✍️ जनक कार्की

तिम्रो खुम्चिएको ओठको गोडमेल गरी
कुटिले सम्माएर उदासीहरूलाई
तन्काएर ओठको आयतन
म त्यहाँ मुस्कानको फूल रोप्न चाहन्छु ।

तिम्रो आँखाको बारीमा ऊखु रोप्न चाहन्छु
मेरो सुगर फ्री कफीमा
तिम्रो गुलियो वचनको डिब्बाबाट
एक चम्चा निकालेर घोल्न सकुँ

म तिम्रो पाइतलामा रोप्न चाहन्छु कपासको फूल
तिमी स्वतन्त्र भै भर्नु गन्तब्यको उडान ।

म तिम्रो शिरमाथि वृक्षारोपण गर्न चाहन्छु
पीपलको वृक्ष
तिमी प्रचण्ड गर्मीको मध्यानलाई पनि शीतल छायाँले विहानीको आभाष गराइदिनु ।

हाम्रो हत्केलाका रेखाहरूमा एक हल गोरु चलाउ
मेहनतको फोडा उठाई
पौरखको हाटबजारमा समृद्धिको नाफा कमाऔँ

हामी रोप्दै नरोपौँ परम्परागत मूनामदन र रोमियो जुलिएटको असफल बालीको बिउ
हामी बरू प्रेमको आधुनिक र अर्गानिक खेती गरौँ ।

आरूको बोटमा पलाएको प्रेमको कोपिला च्यात्न
आकाशले असिनाको ढुङ्गा प्रहार गर्ला
तर म तिमीलाई ग्रीन हाउस बनेर
सुरक्षा दिरहनेछु

मायाको कोसा लागेका केराउको दानालाई
दुम्सीका काँडाले घोच्न आउनेछ
तर म बुँख्याचा बनेर धपाउनेछु

आउ गणितको सिद्धान्तलाई चुनौती दिदै
एकमा एक जोड्दा प्रतिफलमा एक नै बनौँ
जसरी एक थोपा पानी अर्को थोपा पानीसँग जोडिदा एक हुन्छ
र सिचौ हाम्रो प्रेमको खेतीलाई ।

प्रतिक्रिया

सम्बन्धित खवर