पोखरा – गत शनिबार रक्तदान नै जीवनदान हो भन्ने मुल नाराका साथ पोखराको चिप्लेढुङ्गा मानव अधिकार चोकको ट्रेट महल स्थित एक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

पोख्रेली सेवा समाजको मुख्य आयोजना रहेको कार्यक्रममा अन्य पाँचवटा संस्था शेर्पा सेवा समाज, राई मुलघर सेवा समाज, हेल्पिङ ह्याण्डस्, युनिटी अफ फेमेली ग्रुप र ङोलो ङोल्स्यो तमु समाज सहयोगी संस्थाको भूमिकामा रहेको थियो ।

पोख्रेली सेवा समाजकी अध्यक्ष शान्ति गुरुङ (सुस्मा) को अध्यक्षतामा, पोखरा महानगरपालिका ४ नम्बर वडाका वडा अध्यक्ष शङ्कर प्रसाद बास्तोलाको प्रमुख आतिथ्यता साथै हेल्पिङ ह्याण्डसका सल्लाहकार सीएम गुरुङको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ६ वटै संस्थाका पदाधिकारीहरु, सदस्यहरु, स्वयंसेवक लगायत अन्य उपस्थित थुप्रै ब्यक्तिहरुले रक्तदान गर्नु भएको थियो ।

दिउँसो करिब ११:३० बजेबाट शुरु भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार सेवा कास्कीले आयोजकलाई प्राबिधिक रूपमा सहयोग गरेका थिए । भिम बहादुर श्रेष्बाट सुरु भएको रक्तदानमा सहभागी हुने ग सबैलाई आयोजकको तर्फबाट “सेवा नै धर्म हो” लेखिएको टिसर्ट र प्रमाण-पत्रको ब्यवस्था समेत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका ४ नम्बर वडाका वडा अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि शङ्कर प्रसाद बास्तोलाले कार्यक्रमको खुलेरै प्रशंसा गरे ।

यति ठूलो दिल बनाएर मानव जीवनमा सबैभन्दा आवश्यक र महत्वपूर्ण कार्यक्रम गरेकोमा पोख्रेली सेवा समाज र संयुक्त पाँच वटै सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गरे ।

आगामी दिनहरुमा सामाजिक उत्तरदायित्व बहन गर्ने कुरामा ४ नम्बर वडासंग मात्र नभई पोखरा महानगरपालिकासंग समेत हातेमालो गरेर जाने बताएका थिए । सामाजिक हितमा संस्थाले गर्ने जस्तोसुकै कामहरू जुनसुकै समयमा पनि स्थानीय सरकारको तर्फबाट भौतिक, नैतिक र आर्थिक हरेक हिसाबले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरें ।

हेल्पिङ ह्याण्डसका सल्लाहकार एवम् कार्यक्रमका बिशेष अतिथि सीएम गुरुङले सामाजिक सञ्जाललाई सहि सदुपयोग गरि यसरी सामाजिक कार्य अर्थात समाज सेवा गर्नु आफैंमा उदाहरणीय काम रहेको बताए । कार्यक्रममा उपस्तिथित भई रक्तदान गर्नुहुने सम्पुर्ण ब्यक्तिलाई सहयोगी संस्था हेल्पिङ ह्याण्डसको तर्फबाट धन्यवाद समेत दिए । साथै, पोखराबासी सबै-सबैलाई रक्तदान कार्यक्रममा सरिक हुन आग्रह गर्दै आफुले पनि रक्तदान गर्ने प्रतिबद्धता जाहेर गरे । यी छ वटै संस्थाको टिमले अब फेरि छिट्टै नै चितवनमा रहेको चेपाङ बस्तीमा गएर कार्यक्रम गर्ने समेत गुरुङले घोषणा गरे ।

रक्तदान कार्यक्रममा सामाजिक सञ्जाल टिकटकबाट भाईरल भई कमाएको पैसा सामाजिक कार्यमै लगानी गर्दै आएकी समाजसेवी गिबिना मगरलाई बीस हजार रुपैयाँ नगदसहित सम्मान-पत्र दिएर सम्मान गरियो ।

राई मुलघर सेवा समाजकी अध्यक्ष एवम् आयोजक गायिका मेनुका राईले कार्यक्रमलाई औपचारिक रुपमा सञ्चालन गरिन् । औपचारिक रक्तदान कार्यक्रमको विसर्जनसंगै संस्थाका कलाकारहरु पुनम गुरुङ, युनिशा गुरुङ, टकमाया गुरुङ, अर्चना गुरुङ र सोना कायस्थले नृत्य गरेर साथमा रोमन तामाङले गीत गाएर कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।

बिगो सामाजिक सञ्जालबाट शुरु भएको यी छ वटै संस्थाले एक-आपसमा सहकार्य गर्दै विगतमा पनि थुप्रै सामाजिक कार्य गरिसकेका छन् । लकडाउनको समयमै शेर्पा सेवा समाजको प्रमुख आयोजनामा काठमाडौंको बौद्ध, पशुपति र स्वयम्भू गरि तीन ठाउँमा खाना बितरण गरिएको थियो । त्यस्तै, राई मुलघर सेवा समाजको आयोजनामा पनि काठमाडौं स्थित दुईवटा बाल आश्रम र एकवटा वृद्ध आश्रममा खाद्यान्न, लत्ताकपडा, कासो थाल लगायतका सामाग्री वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर