– मन्दिप बाँस्कोटा

हेर्दा चिसो, कठोर र कडा देखिने
त्यो झम्पल हुन् “बा”
जसले आफू भासिएर नि
अरु उभिने जग तयार गर्दिनु छ।

सन्ततिको उज्वल भविस्यको निम्ति
घोटीदै गरेका
मेटिदै गरेका ती खरीहरु हुन् “बा” ,
जसलाई धेरै खाली पानाभित्र
जिन्दगीका आकार प्रकार र रङ्गहरु भर्दिनु छ।

“बा “धितो र ब्याज बिनाका ती ब्याङ्क हुन्
जसमा,
सिर्फ सामाजिक-मूल्यमान्यता
अनि प्रतिस्ठाका भौचरहरु मात्रै डिपोजिट हुन्छन् !

निधारका रेखाहरुले
बाटो देखाएर भित्र्याइदिएका
टाउको उठाउनै नदिने
ती गह्रौ तनावका भारीहरुलाई,
परिवार भित्रको सानो मुस्कानको आडमा बिसाउन सक्ने  ब्यक्ती “बा” हरु नै हुन् !

“बा ” का धैर्यताको भाँडाहरु
यति ठूला हुन्छन् कि,
छातिमा जमेर बसेका पीडाहरुलाई
उनले लामो सर्को तानेर
सुर्तीको धुवासगै उडाइदेलान्
तर
” बा”जस्तो सुकै मजबुरीमा पनि
यति सजिलै जो कोहिको अगाडी पोखिदैनन् !

त्यसो त,
ब्यवहारले बाँध्नुअघि
उनीहरू पनि गडबडाउदै बग्ने खहरे नै त हुन् !
कहिले चुनौतीको भीरसँग
कहिले जिम्मेवारीको चट्टानमा ठोक्किदै
हाम फालेपछि
जसरी त्यो खहरे एक्कासी झरना बन्यो ,
त्यसरी नै उनीहरू ” बा “बनेका हुन् ।

बा को मुख हेर्न जादा
आफ्नो पनि त मुख देखाउनुपर्छ!
बुबाआमाको अगाडि
छोराछोरीको उपस्तिथि त यसै  गर्विलो हुन्छ,
अनुहार उसै प्यारो हुन्छ,
बा को सम्मुख परेको आफ्नो मुखलाई
आफ्नै नजरले  चाहिँ
कतिको ओजीलो र गर्विलो महशुस गर्‍यो ?
हरेक बर्षको कुशेऔशीमा यो आभास खड्किरहन्छ मेरो मनभित्र ….

किनकि ,
देश काल परिवेश
स्थिती परिस्थिले
अनि समय र समाजले
खारेर ,निखारेर
“बा ” को अनुहारमा जमेर बसेको  गम्भीरतालाई
नियाल्न सक्ने भएको छैन म ।

***

प्रतिक्रिया

सम्बन्धित खवर