– सबिन निरौला

कफीको कप हातमा थियो, बाफ बिस्तारै माथि उड्दै थियो…
म त बस् त्यसैलाई हेरिरहेँ, जसरी पुराना यादहरू पनि मनबाट उड्दै जाओस् भन्ने चाहना थियो। त्यो न्यानो बाफमा कताकता आफ्नै कथा देखेँ—अधुरा संवादहरू, नबोलेका शब्दहरू, अनि समयसँगै फिक्का हुँदै गएका केही सम्बन्धहरू। कहिलेकाहीँ लाग्छ, हामी आफैंले नै अनावश्यक कुराहरूलाई मनसँग जोडेर आफूलाई नै थकाउँछौँ। दुनियाँका तिता शब्दहरू, अरूका कठोर व्यवहारहरू—यी सबैलाई किन यति गहिरो ठाउँ दिन्छौँ हामी?

कफीको सानो चुस्की लिएँ, अनि सोचेँ…
यो कफिको तितोपनलाई पनि मिठाससँग पिउन सक्छु भने, किन जीवनका तितोपनलाई स्वीकार गर्न सक्दिनँ र? सायद जीवन पनि यस्तै हो—कहिले तीतो, कहिले मीठो, तर दुवै बिना स्वाद अधुरो। हामी प्रायः सुखलाई मात्र अँगाल्न खोज्छौँ, दुःखलाई भने टार्न खोज्छौँ। तर सायद दुःखले नै हामीलाई गहिरो बनाउँछ, सिकाउँछ, र अझ बलियो बनाउँछ।

सायद बिर्सनु नै सबैभन्दा ठूलो जित हो, सायद छोडिदिनु नै सबैभन्दा ठूलो साहस हो।
किनकि सबै कुरा मनमा राखेर बस्दा, मन आफैं भारी हुँदोरहेछ। पुराना चोटहरूलाई बारम्बार सम्झिरहँदा, हामी वर्तमानको सानो खुसी पनि महसुस गर्न बिर्सिन्छौँ। कहिलेकाहीँ छोडिदिनु हार होइन, बरु आफ्नै शान्तिका लागि गरिएको एउटा बुद्धिमानी निर्णय हो।

त्यसैले आज यो कफिसँगै, अलि-अलि गरेर पुराना यादहरूलाई बिदाइ दिँदैछु…
र आफूलाई सम्झाउँदैछु—सबै कुरा आफ्नो नियन्त्रणमा हुँदैन, तर आफूलाई कसरी सम्हाल्ने भन्ने चाहिँ आफ्नै हातमा हुन्छ। नयाँ सुरुवातका लागि मन खाली गर्नुपर्छ, अनि मात्र नयाँ खुसीहरूले ठाउँ पाउँछन्। शायद यही नै साँचो स्वतन्त्रता हो—आफ्नै मनसँग हलुका भएर बाँच्न सक्ने क्षमता।

कफीको अन्तिम चुस्कीसँगै, मैले महसुस गरेँ—समय कहिल्यै रोकिन्न, तर हामी भने अड्किरहन सक्छौँ यदि चाह्यौँ भने। त्यसैले अब अघि बढ्ने निर्णय पनि आफ्नै हो। विगतलाई सम्झनु गलत होइन, तर त्यसैमा हराइरहनु भने आफैंप्रति अन्याय हो। जीवनले हरेक दिन नयाँ अवसर दिन्छ—फेरि हाँस्न, फेरि माया गर्न, फेरि सुरु गर्न। आजबाट सायद म पनि त्यही अभ्यास गर्नेछु—थोरै बिर्सने, थोरै सिक्ने, र धेरै बाँच्ने।

***

प्रतिक्रिया

सम्बन्धित खवर