– बालकृष्ण ‘अज्ञात’
राजा मारिएको वर्ष जन्मिएको मलाई,
कसैले सिकाएन देशको गुणगान गाउन
कसैले बताएन देशसँग माया लाउन
सधैँ देश र राजनीतिमाथि नाक खुम्च्याइयो
सतिले सरापेको भनेर देशलाई आरोप लगाइयो
यत्ति भएपछि बालकलाई के चाहियो
यसैगरी मनमनै देशलाई ठम्याइयो
भ्रम भ्रममा बाल्यकाल बिताइयो ।। १ ।।
अब अलिकति ठुलो भइयो
फेरबदल गरेर अनेकाैँ पार्टि धाइयो
देश भत्काउनेका पछि पछि लाइयो
सडक सडकमा टायर जलाइयो
ढुङ्गा मुढा मात्र हैन, खुकुरी पनि समाइयो
तर देशको झन्डा कहिल्यै समाइएन
देशको नक्सा कहिल्यै चाहिएन
सँधै नेता र नेतृत्वसँग देशलाई दाँजियो
भ्रष्टचारी र लुटेरालाई बचाउन बाँझियो
गल्ली-गल्लीमा देश सम्झेर थुकियो
चोक चोकमा देशमाथि भुकियो
युवावस्था देशविरूद्ध खटाइयो
जोश जाँगर र जवानीलाई कटाइयो ।।२।
खै कहिल्यै गरीएनछ देशलाई माया
कहिल्यै गरिएनछ देशप्रति गर्व
कहिल्यै भएनछ देशलाई गहिरीएर सोँच्ने फुर्सद
कहिल्यै सम्झिएन देशले दिएको योगदान
कहिल्यै बुझिएन पुर्खाको बलिदान
कहिल्यै पल्टाइएन देशको ईतिहास
कहिल्यै गरिएन देशमाथि कृतज्ञता
आज आफ्नै अज्ञानतामाथि दया लाग्छ
आज आफ्नै कर्मप्रति पश्चाताप लाग्छ
अटल अगम र अनन्त काल देखिको निर्दोष मेरो देश
मैले नबुझी नबुझी बुढो भएँछु
अब देशसँग प्रेम गर्ने मन छ ।।३।।
***
प्रतिक्रिया
-
४
