसप्रति राज्यका दायित्वका सम्बन्धमा मेरा मनमा लागेका कुरा राख्ने अवसर दिनुभयो । यसका लागि आभारी छु ।
प्रतिक्रिया
-
४
