– नवराज न्यौपाने ‘मौन’

आमा हुँदा भुवनमा गर नित्य पुण्य
आमा गए गगनमा घर बन्छ शून्य
आँखा भएर रसिला मन दुख्छ आमा
लम्की हिडेँ सतहमा बस सम्झनामा

तिम्राे मुहार हँसिलाे न त भुल्न सक्छु
धर्ती विषे सुमनले न त खुल्न सक्छु
श्रद्धाञ्जली कति दिएँ कति आँसु झारेँ
तिम्रा सबै वचनमा सपना उतारेँ

बाबा हुँदा घर थियाे अति स्वर्गतुल्य
आदर्शका पल थिए ममता अमूल्य
बिर्सी सबै उदरका अब चाेट दर्द
चल्दै रहेँ सुमनले म बनेर मर्द

अल्प्याै दुवै अब भएँ टुहुराे अनाथ
हेर्दै गरे भुवनमा तब मिल्छ साथ
बस्लान् हरे हृदयमा ननिका विचार
गर्दै रहे अटल भै सब वारपार

(छन्द: वसन्ततिलका)

***

प्रतिक्रिया

सम्बन्धित खवर