✍️ जनक कार्की
कौशिक नवराज युवापुस्ताका शसक्त लेखकमध्येमा गनिन्छन् । उनका गैह्रसाहित्यिक कृति ‘क्लिनफिड र सञ्चार’, साहित्यतर्फ ‘डियर एक्स’ कथा सङ्ग्रह प्रकाशन भइसकेका छ । त्रिभुवन विश्वविद्यालबाट जनप्रशासनमा स्नातकोत्तर (एमपिए) र नेपाल ल क्याम्पसबाट कानुनमा स्तानक (एलएलवि) गरेका उनी लेखक निजामति सेवामा आवद्ध छन् । उनका विभिन्न सञ्चारमाध्यमहरूमा समसामयिक विषयका लेखरचनाहरू प्रकाशित भएका छन् । उनै लेखक कौशिकसँग सेतोमाटो डटकमका लागि जनक कार्कीले गुनभएको पुस्तक वार्ताको साराशं यस्तो छ :
तपाईंले यो पुस्तक प्रेममा असफल भएर एक्स हुन पुगेकाहरूलाई समर्पण गर्नु भएको रहेछ, प्रेम सफल हुनेहरूले पढ्न नमिल्ने हो र ?
नेपाली साहित्यमा मैले पढेका जे जति साहित्य त्यसमा पनि उपन्यास र कथाहरू छन् प्रायः सबैमा मिलनभन्दा बिछोड र धोकालाई फोकस गरेर लेखिएको छ । नेपाली, हिन्दीलगायतका अधिकांश फिल्महरू जति प्रेम नाममा बनेका तिनमा पनि विछोड र धोकालाई नै केन्द्रित गरिएको पाइन्छ ।
यसर्थ, आम मानिस त्यसमा पनि नेपाली दर्शक र पाठकहरूले मिलन भन्दा धोका, विछोड, त्याग र दुःखलाई मन पराउछन् भनेर यो प्रयोग गरिएको छ ।
यसमा जुन कुरा गर्नुभयो प्रेममा सफल हुनेले यो किताब पढ्न नपर्ने कुनै कारण देखिन्छ तर कथा सङ्ग्रहको नाम नै ‘डियर एक्स’ भएको हुँदा विशेषगरी जो जो व्यक्तिहरूको पहिलो या दोस्रो प्रेम असफल भएर एक्स हुन पुगेका छन् ।
उनीहरूले यो कृति आफ्नै ठानेर पढ्न पर्ने देखिन्छ । आम मानिसले सुख र ह्यापि इन्डिङ चिरकालसम्म सम्झन नसक्ने तर धोका र विछोडका कथाहरू, सिनहरू बिर्सन नसक्ने भएकोले पनि डियर एक्स कृति कही कतै कुनै न कुनै रूपमा प्रेममा असफल यात्रिहरुले पढ्नैपर्ने हुन्छ विशेषगरी । राजनीति, साहित्य होस् या चलचित्रमा सिम्प्याथी नै रुचाइन्छ ।
तपाईंले पुस्तकमा कथाकारको कुरामा भन्नुभएको छ कि कथा लेख्ने बेला त भइसकेको जस्तो लागेको थिएन तर विभिन्न अनलाइनमा प्रकाशित कथामा आएका पाठकका प्रतिक्रिया, लाइक, सेयरले यहाँमा उर्जा थप्यो भनेर, अहिलेको जमानामा अनलाइन वा फेसबूकमा प्रकाशित गर्ने प्रचलनलाई कसरी लिनुहुन्छ ?
यसलाई म दुई किसिमले हेर्छु । पहिलो हेराई हो अहिले पनि म आफूलाई लेखक भन्दा पनि एक पाठकको रूपमा नै चिनाउन चाहन्छु । नेपाली साहित्यको आकाशमा आएका विभिन्न कृतिहरू जुन समिक्षकबाट राम्रो भनिएका तथा साहिभाइ रेफर गरिदिएका कृतिहरू म पढ्ने गर्छु नै ।
नेपाली साहित्यको आकाशमा आएका तथा दैनिक पत्र पत्रिका र अनलाइन मिडियाका प्रकाशित भएका कथाहरु पढ्दै गर्दा यतिका कथाहरू त म पनि भन्न सक्छु, यतिका कथाहरु त मैले पनि भोगेको छु, देखेको छु, सुनेको छु भन्ने लाग्यो र मैले पनि सुरुमा फेसबुकबाट नै लघु कथा सुरु गरे अनि विस्तारै अनलाइनहरूमा प्रकाशित हुन थाले । जव अनलाइनहरूमा कथाहरू प्रकाशित हुन थाले तब मलाई यस्तो उर्जा मिल्यो कि पाठकहरुले मेरा कथाहरु अत्यधिक रुचाइदिनु भयो ।
कथामा आउने लाइक, कमेन्ट देखि मेसेजहरूले मलाई उत्साहित बनायो । मलाई लाग्यो मेरा कथाहरू अरुका भन्दा भिन्न छन्, कथा भन्ने शैली फरक छ, आजसम्म नआएका निजामतीका कथाहरू मैले भनेँ र भन्न सक्छु भन्ने लाग्यो । र पाठककै मायाको कारण यो कृति पाठकसामु ल्याएको छु ।
कुनै पनि कृति प्रकाशन पूर्व लेख रचना प्रकाशन गरेर पाठक कमाउनु अत्यन्तै जरुरी देखिन्छ । अहिले अनलाइन र सामाजिक सञ्जालहरूले यसलाई पूरा गरिदिएका छन् । हिजो चिया गफ नामक कार्यक्रम चलाएर नारायण वाग्लेले एक किसिमको पाठक बनाएका थिए जसले उनको कृति पल्पसा क्याफेको माउथ पब्लिसिटीमा ठुलो योगदान गर्यो यसैगरी बुद्विसागरले पनि नयाँ पत्रिका मार्फत कर्णाली ब्लुजका पाठक निर्माण गर्न योगदान गरेको जगजाहेर नै छ ।
र अर्को कुरा अनलाईन मिडियाहरूमा कथा प्रकाशित गर्ने प्रचलन नराम्रो होइन यसले नयाँ लेखकहरूले पाठकसम्म पुराउने काम गर्छ, फिडब्याक प्रदान गर्छ र यहाँनेरी दुःखको कुरा पनि गर्नुपर्ने हुन्छ धेरै नेपाली अनलाइन मिडियाहरूमा लेख रचना वापतको पारिश्रमिक प्रदान गरिदैन ।
जुन पत्रिका तथा अनलाइनले तपार्इँलाई पारिश्रमिक दिदैन त्यसैलाई किन लेख रचना पठाइरहने । के पठाउने ठाउँ नभएर हो या सामाजिक सञ्जालमा पोष्टाउदा कम भ्यालु हुन्छ अनि अनलाईन र पत्रिकामा पठाउमा अलिक बढी इज्जत हुन्छ भनेर हो ।
आज म यहाँ केही वहस प्रारम्भ गर्दै छु । आउनोस् आजैका मिति देखि अर्थात यो लेख प्रकाशित भएको मिति लागू हुने गरी आजका दिनसम्म पारिश्रमिक नपाउने तपाई अनि तपार्इं सबै मिलेर लेख रचना वापतको पारिश्रमिक नदिने मिडियालाई लेख रचना पठाउन वहिष्कार गरौँ । र पारिश्रमिक नलिर्इ प्रकाशित गरेको लेख रचना निःशुल्क सामाजिक सञ्जालमा शेयर गर्न निशेष गरौँ । पारिश्रमिक नलिई लेखेको रचना पढ्न बाध्य नपारौँ ।
कुनै मिडियाले तपाइले पठाएको लेख रचनाको अवमूल्यन गर्छ । पारिश्रमिक दिदैन भन्ने थाहा भएको कुनै पत्रिका वा अनलाइनमा तपाईंले रचना दिनुभएको छ भने अब त्यस्तो काम नगर्नोस अर्थात लेख रचना पठाउन बन्द गर्नोस् ।
यसरी विना पारिश्रमिक प्रकाशित लेख रचनाहरू प्रकाशित भएपश्चात सस्तो प्रचारको लोभमा हरेको म्यासेन्जर वा ग्रुपमा राख्न छोड्नोस् र यसरी निःशुल्क प्रकाशित भएका लेख रचनाहरुको लिंक कसैलाई पठाए वा शेयर गर्दा आउने सस्ता वा कपि पेष्टवाला कमेन्टको विश्वास गर्न छाड्नोस तर विडम्बना हाम्रोमा त झन उल्टो देखिन्छ ।
कसैले वाह ! वा आहा ! लेखेकै भरमा फेरी रातारात बसेर अर्को लेख रचना सिर्जना गर्ने र प्रकाशन गर्न मरिहत्ते गर्ने प्रवृत्ति देखिन्छ ।
के तपाइले कुनै मिडियालाई आफूले रचना तथा सिर्जना गरेको लेख रचनाको मूल्य पाउदिनँ भनेर पक्कै पनि त्यो तपाईंले मेहनत नगरी वा झारा टारेरै वा कम मिहेनत गरेर लेख त पक्कै पनि लेख्नु भएको हैन होला ।
तपाइले कुनै लेख रचना तयार गर्दा तपाइको मेहनतसँगै तपाइको तन मन र धनको खर्च पक्कै भएको हुन्छ तर मिडियाका सम्पादक तथा सञ्चालकहरूले तपाइले सस्तो या झारा टार्ने किसिमले लेखिएको लेख हो भन्ने अर्थमा बुझ्ने गर्छन् र यही भएर तपाइलाई पारिश्रमिक दिदैनन।
यसर्थ, आजकै दिनदेखि तपाइले यसरी झारा टार्ने वा कम मेहनत गरी लेखिएका लेख रचनाहरु अरुले पढिदिउन् भनेर वाध्य पार्ने गरी ट्रयाग तथा इन्बक्समा नपठाइदिनुहोला । एउटा वहसको विषय यो थियो भने अर्को वहसको विषय अब प्रारम्भ हुँदै छ ।
‘डियर एक्स’का कथाका पात्र कहि न कहि निजामती कर्मचारी बनेर आइदिन्छ्न्, यो फरकपनको लागि गर्नुभएको कि कथाको माग हो ?
‘डियर एक्स’ कथा सङ्ग्रहको स्लोगन नै के रहेको छ भने निजामती सेवासँगै प्रेम, विछोड र धोकालाई प्रयोगात्मक शैलीमा लेखिएको छ । र अर्को कुरा लेखक स्वयम् निजामती सेवामा रहेको कारण यो फिल्ड र यस फिल्डका पात्रहरू मेरो लागि वेस क्षेत्र भएको कारण कथामा निजामतीमा पात्रहरू आउनु अस्वभाविक होइन । ्
यो कथाको माग हो । कथाको स्टार्टिङ नै निजामती सेवाको कुनै सरकारी कार्यालयबाट सुरु भएपछि यसमा सेवाग्राहीसँगै सेवाप्रदायक निजामती सेवाका पात्रहरु प्रेम, मिलन र धोकालाई कहीँ न कही टच गर्न आइपुग्छन्।
यसर्थ ‘डियर एक्स’ कथा बजारमा आएका अरु कथाहरु यस मानेमा फरक छ कि यसमा अन्त कतै पढ्न नपाइने निजामती सेवाका राम्रा नराम्रा कुराहरु देखि प्रेम मिलन र धोकाहरु अटाएका छन ।
‘डियर एक्स’ कथा सङ्ग्रहमा प्राय विषयवस्तु प्रेममा रूमलिएका छन्, यसको कारण ?
‘डियर एक्स’ अर्थात प्रेमको विगत जनाउने अवस्था भएको कारण शीर्षकबाट नै थाहा हुन्छ कि कथा भित्र प्रेम, यौन र विवाहका केही कुराहरू अवश्य हुनेछन । एक स्वस्छ मान्छे प्रेममा परेको हुन्छ नै ।
कसैले म प्रेममा परिन, मेरो विगत अर्थात एक्स थिएन भन्छ भने त्यसले कि झुट बोलिरहेको हुन्छ कि उसको शरीर विकासको लागि आवश्यक पर्ने हर्मोनहरुको गडबडि भएको छ । यसर्थ प्रेम, यौन प्राकृतिक विषय हुन यसलाई तिलको पहाड बनाउनु जरुरी छैन ।
प्रेममा पर्दा सेक्स भएको कि भएन भनेर खोजीनिन्दा गर्नु आफैमा आश्चर्यको विषय हो । सम्बन्धमा रहँदा जोडिहरुले के चाहन्छन भन्ने मुख्य कुरा हो । उनीहरुले आफ्नो सम्बन्धलाई कसरी लैजान्छन भन्ने विषय उनीहरुको सहमतीको विषय हो ।
‘डियर एक्स’ कथा सङ्ग्रहमा यस्तै प्रेम र विछोडमा रुमलिएका पात्रहरुको कथा पस्किने प्रयास गरेको छु । र यसको ठ्याक्कै कारण नै खोज्नु हुन्छ भने म अन्य लेखकजस्तो समाज र पाठकलाई प्रेमको नियम पठाउदिन । म समाजमा प्रचलित पराम्परागत प्रेमको नियम चाहि ब्रेक गर्न चाहन्छु । प्रेम कुनै नियममा चल्दैन । यो त जोडिहरुको सहमती र सम्मानको विषय हो ।
३१६ पृष्ठको किताबको मूल्य ५९९ रुपैयाँ राख्नुभएको छ । यो महङ्गो भएन र ?
जहाँसम्म मूल्यको कुरा यसमा दुइवटा कुराहरू रहेका छन । पहिलो कुरा मैले सुनेअनुसार नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तकको मूल्य निर्धारण गर्दा प्रति पाना १.६ (एक पानाको एक दशमलव साठी पैसा) निर्धारण गरेको हुन्छ रे ।
यहीअनुसार मेरो कृति ३१६ पानाको मूल्य ५९९ महङ्गो हो जस्तो लाग्दैन त्यसमा हामिले कभर, लेआउट, पेपर क्वालिटी आदि सबै विषयलाई हेर्नुपर्छ । र दोस्रो कुरा चाहि लेखकको लागि कृति सन्तान भएपनि पुस्तक पसलले र वितरकको लागि यो एक माल वस्तु सरह रहेको हुन्छ ।
जसले बढी कमिशन दिन्छ उसैको बढी बिक्री हुने हो । यो अर्थशास्त्रको नियम पनि हो । यसर्थ यसमा प्रकाशकलाई कमिशन, वितरकलाई कमिशन, वितरकबाट पुस्तक पसललाई कमिशन हुँदै फेरी पाठकलाई कमिशन हुँदै जादाँ कमिशनको जालोले पनि अलिक महङ्गो हुन गएको मैले पनि महसुस गरेको छु नै । यसमा धेरैतिरका महङ्गोको कुरा आएको हुँदा आगामी संस्करणमा यसको मूल्य समायोजन हुने नै छ ।
नयाँ लेखकलाई किताब प्रकाशन गर्न निकै दुःख छ, प्रकाशक पाइदैन, तपाईंको अनुभव के रहयो ?
हो, वास्तबमा नै सही प्रश्न गर्नुभयो । नेपाली साहित्यमा एउटा सिण्डिकेट छ । यहाँ लेखक जन्मिनेभन्दा पनि जन्माउने गरिदो रहेछ । लेखक पाठकहरूको मायाले जन्मिनु र बाच्नुपर्नेमा यहाँ त ठुला मिडिया, प्रकाशक हाउस, केही वितरक र केही चलेका लेखकहरूले नै अन्य लेखक जन्माउदा रहेछन्, आफ्नो गुटमा सामेल गर्दा रहेछन् लेखक बनाउदा रहेछन्।
आफ्ना मात्रै प्रमोशन गरिदिने, राम्रो भनिदिने, तारिफ गरिदिने प्रचलनले गर्दा नयाँ लेखकहरू जन्मिन नपाउदै मर्नुपर्ने अवस्था मैले प्रत्यक्ष भोगे । नयाँ लेखकले प्रकाशक पाउन नै मुस्किल छ, प्रकाशक पाइहाले पनि आफै लगानी गर्नुपर्ने अवस्था एकातिर छ भने अर्कोतिर रोयल्टीको लागि फेरी आन्दोलन गर्नुपर्ने, मिडियावाजी गर्नुपर्ने अवस्थाले नयाँ लेखकहरू आउनु अगावै निराशाको बाटोमा छन्।
एकातिर नयाँ लेखकलाई दुःख त छ नै अर्कोतिर सिण्डिकेटबाट जन्मिएका र दलालको पञ्जामा परेर भाइरल बनेका लेखकहरू नयाँ लेखकको पक्षमा बोल्न त परको कुरा साहित्यको विकास भन्दा आफ्नै विकासमा लागेका छन् ।
कथित करोडपति कमाएका छौँ भन्ने लेखकहरू एकातिर सरकारलाई कर तिर्दैनन् भने अर्कोतिर उनीहरु नै सरकारलाई साहित्य मार्फत नैतिकता सिकाइरहेका हुन्छ । अनि प्रकाशकहरू पनि यो मामिलामा कम्ता छैनन्।
विदेशमा मुद्रण गरेर पुस्तक ल्याउने, भ्याट बिलहरूदेखि भन्सारमा न्युन बिजकीकरण गर्ने मामिलामा खप्पिस् छन् अनि नेपालमा नै मुद्रण गर्नुपर्छ, नेपाली उद्योगको विकास गर्नुपर्छ भनेर भन्सार कर लगाउँदा उल्टो ज्ञानमा कर लगायो भनेर मिडियामा आएर रोइलो गरेको देखिन्छ ।
र तेस्रो महत्वपूर्ण कुरा नयाँ लेखकले पाण्डुलिपी बोकेर शहरका प्रकाशन हाउस खोजी हिड्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर अलिक चलेका प्रकाशन हाउसहरूले नयाँ लेखकलाई बाल मतलब नदिने त्यसमा पनि सो प्रकाशनबाट कुनै राष्ट्रिय पुरस्कार प्राप्त गरेको भए त झन फुर्तीफार्ती बढि हुने भैहाल्यो ।
कुनै पनि कृतिको लागि सबैभन्दा ठुलो सम्पादक लेखक आफै हो नै तर यहाँ त लेखकभन्दा सम्पादक बढी हावी हुने, सम्पादक भन्दा प्रकाशक अनि प्रकाशक भन्दा बितरक र वितरक भन्दा समिक्षक हावी भएर लेखकले एउटा कन्सेप्टमा लेखेको कृति बजारमा आउँदा काटकुट देखि अर्कै भएर आउँछ नै त्यसमा पनि विकाउ समिक्षकले त राम्रोलाई पनि नराम्रो भनेर कनिकुथी गरेर खोट देखाउने अनि ग्रुपिजममा रहेका साहित्यकारहरूको कृतिलाई भनेर राम्रो भनेर प्रचार गरिदिँदा पाठकहरु झुक्किने त एकातिर छ नै अर्कोतिर बिच्किने प्रवृति बढ्दो छ । र यसले नेपाली साहित्यमा दीर्घकालिन असर गर्ने देखिन्छ ।
तपाईंको कथाका बलियो पक्ष के हुन जस्तो लाग्छ ?
अब आफ्नो कथाको आफै बखान त कसरी गरुँ र खै । तपाईलाई के कस्तो लाग्छ, पाठकलाई के कस्तो त्यसमा भर पर्ने कुरा हो ।
मेरो कृति बिमोचन कार्यक्रममा प्रखर समिक्षक तथा प्राध्यापक राम लोहनी, लेखक तथा साहित्यकार आश्विनी कोइरालाहरूले केही धारणाहरू राख्नु भएको थियो र पाठकहरूबाट आएका फिड ब्याक नै मेरो कृतिको सबल पक्षहरू हुन जस्तो लाग्छ ।
‘डियर एक्स’ कृति युवा वर्गलाई लक्षित गरेर लेखिएको कृति हो नै । यसमा निजामती सेवाका विकृति प्लस प्रेमलाई संयोजन गरिएको छ जुन बजारमा हालसम्म आएका कृतिहरुमा पाइदैन ।
अर्को कथा सलल बगेको छ, पाठकलाई कुनै अलमल हुदैन । यसमा समावेश भएका कथाहरु स्वरैकल्पना भन्दा पनि हाम्रै समाज र निजामती सेवामा पात्रकहरू रहेको कारण कथा आफ्नै जस्तो लाग्छ ।
कथामा प्राञ्जल अर्थात उत्कृष्ट भाषाशैली रहेको भनेर धेरै पाठक तथा समिक्षकहरुबाट प्रारम्भिक प्रतिक्रियाहरू प्राप्त भैरहेका छन्। र म यहाँ के भन्न चाहन्छु कृतिको गुण र दोष पक्ष केलाएर क्रिटिकल्ली समालोचना गर्ने पाठकहरुलाई पुरस्कार समेतको व्यवस्था गरेको छु ।
जुन नेपालमा पहिलो अभ्यास समेत हो जस्तो लाग्छ । यसले नेपाली साहित्यमा पाठक वर्ग भित्र्याउन र कृतिको पाठक वर्गबाट समालोचना गर्न पनि मद्दत पुग्ने विश्वास लिएको छु ।
तपाईंका केही कथामा महिलालाई होच्याउने शब्दहरूको प्रयोग भएको छ, जस्तै डल्ली भएर मननपरेको जस्ता आदि, यस बारेमा के भन्नुहुन्छ ?
सही प्रश्न गर्नुभयो । यो प्रश्न चाहि कृति पढेर नै गर्नु भएजस्तो लाग्यो । हो डियर एक्स कथा सङ्ग्रह स्वरैकल्पनामा भन्दा पनि यथार्थवादी धरातलमा रहेको लेखिएको कृति हो ।
समाजमा जुन भाषा शैली प्रयोग हुन्छ, जस्तो आचरण र व्यवहार गरिन्छ साहित्य समाजको ऐना र समाज परिवर्तनको संवाहक भएको कारण पनि समाजमा महिलाहरुले जुन भाषा र व्यवहार गरिन्छ कृतिमा तिनै भाषाशैलीमा उतारिएको साँचो हो ।
यहाँ हाम्रो समाजमा महिलालाई दिनमा देवी भनेर पुजा गरिन्छ अनि रातमा तिनैलाई बलत्कार गरेर हत्या गरिन्छ । महिलाहरुलाई दिनमा एकखालको व्यवहार गरिन्छ जव घाम अस्ताउछ रात पर्छ अनि पुरुष प्रवृत्ति पनि कालो भएर आउँछ ।
यहाँ कथित ढोंग रच्नेहरू ज्यादा देखिन्छन दिनभरी महिलाको विषयमा वकालत गर्नेहरु घरमा पुग्नासाथ आमा, श्रीमती, बैनीले पकाएको खाना खाएर थालमा चुढेर हिड्ने गरेको देखिन्छ ।
तिमिहरूका लागि मैले कमाएर ल्याइदिएकै छु, पालेकै छु, बाहिर बाहिर महिला अधिकारको बारेमा बोलि दिएकै छु अव परिवर्तन ह्वात्तै हुदैन यसलाई धेरै उचाल्न हुदैन भनेर घरभित्र उल्टो उपदेश दिनेहरु देखेकै अवस्थामा यस कथामा समाजमा महिलालाई यस्तो भन्ने पात्रहरु पनि छन है भनेर देखाउन खोजिएको हो ।
हो, हाम्रो समाजमा महिलालाई अझैपनि भोग्या, मालको रूपमा लिने गरिन्छ । विवाह गर्दा भर्जिन केटीदेखि सलक्क मिलेको जिउडाउ भएको हाइट राम्रो भएको आकर्षक केटीको खोजि गरिन्छ ।
अझै पनि केटी हेर्न या माग्न जाने भन्ने महिला अमैत्री प्रचलन रहेको अवस्थामा यसलाई कलात्मक भन्दा नि जस्ताको त्यस्तै उतार्न खोजिएको हो । शायद नेपाल समाज युरोप अमेरिकाको जस्तो भएको भए कथामा यस्ता शब्दहरु आउने थिएनन ।
तपाईंलाई मनपरेका ५ नेपाली कथाकार ?
नेपाली साहित्यमा अहिले धेरै लेखक तथा कथाकार आइसक्नु भएको छ । तर हाम्रोमा आफ्ना समकक्षीलाई नगन्ने प्रवृत्ति देखिन्छ ।
मलाई त नयाँ आउनु भएका कथाकारहरूका कथा उत्कृष्ट लाग्छन्। अक यिनै उत्कृष्टहरुबाट टप फाइभ छान्ने काम आफैँमा चुनौतीपूर्ण रहँदा रहँदै पनि केही नामहरू लिनुपर्दा विश्वेश्वर प्रसाद कोइराला, श्याम शाह, सुरेश वडाल, उपेन्द्र सुब्बा, आश्विनी कोइराला, सुविन भट्टराईहरूलाई लिन सकिन्छ ।
तपाईंलाई मनपरेका ५ नेपाली कथा सङ्ग्रह ?
यसमा चाहि मेरो केही फरक मत रहेको छ । कुनै कथाकार मन परेपनि उसले लेखेका सबै कथाहरु मन पर्दैनन् । कुनै कथा सङ्ग्रहको एक वा दुई कथाहरू उत्कृष्ट लागेका हुन सक्छन बाँकी कथाहरू एभरेज हुन सक्छन्।
अब यहाँ पाँचवटा कथा सङ्ग्रह अझ भनौँ मैले कृति भन्दा सो कृतिमा रहेको मलाई उत्कृष्ट कथा मात्रै छानेको हुँ।
जसमा अब्बा कथा सङ्ग्रहभित्रको लाटीको छोरो, रहर कथा सङ्ग्रहभित्रको घर छोड्ने योजना, घरबेटीको छोरी, उपेन्द्र सुब्बाको लाटो पहाड, प्रेमालय कथा सङ्ग्रहको शिक्षिकाको कथा, कथाकी पात्र कथासङ्ग्रहको केही कथाहरू र विक्रमभक्त जोशिको प्रकाशोन्मुख कथा सङ्ग्रहको अनुच्छुक सम्बन्ध भन्ने कथाहरु उत्कष्ट रहेका छन जुन मलाई मन परेका छन्।
तपाईंका कथा अलि लामा छन्, कति शब्दसम्मका कथा यसमा अटाउनु भएको छ ?
मेरो कृतिको मूल्य पछि धेरैले गर्ने अर्को आलोचना भनेको कथाहरू अलिक लामा भए भन्ने पनि रहेको छ । हो, मेरा कथाहरू बजारमा आएका अन्य लेखकका कृतिहरुमा समावेश भएका कथाहरू भन्दा केही लामा नै रहेका छन्। यहाँ कति शब्द सम्ममा अटाउनु भएको छ भन्ने प्रश्न छ ।
जुन पाठकलाई नै छाडिदिउँ र मेरा कथाहरू न्यूनतम् नै पाँचहजार शब्दभन्दा माथिका रहेका छन् । तर लामा कथाहरू भनेर आलोचना गर्नेहरूले पनि कथा सलल बगेको कारण पाना पल्टिएको पत्तै भएन समेत भन्नु भएको हुँदा यसलाई मैले त्यति उपद्रो आलोचनाको रूपमा लिएको छैन ।
यसमा अर्को कुरा पनि आज भन्न चाहन्छु राम्रो सम्पादक नभेट्नु पनि मेरा कथाको लागि दुर्भाग्यको विषय हो । सम्पादक भन्दा प्रुफ रिडर हावि भएको देखिन्छ मेरा कथाहरुमा, ह्रव, दीर्घ मात्रै सच्चाएर सम्पादन पुरा गरेको मैले महसुस गरेको छु।
प्रेम, यौन, निजामती कर्मचारीका विकृति, घुस, कुसंस्कार आदि कुरालाई छर्लङ्ग पार्नुभएको छ, तपाईं आफै पनि कर्मचारी, तपाईंका साथीहरू पोल खोल्देकोमा रिसाएनन ?
नेपालमा गोपनियताको शपथ लिने प्रचलन रहेको छ । सार्वजनिक पदाधिकारीहरुदेखि निजामती सेवामा प्रवेश गर्नुअघि गोपनियताको शपथ खुवाउने प्रचलन रहेको छ तर समयसँगै पारदर्शीताको सपथको पनि माग बढिरहेको छ ।
यसर्थ ‘डियर एक्स’ कथासङ्ग्रह भित्र निजामती सेवा भित्रका विकृति तथा विसङ्गतीहरूलाई ह्याङगै भन्दा पनि छ्याङग पारेर पाठकमाझ आएको छ ।
जहाँसम्म साथिहरूको पोल खोलिदिएको भनेर रिसाएको कुरा गर्नु भयो । रिसाएको मात्रै भए हुन्थ्यो त केही साथिहरुले त्यो पात्र म हुँ, तपाइले मलाई पात्र बनाएर कथा लेख्नु भयो भनेर बोल्न नै छाड्नु भयो ।
केही साथिहरुले ब्लक गर्नु भएको छ । र एउटा अफिसमा त मलाई यही कथाको कारण साथिहरू एकजुट भएर हाजिर हुन समेत नदिर्इ फिर्ता पठाएका पनि छन्। तपाई त यस्तो लेख लेख्नु हुदो रहेछ भनेर बेनामे नाममा आफ्नो अफिस सम्वद्व न्युजहरू आउँदा पहिलो नजर नै आफुतिर लगाउदा रहेछन्।
यो न्युज यसैले पो पठाएको हो कि त भनेर शंका उपशंका गर्ने प्रचलन निजामती जस्तो श्रेष्ठ सेवामा पनि हुदो रहेछ भनेर कहिले काँही त दुःख लाग्छ ।देशको राजधानी काठमाडौं अनि त्यसको पनि प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा विरालोले बाटो काट्यो भनेर अपशगुन पर्यो भन्नेहरुको विगविगी देखेको छु।
यति सबै हुँदा पनि मैले यसलाई सामान्य रुपमा नै लिएको छु । लेखक भएपछि त्यसमा पनि भएका र सत्य कुराहरु कथा मार्फत बाहिर ल्याउदा विचलित हुनु हुदैन भन्ने लागेर यस्ता झिना मसिना बोलचाल बन्द हुने, तर्किने, ब्लक गर्ने, नाकनिक गर्ने प्रवृत्तिलाई पचाउने प्रयास गर्दै छु ।
कथा सङ्ग्रहको नाम अलि हल्का राखेजस्तो लाग्दैन ?
नाममा आखिर के हुन्छ र हजुर । जे हुन्छ भित्र कन्टेन्टमा हुन्छ । र रह्यो कुरा नाम हल्का राखेको भनेर ।
हाम्रो समाजमा धनवहादुर भनेको मान्छे पनि कंगाल भैरहेको हुन्छ, बिरवहादुर नाम गरेकाहरू सबै सुरबिर र वहादुर हुदैनन्। यसर्थ मेरो कृतिको नाम युनिक छ र यसका समावेश भएका कथाहरु पनि युनिक छन ।
मलाई यसको नाम हल्का भयो भनेर कुनै पछुतो छैन बरु यो नाम पनि गर्व समेत छ । गर्व यस मानेका किन यहाँ ‘एक्स’लाई ‘डियर’ भनेर कसैले सम्बोधन गर्दैन ।
‘एक्स’को सबै थाहा हुँदा पनि बोलचाल बन्द हुने, तर्केर हिड्ने, अञ्जान बन्ने अवस्था जो त्यसलाई चिर्दै एक्ललाई डियर भनेर सम्बोधन गर्नुपर्छ भन्ने सन्देश दिनको लागि यस्तो नाम चुज गरिएको छ ।
अर्कोतिर अहिले समाज हिजोको जस्तो छैन । आज एक्स कमन वर्ड भएको छ । कलेज पढ्ने युवा युवतीहरू आज खुलेर ‘एक्स’को कुरा गर्न थालेका छन् ।
पुस्तकालय र पुस्तक पसलहरूमा पनि युवा युवतीहरूले यस्तै प्रेम, यौन विषयका साहित्यहरूमा रुचि बढेको देख्न सकिन्छ।
अझ पछिल्लो समय टिकटकले त एक्स भन्दा पनि हल्का शब्दहरूको प्रयोग बढाएको छ । समाज विस्तारै खुला बन्दै जाँदा ‘एक्स’ शब्द हल्का जस्तो लाग्दैन ।
पाठक प्रतिक्रिया कस्तो पाइरहनु भएको छ ?
पाठक प्रतिक्रिया गज्जबको पाइरहेको छु । धेरै पाठकले मलाई त्यो फलानो नाम गरेको पात्र को हो, अहिले त्यो कहाँ छ, कथा आफ्नै हो कि भन्नेदेखि लिएर कथा मार्मिक लाग्यो, यसको भाषा शैली र कथामा एकखालको अव के हुन्छ भन्ने खालको सस्पेन्ड थ्रिल उत्पन्न गराउने देखि कथाको इन्डिङ मन पर्यो भन्ने खालको प्रतिक्रिया दिइरहनु भएको छ ।
वास्तवमै पाठक अनि फ्यान फलोइङ भन्ने कुरा रोचक हुँदो रहेछ । पाठकहरुसँग गफ गर्न मज्जा आउदो रहेछ । धेरैले व्यक्तिगत विषयमा धेरै सोधिदिँदा भने मैले धेरै अन्तरबार्ताहरुदेखि भाग्नु परेको छ ।
अब के लेख्ने विचारमा हुनुहुन्छ ?
एउटा लेखकले एउटा कृति लेखिसकेपछि उसले तत्काल केही लेख्न सक्दैन भन्ने मान्यता रहेको देखिन्छ । बास्तबमा म यसलाई महिला र पुरुषको कोणबाट अर्थ्याउन चाहन्छु ।
कृति भनेको सन्तान हो । सन्तान उत्पादन गर्न पुरुष अर्थात बाबुले यौन सम्पर्क नै गर्नुपर्ने हुन्छ । एकपटक स्खलन भएपश्चात तत्काल सम्पर्क सम्भव हुदैन यसको लागि केही समय कुर्नुपर्ने हुन्छ किनकी स्खलनको लागि सारा शक्ति जो लगाएको हुन्छ ।
यसमा महिला अर्थात आमाको कोणबाट हेर्दा एक सन्तान जन्माएपछि फेरी अर्को सन्तान जन्माउन आमाहरूलाई पनि केही समय त लाग्छ नै त्यसैगरी लेखकले पनि आफ्नो सारा तन र मन खर्च गरेर कृति निकालेपश्चात नयाँ सिर्जनाको लागि कथा, भुगोल र पात्रको संयोजन गर्नको लागि केही तयारी गर्नुपर्ने भएको कारण हाल मैले उपन्यासको प्लट तयारी गरे पनि १२–१५ महिना अगाबै कृति बजारमा आउन सक्ने अवस्था देखिदैन ।
अब यसपछि आउने मेरो उपन्यास यो कृति भन्दा बुलन्द आउने छ किनकी यहाँ लेखकले पहिला भन्दा दोस्रो कृति खस्किएको आरोप खेपिरहेको अवस्थामा त्यो चुनौती जो मैले पार गर्नुपर्ने छ ।
किताब सङ्ग्रह आएर मात्र हुँदैन, यसलाई पाठकसम्म पुर्याउन पब्लिसिटीको पनि आवश्यक पर्छ, यसको लागि के गर्दै हुनुहुन्छ ?
हो कृति बजारमा आएर मात्रै हुदैन यसको लागि पब्लिसिटी चाहिन्छ तर यहाँ ठुला मिडियाको सिण्डिकेट रहेछ त्यसमा पनि नयाँ लेखकलाई न ठुला मिडियाले साथ दिन चाहन्छन् न पुस्तक पसल र वितरकले पनि त्यसले गर्दा मेरो कृति प्रमोशनमा निकै नै असर परेको देखिन्छ । फेरी यहाँ निशुल्क त समाचार पनि आउदो रहेनछ ।
यसका लागि मिडियाका मान्छेहरू चिन्ने अनि चिनेर पनि भएन भने किन्ने पनि गर्नुपर्दो रहेछ ।
कुनै बेला म आफै सञ्चार मन्त्रालय र सूचना विभागमा हुँदा धेरै मिडियाकर्मी, मिडिया सञ्चालकहरू चिनजान थियो अझै पनि मोबाइलमा सेभ गरेका नम्बरहरुमा मिडियाकर्मीहरूको नै बढी रहेको हुँदा पनि त्यस ठाउँबाट सरुवा भएको कारण मिडियाहरूमा पद र पावरको कारण पब्लिसिटीमा समस्या परेको छ ।
कुनै बेला युट्युबर र अनलाइन टिभिहरुले रेडियो र टिभिहरुलाई असर गर्यो ।
युट्युबर पत्रकार होइन यिनीहरू मिडियाका भाइरस हुन् भनेर लेख्ने मान्छे आज म आफै ठूला मिडियाको सिण्डिकेट देखेर युट्युबर गुहार्दै युट्युब, टिकटिक देखि सामाजिक सञ्जालहरूमा प्रमोशन गर्दै हिड्नुपर्ने बाध्यता छ । यसमा पछिल्लो समय पुन्य गौतम मेरो कृति प्रमोशनमा जोडिनु भएको कारण केही राहत महसुस भएको छ ।
व्यस्त जीवनशैली हुँदाहुँदै पनि साहित्य सिर्जनामा लाग्नुभएको छ, समय कसरी व्यवस्थापन गर्नुहुन्छ ?
वास्तवमै सही प्रश्न गर्नु भयो । देश र जनताको सेवा गर्ने भनेर सरकारी जागिर खाएका मान्छे साहित्य सिर्जनाको लागि समय व्यवस्थापन गर्न निकै नै गाह्रो हुने रहेछ । त्यसमा पनि कतिपय अफिसहरु यस्ता हुन्छन कि विहान दश बजे अफिस पुग्दा सेवाग्राहिको लाइन झ्यालदेखि मुल गेटसम्म लागिसकेको हुन्छ ।
यसमा निजामती सेवाको फ्रन्ट लाइनमा बसेर हाकिम र सेवाग्राहिको पूल बन्दै काम गर्नुपर्ने अवस्थामा कहिलेकाँही त नांगो खुकुरीको धारमा हिडेँजस्तो लाग्छ ।
त्यसमाथि सँगैका साथिहरू लोकसेवा पाठ्यक्रम घोकेर धमाधम माथिल्लो पदमा पुगेर आफ्नै सुपरभाइजर बनिसक्दा आफूचाहि कथा र उपन्यासमा अल्झिएको देख्दा परिवारका सदस्यहरू पनि छक्क पर्ने गरेको देखेको छु ।
यी सबैका बावजुद फुसर्द हुनासाथ म साहित्यिक अनलाइन, पत्रपत्रिका र धेरैजसो मेरा फेसबुकमा पनि मिडियाकर्मी त्यसमा पनि साहित्यिक विट संयोजन गर्ने र लेखकहरू रहेको हुँदा मलाई फुर्सदमा उनीहरूकै लिंक, लेख रचना स्टाटस, कमेन्ट तथा सिफारिश गर्नु भएका समिक्षा गर्नु भएका साहित्यिक कृतिहरूको अध्ययन र खोजीमा लाग्ने गरेको छु ।
र अर्को कुरा म पहिला ल्याबटब नहुँदा हरेक दिन डायरी मेन्टेन गर्थे आजकाल ल्याबटपमा हरेक दिन अफिसदेखि साथिभाई सेवाग्राहि भएका रमाइला संवाद, घटनाहरू टिपोट गर्छु जसले गर्दा मलाई कथा तथा उपन्यासमा पात्र तथा परिवेश सिर्जना गर्न र अन्य लेखहरूका लागि यसले धेरै सहयोग पुर्याउने गरे पनि कतिपय अफिसमा हाकिमको पूर्व स्वीकृति लिएर मात्रै लेख रचनाहरु पठाउनुपर्ने राणाकालीन शैली र कुनै लेख आएपछि शब्द शब्द केलाएर केरकार गर्ने प्रवृतिले भने केही हतोत्साहित र लेख रचनामा दम रहेछ भन्ने लागेर थप उत्साहित पनि बनाउने गरेको छ ।
प्रतिक्रिया
-
४
