काठमाडौँ पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको आयोजनामा राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिताको प्रथम उपाधि आधुनिक राष्ट्रिय मावि हेटौडा, मकवानपुरका विद्यार्थी सजित विश्वकर्माले जितेका छन् ।

यसैगरी, दोलखा मेलुङ दोलखा घर भई हाल ग्याल्यासियर इन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत् राजु उवरकोटी द्वितीय र आदर्श मावि,स्याङ्जामा अध्ययनरत विविका रणपाल तृतीय भएका छन्।

प्रतिष्ठानबाट जातिय विभेदका तथा असमानताका विरुद्ध जनचेतना अभिवृद्धिका लागि दलित तथा पिछडिएका समुदायका विद्यार्थीहरूलाई यस विषयमा कविता लेखनमा अभिप्रेरित गर्न प्रतिष्ठानबाट कविता प्रतियोगिता पहिलो पटक आयोजना गरिएको हो।

प्रतिष्ठानका संस्थापक तथा अध्यक्ष पदम विश्वकर्माले यस्तो प्रतियोगिता प्रत्येक वर्ष गरिने जानकारी दिए । प्रतियोगितामा प्रथम द्वितीय र तृतीय स्थान हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार पुरस्कार प्राप्तसहित प्रमाणपत्र पनि प्राप्त गरेका छन् ।

प्रतियोगितामा २०७८ श्रावण १ गते देखि भाद्र २० गतेसम्म माध्यामिक तह (१२ कक्षासम्म)मा अध्ययनरत् विद्यार्थीहरूबाट प्राप्त कविताहरू छनोटका लागि साहित्यकार रणेन्द्र बरालीको संयोजकत्वमा साहित्यकार बाबा बस्नेत र कवि आर.बि निश्चलसहितको छनोट समिति गठन गरिएको थियो।

उक्त समितिको सिफारिशको आधारमा प्रतिष्ठानबाट यो निर्णय गरिएको हो। प्रतियोगितामा उत्कृष्ट प्रतियोगीहरूले कार्तिक ७ गते प्रज्ञा प्रतिष्ठान, काठमाडौँमा एक कार्यक्रम आयोजना गरी पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता व्यवस्थापन समितिका संयोजक डा. मानबहादुर बिकेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर