– सविन निरौला
सोचेको थिएँ, आकाश छुनेछु,
उडेका थिए सपनाहरू पंक्षी जस्तै,
तर, पखेटा थिए अधुरा,
हावाले साथ दिएन मलाई सधैंभरि
सम्भावना थियो अनेकौं,
मनको पन्नामा लेखेका थिएँ चाहनाहरू,
तर, बाटोमा थिए ढुंगाहरू,
जसले हरपल रोकेर राख्यो पाइलाहरू
जीवनको यात्रा सहज लाग्थ्यो,
खुसीका फूलहरू झर्ने आश थियो,
तर, काँडाहरूले सताए,
सपना फूल्न नपाउँदै झरेर गए
सपना सँगै थियो ठूलो चाह,
जीवनको हर मोडमा जित्ने प्रतिज्ञा,
तर, कठोर यथार्थको लहरमा,
हर सपना बगेर गयो एक नजरमा
माया थियो मनमा अटूट,
समर्पण थियो निःस्वार्थ,
तर, समयले साथ दिएन,
माया बन्दै गयो केवल सम्झनाको कथा
पिउन खोजेँ मिठास जिन्दगीको,
हाँस्ने कोशिश गरेँ हरेक क्षण,
तर, आँशुहरू नरोकिने भए,
अनुभूतिले छेकेर राख्यो हरेक चाहनालाई
गगनमा जहाज उडाउने सपना थियो,
ताराहरूको साथमा यात्रा गर्न चाहन्थेँ,
तर, आँधी आयो एक्कासी,
सबै सम्भावनाहरू क्षणभरमै विलीन भए
तर, जीवन छ अझै बाँकी,
यी पीडाका लहरहरू पार गर्दै,
सपना देख्न छोडेको छैन,
तर, कहिलेकाहीं मन थाकेर बस्छ एक्लै।
***
प्रतिक्रिया
-
४
