– शिशिर अधिकारी
प्रत्येक नारीको लागि सबै सम्बन्ध भन्दा ठूलो उसको आत्मसम्मान हो। जो नारी आफ्नो आत्मसम्मान गुमाउँछे उसले सबै कुरा गुमाएकी हुन्छे। अहंकार पनि आवश्यक तथा मान्य हुन्छ जब कुरा अधिकार सम्मान र चरित्रको आउँछ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान होस् वा नारी दिवसको सेरोफेरोमा उठ्ने गरेका महिलाको हकहित तथा उत्थानसँग सम्बन्धित विषयहरु हुन जुन अरु समयमा सुषुप्त हुने गर्दछन्।
एउटा सानो प्रसंगबाट विषयको सुरुवात गरौं। महिला र पुरुष बीचको समानताको कुरामा जब एक वयस्क जोडी सुटुक्क सम्बन्धमा बस्छन् सो कुरा ती दुई बाहेक कसैलाइ थाहा हुँदैन।
तर सो कुरालाई हतियार बनाएर केटोले केटीलाई ब्याल्क–मेल गर्छ। तर त्यही केटीले किन केटोलाई ब्याल्क–मेल गर्न सक्दिनन्? के इज्जत केटीको मात्र जान्छ? केटाको जाँदैन? आखिर दोष बराबर हो।
संलग्नता बराबर हो भने दोषीलाई पनि बराबर तवरले हेरिनुपर्ने होइन र? किन यो कुरा समाजले बराबर रूपमा ग्रहण गर्न सक्दैन? समाज तथा परिवारले पुरूषलाई जस्तो गलत काममा पनि स्वीकार गर्ने तर त्यही महिलालाई अनेक लाञ्छना लगाउनुका साथै समाजबाट बहिष्करण पनि गरिन्छ। के यो न्याय हो?
महिलाहरू घरेलु तथा सामाजिक हिंसामा परेता पनि छोरी चेली हो तिमीले सहनुपर्छ, महिला धर्ती हो सहनु पर्छ, घर गरेर खानुपर्छ, घरका मान्छेको मन जित्नुपर्छ भनेर छोरीलाई सिकाइन्छ। यस्तो सिकाइको कारण महिलालाई समान्य खालको हिंसामा परे पनि सहनुपर्छ भन्ने मानसिकताको विकास भएको हुन्छ।
यही सहने क्रममा कति महिलाहरुले मानसिक रोगको शिकार हुनु परेको छ। यही हाम्रो समाजमा व्याप्त रहेका हिंसाका रूपहरू मध्ये केही–मागेअनुसार दाइजो ल्याउन नसकेमा अनपढ भएमा, नि–सन्तान भएमा, मिठो नबोलेमा, मानसम्मान नराखेमा, अनेक विषयमा गरिने शंका–उपशंका आदि। यी सबै महिला हिंसाका कुरा समाजमा व्यापक हुँदाहुँदै पनि महिलालाई सामाजिक सुरक्षाको लागि विवाह बन्धनमा बाँधिदिन्छौँ।
तर के पुरुष विना नारी सुरक्षित नै हुन नसक्ने हो र? विवाह अघि होस् या पछि मेरो विचारमा पुरुषकै कारणले नारी असुरिक्षत भएका छन्। विवाह गरेकै कारणबाट नारी सुरक्षित हुने भन्दा पनि त्यसबाट उत्पन्न हुने महिलाको विवशतालाई बढवा दिइएको छ। महिलाका सबै इच्छा चाहनालाई जन्जीरले बाँधिएको हुन्छ। सामाजिक मूल्यमान्यता अनुसार यसको उचित व्यवस्थापन आजको आवश्यकता हो। अन्यायमा कोही पनि बाच्न नपरोस्।
***
प्रतिक्रिया
-
४
