झापाको दमकमा वि.स. २०२९ साल चैत्र २० गते आमा पवित्रा दुलाल र बुवा श्रीकृष्ण दुलालकी पुत्रीको रूपमा जन्म लिएकी राधिका दुलालले विभिन्न साहित्यिक विधामा कलम चलाउँदै आएकी छिन् । यसअघि उनका २०७० सालमा ‘संवाहक’ लघुकथा सङ्ग्रह, २०७१ सालमा थप परिमार्जन र कथा सहित दोस्रो ‘संवाहक’ र २०७५ सालमा ‘पप्पु र पट्टु’ बाल कथा सङ्ग्रह प्रकाशित भइसकेको छ । यसपटक उनी कविता सङ्ग्रह ‘शाश्वत आकृति’ लिएर नेपाली साहित्यमा उदाएकी छिन् । आजको आँगनमा सहकर्मी जनक कार्कीले उनै कवि कार्कीसँग कविता र कविता सङ्ग्रहमा केन्द्रित भएर गर्नुभएको कुराकानीको सारांश यस्तो छः
कविता सङ्ग्रह ‘शाश्वत आकृति’यो वसन्तको पालुवासँगै पलाएको छ, कविता लेख्दा एक किसमको प्रक्रिया हुन्छ, आफूले लेखिएका कविता जब किताबका पानाहरूमा देखिन्छ, कस्तो अनुभव हुने रहेछ ?
‘शाश्वत आकृति’ लामो समयको अनुुभूूति र पीडा पोखिएको कृति हो, जसका पानाहरू देख्दा एक किसिमको फिलिङ्गो उठेको अनुुभूूत हुुन्छ, जसले समयबोध गराउँछ । कुुनै पानाले खुशी दिन्छन् त कुुनै पानाले पीडाबोध गराउँछन् ।
तर ‘शाश्वत आकृति’ प्रकाशन गर्दा भने समाजप्रतिको उत्तरदायित्व अलिकति भए पनि वहन गर्ने कोसिस गरेको अनुभूत भइरहेछ । समाजमा जन्मेर हुुर्केपछि केही गरौँ भन्ने चाहना सबैको हुुन्छ । मैले पनि यो ‘शाश्वत आकृति’द्वारा समाजमा भएका बेथिति विसङ्गतिलाई औँल्याउँदै भाइचाराको सद्भावमा शान्तिको बाटोमा हिँडौँ भन्ने अनुरोध गरेकी छु ।
त्यसैले खुसी त लाग्ने नै भयो । श्रम र विश्वासको दरिलो कुुटो, कोदालोले खन्दै यो आकाश, यो धर्तीमा समताको बीज रोप्न सकौँ भन्ने आश गरेर लेखिएका कविताहरूले मलाई आफैँ पनि मार्ग निर्देशन गरिरहेका छन् ।
तपाईंको कविता सङ्ग्रहको नाम शाश्वत् आकृति’ जुराउनुभयो, यो संसारमा नास नहुने त केही छैन भन्छन्, तपाईं कस्तो शाश्वत् आकृतिको खोजीमा हुनुहुन्छ ?
संसारमा नास नहुुने केही नभए पनि– जहाँ जे छ त्यसलाई स्विकार्दै सत्यको पक्षमा अघि बढ्दै अन्याय अत्याचाररहित समभावको कल्पना गर्दै लेखिएका यी कविताका पाना नास भएर जानसक्लान् तर मानव पीडा, भाव, प्रकृति कहिल्यै नास हुँदैनन्र मेरा कविता सङ्ग्रहभित्र मानव यथार्थ धरातलमा उभिएर लेखिएका हुनाले यी मानव भावना मर्दैनन् भन्ने लाग्छ मलाई !
‘शाश्वत् आकृति’ कविता पढ्दा दुईवटा अर्थ लगाएँ मैलेः एउटा अर्थ यो पृथ्वीमा अपराध, हत्या, हिंसाले बस्न लायक भएन त्यसैले शाश्वत् आकृतिको चाहना गरिएको छ । अर्को भनेको प्रदूषणले पृथ्वीलाई कुरूप बनाउँदै गएकोमा कुरूप भएको पृथ्वीको कुरा हो, पाठकले त जसरी पनि बुझ्न सक्छ, खासमा कविले यो कविता के सोचेर लेखेको हो, यसको रचनागर्भ बताइदिन मिल्ला ?
‘शाश्वत् आकृति’ समाजमा भएका विभिन्न विकृति, विसङ्गति, कुसंस्कृति आदिलाई उद्घाटन गर्दै लेखिएका कविताहरू आकारमा छोटा भए पनि यथार्थलाई सात्क्षात्कार गर्दै निकै गम्भीरताका साथ लेख्ने कोसिस गरेकी छुु । यो आकाश, यो धर्तीको एक प्राणी भएको नाताले पनि संसारमा भएका अनेकौँ प्रकारका रङ्ग विभेदहरू, वर्ग विभेदहरू, महिला तथा बालबालिकाप्रतिको डरलाग्दो हिंसा देखेर धोकाधारी भुईँमान्छेहरूका अधुरा सपनाहरू, सङ्घर्षका बाटाहरू जति हिँडे पनि निम्नवर्गमाथिको विभेद, बलियाले निर्धालाई पेल्ने प्रवृत्ति जहीँको त्यहीँ देख्दा दु:ख लाग्छ ।
उनीहरूको संवादमा अन्तरघुलित हुुँदै लेखिएका कविताहरू प्रायः यथार्थमा उभिएर लेख्ने कोसिस गरेकी छुु । प्रकृति भनेकै धर्ती आमा पनि हुुन् । त्यसैले यो धर्तीका प्रत्येक प्राणी, जीव, प्रकृतिले बाँच्न पाउने अधिकारबाट वञ्चित हुनु हुन्न भन्ने मेरो मनसायले कवितालाई हल्का रूपले बुझ्नु हुन्न । वस्तुस्थितिले हृदय उद्वेलित भएपछि लेखिएका कविताहरू नै स्वयम् शास्वत् आकृति हुुन् ।
तपाईंको कविता सङ्ग्रह पढेँ, तपाईंको कविता पढ्दा तपाईं एउटा सचेत, जिम्मेवार, चिन्तित र अभिलाषा बोकेको कविहृदय लाग्यो । यो देशलाई दुख्दा दुखुभएको छ, प्रकृतिसँग रम्नुभएको छ, वेथितिलाई उजागर गर्नुभएको, एउटै शब्दमा भन्दा समयलाई पक्डनुभएको छ, कविता तपाईंको हृदयसम्म कसरी आउँछ र यसलाई कसरी कविताको रूप दिनुहुन्छ ?
समाजमा भएका राम्रा नराम्रा कुराले मान्छेलाई छुन्छ नै, त्यस्तै मलाई पनि छुुन्छ । मपाईँत्वको आडम्बर बोकी भ्रष्ट व्यक्तिहरू गैरजिम्मेवार काम गर्दै सत्तामोहमा चुर्लुम्म डुबेको देख्दा बारम्बारको सुनुवाइले पनि गाँस, बास, शिक्षा, स्वास्थ्यको व्यवस्थापन गर्न नसकेको तितो यथार्थले उठाएका कैयौँ प्रश्नहरू ज्युँका त्युँ छन् ।
थुुप्रै सहिदहरूले सहादत प्राप्त गरेको भूमिमा यो अनाचार दुव्र्यवहारले आहत समाज यसका ठेकेदारहरूको मनोमानीले अस्तव्यस्त मेरो देश, मेरो आकाश, मेरो धर्तीको मलीन अनुहारलाई हेर्छु। मन साँच्चै पिरोलिन्छ र लेख्न बस्छु । मनमा उर्लेका भाव कापीका पानामा बिसाएपछि मन केही हलुका भएको अनुभूत हुन्छ ! अनि एउटा कविताले साकार रूप लिन्छ ।
कवितासँग तपाईंको लगाव र प्रेम कसरी भयो ? कवितालाई ठ्याक्कै परिभाषित गर्न त गाह्रो छ तर पनि कवितालाई यहाँले कसरी बुझ्नु भएको छ ?
बाल्यकालदेखि नै विभिन्न साहित्यिक पुस्तकहरू पढ्ने गर्थेँ । पछि जागिरको सिलसिलामा रहँदा नेपाल ललितकला संस्थामा काम गर्दा खाली समयमा पत्रपत्रिका र पुुस्तकहरू पढ्ने गर्थेँ । पहिला रहरले लेख्थेँ । पछि विषय वस्तुुले पिरोलेपछि मात्र लेख्न थालेँ । त्यसो गर्दा मन केही हलुुको पनि हुँदोरहेछ । मेरो सौभाग्य भनौँ, वरिष्ठ व्यक्तित्वहरूसँग नजिक रहने मौका मिल्यो ।
जस्तै, वरिष्ठ कलाकार उत्तम नेपाली, किरण मानन्धर, विजय थापा र विभिन्न कलाकारज्यूहरूसँग पछि फेरि साहित्यिक दिग्गज व्यक्तित्वहरूसँग काम गर्ने मौका मिल्यो । वासुदेव त्रिपाठी,वैरागी काइँला, गङ्गाप्रसाद उप्रेती, गीता केसरी, भुवन ढुङ्गाना र विभिन्न प्राज्ञज्यूहरूको सामीप्यले पनि मैले लेख्ने पढ्ने र साहित्यलाई केही बुझ्ने अवसर पाएँ । कविता भनेको हृृदयको आवाज हो । जसले छोटो समयमा नै संवाद गर्न सक्छ । यो शाश्वत् आकृति मेरो पूर्ण जीवन हो ।
यहाँलाई मनपर्ने पाँचवटा कविता सङ्ग्रह ?
लक्ष्मीप्रसाद देवकोटाको ‘भिखारी’
सिद्धिचरण श्रेष्ठको ‘कोपिला’
आफर कवितासङ्ग्रह (संयुक्त)
तुफुका कविताहरू
रवीन्द्रनाथ टेगोरका कविताहरू
यहाँलाई मनपर्ने पाँचवटा कविता ?
गङ्गाप्रसाद उप्रेतीको ‘नयाँ वर्ष’ कविता
बेन्जुु शर्माको ‘लोग्नेमानिसहरू’
सुुधा त्रिपाठीको ‘मेसिन’
अमर गिरीको ‘बुतनेवा’ कविता
प्रथाको ‘युद्धशिविरमा हिँडेको मान्छे’
लघुकथा, बाल कथा हुँदै कविता सङ्ग्रहसम्म आउनुभयो, अब कुन विधामा कलम चलाउन मन छ ?
छोटो समयमा नै समाजमा भएका बेथितिहरूलाई चोटिलो प्रहार गर्न सकिने भएकाले लघुकथा सङ्ग्रह ‘संवाहक’ २०७० मा प्रकाशित भयो । २०७१ मा ‘संवाहक’ दोस्रो संस्करण र बालबालिकाहरूका लागि केही लेखौँ भन्ने मनसायले २०७५ मा ‘पप्पी र पट्टु’ भन्ने बालकथा सङ्ग्रह प्रकाशित भयो । २०७९ मा श्वाश्वत आकृति कविता सङ्ग्रह । धेरै विधामा हात चलाएकाले समय मिलाएर काम गर्नुपर्दो रहेछ । कथामा पनि कलम चलाउँदै छु । केही कथा लेखिसकेकी पनि छु । तिनलाई परिमार्जन गरेर प्रकाशन गर्नुपर्ला भन्ने सोचमा छु ।
अन्तिममा एउटा स्वतन्त्र प्रश्न जसमा यहाँले मन लागेको उत्तर दिन सक्नुहुन्छ ।
यो ‘शाश्वत् आकृति’ कविता सङ्ग्रह लेखिसक्दा मलाई जति खुुसी र आनन्द मिलेको छ, सायद अरू विधामा मैले यो अनुुभूूत गर्न सकुँला, नसकुँला । बाल्यकालदेखि अहिलेसम्म नजिकबाट देखेका विषयवस्तुुलाई समेट्ने प्रयास गरेकी छुु । मलाई लाग्छ, यो ‘शाश्वत् आकृति’ कविता सङ्ग्रह मेरो सिङ्गो जीवन हो ! यस सङ्ग्रहभित्रका कविता राधाका मात्र कविता नभएर वर्तमान संसारमा बाँचिरहेका मानिसहरूको मनको सुस्केरा हो । एउटा सर्जकको नाताले यहाँ आफैँ राम्रो कवि हुनुहुन्छ । कस्ता भए कविता, यहाँले मनन गर्न सक्नुहुने छ ।
प्रतिक्रिया
-
४
