✍️ मनु विद्रोही
कथाकार तथा गजलकार मन्दिरा मधुश्री नेपाली साहित्यमा सक्रिय हस्ताक्षर हुन् । अग्रजहरूका कथाबाट प्रभावित भएर कथा विधाबाट साहित्यमा प्रवेश गरेकी मधुश्री कथा, गीत र गजल विधामा कलम चलाउँछिन् र ‘गुञ्जन’ साहित्य संस्थामा आवद्ध उनी भने डम्बर कुमारी गणेश कोइराला साहित्य प्रतिष्ठानको अध्यक्ष हुन् । उक्त संस्थामार्फत डम्बर कुमारी गणेश आख्यान पुरस्कार १५००१ रुपैयाँ राशी वितरण गर्ने व्यवस्था गरिएको छ । आख्यान पुरस्कार प्रत्येक वर्षको जेठ २७ गते वितरण हुन्छ । सो पुरस्कार उनले आफ्ना आमा बुवाको नाममा स्थापना गरेकी हुन् ।
उनले विभिन्न साहित्यिक संस्थाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरिसकेकी छन् । उनको ‘बुधनको घोडी (२०७३)कथा संग्रह, ‘मधुराग’ (२०७६) गजल संग्रह प्रकाशित भैसकेको छ भने ‘टिनएज की केटी’लाई मुख्य पात्र बनाएर लेखिएको उपन्यास ‘श्री’ र लघुकथा संग्रह प्रकाशनको तयारीमा रहेको छ । शनिबारको आँगनमा साहित्यकार मधुश्रीसँग सेतोमाटो डटकमका लागि मनुविद्रोहीले गरेकी भलाकुसारीको सारांश प्रस्तुत छः
तपाईं आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
म अहिले एउटा उपन्यास लेख्दैछु ‘श्री’ । धेरै कुरामा १६ को प्रयोग गरेको यो उपन्यास अलिक फरक प्रकारको छ । मैले अहिलेसम्म यस्तो विषयमा लेखेकी थिएनँ । ‘श्री’ साउनमा नै प्रकाशन हुनुपर्ने थियो तर कोभिड–१९ को संक्रमणका कारण शारीरिक र मानसिक रूपमा नै धेरै कमजोर भएँ । दिमाग र शरीर नै असन्तुलन हुँदोरहेछ कोभिड भएपछि । अझैसम्म म पहिलेकै अवस्थामा फर्कन सकेकी छैन । मैले धेरै लामो समयसम्म लेख्न नै सकिनँ । त्यसैले पनि यो उपन्यास बजारमा आउन ढिला भएको हो । अब भने छिटै आउनेछ ।
तपाईंको विचारमा साहित्य के हो ?
मेरो विचारमा साहित्य भनेको मिनार जडेर बनाइएको एउटा यस्तो सुन्दर ऐना हो जहाँ जीवन, जगत र समाजका आरोह अवरोह , गति, अनुभूतिका रङ्गिन दृष्य तथा लुप्त सबै पाटालाई छर्लङ्ग देखाउँछ ।
तपाईंको विचारमा पहिला असल पाठक बन्नु पर्छ कि कुशल पाठक ? किन ?
मेरो विचारमा पहिला पाठक कुशल बन्नुपर्छ । कुशल पाठक नै असल हुन्छ । किनभने कुशल पाठकले रचनाको मर्म, भाव र उद्देश्यको गहिराइमा पुगेर पढ्न सक्छ । अनि पाठक लेखकीय भाव, रचनाको परिवेश, पात्र, दृश्य, संवादसँगसँगै स्वयं विरेचित हुन्छ र आनन्दानुभूति प्राप्त गर्दछ अनि तृप्त हुन्छ । त्यसपछि पाठकले स्वयं स्वतस्फूर्त रूपमा आफ्नो शालिन अनुभूतिलाई प्रतिक्रियामा उतार्छ ।
तपाईँलाई कस्ता कस्ता पुस्तक पढ्न मनपर्छ ? पढेको मध्य तीन उत्कृष्ट पुस्तक तपाईंको नजरमा कुनकुन हो ?
म कथा उपन्यास लेख्ने भएकोले खासगरी आफ्नै विधासँग मिल्ने पुस्तकहरू पढ्न मन लाग्छ । त्यसैले कथा र उपन्यासकै पुस्तकहरू बढी किन्छु म कविताको वा अन्य विधाको तुलनामा । यसको अलावा नियात्रा रोचक लाग्छ । नियात्राले घरमै बसीबसी सिङ्गै भूगोलको यात्रा गराउँछ ।
थुप्रै साहित्यकारका थुप्रै पुस्तक मन परेका छन् । कसैको लेखकीय शैली मन पर्छ । कसैको भाव अनि कसैको विषयवस्तुको उठान । सबैभन्दा मन परेको पुस्तक खप्तड स्वामीको ‘विचार विज्ञान’ हो । मैले कतिलाई उपहारस्वरूप पनि दिएकी छु यो पुस्तक । लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ पनि उत्तिकै मन पर्छ । सायद यही एउटा पुस्तक होला मैले सात आठ वर्षको उमेरमै पुरै पढेकी । र दुर्गालाल श्रेष्ठको ‘तपक’ पुस्तक पसलमा देखेर नै मन परेको । सानो पुस्तक, छोटा तर मीठा र गहन कविता धेरै पटक पढेको छु दोर्होयाएर ।
सामाजिक सञ्जालमा चर्चाले उचाइमा पुगेको पुस्तक पढ्दा त्यत्तिकै उत्कृष्ट र स्तरीयता पाउनुभएको छ ?
अहिले जमाना विज्ञापनको छ । जमात हल्लाको पछि दौडिन्छ । विज्ञापनको पनि आफ्नो ग्रुप हुन्छ र त्यही ग्रुपले सामाजिक सञ्जालमा भाइरल बनाउँछ । सञ्जालमा चर्चाको रोइलो भएको पुस्तक यथार्थमा सामान्य भएको प्रत्यक्ष देखेकी पनि छु । साँच्चिकै भन्नुपर्दा ‘अकबरी सुनलाई कसी लगाउनु नै पर्दैन’भन्ने उखान सत्य लाग्छ मलाई । विज्ञापन नगरे पनि राम्रो पुस्तकको आँफै चर्चा हुँदोरहेछ नै । यसको भुक्तभोगी म स्वयं हुँ ।
साहित्यलाई समाजको ऎना मानिन्छ, कस्ता कस्ता विषयवस्तुमा जोड दिने हो भने समाज परिवर्तनको लागि सहयोग पुग्ला ?
निश्चितरूपमा साहित्य समाजको ऐना हो । साहित्यमा समाज छर्लङ्ग नै हुन्छ । साहित्यले व्यक्तिमा, समाजमा र राज्यमा नै हुनेगरेका विकृति, विसङ्गति जस्ता विषयवस्तुलाई मुख्य आधार बनाएर चित्रण गर्ने हो भने पक्कै पनि पाठकका मनमा केही मात्रामा समाज परिवर्तन अवश्य हुन्छ नै ।
साहित्यको दिगो विकासका लागि राज्यस्तरबाट कस्तो कदम चालिदिए राहत महसुस गर्न सकिएला ?
राज्यस्तरबाट पनि साहित्यका लागि अन्य क्षेत्रहरूमा जस्तै प्राथमिकतामा पारेर बजेटको केही भाग रकम छुट्याउनु पर्छ । साहित्यकारको स्तर मूल्याङ्कन गरेर केही प्रतिशत भत्ता दिनुपर्छ अनि कतिपय साहित्यकारको स्तरीय कृतिहरू राज्यकोषबाट नै प्रकाशनको व्यवस्था गरिनुपर्छ ।
अनि सरकारी स्कुल र कलेजमा राज्यले नै उत्कृष्ट साहित्यका किताब किनेर दिनुपर्छ । यसका साथै राज्यले नै साहित्य सम्बन्धि गोष्ठी, सेमिनार गरिनुपर्छ । समाजका विभिन्न जनजाति, ठाउँ, सम्पदाहरूमा केन्द्रीकृत भएर साहित्य लेख्नको लागि उत्प्रेरित गरिनुपर्छ । उत्कृष्ट साहित्य र साहित्यकारलाई सम्मान र प्रोत्साहन गर्न कुनै गतिलो अन्तर्राष्ट्रिय स्तरको पुरस्कारको पनि व्यवस्था गर्ने हो भने साहित्यमा पनि थोरै राहत महशुस गर्न सकिएला कि !
कुनै पद र प्रतिष्ठा आफ्नालाई मात्र होइन दूर दराजमा रहेका योग्य क्षमतावान व्यक्तिलाई समेट्ने खालको नीति अवलम्बन गरिनुपर्छ ।
अर्को कुरा । साहित्यले बाँच्न सिकाउनु नि पर्छ किनभने यो पनि सिकाईको एउटा पाटो हो । आज साहित्य सिर्जना गर्ने व्यक्ति मोफसलमा लेखेर बाँच्न सक्दैन । राज्यले यसको संरक्षण गर्ने वातावरण मिलाउने खालको नीति तय गर्नुपर्छ ।
तपाईँ साहित्यमा लागेर सन्तुष्ट हुनुहुन्छ ? साहित्यमा लागेर के पाएँ अनि के छुटाए जस्तो लाग्छ ?
अन्य व्यापार व्यवसाय र जागीर जस्तो हिसाब किताब गरेर, नाफा नोक्सान हेरेर साहित्यमा लाग्छु भनेर लाग्ने नै होइन । व्यक्ति भित्रको प्रतिभा साहित्यको रूपमा स्वतस्फूर्त प्रस्फुटन हुन्छ । अनि त्यस्तो साहित्य नै उच्चस्तरको बन्दछ । जबरजस्ती लेखिएका साहित्यलाई चाहिन्छ विज्ञापन पनि । म पनि साहित्यमा लाग्छु । यसमा लाग्दा यो फाइदा हुन्छ भनेर लागेको होइन । साहित्य लेख्नु भनेकै प्रहिलो त आत्मसन्तुष्टि हो । त्यसपछि मात्रै अन्य कुरा आउँछन् ।
म भित्रको सुक्ष्म भावना अनायास नै स्वतस्फूर्त रूपमा साहित्य सिर्जनामा प्रस्फुटन भयो । साहित्यमा समय खर्चेर अहिले म सन्तुष्ट नै छु । सबभन्दा ठूलो त अहिले नाम पाएकी छु । मेरो लेखनी र पुस्तक ‘बुधनको घोडी’ले गर्दा साहित्यको बजारमा मन्दिरा मधुश्री भनेर धेरैले चिन्दछन् ।
अहिले कक्षा एघारको पाठ्यक्रममा मेरो नाम पुस्तकको नाम पढ्नुपर्छ र कथाशं पढ्नुपर्छ । वर्षमा करिब छ लाख विद्यार्थीले मेरो नाम पढ्छन् । साहित्यबाट पाएको सबैभन्दा ठूलो उपलब्धि हो यो । साहित्यमा लागेर नै थोरै सम्मान पनि पाएकी छु । धेरै नभए पनि दाम पनि पाएकी छुन । साहित्यमा लागेकै कारणले चाहिँ छुटाएको जस्तो त खासै लाग्दैन केही । यदाकदा पारिवारिक जमघट कार्यक्रम र आनन्दको निन्द्रा बाहेक ।
तपाईँलाई भन्न मन लागेको मैले सोध्न छुटाएको केही छ कि ?
हामी साहित्यकार साधक हौं । निरन्तर साधना गर्नुपर्छ । इमानदारीपूर्वक र अब्बल लेख्न सकियो भने अहिले हल्ला नहोला । चर्चा नहोला तर समयले आफैं मूल्याङ्कन गर्नेछ र खोजेर निकाल्नेछ । युगले चिनेर अवश्य इतिहास रच्ने नै छ ।
प्रतिक्रिया
-
४
