काठमाडौँ – साहित्यकार मायादेवी गुरुङको पहिलो साहित्यिक कृति (कविता सङ्ग्रह) ‘जिन्दगी’ लोकार्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल शाखाले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ डा जगमान गुरुङले सो सङ्ग्रह सार्वजनिक गरेका हुन् ।

कोहीले पनि भाषाको विरोध गर्नुभन्दा सिर्जनामा लाग्नुपर्नेमा उनले जोड दिए ।

“भाषाको विरोधभन्दा सिर्जनामा लाग्नु अहिलेको आवश्यकता हो”, गुरुङले भने। भाषा र संस्कृतिको प्रवद्र्धनमा लाग्न उनले सबैलाई आग्रह गरे।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले कवयित्री गुरुङले सानैदेखि साहित्यको अध्ययनमा रुचि राख्ने गरेकी सिर्जना गर्न प्रेरणा मिलेको बताए । “साहित्यको अध्ययनले नै कविता लेख्ने बाटो देखाएको हो”, उनले भने ।

साहित्यकार माया ठकुरीले नारी अभिव्यक्तिको स्वतन्त्रताका पक्षमा ‘जिन्दगी’ कविता सङ्ग्रहले आवाज उठाएको उल्लेख गरिन् ।

अनमेल विवाह र छोरीप्रतिको हेलाको भावबारे कविताले जागरणको काम गर्ने उनको भनाइ थियो । समालोचक ज्ञानु अधिकारीले विदेशमा बस्दा स्वदेशी याद आध्यात्मिक भावनाका कविताका रूपमा नेपाली साहित्य फाँटमा देखापरेको बताइन् ।

कवितामा वर्तमानमा संवेदना हराउँदै गएका मानिसप्रति चिन्ता व्यक्त गरिएको छ । जिन्दगीका खुसी र पीडालाई कवियित्रीले कविताका माध्यमबाट सार्वजनिक गरेको उनले सुनाइन् ।

कार्यक्रममा अनेसासका सल्लाहकार सुमल गुरुङ, उपाध्यक्ष राजेन्द्र केसी, कवयित्रीका पति विजय गुरुङ, कवयित्री गुरुङ, दीपा राई, प्रा डा रामप्रसाद दाहाल, रत्नबहादुर गुरुङ, अनेसास नेपाल शाखाका अध्यक्ष सन्ध्या पहाडी, प्रा डा खगेन्द्रप्रसाद लुइँटेललगायतले कविता सङ्ग्रहका कविता वाचन गरेका थिए ।

सो सङ्ग्रहमा ५३ कविता समावेश छन् । एक सय नौ पृष्ठको सो पुस्तकको मूल्य रु २०५ र विदेशमा पाँच डलर कायम गरिएको छ । अनेसास बेलायत शाखाले उक्त पुस्तक प्रकाशन गरेको हो ।

यसअघि उनका विभिन्न कविता पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर