निबन्धकार तथा नियात्राकार युवराज नयाँघरे विशेषतः निबन्ध तथा नियात्रामा कलम चलाउँछन् । उनको ‘एक हातको ताली’ निबन्ध सङ्ग्रहले २०६५ सालको मदन पुरस्कार समेत प्राप्त गरेको छ । यसका साथै नयाँघरेले राष्ट्रिय प्रतिभा पुरस्कार (२०५६), उत्तम शान्ति पुरस्कार (२०५८) र युवावर्ष मोती पुरस्कार (२०६१)आदि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान पनि प्राप्त गरेका छन् ।
उनको निबन्ध सङ्ग्रहहरू ‘संवेदनाका स्वरहरू’ (२०५५), ‘मुहूर्तको वरिपरि’ (२०५५), ‘मुखुण्डाको मन’ (२०५५), ‘काठमाडौँलाई कोर्रा’ (२०५८), ‘नीलडाम’ (२०६१), ‘अनाम पहाडमा फनफनी’ (२०६२), ‘एक हातको ताली’ (२०६५), ‘स्वाहा’ (२०६९), ‘हरियो राहदानी’ (सन् २०१२), ‘घामको चुम्बन’ (नियात्राहरू–२०६७)लगायतको डेढ दर्जनबढी कृति प्रकाशित छन् । केही अघि उनको निबन्ध कृति ‘आगोको बीउ’ सार्वजनिक भएको छ । सोही पुस्तकको सेरोफेरोमा आँगनका लागि सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न र निबन्धकारको जवाफ प्रस्तुत छ :
१, ‘आगोको बीउ’ निबन्ध सङ्ग्रहका लागि यहाँलाई शुभकामना । यो सङ्ग्रहको बारेमा छोटकरीमा परिचय गराई दिनुहोस न् ।
आत्मपरक निबन्ध र नियात्रामा मैले समानान्तर ढंगले काम गरेँ । २०६५ सालमा एक हातको ताली निबन्ध संग्रहले मदन पुरस्कार पाएपछि म अलिक बढी नियात्रातिर लागेँ । आत्मपरकतामा विचार, कला, दर्शन र सिर्जनात्मक खुबीको चहक देखाउन सकिन्छ तर नियात्रामा भूगोल र बाह्य संसार मुखरित गराउनुपर्ने हुन्छ । एक हातको तालीपछि म लामै समय नियात्रामा केन्द्रित भएँ । प्रकाशन पनि बढी नै नियात्राका कृति भए । फुट्कर लेखन भने हुँदै थियो निबन्धमा ।
आगोको बीउ धेरै पाठकले मलाई आत्मपरक निबन्धको चाह, रहर, अपेक्षा गरेको हुनाले यो कृति आएको हो । समकालीन चेतना बाँड्न र स्थितिमाथि केही कठोर र प्रष्ट अभिव्यक्ति मार्फत् म आएको छु । एक अर्थमा मेरो निबन्ध प्रतिको उच्च सम्मान, आदर, स्नेह र जिम्मेवारी बोधको ‘यु टर्न’ हो यो प्रकाशन ।
२, नेपालमा निकै लामो समय आगो दन्कियो । आगोले व्यवस्था परिवर्तन गरिदियो तर बीसौँ वर्षदेखि जनताको अवस्था भने परिवर्तन हुन सकेन । सडकको आगो बिस्तारै अगेनोमा बल्न थालेको हो कि भन्ने लागेका बेला यहाँले आगोको बीउ खोज्नुको संकेत के हो ?
समाजमा प्राज्ञिक र बौद्धिक अभ्यास भइरहन्छ । न्याय, समानता, उज्यालो, प्रगति र समृद्धिका पक्षमा आवाजहरु उठिरहन्छन् । ती हरेक आवाजले कहिले आन्दोलन त कहिले सामाजिक बहसको रुप लिन्छन् । लेखक–साहित्यकार पनि मुलुकको यो रुपान्तरण र परिवर्तनबाट निरपेक्ष रहँदैनन् । यो एक अर्थमा लेखकले सामाजिक बोध र जिम्मेवारीहरु पूरा गरेको पक्ष हो भन्ने मलाई लाग्छ ।
समाज कहिले उत्ताउलिएर, कहिले उग्र भएर देखिन्छ । अहिले लामो समय एउटै परिवेश, एउटै सोच, एउटै राजनैतिक परिस्थितिबाट बाहिरिएको अवस्थामा यात्रारत छ हाम्रो समाज । व्यक्ति, समुदाय, जाति, अनेक पक्षका पहिचान र अधिकारमा बहस उठेका छन् । त्यो अनपेक्षित पनि होइन । आफ्नो खोज्दा अरुको सम्मान कति भइरहेको छ ? आफ्नो लिँदा अरुको मान कति भइरहेको छ ? आफ्नो छान्दा अरुको मानहानी कति भइरहेको छ ? यो पनि एउटा बहस हो ।
नेपालीले नेपाल भुल्दै गएका छन् कि भन्ने चिन्तासँगै मेरो लेखकीय प्रतिक्रिया हो– आगोको बीउ ।
३, वर्षैपिच्छेजस्तो यहाँका कृतिहरू आइरहेका छन् । एउटा लेखककलाई लेखिरहन के कुराले घच्घच्याइरहन्छ ? एउटा कृति लगत्तै अर्को कृतिका लागि विषय ह्वारह्वार आउनुका पछि कारण के–के होलान् ?
लेखन ठट्टा र ख्यालख्यालको विषय होइन । निष्ठा, लगाव र समर्पणले नै कृतिहरु जन्मिन्छन् । मैले यो संग्रह १५ वर्षपछि निकाल्न सकेको हुँ । कहिलेकाहीँ बाक्लै लेखिन्छ, कहिलेकाहीँ पूरै पूर्ण विराम लाग्छ । मेरो पनि त्यही गति छ । ह्वारह्वार भन्नु भो– त्यो लेखन हैन, त्यो भुलुक्क उम्लाइ हो । राम्रो लेखनका पछाडि साधना र सचेतना चाहिन्छ । एउटा कुरो पक्का छ– कहिलेकाहीँ विशेष भाव र स्पर्शले लेखनमा घचघच्याउँछ । त्यो तत्काल नलेखे बिलाएर, हराएर वा मासिएर जान्छ । त्यो मेटिएर नजाओस् भन्नाका निम्ति चाँडो कृति आएको लाग्ला, तर वस्तुगत आँखाले हेर्दा त्यो उपयुक्त लाग्दैन । लेखनकै निरन्तरताको प्रतिफल हो भन्ने ठान्नु पर्छ ।
लेखिरहँदा नै राम्रो कृति जन्मिने हो । एकै पटक अमर र अजर कृति लेख्छु भन्ने कुरा पानीफोका हो । देवकोटा, लेखनाथ, सम, पारिजात वा माधव घिमिरेका पनि धेरै कृतिपछि एकाध कृतिले उचाइ र सामाजिक स्वीकृति पाएका छन् । लामिछाने, कृष्णचन्द्र वा तारानाथका कृति पनि त कहाँ बराबरी छन् र ? आफ्नो बाटो हिँडिरहँदा फूल, काँडा दुवै भेटिन्छन् । सिर्जनात्मक लेखन पनि त त्यही हो । मेरो लेखनको मालिक मै हुँ । म अरुले यसो लेख, उसो लेख भनेर रचना गर्दिनँ । कहिले वर्षौं आउँदैनन्– कहिले वर्षमा दुई वटा पनि संग्रह आएका छन् । हो, सचेत भने छु नै ।
४, आख्यानका तुलनामा निबन्ध, कविताहरू कम पढिन्छन् भनिन्छ । पुस्तकाकार कृतिका रुपमा पनि आख्यान नै धेरै आएका देखिन्छन् र साहित्यबजार पनि यिनैले चहलपहल गराउँछन् भनिन्छ । यहाँ एक प्रतिष्ठित मदन पुरस्कारदेखि विभिन्न पुरस्कार र सम्मानले सम्मानित व्यक्ति हुनुहुन्छ । तपाईँ जत्तिको लेखकको किताबको बिक्रीको अवस्था के छ ? बजार र पाठकको रुचि निबन्धमा कम हो, हैन ? हो भने किन होला ?
विधागत रुपमा सबै कृतिको मूल्य उस्तै–उस्तै हो । समाजले कहिले काव्य, कहिले आख्यान रुचाएको देखिन्छ । त्यो सधैँ एकैनासे पनि हुँदैन । कविता वा आख्यान एउटा धारले धकेलिएको विधा हो । तर निबन्धमा अलिक बढी प्रौढता, शालीनता वा गुरु गम्भीरता हुन्छ । त्यसैले यसका पाठक वा अध्येता पनि त्यस्तै हुन्छन्, थोरै र विवेच्य ।
निबन्ध नक्कले–झक्कले वा तन्नेरी विधामा पर्दैन । प्रौढता सँगै बैंस पकाएर बसेको विधा हो । यसको लेखन, प्रकाशन वा पठन संस्कृति पनि त्यही शैलीको हुन्छ ।
म मेरा कृतिको प्रकाशन, बिक्री वा पठनबाट सन्तुष्ट छु । किनभने निबन्धको चरित्र पहाडी झरनाजस्तो गडगडाहटे नभएर तराईका नदीको झैँ शान्त, सललल स्वरुपको हुन्छ । अहिले हाम्रो निबन्ध पनि त्यही निर्वाध शैलीमा गतिशील हुने इशाराले ढुक्क र सन्तुष्ट छु म ।
मेरा सबै कृति संस्करित भएका छन् । कुनै ५–६, कुनै २–३ होलान् । अहिले नेपाली पाठक, श्रोता, व्यक्ति र चिन्तकका मन धेरैतिर बाँडिदा एउटा निबन्धकारले धेरै ठूलो अपेक्षा राख्नु पनि हुँदैन ।
मेरो निबन्धको घर टालटुल गर्न र सिँगारपटार गर्न तिनै निबन्धले मनग्गे सघाएका छन् । यो सघाउपघाउबाट म झनै उत्साहित छु । निबन्धमा धेरै स्वाद, बान्की र परिकार पाउने भएकाले यतातिर पाठकको कर्के नजर पर्न थालेको छ । यो औधी खुसीको कुरा हो ।
५, एउटा नयाँ पाठक । उसले यति सजिलो भाषामा बुझोस् कि निबन्ध किन पढ्ने ? अझ यहाँको आगोको बीउ नै उसले किन पढ्नु पर्ला ?
निबन्ध सबैभन्दा उल्लास, समृद्ध र प्रेमिल विधा हो । एउटा खास कला र चरित्र, एउटा खास स्वभाव र स्वर, एउटा खास दम र गमक यो विधाको प्राण हो । यो ‘परान’ छाम्न पनि निबन्ध पढिने गरिन्छ । आगोको बीउ त्यही लय र त्यही आवाजमा संरचित छ । अनि नपढ्ने कुरै भएन नि । आजको नेपाल, नेपाली चरित्र, नेपाली सोच र नेपालको रन्थमोललाई सुक्ष्म रुपमा विश्लेषण गर्ने मेरो चाहना छ । शैली, कथानकता र प्रस्तुति पनि अलग पारी म आएको छु– आगोको बीउमा । आगोको लप्का त पर–पर देखिएला, बीउ देखिन्न । समाजभित्र लुकेको बीउ निहाल्न पनि यो पुस्तक सहयोगी हुने मेरो ठम्याइ छ ।
***
प्रतिक्रिया
-
४
