नुवाकोटको भिरकुनामा जन्मिएका सन्तोष सरील विद्यार्थी जीवनदेखि नै साहित्य विधामा कलम चलाए । ५ कक्षा पढ्दा देखि नै कवितामा कलम चलाएका सरील पहिलो पटकको प्रतियोगितामै दोस्रो स्थान हासिल गरे । यसले लेखनमा उर्जा थपेको उनी बताउँछन् । करिब दुई दशकदेखि साहित्यका विभिन्न विधा कविता, गजल, लघु-कथा आदिमा कलम चलाइरहेका सरील हाल शिक्षण पेशामा आवद्ध छन् । उनले केही साता अघि आफ्नो पहिलो कवितासङग्रह ‘मृत्यु उत्सव’ सार्वजनिक गरेका छन् । आजको आँगनमा सोही कविता सङ्ग्रहमा आधारित भएर सहकर्मी जनक कार्कीले गरेको पुस्तक वार्ताको सारांश यस्तो छः
ओशोले धेरै प्रवचनमा मृत्युलाई उत्सवको रूपमा मनाउन पर्ने बताएका छन्, तपाईंको कविताकृति ‘मृत्यु उत्सव’ले मृत्युलाई कसरी र किन उत्सव बनाउन पर्छ भन्ने मान्यता राख्छ ?
मृत्युलाई कसरी हेर्ने त्यो हाम्रो दृष्टिकोणमा भर पर्छ। अलिअलि अध्यात्मिक चेत नभई मृत्युलाई उत्सव को रुपमा स्विकार्ने हिम्मत जुट्न सक्दैन। यो ठूलो विषय पनि होइन। उर्जाको रूपान्तरण न हो।
‘मृत्यु उत्सव’ कविता सङ्ग्रहमा के कस्ता कविता समेटिएको छ ?
यसभित्र प्रायः समाजका सबै पक्ष र क्षेत्रका विषय समेटिएका छन् । मलाई जे कुराले छोएको छ अरुलाई पनि छुन सक्छ भन्ने मान्यता मा बिश्वास राख्छु ।
जस्तो कि प्रेम/अध्यात्म/जीवन भोगाई/दुःख/रहर । समग्रमा एउटा नेपाली समाजको चित्रण।
प्रायः सोधिने प्रश्न हो कविता के हो ? यसको उत्तर कविपिच्छे फरक आउने गर्छ, तपाईंको विचारमा कविताले हाम्रो जीवनमा के कस्तो महत्व राखेको हुन्छ र कविता किन लेखिन्छ्न् ?
सबैभन्दा पुरानो बिधा कविता हो। एउटा कवितामा सयौं उपन्यासको बिज हुन्छ। सटिक रूपमा कुनै पनि विषयमाथि प्रहार गर्ने वा काल्पनिकता प्रस्तुत गर्ने माध्यम कविता हो। सायद यहि कारण कविताको आफ्नै छुट्टै महत्व छ र लेखिइरहेछन् / लेखिरहेका छौ ।
तपाईंलाई कविताले कहिलेदेखि र कसरी चिन्यो, कविता लेख्ने बानी कसरी बस्यो ?
सायद अदृश्य शक्ति को उद्देश्य मबाट कविता लेखाउनु थियो। त्यसैले पाँच कक्षा पढ्दादेखि नै कविताले तान्यो। मलाई चिन्यो÷चिनायो। मलाई जितायो। अब आदत बनेको छ।
के कुराले तपाईंलाई कविता लेख्न प्रेरित गर्छ ?
कुनै पनि विषय/घटनाले मस्तिष्कमा हानेपछि कहिले तत्कालै र कहिले महिनौंपछि त्यो कविता बनेर निस्कन्छ।
वर्तमान नेपाली साहित्यमा कविता अवस्था कस्तो देख्नुभएको छ ?
नेपाली साहित्यमा कविताको स्थान उच्च थियो र छ। बस् ! मानिसको दिमागमा कविता कठिन र बौद्धिक बर्गको लागि हो भन्ने भ्रम छ र कम पुस्तक बिकेका छन् । यो भ्रम चिर्न सके अबस्था अझै राम्रो देखिन्छ।
यदि यो संसारमा कविता नभएको भए के हुन्थ्यो होला ?
पौराणिक ग्रन्थ जति छन् ती काब्यिक छन् । त्यही लिखतका आधारमा भौतिक र आधुनिक संसारको निर्माणको आधार तय भएको हो। र, अहिले चाहिं कविताको लत लागेका मजस्तोलाई यो संसार नुन बिनाको तरकारी जस्तो लाग्न सक्छ ।
कविता कला र विचारको तार्किक तालमेल हो भन्छन्, समकालिन कवितामा वास्तवमै कविता कत्तिको लेखिएका छन् जस्तो लाग्छ ?
यहाँ केही जमात आफ्नो र आफ्नाका ‘गज्जव’ भन्ने र अरुका कविता त कविता नै नमान्नेहरू छन् । कसैले लेख्न सुरु गर्नु खुशीको कुरा हो। सुरुवात नगरी कहिँ पुगिन्न। कविताको कोपिला धेरै लागेका छन् । यो राम्रो पक्ष हो। अब कसले कति गोडमेल गर्छ। कति पुस्ट दाना लागाउछ । त्यो स्वयं कविमा भर पर्छ।अहिले धेरै अब्बल कवि र कविताहरू आइरहेका छन् ।
अहिले कुनै पनि पुस्तक प्रकाशीत गरिसकेपछि यदि हल्ला गर्न सकिएन भने कम चर्चा हुनसक्छ, तपाईंले पुस्तक बजारमा आएको हल्ला कत्तिको पिट्नु भएको छ ?
हेर्नुस् ! म लेखनको हिसाबले नयाँ हुँ। अनि राजधानी बाहिरको पनि। त्यति धेरै साहित्यिक बृत्तका मानिसहरूसँग चिनजान पनि छैन। हल्ला गरिदिने/गराइदिनेको पहुँच मसम्म छैन। तर, पनि आशाको किरणले उर्जा दिइरहेको छ। जोजो अग्रजले मेरो कृति पढ्नुभएको छ, बलियो सम्भावनाको रूपमा लिनुभएको छ। र यहि नै मेरो लागि ठूलो कुरा हो। यदि मृत्यु उत्सवमा आफ्नै ओजन छ भने पक्कै यो पाठकहरूको दिलमा डुब्दै जानेछ।
कविताको पुस्तक पढ्ने पाठक कम छन भन्छन्, तपाईंलाई के लाग्छ ?
आख्यानको तुलनामा कम नै छन् जस्तो लाग्छ मलाई । तर, अब को पुस्ता को (हामी) जिम्मेवारी हो जस्तो लाग्छ पाठकलाई आकर्षित गर्ने।
कविताको समलोचना अलि कम हुन्छन्, प्रमुख मिडियाले केही चल्तीका कवि र लेखकलाई मात्र सहयोग गरेको देखिन्छ, नयाँ लेखक र कविलाई प्रोत्साहन कम भएको जस्तो महशुस गर्नुभएको छ ? यदि छ भने यसो हुनुको कारण के होला ?
यस्तो महसुस त धेरै हुने गरेको छ। हुन त लेखनमा सिकारु नै हुँ। तर, त्यो अघि म बौद्धिक र सचेत पाठक हुँ । कति मै हु भन्नेको औसत लागेको सृजनालाई मिडियाले भयंकर बनाएको देख्दा हासो लाग्छ । पाठकलाई झुक्याएको देख्दा रिस पनि उठ्छ। यहि हासो र रिस ले नै एउटा ‘चर्चित’ कविता जन्माएको थियो। जो मृत्यु उत्सवमा राखेको छु।
तपाईंलाई मनपर्ने पाँचवटा कविता कृति ?
धेरैको धेरै कृति पढेको छु। पढ्ने क्रममा छु। अब सबै सिर्जना आफैंमा उत्कृष्ट छन् । अहिले दिमागमा आइहालेको नाम भन्छु।
घुम्ने मेचमाथी घुम्ने मान्छे , यो जिन्दगी खै ! के जिन्दगी , मुनामदन , ल्याम्प पोस्टबाट खसेको जून , सगरमाथाको गहिराइ । र अरु पनि धेरै छन् मनपर्ने कृतिको लाइनमा।
तपाईंलाई मनपर्ने पाँचवटा कविता ?
अहो ! यो त गाह्रो प्रश्न भयो।धेरै छन् मनपर्ने।
अन्त्यमा एउटा स्वतन्त्र प्रश्न यसमा तपाईंलाई भन्न मन लागेका कुरा राख्न पाउनुहुन्छ । नयाँ अनुहारलाई स्थान दिनुभएकोमा धन्यवाद । ओझेलमा परेकाहरुलाई महत्व दिनुहोला किनकी तिनमा भोलि जग तताउने ताप जन्मिन सक्छ।
प्रतिक्रिया
-
४
