– जीवन खत्री

यतिबेला
छातीमा आत्मघाती बम बोकेर
मलाई विमानस्थलको छातीमै
जीवनको अन्तिम नृत्य गर्न मन छ

कुनै रेमिटेन्स कम्पनीको विज्ञापन बोर्ड मुन्तिर उभिएर
जब जानेहरूको लर्को नियाल्छु
तब किन लाग्छ ?
मेरो देशको निधारमा उदाउँदै गरेको घाम – ओर्लँदैछ
तब किन लाग्छ ?
मेरो देशको आँखामा चढ्दै गरेको उज्यालो – डुब्दैछ

जानेहरूले
ओठै नखोली गाएका बिछोडका गीतहरू
पुर्याउनेहरूले
आँशुको मसीमा चोब्दै लेखेका कविताहरू
हृदयको तार चुँडिएपछिको बिरही सारङ्गी
पँखेटा काटिएकी पन्छीको भ्याटभ्याट
र मेरै शिरमाथिको नीलो आकाशमा
काला बादलहरूको दौडधुप र बैठक

धमिला आँखा बोकेर म
धर्मरिँदै धर्मरिँदै
हिमालको फोटो टाँसिएको भित्तोमा अडेस लाग्छु,
त्यहीबेला
देशको नक्शाजस्तो मजेत्रो ओढेर
थर्मशमा चिया बेच्दै एक वृद्ध आमा आउँछिन र भन्छिन्,
“बाबु, थाहा छ?
विमानको एउटा ढोका खोल्न कति घरका ढोका बन्द हुनुपर्छ?
थाहा छ,
एउटा विमान भरिन कति गाउँहरू रित्ता हुनु पर्छ?”

युद्धताकाको तातो गोली ह‍ो कि?
हो ती आमाको प्रश्न?
म रगतको बान्ता भएको मुख छोप्दै
आँखामा रगतकै आँशु पुछेर
रगताम्य गुरासेँ गाउँहरू सम्झन्छु,

अझै छन् गाउँमा
जाई फूल र त्यसको पहेँलो बास्नाहरू
तर नाकहरू विमान चढीसके

छ्न्, बेलौती र खनायोका स्वादहरू
तर जिब्रोहरू विमान चढीसके

छन्, चराका गीतहरू
तर कानहरू विमान चढीसके

गाउँको भित्तामा
मादल झुण्डीरहेकै छ, खै त खरी?
सम्साँझै उँघी रहेछ रोधी, खै त मुर्छन्ना?
अहो !
को होला ? गाउँको रौकनातामा चिसो पोतेर
विमानस्थल छेउको होटलमा न्यानो पार्ने मान्छे

गाउँमा
खेत-बारीका पाटाहरू छन्, पाखुरा पर्खीरहेका
मेटिँदै गरेका बाटाहरू छन्, पाईताला पर्खीरहेका
घरहरू पनि छन्, यौवनको रङ्ग रोगन पर्खीरहेका
चश्मा लगाएका बृद्ध आँखाहरू पनि छन्
जवान छोरा छोरीको हात पर्खीरहेका

बस, गाउँमा गाउँ छैन
खै त गाउँ?
कोइलीको आँशुले भिजेको हाँगा बोकेर रुख भन्छ,
“गाउँ, विमानस्थल पुगेर विमान चढीसक्यो”

हो, यतिबेलै त हो
छातीमा आत्मघाती बम बोकेर
मलाई विमानस्थलको छातीमै
जीवनको अन्तिम नृत्य गर्न मन लागेको
तर के गर्नु,
जानेहरू फर्किन पनि त विमानस्थलनै चाहिन्छ नि,
हैन र?

***

प्रतिक्रिया

सम्बन्धित खवर