काठमाडौँ – कोरोना महामारी केही कम भएसँगै अन्य व्यवसायले बिस्तारै लय समाति सकेका छन् । पुष्प व्यवसायले भने पुरानै लय लिन अझै एक वर्ष लाग्ने बताइएको छ ।
कोरोना भाइरसका कारण पुष्प व्यवसायले दैनिक रु एक करोडसम्मको नोक्सान सामना गर्नुप¥यो । अहिले विस्तारै व्यवसाय सञ्चालनमा आए पनि महामारी सुरु हुनुपूृर्वको जस्तो बजारमा चहलपहल हुन सकेको छैन ।
भर्खर चाडबाड सकिएको छ । अहिले विवाहको मौसम हुँदा पनि आशाअनुरुप फूलको कारोबार हुन सकेको छैन ।
त्यसैले १६ महिनाअघिको यस व्यवसायले लय समात्न ६ महिनादेखि एक वर्षको समय लाग्ने फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताए ।
उनले भने, “कोरोना महामारी अझै हटेको छैन । विश्वासका साथ व्यवसायीले यस क्षेत्रमा लगानी बढाउन पाएका छैनन् । लामो समयसम्म व्यवसाय चलायमान गर्न नपाएपछि २५ प्रतिशत व्यवसायी अन्य पेसामा पलायन भइसकेका छन् ।”
कोरोना सुरु हुनुभन्दा पहिले असोजदेखि फागुनसम्म फूल उत्पादन र बिक्री वितरण हुन्थ्यो ।
विश्वभर फैलिएको कोरोना महामारीको एकपछि अर्को लहर आउँदा यस व्यवसायले डेढ वर्षदेखि पर्याप्त आम्दानी गर्न सकेको छैन ।
त्रासकै बीच लामो समयदेखि बन्द रहेको अन्य व्यवसाय सञ्चालनमा आउँदा पनि यस व्यवसायले गति समात्न अझै नसकेको अध्यक्ष तामाङ बताउछन्।
कोरोना अघि सामान्य समयमा दैनिक रु एक कारोडभन्दा बढी फूलको कारोबार हुने गरेको थियो । गत जेठ–असारमा कोरोना उच्च विन्दुमा पुग्दा मुस्किलले रु दुई लाखमा मात्र चित्त बुझाउनु परेको अध्यक्ष तामाङ सम्झन्छन् ।
हरेक वर्ष रु तीन अर्बको कारोबार गरिरहेको उक्त व्यवसायले गत आर्थिक वर्षमा रु एक अर्ब ६५ कारोड मात्र कारोबार गरेको थियो ।
विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिक रुपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएका छन् ।
यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।
फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ ।
नेपालमा २००७ सालदेखि सुुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकाससँगै फस्टाउँदै गएको छ ।
प्रतिक्रिया
-
४
