✍️ नवराज न्यौपाने ‘मौन’

म सानैदेखि अध्ययनशील र भ्रमणप्रिय मान्छे । कुनै नौलो किताब भेट्यो कि पढिहाल्न मन लाग्ने । फुर्सदको बेला कसैले कतै घुम्न जाउँ भन्यो भने गैहाल्न मन लाग्ने । पढ्न, घुम्न र लेख्न औधि रौस लागेर आउने । त्यसैले सबैले किताबको कीरो र घुमन्ते हिरो भनेर जिस्क्याउने गर्थे ।

चुँदीबेसी प्रावि र भानु संस्कृत निमाविमा पढ्दा नजिकैको भानु स्मृति भवनमा रहेको भानु पुस्तकालयमा गएर पत्रपत्रिका तथा पुस्तकहरू पढ्ने गरिन्थ्यो । ऊबेला १ रुपैयाँमा पुस्तकालयको सदस्य बन्न पाइन्थ्यो ।

वि.सं २००८ सालमा स्थापित उक्त पुस्तकालयमा पुराना पत्रिका र पुस्तक पढ्न पाइन्थ्यो । पछि चन्द्रावती माविमा पढ्न थालेपछि त्यहाँको पुस्तकालयमा गएर पढिन्थ्यो । विद्यालयमा पढुञ्जेल कक्षाका साथीहरूले कुनै नयाँ पुस्तक ल्याएमा मलाई पढ्न दिएकै हुन्थे । साथै घरमा बुबाले पनि थुप्रै आध्यत्मिक पुस्तक पढ्न लगाउनुहुन्थ्यो ।

गाउँमा हुँदा सानोमा मलाई श्रीस्वस्थानी व्रतकथा वाचन गर्न लगाइन्थ्यो । सत्यनारायण पूजा, एकाह, सप्ताह देखि लिएर एकादशी पुराण र गरुड पुराण समेत ध्यान दिएर सुनिन्थो ।

साथै, विद्यालय तथा युवा क्लबले आयोजना गर्ने नाटक तथा सांस्कृतिक कार्यक्रम पनि नछुटाई हेरिन्थ्यो । भानु जयन्तीमा हुने विविध कार्यक्रममा पनि सहभागिता जनाइन्थ्यो ।

मैले पढेका क्याम्पसहरू पृथ्वीनारायण क्याम्पस ,पश्चिमाञ्चल क्याम्पस र पब्लिक युथ क्याम्पस सबैमा त्यतिबेला पनि स्तरीय पुस्तकालय थिए । खाली समय म पुस्तकालयमा नै बिताउने गर्थें । काठमाडौँमा हुँदा केशर पुस्तकालय र ब्रिटिश काउन्सिल लाइब्रेरीमा पनि नियमित रूपमा जाने गर्थें ।

जागिरे जीवनमा मनाङ, मुस्ताङ, कालिकोट, गोरखा, धादिङ, सङ्खुवासभा रसुवा र ललितपुर जिल्लाका विकट गाउँबस्तीमा फिल्डमा खटिएर जानुपरेको थियौँ । ती सबै ठाउँमा आफूले लगेका पुस्तकहरू पढिन्थ्यो र पढेर स्थानीय युवा क्लब तथा विद्यालयले सञ्चालन गरेका पुस्तकालयहरुलाई उपहार दिइन्थ्यो ।

अहिले आएर पुस्तक किनेर पढ्ने बानीमा अलिक कमी आएको छ । किनभने सबै पत्रपत्रिका र पुस्तकहरु इन्टरनेटको माध्यमबाट मोबाइल र ल्यापटपमा नै पढ्न सकिने भएको छ । तर, पनि कुनै नयाँ पुस्तक भेटेमा किनुँ किनुँ र पढुँ पढुँ लागेर आउछ ।

अनि, कतै पुस्तकालय भेटेमा छिरुँ छिरुँ लागेर आउँछ । मेरा कान कमजोर भए पनि आँखा कमजोर छैनन् । त्यसैले चस्मा बिना नै लेखपढ गर्न सक्छु । अस्तु !

प्रतिक्रिया

सम्बन्धित खवर