✍️ विष्णु पादुका
छोपेर टाउको शिर सजाउँछौ
गाडेर छातीमा उचाइ बढाउँछौ
म त फगत
फर्फराउनु हो
फाँटमा होस् या हिमालमा
गुराँस या सुनाखरी देख्ने आँखा तिम्रै हुन्
मलाई निलोले घेरेर राखे पनि
मलाई रातो पोखेर पोते पनि
मलाई सुन्दर देख्न
मलाई मन भित्र सजाउन
तिमी टाढा पुग्नु परेकोमा
म हुन्छु निचोरिएको घाम
र
रोइ थाकेको जून
मलाई हल्लाएर कोही
बाटोमा निजत्व देखाउँछ
टेबलमा गाडेर कोही
आफ्नो महत्व देखाउँछ
फर्फराएको हेरेर झुकेका नयनहरू
उस्तै उस्तै हुन् मेरा दुई त्रिभुज जस्ता मुटुमा बहने रक्तकोषहरू
कोषहरूको
अपमानले च्यातिएर बनेको मेरो घाउमा
सीमा बाँधिएको छ
छुट्टिएको छ आकाश ,धर्ती
अनि हावा र पानी
म तिमीसँग घुलेको
तिमी मसँग भुलेको
तिमीलाई अनुभूति दिन
पटकपटक बलात्कृत भएको कुरा
म कसरी बताउँ ए मान्छे !
झण्डा च्यातिनु निधार च्यातिनु हो
अस्तित्व हराएको रातमा
शीत छेल्न छत भएको म
जात ,वर्ण र भूगोल बगेर आउने बाढीमा
देखिएको म एक आशाको त्यान्द्रो भएको
म जलेर दुःखेँ
म गलेर दुःखेँ
च्यातिएर दुःखेँ
च्यापिएर दुःखेँ
मेरो दुखाइको दुःख बढ्दो छ
मेरो सहनशीलताको सीमा बढ्दो छ
तर
आफ्नो आँगन छोडेर पराइकहाँ पुग्दा पनि
प्रेमीकाको तस्विरसँग भेटिएर
एक्लो यात्रीको रक्षार्थ उभिएर
म अलिक धड्कन थपेको हुन्छु आफूमा
बेलाबेला
– कृपया मेरा नाममा डिभी नभरिदिनुहोला ।
प्रतिक्रिया
-
४
